बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

फेसबुके जात्रा

हामी बिर्सन्छौ, साथी एकोहोरो मात्र बनेको हुँदै होइन । कुरा दोहोरो हुन्छ । केही लिन केही दिनसक्नु पनि पर्छ । अर्कासँग मात्र माग्नेलाई त ‘माग्ने’ भनिन्छ । एक हातले दिने र एक हातले लिने बानी बसाल्नु पर्दछ ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

गाईजात्रा, रोपाईं जात्रा, लाखेजात्रा जस्तै पछिल्लो पटक चर्चामा रहेको अर्को जात्रा, फेसबुके जात्राको मनोरन्जन लिन, अन्य जात्रालाई जस्तो तिथिमिति कुरिरहनु पर्दैन । यो जात्रा दिनरात चलिरहेको हुन्छ । यसले अरु जात्रालाई मात्र होइन, सम्पूर्ण चाडवाड, नातागोता, रहनसहन र धर्म संस्कृतिलाई नै ओझेलमा पार्ने दुस्साहस गरिरहेको छ । मलाई यो फेसबुक भनेको कताकता ढुङ्गाको सिलोट जस्तै लाग्छ । किनकि यसमा लेख्न पनि मिल्छ लेखी सकेपछि मेट्न पनि मिल्छ । यसलाई घरको भित्ता सम्झिए पनि हुन्छ, जहाँ लहरै फोटो टाँस्न पनि सकिन्छ । यहाँ अधिकांश समय जात्रा हेर्न पाइन्छ तर जात्राको निश्चित विषय भने हुँदैन ।

जन्मदिनको अङ्ग्रेजी तारीख र नेपाली गते एकैदिन नपरेपछि केही साथीहरूको नक्कल गर्दै मैले पनि फेसबुकमा लेखिदिने गरेको छु । हुन त आज मेरो जन्मदिन होइन, यो फेसबुकले आजैलाई भनिदिएछ । खासमा मेरो जन्म दिन त भोलि हो । “देख्नु भो नि जात्रा, हरेक वर्ष जन्मदिनको अङ्ग्रेजी र नेपाली मिति सधैँ एकै दिन पर्दैन भन्ने कुरा त्यसबेला म भुसुक्कै बिर्सन्छु ।

फेसबुके सूचना देखेपछि, कतिले खुशी हुँदै आशिर्वाद सहितको शुभकामना दिन्छन् । कैयौँले माया र सम्मान गर्दै शुभकामना लेख्छन् । कतिले रित पुर्‍याउनै भएपनि शुभकामनाको झटारो फाल्छन् । शुभकामनाकै क्रममा कतिले पैँचो शुभकामना लेख्छन् । शुभकामना नदिने पनि किन, उता फेसबुकले जन्म दिनको औपचारिक घोषणा गरिसकेको हुन्छ । शुभकामना दिनेलाई धन्यवाद दिनुको सट्टा उल्टै सारा शुभ चिन्तकहरूको मन खिस्रिक्क पार्दै यो स्टाटस लेखेपछि मैले आफूलाई निकै होसियार र टाठोबाठो सम्झिने गरेको छु ।

मलाई लाग्छ, यो फेसबुक नामको खाता म आफूले बनाएको हुँदै होइन । मैले बनाएको भए त म नेपाली तिथिमिति हालेर जन्ममिति लेख्थेँ । यसरी अङ्ग्रेजी र नेपाली मितिमा अलमल गर्नु पर्ने नै थिएन । त्यो त फेसबुक कम्पनीले संसारका उच्च पदस्थ व्यक्ति र संसारका प्रख्यात केही सेलिब्रेटीको फेसबुक खाता आफैँ खोलिदिने क्रममा म जस्ता केही भद्रभलादमीहरूको खाता खोलिदिएको हुनुपर्छ । सायद, म पनि तिनै मध्येको परेँ क्यारे । फेसबुकले अलिकति फरक पारेर जन्म तिथि लेखिदिएछ । मैले बल्ल थाहा पाउँदैछु । मलाई मात्र होइन यस्तो सोचाइ अधिकांश मान्छेलाई आउन सक्छ ।

