
रमेश प्रभातका तिखा प्रश्न रमेश प्रभातलाई
जब आफ्ना रचना आफैँलाई मन पर्दैन भने पाठकले खोजेर पढ्लान् भन्ने मलाई विश्वासै छैन । अनि मेरो कृति छाप्न कोही प्रकाशक पनि त तयार छैन । यस्तोमा कृति छपाएर धनको नास किन गर्नु ?

रमेश प्रभात :
नेपाली पत्रकारितामा अन्तर्वार्ता निकै पुरानो कुरा हो । साहित्यिक पत्रकारितामा पनि अन्तर्वार्ता, संवार्ता, निवार्ताजस्ता कुराकानीका विविध रुपहरु निकै प्रचलित छन् । आफैंले आफैँलाइै निर्मम भएर प्रश्न सोध्ने र त्यसको उत्तर दिने प्रचलन भने त्यति देखिँदैन । त्यसो त हरेक लेखक आफ्नो लागि पहिलो आलोचक हो । यही आलोचकीय चेतको प्रयोग यो एकालापमा गरिएको छ । प्रस्तुत छ, एउटा लेखकसँग ऊभित्र रहेको पाठकले निर्मम भएर गरेका प्रश्न र तिनका सकेसम्म न्यायसङ्गत जवाफ :
प्रश्न : कुराको उठान यसरी गरौँ । तपाईं जतिबेला पनि पढ्न रुचाउनुहुन्छ भन्ने चर्चा छ । अनि यतिबेला चाहिँ के पढ्दै हुनुहुन्छ नि ?
उत्तर : हो, मलाई सबैभन्दा मनपर्ने काम भनेकै पढ्नु हो । त्यसैले मेसो मिलेसम्म पढ्छु । फरक यत्ति हो, यतिबेला किताब मात्र नभएर मोबाइल पनि पढिन्छ घरिघरि । तपाईंले पक्कै किताबको कुरा गर्नुभएको होला । किताबका हकमा म यतिबेला गैरआख्यान पढ्दै छु । तिनमा राम बिन्दु श्रेष्ठको ‘मेरा सोभियत सम्झनाहरु’ र ज्ञानु अधिकारीको ‘संवेदनाको समायोग’ एकैसाथ पढिरहेको छु ।
प्रश्न : तपाईं के कस्ता सामग्री पढ्नु हुन्छ ? अनि ती कुराहरु के का लागि पढ्नुहुन्छ ?
उत्तर : मैले नपढ्ने कुरा केही पनि छैन । भेटेजत्रि पढ्ने प्रयास गर्छु । यत्ति हो, पढ्दै गरेको किताबले अन्तिमसम्म तान्नुपर्छ । मैले ‘युद्ध र शान्ति’, ‘आन्नाकेरेन्निा’, ‘युलिसिस’जस्ता विश्वका सर्वोत्कृष्ट भनिएका कृतिहरु पूरा पढ्न सकिनँ । नढाँटी भन्नुपर्दा सायद ती कृति पूरा गर्नै धैर्य मसँग थिएन । यसो हुनुमा मेरो व्यस्तता र चटपटे स्वभावले पनि काम गरेछ कि !
अनि दोस्रो सवाल म किन पढ्छु भने पढेपछि केही मूलतः म आनन्द पाउन चाहन्छु । कतिपय किताब म ज्ञानका लागि पनि पढ्छु । कहिलेकाहीँ किताबका बारेमा केही बोलिदिनुपर्ने हुन्छ, कहिलेकाहीँ केही लेखिदिनुपर्ने हुन्छ । त्यसका लागि म पढ्ने गर्छु । बस् पढ्नलाई कुनै न कुनै बहाना चाहिन्छ मलाई । त्यति भयो पुग्यो ।
प्रश्न :तपाइँकाे पढाइको गति कति छ ? अनि तपाईंले नपढ्दा तपाईंको के बिग्रन्छ ?
