बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

बैकुण्ठतिर भौंतारिंदा

"तपाईं चै मास्टर भन्दै शिक्षकलाई हेपेर अंग्रेजी शब्द बोल्ने, मलाई चै अंग्रेजी शब्द बोल्न पाइदैन भन्ने ?" बुढाले त बञ्चरो उज्याइ हाले, म भाग्दै गएँ, उनी खेद्दै आए । पुलिसले अपराधी खेदे जत्तिकै गरेर। भाग्दा भाग्दै तीन तला माथिबाटै हाम फालेंछु, डङ्ग्रङ्ग तल झरेछु। भरे त सुतेको खाटबाट पो लडेर झसङ्ग हुँदै ब्युँझेछु !!

Nepal Telecom Spring Offer

विनोद खनाल :

पुराणतिर बैकुण्ठको बयान सुन्दा कहिले मरिन्छ र बैकुण्ठ जान पाइएला भन्ने फिट्फिटी लागिरहन्थ्यो।यो कुरुप र मिथ्या पृथ्वीमा बस्नुभन्दा त छिट्टै बैकुण्ठ जान पाए त अति आनन्द हुन्छ भन्ने कुरा हावादारी पण्डित बाजेहरूका मुखबाट निकै पटक सुनेको थिएँ ।यसैले होला मलाई पनि कहिले मरिएला र बैकुण्ठ जान पाइएला भन्ने कुरा चैं कहिले दसैं आउला र मासुभात खान पाइएला भनेर गरिबहरूले सोचे जत्तिकै भको थियो ! तर मर्न रहर गरे पनि मर्न पाइने रहेनछ, न बाँच्ने रहर गर्दा बाँच्न पाइन्छ न मर्न। एकदिन त जेसुकै होस् चाँडै बैकुण्ठ पुग्ने रहर गरेर घाँटीमा पासो लाउने बिचार गरेर पासो लाएँ तर सास थुनिएर झण्डै मरें । फेरि त्यसरी अगति परेर मर्नेहरू सिधै नर्कमा जान्छन् भन्ने कुरा पुराणमै सुनेपछि आत्महत्याको बाटो पनि कार्यकर्ताले पाटी त्यागे जसरी नै त्यागीदिएँ। हुन त मरेपछि नर्क पुगियोस कि स्वर्ग जिउले थाहा पाउने होइन,आत्मा डुल्छ,घुम्छ भन्ने कुरा पनि पण्डितजीहरूले भक्त अल्मल्याएर आफ्नू पेशा चलाउन गरेको छलछाम मात्र हो कि जस्तो लाग्छ मलाई त ! तर मनमा त्यस्तो लागे पनि व्यवहारमा त त्यसो गर्न सकिंदो रहेनछ नि त ! उही शिक्षकले कक्षामा खैनी, चुरोट, जाँड, रक्सी, खानु हुँदैन भनेर अर्ती दियो अनि कक्षा बाहिर निस्किएपछि खैनीको बट्टा निकालेर खैनी खाए जस्तो । मान्छे बाँचौं भन्दा पनि बाच्न सक्दो रहेनछ, मरौं मरौं भन्दा पनि मर्न पाउँदो रहेनछ।

एकताका म निकै बिरामी परेर सुतेको थिएँ, माधवप्रसाद घिमिरेले लेखेको गीतमा जस्तै मैले पनि म मरेको सपना देखें । म सपनामा मरेपछि दुई जना डरलाग्दा र दुईजना माया लाग्दा मानिसहरू आएर झगडा गर्न थाले । ती दुईजना भुसतिघ्रे र डरलाग्दा मान्छे चैं जेमराजका दूत रहेछन्, खिनौटे र पिनासे चैं देवदूत रहेछन्। दूत त यस्ता छन्, मालिक झन् कस्ता होलान् भनेर सोच्दै थिएँ, उनीहरू दुई समूह बिच नै भनाभन हुन थाल्यो । एमाले र गठबन्धनको जसरी ! भनाभनबाट सुरु भएर हानाहान मै टुङ्गिएला जस्तै भयो । उनीहरूको झगडा त संसद भवनमा प्रतिपक्ष र सत्ता पक्षकै जस्तो। दुईचार मुक्कामुक्की पनि हानाहान भयो।