मेरो मनमा एउटा विचार जन्मियो भने म वरत्र परत्र, दायाँ बायाँ, तल माथि केही पनि हेर्दिनँ । झ्याप्पै पोष्ट टाँसिहाल्छु । जब पोष्ट प्रकाशित हुन्छ, त्यसबाट अर्कोलाई पर्ने मर्का बल्ल थाहा पाउँछु । त्यतिबेला मलाई आत्मग्लानी हुनुपर्ने हो, लाजले शिर निहुरिनु पर्ने हो तर अहँ । न मलाई लाज सरम लाग्छ, न आत्मग्लानी । यतिमात्र होइन, फेसबुकले धेरै कुराको ज्ञान दिने गरेको छ । कुनै चर्चित मान्छे सिकिस्त बिरामी भएको खबर पाउनासाथ सबैभन्दा पहिले तिनलाई श्रद्धाञ्जली दिन सके एउटा युद्धमा विजय प्राप्त गरे सरह हुन्थ्यो भन्ने लाग्छ । म तिनलाई श्रद्धाञ्जली दिन ढिलो गर्दिन । तर दूर्भाग्य ती व्यक्ति मरेकै हुँदैनन् । यसरी सबैभन्दा अघि हल्ला सम्प्रेषण गरे वापत न पारिश्रमिकको व्यवस्था छ ? न त सम्मान पत्र र पुरस्कार नै पाइन्छ ? तर पनि मान्छेलाई किन यति हतारिने बनाइदियो यो फेसबुकले, म आफैँ बुझ्न सक्दिन । यसरी जिउँदो मान्छेलाई श्रद्धाञ्जली दिँदा तिनका परिवारमा परेको चोटले किन हो छुँदै छुदैन । एउटा सभ्य नागरिकले जस्तै झ्वाट्ट माफी माग्न सायद यो फेसबुके स्वाभिमानले पनि दिँदैन । साच्चै भन्ने हो भने जब यो फेसबुकमा अभ्यस्त भइयो, यसले बिस्तारै अभिमानी बन्ने सूत्र पनि सिकाइ दिएको छ ।

जब फेसबुकले आफैँ लेखक, आफै सम्पादक र आफै प्रकाशक बनाइदियो सबैलाई जस्तै मलाई पनि अनौठो उर्जा प्रवाह हुन थाल्यो । हेर्दाहेर्दै हामी धुरन्धर समालोचक बन्यौँ । लेख, रचना र सिर्जनाहरूको मात्र होइन, अचेल हामी हरेक कुराको समीक्षा गर्न सक्षम भएका छौँ । यही फेसबुकले हामीलाई पक्ष र विपक्षमा खडा हुने पाठ पढाएको छ । कतै डाक्टर कुटिए, कतै एउटा नेताले अन्टसन्ट बर्बराउन थाले, भ्रष्टाचारका मामला बजारमा सुनिए, कतै हत्या र हिंसा भएको खबर पाउनासाथ हामी दुई पक्षविच वाकयुद्ध सुरु गरिहाल्छौं । मानौँ हामीसँग त्यस विषयको पर्याप्त प्रमाण छ । आफ्नो पक्ष एकदम निर्दोष छ ।

चुनावमा मतदातासँग यसै मार्फत भोट माग्छौँ । कसैलाई यसै मार्फत चोट दिन्छौँ तर आफूमा भएको खोट बिर्सन्छौँ । यति विघ्न अवसर प्रदान गरिदिने फेसबुक साँच्चै महान छ । अचेल फेसबुक आफ्ना कुल वंश र नाता कुटुम्बलाई जुठो सुतक सुनाउने आधिकारिक माध्यम बनेको छ । बिहे व्रतबन्ध र चाडवाडमा निमन्त्रणा गर्ने सुपारी जस्तै बनेको छ । मान्छेले समुहमा बोल्न नसक्ने कुरा एक्लै बस्दा बोल्न सक्छ, लेख्न सक्छ । किनकि यो मान्छेको स्वभाव हो । कहिलेकाहीँ फेसबुकमा केही अस्लिल र काइते सामाग्री आउने प्रमुख कारण पनि यही हो । अझै विजुली पानी ग्रहण गरेको बेला हुनुपर्छ । के पोष्ट भयो पोष्ट गर्नेलाई पनि थाहा हुँदैन ।