उत्तर : एकताका विज्ञान पढेको थिएँ । गति हुनलाई चलायमान हुनुपर्छ । पढ्दा त्यसरी चलिँदैन । यसर्थ गतिमा हुने बस, मोटरसाइकल वा साइकलको जस्तो पढाइको गति नाप्न मिल्छ कि मिल्दैन म जान्दिनँ । भाषा सलल बगेको छ, विषयवस्तुले तानेको छ भने म एक घन्टामा पचास पृष्ठ जति सजिलै पढ्न सक्छु । भाषा जालेमाले खालको छ, पढ्नका लागि अलिक मेहनत गर्नुपर्ने खालको छ भने मलाई पढ्न समय लाग्छ । पहिलो चोटि मलाई पढ्न सबैभन्दा बढी समय लागेको किताब ‘माधवी’ उपन्यास हो, जुन छ महिनामा पूरा भएको थियो । यो तीन दशक अघिको कुरा थियो । हालसालैको कुरा गर्दा आकारमा सानो भए पनि ‘आतोओडा’ उपन्यास सानो भएर पनि मलाई एक चोटि पढेर सक्न लगभग दुई महिना लागेको थियो । कतिपय किताब थालेको वर्षौं भएर पनि नसकेका उदाहरणहरु प्रशस्त छन् मसँग ।
अर्को प्रश्न मैले नपढ्दा के हुन्छ भन्ने छ नि खासमा केही पनि हुँदैन । मैले कुनै किताब पढ्दैमा त्यसका लेखकलाई उधुमै केही हुने र नपढ्दैमा बिग्रिहाल्ने कुरा त केही छैन । नपढ्दा म आफैँ पछाडि पर्छु भन्ने लाग्छ । पढ्दै नपढेपछि म न त केही बोल्न सक्ने हुन्छु, न त केही लेख्न सक्ने हुन्छु । यसर्थ म पढ्छु, बस् पढ्नु मेरो रुचि हो, नसाचाहिँ भइसकेको छैन अझै ।
प्रश्न : त्यसो भए नढाँटी भन्नुस् त तपाईं लेखक कि पाठक ?
उत्तर : हेर्दा सरल भए पनि यो अलिक जटिल खालको प्रश्न हो । हरेक लेखक एउटा पाठक पनि हो । नपढी लेखक बन्न सकिन्छ भन्ने कुरा म मान्दिनँ । अझ आफैँले लेखेको कुरा पनि दोहोर्याएर पढिएन भने नयाँ रचनामा पुनरुक्ति दोष देखिन सक्छ । यसर्थ हरेक लेखकले आफूलाई पाठक बनाइराख्न सक्नुपर्छ । म त लेखक बनिनसकेको साहित्यसेवी मात्र हुँ, यसर्थ मैलै सगर्व भन्न सक्नुपर्छ खासमा म पाठक हुँ ।
प्रश्न : तपाईं आफूलाई घगडान समालोचक ठान्नुहुन्छ भन्ने आरोप पनि छ नि ?
उत्तर : यहाँले सुरुमै आरोप भनिसक्नुभएको छ । भन्नेहरु भन्दै गरुन् न मेरो के नै बिग्रन्छ र ? पछिल्लो चरणमा पत्रपत्रिका, इलेक्ट्रोनिक मेडिया आदिको राम्रै विकास भएकाले मैलै पढेका किताबका बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै आएको छु । ती धारणा समीक्षाको नजिक छन् भन्ने लाग्छ मलाई । यत्ति लेख्दैमा म कसरी घगडान समालोचक भएँ ? मैले आजसम्म बुझेको छैन । आरोपै सही, कसैले मानिदिन्छन् वा भनिदिन्छन् भने मेरो लाग्छ र ?
प्रश्न : यतिबेला नेपाली समालोचनाका मानक समालोचकहरु नै खासमा नेपाली भाषामा उत्कृष्ट समालोचना नलेखिएको कुरा गर्दै छन् । के स्थिति यस्तै हो त ?
उत्तर : मैले पनि ती कुराहरु विभिन्न पत्रपत्रिकामा पढ्दै र सञ्चार माध्यममा सुन्दै आएको छु । वरिष्ठ समालोचकहरु अभि सुवेदी, सञ्जीव उप्रेती आदिको नाम यस मामलामा अगाडि आउने गरेको छ । उहाँहरुका अगाडि म त सिकारु समीक्षक हुँ, आजका मितिसम्म समालोचक बनिसकेको छैन । अझ भनौँ आजसम्म मेरो समालोचनाको एउटा किताब त छापिएको छैन । अब मबाट यसको उत्तर कसरी आउला ? यतिबेला नेपाली भाषासाहित्यमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थी घटिरहेका छन् । यस्तो बेला समालोचनाका किताब कम बिक्नु स्वाभाविक हो । यसो भनेर आफूलाई समालोचनामै तिखारेका लेखक चुप लागेर बस्नु त भएन नि ? आफैँले गतिलो नलेख्ने अनि अरुले लेखिदिएन भनेर रोइलो गर्नु कत्तिको मनासिब हो ? यसमा सबै समालोचकले आत्मालोचना गर्नुपर्छ कि पर्दैन ?