ती पिलन्धरे पनि काँ कम रछन् र ! जुडो, कराँते सब सिकेका रछन, हली स्टाईलले लडाइँ गर्ने जेमदुतहरुको केही लागेन। आफूलाई भने किच्याएर मार्लान् भन्ने त्राही त्राही ! एक चोटि त मरियो मरियो फेरि अर्को चोटि पनि मरियो भने त बर्बादै भयो ।एक चोटि मरेर काज किरिया गर्दा त सिरिखुरी पार्छ हाम्रो धर्मशास्त्रले भने झन दुई चोटी मर्दा त के हालत होला हँ !जस्तो लाग्यो।आखिर ती दुई समूहबिच सम्झौता भयो,सरकार र माओवादीको जस्तै, “आखिर हामी त अराको मान्ने मान्छे हुँ,बेकार लडाइँ गर्यौं,हाम्रा मालिकले पहिले जता भन्छन्,त्यतै लाने” भनेर। म भने देवी मन्दिरमा भोग दिन लगेको बोकोझैं जता डोहोर्याउँछन् त्यतै डोहोरिदै थिएँ।

निकैबेर हिंडेपछि एउटा निकै ठूलो नदी देखियो,अहो त्यो नदी पो तर्न सकिने हो कि होइन!न नदीमै लगेर फाल्दिने हुन् र डुबेर मरिने हो कि भनेर भन्ठान्दै थिएँ,एउटा साइनबोर्ड देखियो, साइनबोर्ड त नेपालकै जस्तै सप्पै पाप्रा उक्किसकेका थिए तर दूतहरूले नै भने ” बैतरणी नदी” भनेर चिनाइदिए ।  दूतहरू चैं नेपालका प्रहरी भन्दा इमानदार नै रहेछन् । ए नदी तरेपछि त बैकुण्ठ जान पाइने रहेछ भनेर दङ्ग पर्दै थिएँ, नदीतिर छिर्ने ठाउँमै जेमराज र देवराजको दूतावास सम्पर्क कार्यालय रहेछ आम्ने साम्ने । मलाई चै जेमदूतले पहिला नर्ककै दूतावासतिर लगे।साइनबोर्डमा लेखिएको थियो ” सम्पर्क कार्यलय, कुम्भिपाक, नरक”।