कहिलेकाहीं चिनेको नचिनेको जोसुकै होस्, हामी फ्याट्टै भनिदिन्छौँ, “आफूलाई ज्ञान नभएको कुरामा किन बाठो हुनु पर्‍यो ?” अधिकांश मान्छेलाई जस्तै मलाई पनि लाग्छ, आफूलाई कठिन लागेको कुरा अरुलाई पनि कठिन लाग्नुपर्छ। त्यस विषयमा मलाई त जानकारी छैन भने अरुलाई कसरी थाहा हुन सक्छ ? त्यसैले फलानोले यस विषयमा बेकारमा किन लेखेको होला ? किन टिप्पणी गरेको होला ? हामीलाई लाग्छ, यस प्रकारको विचार राख्ने जिम्मा त हाम्रो मात्र हो ।

यथार्थ फरक भएको कुरा हामीलाई थाहा हुँदैन । कुनै कुनै शिक्षकले विद्यालयमा अध्यापन गर्दा यदाकदा सबै विषय पढाउने गरेको मैले कतै सुनेको छु । तर मलाई सजिलै पत्यार लाग्दैन । किन भने त्यो क्षमता मसँग छैन । आफूसँग क्षमता नभएको कुरा अर्कोसँग हुनसक्छ भनेर मैले कसरी विश्वास गर्नु ? म मात्र होइन अधिकांश मान्छेलाई यस्तो कुरामा विश्वास लाग्दैन क्यारे ।

कहिलेकाहीँ कोरिरहने क्रममा मलाई आफैँले लेखेको सिर्जना असाध्यै राम्रो लाग्छ । जतिखेर पढ्छु, रचनाले खास भाव बोकेझैँ लाग्छ । शब्दहरूको संयोजन पनि भनेजस्तै छ । मलाई राम्रो लागेपछि म सय डेढसय साथीहरूलाई रचना ट्याग गरिदिन्छु । मेरो सिर्जना म आफैलाई मात्र राम्रो लागेको कुरा त्यसबेला मलाई हेक्का नै हुँदैन ।

“खेती बाली अर्काको राम्रो, सन्तान आफ्नो राम्रो ।” हरेक सिर्जनालाई लेखकको सन्तान मान्ने चलन छ । यसैले यो उखान किन बनेको रहेछ म बल्ल थाहा पाउँछु । मैले गरिदिएको ट्यागबाट मेरा साथीहरूको फेसबुके भित्तो फोहर भए पनि मलाई के फरक पर्छ र ? एकदिन कतै यो ट्यागका विषयमा लेखिएको संस्कृत श्लोक पढ्ने अवसर पाएको थिएँ ।

अतिचारी पराभूमिम्, ट्यागी, दुर्विनियोगिनाः ।
इहलोके न सम्मानम्, परलोकेपि दुरागतिः ॥

“अर्काको भूमि कब्जा गर्ने र अर्काको फेसबुक वालमा अनुमति बिना ट्याग गर्नेलाई यस लोकमा मान सम्मान प्राप्त नहुने मात्र होइन, परलोकमा पनि दुर्गति प्राप्त हुने छ ।”

यो श्लोक पढेपछि आएको क्षणिक सद्वुद्धि पनि केहीदिनमा फेसबुकले पुनः बिर्साइदिने गरेको छ । यो फेसबुकले बेलाबखत मलाई सन्काउने गरेको छ, कहिले जुरुकजुरुक उचालिदिन्छ । मान्छेहरूलाई हेर्ने नजर परिवर्तन गरिदिएको छ । लाग्छ, मेरो जति उचाइ कसैको पनि छैन । फेसबुकमा मसँग जोडिएका सबै साथीहरू म भन्दा निर्धो र निम्छरो छन्, निकै अज्ञानी छन्, लाटा र पाङदुरे छन् ।

