
चम्चा
चम्चाले खुसी हुँदै भन्यो - भान्छामा जहाँबाट भए पनि आउने सबै राम्रा र मिठा खानामा पहिले म नै स्वाद लिन्छु । मेरो स्वादबिना मालिकले स्वादै पाउँदैनन् । मेरो मूल्य यत्ति धेरै छ कि हरेक मिठो खानेकुरासित मालिकले मलाई पनि मुखमा हाल्छन् ।

सञ्जय साह मित्र :
चम्चाले धाक लगायो- म बिना कसैको काम चल्दैन । जहाँ म छैन, त्यहाँ बज्रस्वाँठहरू मात्र रहन्छन् । र, जहाँ बज्रस्वाँठहरू हुन्छन्, त्यहाँ म एकछिन टिक्दिनँ । चिनेको भाँडोले चम्चालाई मुखभरिको जवाफ दिनै सक्दैन । बरु चुप लाग्यो भने दुवैले आफ्नै विजय भएको ठान्छन् । यद्यपि एउटा अपरिचित नयाँ भाँडोले चम्चाको कुरो सुनेर बोल्यो – चम्चा साहै्र कमलो हुन्छ । घामपानी हेर्नुपर्दैन । घरभित्रैको काम गर्छ । यसैले सबैको प्रिय हुन्छ । चम्चाजस्तो सुकुमारले त बाहिरको घाममा काममा सक्दैन होला ।
अलिकति आँखा तरेर तर चमकले चम्काएर चम्चाले चर्चा गर्यो – चम्चाको जातले सधैँ सेवा गर्छ । सेवामा नै मेवा देख्छ । पाकेको मेवालाई पनि काट्छ । जति काटे पनि र जति खाए पनि चम्चा कहिल्यै मोटाउँदैन । अपरिचित भाँडो अलिक मूर्ख थियो क्यारे । चम्चाले आफ्नो इज्जतको बखान आफैँले गरेको हो कि आफूलाई नै हेपेको हो, छुट्याउन सकेन ।
उसले सोध्यो – चम्चाज्यू, तपाईं कसरी यत्ति धेरै काम गर्नुहुन्छ ?
चम्चाले खुसी हुँदै भन्यो – भान्छामा जहाँबाट भए पनि आउने सबै राम्रा र मिठा खानामा पहिले म नै स्वाद लिन्छु । मेरो स्वादबिना मालिकले स्वादै पाउँदैनन् । मेरो मूल्य यत्ति धेरै छ कि हरेक मिठो खानेकुरासित मालिकले मलाई पनि मुखमा हाल्छन् । मैले मालिकको मुखमा पनि विश्वास जमाएको छु । मालिकको लागि मिठो खानाको मालिक म नै हुँ ।
चम्चाको मालिक भक्ति देखेर नयाँ अपरिचित भाँडोले भन्यो- तपाईँको महिमा अपरम्पार छ । मलाई कुनै काम मिलाइदिन सक्नुहुन्छ कि ? मलाई त ठुलो पसलबाट मालिकले उठाएर ल्याउनु भएको छ ।
चम्चाले सगर्व उद्घोष गर्यो – म जुन भाँडोमा हुन्छु, त्यसैलाई रित्याउँछु । तिमी के गर्न सक्छौ ?
नयाँ भाँडोले केही बुझ्नै सकेन । निस्कन खोज्दै उसले जवाफ दियो – मैले जवाफ दिने हिम्मत जुटाएर फेरि आउने छु कुनै दिन । बाटोभरि नयाँ भाँडोको मनमा खेलिरह्यो – चम्चाजस्तो भक्तको जीवन सार्थक हुन्छ ।
०००
रौतहट