बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

केही नभए दुक्की फ्याँक्नू

राजनीतिले शब्दकोशको अर्थ छोडेपछि यो आफै भुमरीमा पर्यो । अनेकौं छट्याइँ बठ्याई धूर्त्याई छलकपट गरेर सत्तामा पुग्ने त्यसपछि देशदोहन गर्नेहरू नै सफल राजनीतिज्ञ कहलिएका छन् । अहिलेको हाम्रो राजनीतिमा पैसो प्राप्त हुने भयो भने आमाबाबु बेच्न, छोरीचेली पनि बेच्न सक्नुपर्छ ।

Nepal Telecom Spring Offer

चूडामणि वशिष्ठ :

के लेख्ने भन्ने विषय नजुराई लेख्न बसेछ । कुनै नयाँ सिर्जना कल्पनाले मस्तिष्कमा फेरो मारेको थिएन । नयाँ सिद्धान्त, दर्शन, चिन्तन भन्ने कुरा पनि इन्डियन विषादियुक्त दाल चामल तेल तर्कारी खाएर, चाइनिज ज्याकेट जुत्ता लाएर, अमेरिकन ह्याट ढल्काएर, युरोपियन एनजिओ आइएनजिओको युरो डलरले खाइजिविका गर्नेहरूबाट सम्भव छैन । देशमा आफ्नो भन्नु तिने पृथ्वीनारायण शाह, भक्ति थापा, नेपालको झन्डा, सगरमाथा र एउटा राष्ट्रगीतबाहेक अरू केही छैन । कोदो खाएपछि कालै आउँछ भनेझैँ सिर्जना कल्पना भावना पनि परिस्थिति र परिवेश अनुसारकै आउने भए ।

कलम समाएर कागज रङ्ग्याउन त थालि नै हालियो, अब के लेख्ने ? पत्रिकाको एउटा कुनो त भर्ने छ । केही नभए दुक्की फ्याँक्यो भनेर बारमासेहरूले भनेको सुन्या थिएँ । मैले पनि त्यही दुक्की फ्याँक्ने विचार गरेँ । अहिले हाम्रो देश दुनियाँको सन्दर्भमा दुक्की फ्याक्नु भनेको झिँगा भन्किएको राजनीतिको गर्तमा फाल हान्नु नै हो । आज चाहिँ राजनीतिको दुक्की फ्याँकेर पत्रिकाको छाक टार्ने निधोमा म पुगेँ ।

फेरि यसो विचार गरेँ – बार हातको लामो टाँगोले पनि म राजनीतिलाई छुन चलाउन सक्ने मान्छे होइन । उहिले सानो छँदा बाआमाले राम्ररी पढ्नुपर्छ छोरा ! भन्नुभयो, पढें । पढिसकेपछि जागिर खानुपर्छ भन्नुभयो, खाएँ । लु अब बिहे गर्नुपर्छ भन्नुभयो, गरेँ । त्यसपछि हामीलाई नातिनातिनाको मुख हेर्ने रहर छ भन्नुभयो, त्यो पनि मैले थाहै नपाई पूरा गर्दिएछु । राम्ररी दाएको घोडा मैं म आफ्नो बाटोमा हिँडिरहेँ। राजनीतिसँग जिन्दगीमा कहिल्यै कतै भेटघाट नै भएन । अनि कसरी राजनीतिका करा लेख्नु ?

स्कुल पढ्दा सरहरूदेखि डर लाग्थ्यो, कहिल्यै मास्टर कुट्न सकिनँ । हुलहुज्जत हुल्दुङ्गा गर्न जान्दै जानिनँ । परीक्षामा चोर्ने आँट कहिल्यै आएन । साथीभाइहरूसँग कुटाकुट गरेर मामाघरको सिमन्टी तताउन एकै पटक पनि पुगिन । कुनै दुस्ट्याइँ रोड्याइँ बदमासी उपधो नगरी ठुलो भएँ । तन्नेरी भएपछि पनि चिट्ठा चन्दा सहयोग !… आदि नाउँमा अरूका पैसा जिप्ट्याउने सिप कौशल जान्दै जानिनँ । उद्योगी व्यापारी तस्कर विचौलिया भ्रष्ट पुलिस जाली फटाहा आदि जस्ता महानुभावहरूसँग मित्रताको हात बढाउन सकिनँ । मर्ने मार्नेका नाउँमा खेतबारीमा खनजोत गर्दा अन्जानमा केही किरा फट्याङ्ग्रा कमिला मरेका भए मात्रै हो, नत्र एउटा कोही मान्छेको हत्या गर्न सकेको होइन । साँच्चै ठुलो राजनीतिज्ञ बन्न हजारौं हजार मान्छेलाई इहलीलाबाट मुक्ति दिलाउनु पर्दोरहेछ । मलाई के थाहा ? म त बाआमा गुरुहरूको इमानदार छोरो, अनुशासित विद्यार्थी ।

