बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

बोकाहरूको बिक्री बजार

घाँस टाट्ना टाट्नामा तयार छ, बोका र फौबन्जारहरू एकैसाथ सडकमा ओर्लिने छन् । उनीहरूको एक सूत्रीय नारा भने यस्तो रहेको छ- “बोकाहरूले विक्री हुन पाउनै पर्छ- पाउनै पर्छ । बोकाहरूको बिक्री बजार बन्द गर्न पाइँदैन- पाइँदैन ।”

Nepal Telecom Spring Offer

नरनाथ लुइँटेल :

जात भातको कुरा, आजको शताब्दीमा त्यति महत्त्वको हुँदै होइन । जातले पाएको हातले खाएको जस्ता उखानहरू पनि पुरानिइसकेका छन् । जातकोे जमदार भन्नुस् या हातको नमस्कार, आखिर धनुष्टङ्कार किसिमको संस्कार भएपछि कसैका बाबुको केही लाग्दैन । ‘भन्नु उसो होइन दाइ, कुन्नि केले कुन्नि के बनायो’ भने जस्तै वर्तमानको लोकतान्त्रिक यो मुलुकको मौका अब चौकामय बनेको छ । कसरी भन्नु होला, त्यसको जवाफ हो बोकाहरूको बिक्री बजार । हो, हजुर ! बोका बिक्रीको बजार गम्किँदै गएको छ र यसले नेपालको भाग्य एकाएक चम्किैदै गएको छ । अनि यो पनि दिउँ- बोकाको जातै बिक्री हुनका निम्ति मात्रै हो भन्दा एक इन्च पनि फरक पर्नेवाला छैन । फरक परोस् पनि कसरी ? जब कि बोका बन्न र बनाइनुमै आजको राष्ट्रिय राजनीति रमे-रमाएको छ । सुन्दा अचम्म लाग्न सक्छ, कता राष्ट्रको राजनीति अनि कता यी बिक्री बट्टाका बोकाहरू ! कताको राजा राम, कताको कुन्नि के भने झैं र्‍याडमा ठ्याङ ट्याम्म नमिलेको !

नेपाली जिब्रोमा एउटा बहुप्रचलित बोली छ- बोकाले दाईं हुँदैन । यो बोलीले पनि अब त फेल खाइसक्यो हजुर ! हिजो आज त बोकाले दाईं मात्रै होइन रोपाइँ समेत गर्न थाल्यो । तपाईंलाई पत्यार लागेन होला, अलि राम्ररी निहालेर हेर्नुस् त, बोकाले हिलोआली लगाइरहेको छ, बोकाले बाउसो चलाइरहेको छ. बोकाले बीउ ओसारी रहेको छ, साँच्चै गज्जबसँग बोकाले राजनीतिको रोपाइँ गरिरहेको छ । रोपाइँ नगरी दाइँको कल्पना गर्न सकिन्न । रोपाइँ र दाइँ एक अकाको परिपूरक भए जस्तै बोका र नेपाली राजनीति अहिले एक अर्काका पर्याय बनेका छन् । राजनीति स्वयम् बोकाग्रस्त हुँदै आएको छ अर्थात बोकाप्रिय बनेको छ । राजनीतिलाई अब बोकेदारी होइन बोके राजनीति पो भन्नुपर्ने स्थिति पैदा भइदियो त !

के तपाइँ राजनीतिको डोरीले दमालिएका मनुवाहरू भकाभक बोकामा रूपान्तर भइरहेको देखिरहनु भएको छैन ? यस किसिमका बोकाहरूको ठुटे सिङ त्यसै पनि हिङ हालेको टालो हुँ भन्दै डिङ हाँक्न र हाँक दिन पछि परिरहेको छैन । ठुटे सिङको डिङ पनि कम स्वादको कहाँ हुन्छ र ? बोका न हो, डोरीमा दमालिए पनि पुच्छर उचालेर बुर्कुसी मार्नु ताल न सुरसँग कान प्याटप्याट पार्नु, ढिकीको ओखल वा जाँतोको मानी भए ठाउँ बड्कौँला झार्नु उसको धर्म हो । हर हिसाबले यो धर्म निर्वाहमा प्रायः सबै बोकाहरू तल्लीन हुन्छन्, भैरहेकै छन् ।

