
भीष्मपितामह व्यङ्ग्यबाजे/ वासुदेव शर्मा लुइँटेल
के गर्नु मेरो हेलचेक्रयाइँले ती सबैको बियाँ र चामल र भूस छुट्याएर स्केक, एक समीक्षा नै सुइक्याइदिएको भए आज प्रस्तुत स्मृति ग्रन्थलाई कत्तिको जिरे खोर्सानी बन्ने थियो ? अब त समयले सिलटिम्बुर खाइसकेछ ! यसैले थच्मचिएर यस्तै कटमटिएको भए पनि पुड्के तर छडके पाराको यो मन्थविहीन गन्थन लेखी पठाएको हूँ ।

रोहिणीविलास लुइँटेल :
सर्वप्रथम, मेरो शिर निहुरिनु पर्ने श्रद्धाका चन्द्रमा, देवकोटेली भाकामा ‘उडी छुनु चन्द्र एक’का प्रतीक अग्ला हिमाल झैँ सेतै फुलेका मेरा काका ‘वासुदेव शर्मा लुइँटेल’लाई मैले धेरै दिनदेखिको औडाहा मेट्न धेरै दौडाहा चलाएर खोजें र भेटें पनि । ‘मदन पुरस्कार गुठी’को उहाँकै कार्यकक्षमा । लाग्थ्यो उहाँ सबै कार्यमा दक्ष हुनुहुन्थ्यो, महाभारतको यक्ष । मेरा साथमा मेरै छोरा रमण विलास लुइँटेल पनि थिए। त्यस दिन न असिना वर्षिएका थिए न फुरौला पाकेका । अनि कुन मिति थियो भनूँ ? त्यस दिनको मिति नै टिपिनछु, दैनिकीमा । रोटी गनीगनी ज्योतिषी भएअनुसार २०४४/४५ तिरको तिर हान्नै पर्यो ।
शिष्टाचारका विचार विमर्श भावुकतामा अल्झिएका थिए। आफ्ना कुल, वंश, पुस्ता छुट्याउन हम्मे पर्दा, यति ठूला सरस्वती पुत्र, हास्यव्यङ्ग्य फाँटका आँटिला वयोवृद्ध व्यक्तित्वलाई आफ्नै अगाडि ठिङ्ग उभिएको र लामू आयु जिएको पाउँदा म त भुइँमा न भाँडामा पो भएछु र गोडामै ढोग्न पुगेछु । उहाँले हत्तपत्त गोडा पछि सारेर ‘यो के गरेको ? हातमै ठुली गरे त भनि । यसो हेर्दा ता पढेलेखेजस्तो देखिनुहुन्छ’ भनी दुवै हात अघि सारिदिनु भयो र मेरो हो त्यही गयो । मैले पनि ‘वासुदेव लुइटेल भनेको तपाईं नै हुनुहुन्छ ?’ भनेको प्रश्नमा ‘मै हूँ त्यस्तो भाग्यमानी नर । तपाईंहरू चाहिँ ।’
यसप्रकार चिनापर्ची आदानप्रदान हुँदा उहाँ पनि ‘ए तपाईंहरू लुईटेल ?’ त्यो पनि सुदूरपूर्व झापाको अपूर्व अनुहार लिएर आउनुभयो ?“ भन्दै आफू बस्ने मेचमाथि भित्तामा एउटा कागजमा कोरिएको व्यङ्ग्य कविता टाँसटुँस पार्दै हुनुहुन्थ्यो । कविता थियो- ‘देवकोटा स्थिते भित्ते, त्यो मुनि एकमेचकम्’ इत्यादि संस्कृत र नेपाली मिश्रित त्यो कविता देखेर ‘यसरी लेख्ता पनि हुँदोरहेछ हास्यव्यङ्ग्य कविता’ भन्ने घैटामा मेरा पनि घाम लागेका थिए । तर, त्यो काम चटक्कै छाडेर पटक्कै ठलोपन नराखी ‘म के नै हूँ र ? त्यति टाढाबाट मलाई भेट्न आउनुभयो। म त भूतको भिनाजु, कालो कौवा हूँ । ट्याउ ट्याउ गर्छु। मान्छेले एउटा कुखुराको चल्लालाई, ठूलो हात्ती हो, भन्ने चलाइदिएका छन् स्यालको हुइँया । पैसा लाग्दैन यसो गर्दा । पैसा लाग्ने भए अरूका बारेमा बोल्छन् ? त्यसतो होहोरेमा लागेर आउनुभएछ । दुःख पाउनुभएछ ।