अब चैं बिताए, बैकुण्ठमा गएर विष्णु भगवानका साथमा पुष्पक विमानमा घुम्दै रमाइलो गर्दै बसौंला भन्ने कत्रो धोको थियो,चोक्टा खान गको झोलमै डुबेर मरिने भैयो भनेर क्वाँक्वाँ रुन मन लाग्यो । अब भक्भकी उम्लिएको तेलमा माछा तारे जस्तै गर्ने भए,खकार र दिसाको खाडीमा चोबिनु पर्ने भयो भनेर मन अकबरे खोर्सानी दले जत्तिकै पोल्न थाल्यो। भित्र एउटा ती जेमदूतभन्दा पनि डरलाग्दो मान्छे बसेको रहेछ ! छेउमा काँडैकाँडा भएको कोररा पनि रहेछ। मलाई त्यो मान्छे देख्दै डाइरिया हुन आँटेको थियो। त्यो मान्छे कस्तो थियो भने घ्याम्पो जत्रो टाउको, टाउकामा तार जस्ता कपाल र दाह्रीजुँगा, लौका जत्रो नाक, ड्रम जत्रो मुखमा फरुवा जत्रा दाँत, विकासे गोलभेंडा जत्रा र जस्ता आँखा, नाङ्ला जत्रा कान, एक क्वीन्टल धान अट्ने हारापाटा बोरा जत्रो भुँडी,सखुवाका खाँबा जत्रा पाखुरा, सिमलको रुख जत्रो तिघ्रा। यस्तो मान्छेको छेउमा पुग्दा कस्तो भयो होला! तपाईं आफैं अनुमान गर्नु होस्न,किनभने अनुमान गर्न तपाईं हनुमान जत्तिकै हुनुहुन्छ भन्ने मैले सुनेको छु। नरसिंगाको जत्रै आवाज निकालेर त्यो मान्छेले मलाई अन्तरवार्ता लिन थाल्यो, सोर्सफोर्स नपुगेको उम्मेदवारलाई जत्तिकै गरेर :
“भन्, जन्मिएर के गरिस् ?”
“के गर्नु र हजुर ! बिहे गरें।”
“बिहे गरेर के गरिस ?”
“हत्तेरीका यस्तो चैं नसोध्नु न, बिहे गरेपछि के के गरियो गरियो नि, छोराछोराछोरी जन्माइयो, बडाइयो,पढाइयो।”
“जाँडरक्सी खाइस् ?”
“राम… राम… राम कहाँ खानु हजुर ! बाहुनको छोराले,जाँडरक्सी भन्ने शब्द सुन्यो र भन्यो भने पनि बाले गाईको गहुँत कानमा ल्याएर छर्की दिनु हुन्थ्यो र मुख कुल्ला गर्न लाउनु हुन्थ्यो।”
“गफ गर्छस,अचेल मतवालीले भन्दा छेत्री बाहुनले बढी रक्सी खान्छन् बुझिस ! सुर्ती, चुरोट, गाँजा,अफिम, हिरोईन, स्म्याक खाइस् कि खाइनस्र ?”
“हजुर, हामी जस्ता गरिबका छोराले काँ पाउनु र पैसा हजुर त्यस्तो चिज,त्यो त धनीमानी, जमिनदारका छोराहरूले मात्र खान्थे,हामी त सुंघ्न पनि भेट्दैनथ्यौं।”
“झगडा ,हुलदङ्गा,चोरी,फटाइं,डकैती,आन्दोलन गरिस कि गरिनस्र ?”
“यस्तो लुते मान्छेले काँबाट गर्नु त्यस्तो काम ! फेरि हाम्रो देशमा पुलिस प्रशासन साह्रै कडा छ, ठुला बडाले जस्तोसुकै फटाइँ गरे पनि मासुभात खुवाएर राख्छ, सानातिनाले सानू गल्ती गरे पनि पुलिसले डंडाल्नु खुस्कने गरि पिट्छ,अनि डरैले गरिन त्यस्तो काम !”
“नेतागिरी गरिस् ?”
“गरिन हजुर ढाँट्न नजान्ने मान्छेले कसरी गर्नु नेतागिरी !”
“रण्डीबाजी गरिस् ?”
“गरिन हजुर, त्यस्तो नर्कमा पर्ने काम कसले गरोस् !”
“ए हाम्रो राज्यलाई नराम्रो भन्ने तँ” भनेर दुई कोर्रा लायो। सानामा स्कुल पढ्दा सरले कुटेको झल्झली याद आयो। अघिका मान्छेहरू बोलाएर भन्यो, “यस्तो केही गर्न नसक्ने नामर्दको हाम्रो नर्कमा काम छैन। बाटाबाटै पर पुग्ने गरी हुत्याई देओ।” जेमदूतहरूले त्यसै गरे। म हुत्तिएर पर…. पुगें । देवदूतहरू चुरोट तान्दै बसेका रहेछन्, म हुत्तिएको देखेपछि आएर च्याप्प समातेर देवराजको दूतावासतिर लिएर गए।