अनि अर्को कुरा जतिसुकै बुद्धिमान भए पनि बोकाले खाने प्रमुख खानेकुरा भनेको घाँस नै हो । टाट्नामा टट्याएर भए पनि दुई मुठी घाँस हालिदिएपछि खुशीले बोकाको हाडैसम्म हाँस्छ । यो पनि भनिन्छ घाँस खानेको बुद्धि हुँदैन । तर वृद्धि नहुनु, ठिक बेठिक छुट्याउने विवेक नहुनु, बोकाको मौलिक विशेषता नै हो । बुद्धि नहुने बोकाहरू टाट्नामा घाँस हालिदिनेहरूलाई नै आफ्नो विधाता देख्छन्, बुझ्छन् र ऊप्रति हर्दम आभारी हुन्छन् ।

अस्ति भर्खरै एक हुल बोकाहरूलाई टाट्नामा घाँस हालियो । केही समय स्वादसँग बड्कौला बड्काउँदै घाँस खाइरहे । लगत्तै अर्कोले अर्को स्वादको घाँस हाल्दियो । बोकाहरू उसैको पक्षमा कान पड्काउँदै उभिए र पङ्क्तिबद्ध भए । बोकाका निम्ति घाँस नै ठूलो कुरा हो, चाहे त्यो भारूमा लपेटिएको होस् या दारूमा लत्पतिएको । चाहे त्यो नीलो डलरमा होस् या पहेँलो कलरमा आखिर घाँस घाँस नै हो । मासको घाँस होस् या बाँसको, घाँसमा नै बोकाको सास र आस दुवै अल्झिएको हुन्छ । नेपाली राजनीतिक शब्दावली अनुसार घाँसलाई एक प्रकारको घुस भन्नु अत्युक्ति हुन्न । भोकाएका बोकाहरूलाई अनुचित ढंगले टाट्नो मार्फत हालिने घाँस नै घुस हो । जुन खसिबोकामा रूपान्तरित मनुवाहरूको पाचन प्रणालीमा पुगी पोष उत्पादन गर्छ र उनीहरूको ज्यानलाई हलक्कै बढाउँछ ।

बोका बिक्री हुने जात पनि हो । विक्री हुन पाउनु उनीहरूको मौलिक अधिकार अन्तर्गत पर्दछ । दशैं बोकाहरू विक्री हुने सबभन्दा उपयुक्त मौसम हो । एउटा खोरबाट अर्को खोरमा पुग्नुलाई मात्रै बिक्री भनिंदैन । बोकाहरूको घाँटीमा एउटा पगाहा अर्थात डोरी हुन्छ र कि ऊ कुनै किलो वा थाममा बाँधिएको हुन्छ, कि भने त्यो डोरी कसैको हातमा हुन्छ, अनि बोको डोर्‍याइएको हुन्छ । यो स्थिति झण्डै झण्डै मृत्युदण्ड दिन फाँसीको फन्दातिर डोर्‍याइँदै गरेको मान्छे जस्तै लाग्दैन र ? तर बोकाहरू यसैमा गौरव गर्दछन् । यसैलाई अपूर्व सौभाग्य ठान्छन् ।

बिक्री हुने जातले बिक्री हुन नपाउँदा औधी पीर लाग्नु स्वभाविक हो । कुनै समय मुलुकको राजनीति एकाएक बोका बिक्री नहुने अथवा बिक्री हुन नपाउने स्थितितर्फ एकोहोरिएको थियो । यस परिस्थितिको विपक्षमा एक हुल बोकाहरूले संयुक्त विज्ञप्ति जारी गरी आफ्नो यो मौलिक हक हननप्रति खबरदारी गरे । उनीहरूको एक सूत्रीय माग थियो- बोकाहरूले बिक्री हुन पाउनै पर्छ । खरिद विक्रीको मौसम नहुँदा बिक्री भइरहनु पर्ने बोकाहरू झोक्राएर बस्न विवश हुन्छन् । बोकाहरूका निम्ति यो त राम्रो कुरा हुँदै होइन । त्यसकारण पनि बिक्री हुन पाउनु पर्ने बोकाहरूको मागलाई कुन मूर्खले न्यायोचित होइन भन्न सक्छ ? बिक्री हुन नपाउने बेमौसमका बोकाहरूको कुनै मूल्य हुन्न भन्ने कुरा सबैलाई थाहा छ ।