कहिल्यै कस्तै अवस्थामा पनि धर्म छोड्नुहुँदैन । नीतिनियमभित्र बस्नुपर्छ । अर्काको सम्पत्तिमा आँखा गाड्नुहुँदैन । ढाँट्नु छल्नु चोर्नु हुँदैन, सित्तैमा कसैको केही खानु हुँदैन भन्ने पारिवारिक स्कुलमा हुर्किएर त्यसकै अनुशरण गर्दै आएको मजस्तो मान्छेले हाम्रो देशको राजनीति के बुझ्नु ? के लेख्नु ? “परोपकार पुण्याय पापाय परपीडनम्” को पाठ घोक्ने म राजनीतिभन्दा विपरीत धारमा छु । त्यसैले अहिले दुक्की फ्याँक्न पनि नसक्ने भएको छु ।

कुर्सी र खान्तेपिन्तेमा कनाहा भएपछि हाम्रा राजनीतिक पार्टीहरू फुट्छन्, टुक्रिन्छन्, चोइटिन्छन्, चर्किन्छन् । पार्टी टुक्रिएको बेलामा हाँप र झाँप गर्दै जाने हो भने ठुलै राजनीतिक पद पाइन्छ, सदस्यसम्म त केन्द्रकै पाइन्छ भनेर राजनीति गर्नेहरू भेलबाडीमा माछा छोप्छन् । राजनीतिक पद पाएर देश काल परिस्थितिअनुसार मौका छोप्न सक्ता देश दोहन गर्न, कोपर्न, दान, चुस्न, लुछन, झम्टिन, अँठ्याउन, जिप्ट्याउन, ठग्न, लुट्न पाइन्छ अरे ! तर राजनीतिभन्दा पर बस्नेका निम्ति के गर्नु र त्यो ?

सित्तैमा आएको अरबौं रुपियाँ ल्याउनुपर्छ, खानुपर्छ, त्यत्तिकै छोड्नुहुँदैन भनेर राजनीतिका खेलाडीहरूले राल चुहाए । अन्य अन्य देशबाट पनि मागेर ल्याउनुपर्छ भन्ने पनि भ्याए । खसीलाई माया गरेर दाना दिएजस्तो, बाहिर घिउ दलेर, वास्नादार बनाएर भित्र विषादि हालेर मुसा मार्न फ्याँकिदिएको आँटाको डल्लो जस्तो त्यो रुपियाँ लिनु खानु हुँदैन भनेर राजनीतिका लाठेहरूलाई के थाहा सित्तैको पैसोमा पाप लुकेको हुन्छ, कलुषित भावना हुन्छ, कल्मष व्याप्त हुन्छ, काल बसेको हुन्छ भन्ने कुरा ! यो पनि सित्तैमा खाने भनेपछि राजनीतिक कुरै होला ? सामान्य मान्छेले कसरी जान्नु ? मैले पनि यस कुराबाट कालो दुक्की मिल्काउन जानिनँ, सकिनँ ।

राजनीति गर्नेहरूले सबै कुरा झुटो बोले पनि एउटा कुरा चाहिँ सबैले साँच्चो बोल्छन् । उनीहरू आपसमा एकले अर्कालाई दलाल भन्छन् । दुक्की फ्याँक्नलाई खोज्दै गर्दा म यसो विचार गर्छ – निर्वाचनका बेलामा टिकट प्राप्त गर्न टाउके नेतासँग दलाली गर्छन् । सांसद जितेपछि मन्त्री पदको निम्ति झन् ठुलो दलाली चल्छ । मन्त्री पनि मलिलो मन्त्रालयको निम्ति घमासान दलाली गर्छन् । प्रधानमन्त्रीको निम्ति त कुरै नगरौँ, न्वारनदेखिकै बल प्रयोग गर्छन् । जिउ छ काँडामा खुट्टा छ टाँडमा भनेझैँ दसबार सिट जित्नेहरू पनि प्रधानमन्त्रीको गोरु दलालीमा भिड्छन् । प्रधानमन्त्री नै भएकाहरू त आफू टिक्न थामिन कहाँ कसकससँग दलाली गर्नुपर्ने हो, यावत् कामकुरा पन्छाएर त्यसैमा लीन हुन्छन् । राजनीतिको दुक्की फ्याक्तै गर्दा पनि साँच्चो सत्य कुरा त भन्दिनै पर्दो हो । राजनीतिको जागिर खानेहरू शतप्रतिशत झुटो बोल्दैनन् ।