प्रश्न : त्यसो भए खासमा समालोचकको धर्म के हो त ?
उत्तर : समालोचकको धर्म विवेच्य कृतिभित्र पसेर त्यसका राम्रा र नराम्रा पक्षका बारेमा केलाएर पाठकलाई देखाइदिने हो । यसले लेखक र पाठक दुबैलाई फाइदा पुग्छ । लेखकले अर्को कृति निकाल्दा पुराना कमीकमजोरीलाई सुधार्न पाउँछ भने पाठकले राम्रा कृति चयन गरेर पढ्न पाउँछ । यसरी कृतिको राम्रोसँग विवेचना गर्नु नै असल समालोचकको धर्म हो भन्ने ठहर हो मेरो ।
प्रश्न : तपाईंले चाहिँ समालोचकको धर्म कति निभाउनुभएको छ त ?
उत्तर : यस मामलामा म प्रयासरत छु । समालोचना गर्न सिक्दै छु । तर एउटा समस्या छ, कृतिलाई नराम्रो भनिदिँदा लेखक रिसाउँछ कि भन्ने डर हुन्छ भने राम्रो भनिदिँदा पाठकले लेखकको गुलामी गरेको ठान्छ । यो समस्या कहिले हट्ला कुन्नि ?
प्रश्न : त्यसो भए समालोचनाका नाममा आलोचना मात्रै गर्ने त ? राम्रा कुरालाई आँखा चिम्लने काम किन गर्छन् हँ समालोचकहरु ?
उत्तर : मात्र आलोचना गर्नपर्छ भनेर मैले कहाँ भनेको हुँ र ? राम्रो कुरा मात्र देखाउँदा लेखक फुर्केर अर्को कृति नै नलेख्ने समस्या हुन सक्छ । नराम्रा कुरा मात्र बताइदिँदा लेखकले लेख्नै छाड्ने डर पनि हुन्छ । यसर्थ गुण र दोष दुबैलाई देखाउन सके राम्रो हुन्छ भन्ने ठान्छु म ।
प्रश्न : तपाईंलाई खरो समालोचक भन्छन् नि ?
उत्तर : म समीक्षा गर्दा गुणका साथसाथै दोषको पनि चर्चा गर्छु । कहिलेकाहीँ गुणभन्दा दोषको चर्चा बेसी हुन्छ होला । सुरुसुरुका कृतिमा हुन्छ पनि त्यस्तै । अझ आफैँ लेखक, आफैँ प्रकाशक, आफैँ वितरक र आफैँ सम्पादक भएर निकालेका कृतिमा त्यस्तो दोष बढी नै हुन्छ । प्रुफ पटक्कै हेरिएको हुँदैन, भाषा चौपट हुन्छ । सिलसिला कत्ति पनि मिलेको हुँदैन । त्यस्तो कृतिलाई सर्वोत्कृष्ट हो भनेर ढाँट्नु ? मबाट यो काम हुन सक्दैन । बरु खरो समालोचक भन्छन् भने स्वीकार्य छ मलाई ।
प्रश्न : कुनै कृति सफल हुन के गर्नुपर्छ नि ?