म पनि के कम ? थपिदिए ‘फलेको वृक्षको हाँगो’ यसै भन्छ र त उ नझुकेको कहाँ छ र ? भनि फूलपाती चढाउँछन् मानिस । उहाँ मुसुक्क हाँस्नुभएको थियो ।
हामीले त्यसदिन लुइँटेलको फेदटुप्पो (पुर्ख्यौली) फेला पार्न नसकेर उहाँका बुढ्यौलीलाई नै उभौली मानेर उहाँ काका र म भतिजो भयौँ । यसै टुङ्गोम पुगेर बुङ्गो झायौँ । बुङ्गाको अचार कति मीठो ? त्यस्तै मीठो चार चौरास गफ भए हाम्रा यता लुइँटेलमध्येको ‘टाउके’ व्यक्तित्वको दर्शन पर्शन पाएर म, ए, हामी बाबु छोरा तीन बाँस उफ्रेका थियौँ । असंख्य नेपालीका प्रेरणाका श्रोत यी अजङ्ग धुरीलाई देखेपछि /भेटेपछि मेरा सारा कुरीकुरी स्वाट्टै छोपिए । कुरीकुरी के भने अन्य अन्य थरका मान्छेका शुभनाम माथिल्ला तलासम्म पुगेर चम्केका, आकाश छुन लम्केका छन् । हाम्रा लुइँटेलमा चाहिँ त्यस्तो कुनै चम्किलो तारा देखिदैन, सुनिँदैन, भन्ने ।
तर, अब लुइँटेलको वर्चस्व राखेर घुडी नदोब्र्याई कलमको टुँडो चलाएर, नाक ठाडो पारी हास्यव्यङ्ग्यको खुँडा नपखाली खाँडो जगाइरहने मेरा काका श्रीका निर्भिकता र स्वाभिमानपूर्वक धारे अक्षरद्वारा समाजका रुढी, विकृति र विसंगतिलाई अधोगति पारिदिने कसिलो मसी बगाएको देख्ता र यी वर्णमाला लेख्ता अर्थात् त्यसदिन देखि मेरा मसीले पनि कविता, कथा, निबन्ध, समिक्षा र हास्यव्यङ्ग्य फाँटमा छाँट पार्ने आँट फैलाउन थालेको हो। वासुदेव लुइँटेललाई नै द्रोणाचार्य गुरु थापेर म एकलव्य पनि आज ‘अपराजेय कटाक्ष’जस्ता ‘भीमसेन पाती’ भित्र वासुदेव शरणम् पनि एउटा टाउको छ र यो टाउको वासुदेव बाउको पाउमा चढाए र नाना थरि दाउ खोजिएको हाउभाउ भित्र रुमलिएको छ । यो कटाक्ष काकाज्यू जीवित छंदै हात पारिदिएको छु खगेन्द्र लुइँटेल हस्ते ।
यस्तै सब्ल्याँटा-बिब्ल्याँटा अक्षर केलाउँदै, निफन्दै छिन्किदै जानेक्रममा अकस्मात काकाश्रीको शारीरिक इतिश्री भएको सुश्री ‘कान्ति’ पत्रिका आदिका मुखारवृन्दबाट अवगत भएपछि एकपटक त मेरो हविगत पूरै निस्सासिएको थियो । मान्छे भन्दारहेछन् नि ‘शोकलाई शक्तिमा परिणत गर्नुपर्छ ।’
मैले पनि उनै द्रोणाचार्यलाई थान थापेर उही ‘देवकोटास्थिते भित्ते’ कै शैलीको अनुशरण गरी दुई कविता कथेँ-
१. ‘भूतको भिनाजु’लाई तर्पणम् (यो मधुपर्क हास्यव्यङ्ग्य अङ्ग २०६४ जेठ, पूर्णाङ्क ४५६ मा प्रकाशित छ)