नेपाली टाट्नामा बाँधिएर घाँस खान पल्केका नेपाली नश्लका राघेपाटे बोकाहरू एक पटक होइन पटक-पटक किनिने गरेका छन्, पटक-पटक बेचिने गरेका छन् । दुनियाँ भरिका बोका यसरी पटक-पटक विक्रवट्टाको बजारमा जाने गरेको कम पाइन्छ । भारतीय काला बोका हुन् या समुन्द्र पारीतिरका खैरा बोकाहरू प्रायः जसो एक पटक मात्र किनिने वा बेचिने गर्दछन् रे ! तर नेपाली बोकाहरूलाई काटेर मासु खाइहाल्ने दुस्साहस कसैले गर्दैन । किनभने काटी मारी नै गरी सकेपछि पुनः पुनः विक्री गरी हुन सक्ने नाफाको बोट मासिन्छ भन्ने कुरा सबै फौबन्जारहरूलाई राम्रोसँग थाह छ । यता आएर अन्तर्राष्ट्रिय व्यापार संघले संसारभरिकै बोकाहरूको नयाँ मूल्यसूची कायम भएको घोषणा गर्‍यो । त्यो सूचीमा अधिक मूल्य नेपाल र भुटानमा उत्पादित बोकाहरूको रहेको छ रे !

भर्खरै एउटा अनर्थकारी परिघटना भयो । बोकाको क्रय विक्रयमा संलग्न स्वदेशी वा विदेशी फौबन्जारहरू बिच सम्भवत कसले अधिक नाफा कुम्ल्याउने भन्ने विषयमा घनघोर वादविवाद भयो । सतहमा केही नयाँ दृष्यहरू देखिए । नेपाली टाटनाका बोकाहरूलाई भुटानी प्रजातिका बोका भनी भनी अत्यधिक मूल्य लिएर तेस्रो मुलुक निकासी कार्यमा संलग्न उपल्लो तहका फौबन्जारहरूको एउटा जत्थै पक्राउ पर्‍यो । यसले नेपाली खोरहरू मात्र भरङ्ग भएनन्, विश्वबजारमै ठूलो तरङ्ग ल्याइदिएको छ । बोका व्यापारका फौबन्जारहरू कसरी राजकीय निकायको उपल्लो पदमा समेत विराजमान रहेछन् भन्ने नयाँ तथ्यहरू उद्घाटित भएका छन् । शायद बोका बिक्रीको व्यापारमा बढी मुनाफा लिन खोज्ने मनोवृत्तिगत होडबाजीले ल्याएको परिणाम हो यो ।

यो विस्मयकारी परिघटनाले नेपाली बोकाहरूको बिक्री बजारलाई नराम्रोसँग प्रभवित पार्दै छ । अर्थात् बोकाहरू किनबेच र विक्री बट्टाको मौसममा गतिरोध उत्पन्न भयो । अहिले बजारमा पूरै मन्दी छाएको छ । यो मनासिव कुरा हुनै सक्दैन । बोकाको बिक्री हुन पाउनु पर्ने मौलिक अधिकारप्रति धावा बोल्ने यो कालो कारनामाका विरुद्धमा बोकाहरू र कारागार पुग्न नपाएका तिनका फौबन्जारहरू संयुक्त भएर नारा जुलुस गर्ने तयारीमा जुटेका छन् । घाँस टाट्ना टाट्नामा तयार छ, बोका र फौबन्जारहरू एकैसाथ सडकमा ओर्लिने छन् । उनीहरूको एक सूत्रीय नारा भने यस्तो रहेको छ- “बोकाहरूले विक्री हुन पाउनै पर्छ- पाउनै पर्छ । बोकाहरूको बिक्री बजार बन्द गर्न पाइँदैन- पाइँदैन ।”

०००
फित्कौली अड्डा, कलङ्की
काठमाडौं
‘कल्पतरु’ पूर्णाङ्क १०४, साउन-भदौ (२०८०)

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
के बदल्ने खोइ ?

के बदल्ने खोइ ?

चूडामणि खनाल
शिछेक म्याँ-संघ

शिछेक म्याँ-संघ

संप्रस पाैडेल
जात्रै जात्राको संस्कृति

जात्रै जात्राको संस्कृति

माधव पोखरेल गोज्याङ्ग्रे
हाँसी रहेका मलामीहरू

हाँसी रहेका मलामीहरू

शिवप्रसाद जैशी