राजनीतिमा “माछो माछो भ्यागुतो को खेल चाहि ज्यादै रमाइलो टेसिलो हुन्छ । अको पार्टीमा अनेक कलबलछल गरिरहेका लोभीपापीहरूलाई तिमेर्को पार्टी फुटाएर यता आओ मन्त्री नै नाथे त कति खान्छौ ? त्यसको निम्ति म भए भन्दिएपछि स्वार्थीहरूको ओइरो लाग्छ । पार्टी नै फुटाइसकेपछि आइ नै सकेपछि आज आज, भोलि भोलि, अर्को महिना, अर्को पाली भन्दै आसको पासोमा झुन्डाएर हिरिक् हिरिकू बनाएर राख्न सबैभन्दा मज्जा आउँछ । कुनै पनि अवसर अगाडि आयो भने यो पाली होइन अर्को पटक पक्का ! भन्दियो पन्छायो । राजनीतिमा अर्को पटक भनेपछि कुरो बुझे हुन्छ। “दुई घरको कुत्ता एता न उता” को तमासा उपल्लो दर्जाको रमिता हुन्छ । एउटा पार्टीको नेताले अर्को पार्टीमा दुक्की फ्याक्ता पनि कत्तिको त राजनीति पेसो पनि सकिन्छ । लोभीपापीहरूले सिरक ओडेर रोएको, झोलमा डुबेर मरेको पनि बेग्लै टेसिलो रमिता हुन्छ ।

राजनीतिले शब्दकोशको अर्थ छोडेपछि यो आफै भुमरीमा पर्यो । अनेकौं छट्याइँ बठ्याई धूर्त्याई छलकपट गरेर सत्तामा पुग्ने त्यसपछि देशदोहन गर्नेहरू नै सफल राजनीतिज्ञ कहलिएका छन् । अहिलेको हाम्रो राजनीतिमा पैसो प्राप्त हुने भयो भने आमाबाबु बेच्न, छोरीचेली पनि बेच्न सक्नुपर्छ । त्यस्तो काम गर्न त कता हो कता सोच्न पनि नसक्नेले के राजनीति गर्नु ? सक्नेले गर्छन् । यिनै सक्नेहरूले राष्ट्रिय पुरस्कार, मान, पदवीको पगरी आफैँ दिन्छन्, आफैँ थाप्छन् । चाडबाड खर्च, चुनाव खर्च, उपचार खर्चका नाउँमा राष्ट्रिय ढुकुटीमा मुसो बनेर छिर्ने मात्रै होइन सिंह बनेर झम्टिन्छन् अनि आफैँलाई क्रान्तिकारी, अग्रगामी, राष्ट्रसेवक, दूरदर्शी !.. आदि पालिस साउँछन् । देश लुटेर विदेशी बैंक भर्न नसक्नेले के राजनीतिका कुरा गर्नु । यो त यसो दुक्की फ्याकेको मात्रै हो ।

अहिले देशमा नब्बे प्रतिशत मान्छे भोक तिर्खाले, दश प्रतिशत अजीणर्ले गर्दा ग्यास्ट्रिक रोगबाट ग्रस्त छन् । हुँदाहुँदै देश र राजनीतिलाई समेत ग्यास्ट्रिकले च्यापेको छ । ग्यास्ट्रिक भएपछि कब्जियत हुन्छ । खाएको कुरा पच्न छोड्छ । सहज निकास हुँदैन । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिलका, निर्वाचन आयोग, अख्तियार । आदि ठाउँमा निकास नभएर कब्जियतले सताएको छ । सरकार र राजनीति चाहिँ दक्षिणी पश्चिमी तातो वायु, उत्तरी चिसो वायु जुधेको कारण दुर्गन्धित वायु फ्याँकिरहेको छ । दुईचारवटा वायु जुधेपछि कहिले करङ घोच्छ, कहिले मुटु पोल्छ, सधै टाउको दुखिरहन्छ, काम गर्ने जाँगर आउदैंन । डाक्टर कहाँ जादा कडा पेनकिलर दिन्छ एकछिन जाती भएजस्तो हुन्छ । पेनकिलरले झन् हुँडलेर ग्यास कुइरी मन्डल भएर फत्याक् फत्य्राक् पार्छ। कतिपय ठूला भनाउँदा नेताहरू अपच भएर ग्यास्टिक बिग्रेर कहिले कता, कहिले कता ओत लाग्न तिलमिलाइरहेका छन् ।

हुन त सरकार, देश, राजनीति, नेता, मन्त्रीका कुरा हामीजस्ताले के जान्नु ! मान्छे मारेको छैन, बैंक लुटेको छैन, देश दोहन गरेको छैन, डुकुटी चोरेको छैन, पार्टी फोरेको छैन, कतै दलाली गरेको छैन । यो त यसो अल्छी लागेका बेलामा हाइ खलास गर्न दुक्की फ्याँकेको त हो।

०००
‘मुलाको मुरली’ (२०७९)

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
के बदल्ने खोइ ?

के बदल्ने खोइ ?

चूडामणि खनाल
शिछेक म्याँ-संघ

शिछेक म्याँ-संघ

संप्रस पाैडेल
जात्रै जात्राको संस्कृति

जात्रै जात्राको संस्कृति

माधव पोखरेल गोज्याङ्ग्रे
हाँसी रहेका मलामीहरू

हाँसी रहेका मलामीहरू

शिवप्रसाद जैशी