उत्तर : पहिलो काम त लेखकले मेहनत गरेर लेख्नुपर्छ । लेखेका कुरालाई छाप्नुअघि भाषा सम्पादकले सम्पादन गर्नुपर्छ । यसरी छापिएर आएको किताब पाठकसम्म पुगेर मात्र पनि हुँदैन । त्यसको प्रचारप्रसार पनि हुनुपर्छ । यो विज्ञापन अझ भनौँ मेडियाको जमाना हो । यतिबेला कृतिको चर्चा परिचर्चा भएन भने पाठकले थाहा नै पाउँदैन । अझ कतिपय पाठक त यस्ता पनि छन्, कतिबेला मदन पुरस्कार र पद्मश्री पुरस्कारको सूची आउला र किताब किनूँला भनेर बस्ने गर्छन् । त्यस्ता पाठकका लागि त चर्चा परिचर्चा नभई हुँदैन । एउटा कृतिको कुरा गरौँ, अमला अधिकारीको उपन्यास ‘आलय’ लेखन, सम्पादन, भाषशैली, विषयवस्तु सबै दृष्टिबाट अब्बल भएर पनि चर्चा परिचर्चाबाट टाढा भएका कारण धेरै पाठकसम्म पुग्न सकेको छैन ।
प्रश्न : त्यसो भए प्रचार प्रसार नभए कृति बिक्दैन त ?
उत्तर : मैले त्यसो भनेको होइन । कृति बिक्न त निःसन्देह लेखन राम्रो हुनुपर्छ । तर राम्रोलाई राम्रो भन्न पनि त प्रचार प्रसार त चाहियो नि होइन र ? नेपाली उखानै छ त ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।’ यो धारणा किताबका मामलामा पनि लागू हुन्छ ।
प्रश्न : यतिबेला घोस्ट राइटिङ पनि चलिरहेको छ नि ? यसका बारेमा यहाँको धारणा के छ ?
उत्तर : अनुभूति, भावना र भोगाइ हरेक व्यक्तिसँग हुन्छ । तिनलाई अभिव्यक्त गर्ने चाहना पनि हुन्छ । तर सबैले त्यसलाई चाहे जसरी अभिव्यक्त गर्न सक्दैनन् । त्यस्तो बेला घोस्ट राइटिङ सहयोगी बन्छ । नेपाली साहित्यमा एउटा समस्या बढ्दो छ, त्यो के हो भने यसरी लेखाइएका कृति छापिएपछि तत् तत् कृतिका लेखकहरु आफूलाई निकै ठूलो लेखक ठान्छन् । यसलाई भने बेलैमा रोक्नु जरुरी छ भन्ने लाग्छ मलाई ।
प्रश्न : प्रसङ्ग बदलौँ है । अँ साँच्ची तपाईंका कृतिहरु चाहिँ किन ननिस्किएका हुन् नि ?
उत्तर : खासमा मैले अझसम्म आफैँलाई मन पर्ने खालका रचना लेख्न सकेको छैन । जब आफ्ना रचना आफैँलाई मन पर्दैन भने पाठकले खोजेर पढ्लान् भन्ने मलाई विश्वासै छैन । अनि मेरो कृति छाप्न कोही प्रकाशक पनि त तयार छैन । यस्तोमा कृति छपाएर धनको नास किन गर्नु ?
प्रश्न : त्यसो भए तपाईंका कविता, गीत, गजल, मुक्तक, हाइकु सेलाएकै हुन् त ?
उत्तर : यो प्रश्नको उत्तरमा म यति भन्छु, मेरा साहित्यिक सिर्जना बिल्कुल सेलाएका छैनन् । विभिन्न पत्रपत्रिकामा छापिएकै छन् । कतै नभए मेरो फेसबुक वालमा टाँसिएकै छन् । करिब चार हजार जति साथी भएको उक्त वालमा कम्तीमा एक दर्जन जति लाइक र कमेन्ट आइहाल्छ । त्यति भए मलाई पुगिहाल्यो नि । त्योभन्दा बढी आशा पनि गर्दिनँ म ।
प्रश्न : यहाँलाई भन्न मन लागेका थप कुरा केही थियो कि ?
उत्तर : प्रश्नका लागि धन्यवाद । यति भन्न पाएँ पुग्यो । अब यी कुराहरु मेरा पाठकसम्म चाहिँ कसरी पुग्ला भन्ने चिन्ता मनभरि छ, अरु केही छैन ।
(रमेश प्रभातले स्वयम् रमेश प्रभातलाई कसरी हेर्दो रहेछ त ? यस्तो खालको प्रयोग यहाँहरुलाई कस्तो लाग्यो ? मेरो इमले, मेसेन्जर, भाइबर आदिमा सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला । अनि यो आफ्नो विज्ञापन चाहिँ होइन नि फेरि !)
०००
अध्यक्ष, अक्षर समूह चितवन ।