देवराजको सम्पर्क कार्यालयमा एकजना जटादारी,जुँगा पालेको,आधा तालु खुइलिएको,त्यही खुइलिएको तालुदेखी निधारभरी चन्दन दलेको,पहेंलो धोती लाएको पिलन्धरे मानिस खाता हेर्दै बसेकोरहेछ। देवदूतहरूले मलाई त्यहाँ पुर्यााएर छेउको कुर्सीमा बसालेर मैले नबुझ्ने भाषामा खै के के भने, नेपाल भनेको मात्रै बुझें, त्यसपछि उनीहरू बाहिर गए। ती खातावालले मैले नबुझ्ने भाषामा खोइ के भने, म नबुझेर ट्वाल्ल परेर हेरिरहें। त्यसपछि उनले नेपालीमै भने, “तिमी संस्कृत बुझ्दैनौ ?” मैले भनें, “के को बुझ्नु संस्कृत ! नेपालमा सबैतिर अंग्रेजी स्कुल खोलिएर संस्कृत त हराइ गयो नि।” ” त्यसो भए अंग्रेजी चैं आउँछ होला” उनले भने।”बाबा त्यो सात समुन्द्र पारिको विद्या त झन आउँदैन। कस्ता कस्ता बिए पासले त अंग्रेजी जान्दैनन्, म दस पासले काँबाट जान्नु !” मैले भनें।
“त्यसोभए नेपाली चैं आउँछ होला , नेपालीमै जवाफ देउ न त ।”
“हवस्”
अनि उनले प्रश्न सोध्न थाले “गायत्री मन्त्र त आउँछ होला नि ? बाहुनका छोरा रछौ !”
“काँबाट आउनु गायत्री मन्त्र, कहिले जपेको भए पो।”
“अनि गुरूले सिकाएनन ?”
” खोइ बर्तमनको दिन गुरूले गाम्छा ओडाएर ओम भुँडी भुँडी ढुस्स भनेको सुनें, सधैं एकाबिहानै तीन थाल भात हसुर्ने मान्छेलाई बार बजीसम्म खान नपाउँदा भुँडी ढुस्स भएर ठुस्स होला जस्तो भएको थियो, त्यसै भनेको होला जस्तो लाग्यो, अरु चैं केही सिकाएनन्र।”
“अनि धर्म कर्म चैं कति गरेउ त ?”
“गरियो गोडा पाँचेक सोस्थानी र गोडा दसेक सत्तेनारानको पूजा लगाइयो।”
“अं निकै गरेका रछौ,मन्दिर,स्कुल, धर्मशाला हस्पिटल बनाउन कत्तिको सहयोग गर्यौो?”
” कोही ठाउँ दस,कोही ठाउँ बीस,कोही ठाउँ त पचास रुपैयाँसम्म सहयोग गरियो तर ती सबै पैसा त्यहाँका कमेटी र पण्डित मिलेर खाए भन्थे,न स्कुल न हस्पिटल !”

“खोइ,तिम्रो अन्तरवार्ता अनुसार त बैकुण्ठ पठाउन नमिल्ने हो, तर निकै ठूलो फोर्स आएको छ,थाम्नै गाह्रो,पास भयौ, जाऊ !” भन्दै एउटा कागज दिएर, “यो लिएर नदीमा जानू र दिनु अनि बैकुण्ठ पुगिन्छ” भने। म पनि योग्यता नै नभै अन्तर्वार्तामा सफल भएको उम्मेदवार जत्तिकै खुशी हुँदै बैतरणी नदीतिर गएँ। माझीले कागज माग्यो,देखाएँ, “नाउ तरेको पैसा लाग्छ” उसले भन्यो। “हैन बैकुण्ठमा पनि केको पैसा ,यो नेपाल हो र ? जहाँ गए पनि पैसा तिर्नु पर्ने ?” अस्ति त्यत्रो गोरु लाग्ने बेला भएको कोरली बाछी र एक हजार रुपयाँ बाहुनलाई बैतरणी तर्न भनेर दिएको, दिन्न म पैसा” म मज्जले नै कड्किएँ। “बाहुनलाई बाछी र पैसा दिंदा कहीं बैतरणी तरिन्छ ? बाहुनले त पैसा गोजीमा हालेर बाछी त किलैबाट बेची हाले नि ! तार्ने त म हुँ ,पैसा नभई त हुँदैन।” म बडो बिलखबन्दमा परें,यसो गोजी छामेको बीसोटा रुपियाँ रछ त्यही दिएर पारि तरें।

अहो बैकुण्ठ सहरको वर्णन के थियो र !आदिकवि भानुभक्त आचार्य भएको भए एउटा सिंगै महाकाव्य निस्किन्थ्यो होला। आफू त न आदिकवि न अन्ते कवि ! सुरुमै अनुगमन शाखा रहेछ, प्रहरीले पहिल्यै कागज खोज्यो, ” सद्दे मान्छे नै आएपछि किन चाहियो कागज ?” भनेको “जत्रै र जस्तै मान्छे भए पनि कागज नभई हुदैन” भन्यो । कागज दिएपछि पनि हजार रुपैयाँ माग्दै थियो, दलाली गर्दा गर्दा बल्ल सय रुपैयाँमा मान्यो, त्यो पनि पहिला नेपालकै प्रहरीमा काम गर्दो रहेछ। उसले भन्यो, “तपाईं यहाँबाट देब्रेतिर जानू ! पिताम्बर भवनमा पुगेपछि तपाईंको शाखा छुट्टिन्छ ।”