२. छड्के श्रद्धाञ्जली – यो अप्रकाशित छ । यसप्रकार मैले सुदूर पूर्वबाट श्रद्धेय काकाज्यू स्वर्गीय वासुदेव शर्मा लुइँटेलको आफ्नै ढङ्गले रङ्गले र उमङ्गले पनि तर्पण र श्रद्धाञ्जली चढाएकोछु। उहाँका आत्माले -जहाँ भएपनि मेरो यस तुच्छ अक्षर गुच्छलाई ग्रहण गर्ने नै छ । विश्वास छ ।
काकीज्यू छँदै एकपटक म ढुङ्गे अड्डा लुइँटेल निवासमा पुगेजस्तो नास्छ । पछिल्लो पटक जाँदा काका पत्नीशोकमा केही दुर्बल भएका बेला सक्किएछ । थोरै बोलेर भए पनि परिवारका बुहारी (छोरा विद्यादेव अनुपस्थित) छोरी नातिनी आदिसँग चिनजान गराएर चियाखाजाको रसास्वादनद्वारा स्वागत गर्नुभएको थियो । छुट्ने बेलामा तँलाई हरियो बाँस टिम्मुर / जयराम शर्मा / कुरा सँगालो / भीमसेन कनिका, पाती/ नीतिशतक / वैराग्य शतक/ भूत छैन/ वासुदेव पुराण / व्यक्तिगत चिठी मन्त्री पात्रो भाईलाई चिठी आदि पोथा पोक्याएर मेरा हात पारिदिनुभाथ्यो । के गर्नु मेरो हेलचेक्रयाइँले ती सबैको बियाँ र चामल र भूस छुट्याएर स्केक, एक समीक्षा नै सुइक्याइदिएको भए आज प्रस्तुत स्मृति ग्रन्थलाई कत्तिको जिरे खोर्सानी बन्ने थियो ? अब त समयले सिलटिम्बुर खाइसकेछ ! यसैले थच्मचिएर यस्तै कटमटिएको भए पनि पुड्के तर छडके पाराको यो मन्धनविहीन गन्थन लेखी पठाएको हूँ ।
जे होस् नेपाली हास्यव्यङ्ग्य साहित्यका भीष्मपितामह भइसक्नु भएका व्यङ्ग्यबाजे वासुदेवशर्मा लुइँटेलबारे उहाँका निचोर नाचोर विशेषता कोट्याउनु पर्दा र यो लेख लेखोट छोट्याउनु पर्दा यो भतिजो मनमस्तिष्क (गोब्रे गिदी भनूँ) ले यी पुछारका कुराउनी पत्तो लाएको छ ।
१. आफ्ना उपनाम राख्न र अरूको पनि न्वारन गर्न खप्पिस ।
२. स्वाभिमानमा अद्वितीय व्यक्तित्व ।
३. देशभक्ति अर्थात् राष्ट्रियतालाई हृदयमा राखेर लेख्ने ।
४. सरल भाषा र शैलीका आदि हास्यव्यङ्ग्यकार
५. सानो विषयलाई पनि महत्व दिएर लेख्ने
६. लेख्य र कथ्य भाषामा अन्तर नराख्ने ।
७ कहिल्यै निराश नहुने -नआत्तिने, नपात्तिने) ।
८. ‘अहम्’ देखि धेरै टाढा रहने ।
९. प्रत्येक विषयलाई समीक्षात्मक आँखाले हेरेर लेख्ने ।
तुराइमा, काका स्व. वासुदेव शर्मा लुइँटेलको साङ्गोपाङ्गो अध्ययन गर्नु हो भने, उहाँ एक विराट व्यक्तित्व वा विश्व विद्यालय तुल्य वृहत् संस्थाकै रूपमा स्थापित हुनुहुन्थ्यो भन्ने अनुभूति हुन्छ । तर, उहाँको त्यो अगम्य, अपार आकाशगंगामा डुबुल्की नमारी मैले क्षितिजका एक कुनामा टिमटिमाइरहेको उहाँको सरल-लेखन तारोलाई मात्र कलमको चारो ठानेर त्यसैको पुच्छर समातेर वैतर्नी तर्ने जमर्को गरेको छु गर्दैछु । कामना के छ भने, युगयुगसम्म उहाँलाई पढ्ने र चिन्ने नयाँनयाँ अनुहार आइरहून् ।
०००
वासुदेव लुइँटेल स्मृतिग्रन्थ, २०६८