नेपालको संसद भवनभन्दा पनि ठूलो रहेछ, पिताम्बर भवन। पहिलो कोठामा पसेको दर्ता फाँट रहेछ,गणेश भगवान टि टेबलमा सुँड अढ्याएर भुँडी टेबुलमा पल्टाएर निदाइ रहेका रहेछन् ।” नमस्कार सर !” भनेको सुन्दै सुनेनन्। मभन्दा निकैपछि दुईटी केटी आएर” नमस्कार ” भन्ने बित्तिकै जुरुक्क उठे। मनमनै भनें, ए तिमी पनि यत्तिका रहेछौ, कागज देखाएँ, कागज हेरेर उनले भने,”पहिला माथि लगेर तोक लाएर ल्याउने, अनि म ठोक लगाइदिन्छु, त्यति भए सब ठिकठाक भइहाल्छ”। एक दुई कोठा चहार्दै मास्तिर उक्लिएँ, प्रायः रित्ता कुर्सीहरू मात्र देख्थें। बाहिर बोर्डमा चैं भित्र लेखिएको हुन्थ्यो। एउटा कोठामा हेरेको “भगवान विष्णु, भित्र” लेखेको रहेछ, आज चैं खूब मौका पर्याे, मूल मान्छेसँग नै भेट हुने भो भनेर खुशीले गदगद हुँदै ढोकाबाट पस्न खोजेको पि ए ले रोकिहाल्यो, पि ए त पिएर टन्न भको रछ लर्बराएको स्वरमा भन्यो, “कल्लाई खोजेको ?” मैले भनें, “भगवान विष्णुलाई ।” राताराता आँखा पार्दै उसले भन्यो,” उहाँ त हुनुहुन्न ,मर्त्यमा खोइ कस्को सतित्व डगाउनु पर्यों अरे त्यतै जानु भएको छ !”

त्यसपछि घुम्दै फेरि अर्को तलामा गएँ। एउटा कोठाको बोर्डमा “देवराज ईन्द्र,भित्र” लेखेको रछ। यसो ढोकाबाट चिहाएको त उर्वशी, मेनका, तिलोत्तमासंग जिस्किएर पो बसिरहेका रहेछन्। बज्रले बजाउँछन् होला बाबैले भनेर त्यहाँबाट लुसुक्क हिंडेँ। अर्को कोठामा हेरेको बोर्डमा “चिरञ्जीवी पर्शुराम ” लेखेको रहेछ, बुढा त टेबुलमा बसेर बञ्चरो उध्यारहेका रहेछन् । हन, अफिसमा त हतियार राख्न पाइंदैन भन्थे, कानुन त सानातिनालाई मात्र लाग्ने हो कि क्या हो ! ठुलाबडाले त जे गरे पनि हुन्छ ! आखिर जे गरे पनि देवताहरू पूज्य भएकै छन्। हातमा कागज लिएर भित्र पसेको, पिलिक्क हेरे, “सर यो कागज” भनी रथें “के को कागज ? म पढाउने मास्टर हुँ र सर भनेको ? यो बैकुण्ठको अफिस हो बुझिस् ! यहाँ सर फर जस्ता कुनै अंग्रेजी चल्दैन। यहाँ त हाकिम साब, हजुर मात्र चल्छ” भने।

मलाई पनि झोंक चल्यो र भनें “तपाईं चै मास्टर भन्दै शिक्षकलाई हेपेर अंग्रेजी शब्द बोल्ने, मलाई चै अंग्रेजी शब्द बोल्न पाइदैन भन्ने ?” बुढाले त बञ्चरो उज्याइ हाले, म भाग्दै गएँ, उनी खेद्दै आए । पुलिसले अपराधी खेदे जत्तिकै गरेर। भाग्दा भाग्दै तीन तला माथिबाटै हाम फालेंछु, डङ्ग्रङ्ग तल झरेछु। भरे त सुतेको खाटबाट पो लडेर झसङ्ग हुँदै ब्युँझेछु !!

०००
धुलाबारी ,झापा !

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
के बदल्ने खोइ ?

के बदल्ने खोइ ?

चूडामणि खनाल
शिछेक म्याँ-संघ

शिछेक म्याँ-संघ

संप्रस पाैडेल
जात्रै जात्राको संस्कृति

जात्रै जात्राको संस्कृति

माधव पोखरेल गोज्याङ्ग्रे
हाँसी रहेका मलामीहरू

हाँसी रहेका मलामीहरू

शिवप्रसाद जैशी