जुकरवर्गले फेसबुक आविष्कार गरेसँगै हाम्रो चेतनाको स्तर अभिवृद्धि हुन थाल्यो । हाम्रो ज्ञानको भण्डार ह्वात्तै बढ्न थाल्यो । अनि हामी एकले अर्कालाई अर्ती र उपदेश दिन थाल्यौँ । उता आसामीसँग उठ्न बाँकी रहेको ठूलो रकम सहजरूपमा उठ्न थालेको छ । यसको प्रमुख कारण पनि फेसबुकमा टाँस्ने स्टाटस नै हो । आसामीको मर्ममा ताकेर एउटा स्टाटस प्रहार गर्नु मात्र पर्छ, केहीदिन भित्रै ऊ पैसाको थैलो बोकेर ऋण तिर्न हाँजिर भइहाल्छ । फेसबुक अचेल धेरैको आसामी उठाइदिने उठती अड्डा बनेको छ । होइन भने आसामी उठाउने कुरा किन फेसबुकको भित्तामा टाँसिन्थ्यो ? यति मात्र होइन, कसैलाई खिसी गर्न,सरकारलाई निवेदन लेख्न र केहीलाई चेतावनी दिन समेत फेसबुकको प्रयोग हुने गरेको छ ।

अचेल मान्छेले न आमा न मामापट्टिको आफन्त चिन्छ, न बाबु र काकापट्टिको ! बरु फेसबुक पट्टीको आफन्तलाई भने कहिले पनि बिर्सदैन । लगातार केही पोष्टहरूमा लाइक गरिदियो भने सबैभन्दा नजिकको आफन्त उसैलाई ठान्ने चलन छ । न मान्छे देखेको छ, न आनीबानी थाहा छ । अरु त थाहा भएन भएन, उसको लिङ्ग समेत थाहा हुँदैन । ऊ पुरुष हो अथवा स्त्री ।

साथीहरूले लेखेर राखेका अनगिन्ती सामाग्री पढ्न लाइक वा कमेन्ट गर्न मलाई त्यति जाँगर चल्दैन । तर मेरो सोचाई छ, मैले राखेको सामान्य भन्दा सामान्य स्टाटसमा भने अधिकांश मान्छेहरूले लाइक वा कमेन्ट गरिदिनुपर्छ । लाखौंको सङ्ख्यामा लाइक आएको भए म ठूलो सेलिब्रेटी मानिने थिएँ । अन्यथा बिस्तारै यो अवसरबाट म वञ्चित हुनसक्छु । कहिलेकाहीँ मलाई यही चिन्ताले पेट पोल्न थाल्छ । म ठ्याक्कै बिरामी जस्तो देखिन्छु । तर यो रोगको उपचार पनि यही भित्र हुनेगरेको छ। जब ह्वारह्वार्ति लाइक र कमेन्टको वर्षा होस् त उठन् नसक्ने बिरामी पनि जुरुक्कै उठिदिन्छ ।

धेरै मान्छेले जस्तै म पनि कहिलेकाहीं, जब मान्छेहरूको लाइक कमेन्ट आउन छोड्छ, फेसबुक भित्रैबाट विकसित भएको अर्को क्षेप्यास्त्रले हमला गर्ने प्रयास गर्छु । “साथी बनेपछि चुपचाप बसिरहनेलाई किन साथी बनाउनु, अब फोहर मिल्काए जसरी मिल्काइन्छ ।” यो क्षेप्यास्त्रको प्रयोग भएको त जताततै देख्नु भएकै होला । मानौं यसपछि लाइक र कमेन्टको बाढी नै आउनेछ । एउटा उखान छ, “टोक्ने कुकुरले भुक्दैन, भुक्ने कुकुरले टोक्दैन ।” हो, मिल्काउने इच्छा भए यो सूचना जारी गर्नु पर्ने नै थिएन । मिल्किनेले न कतै उजुरी दर्ता गर्न मिल्ने प्रावधान छ, न मिल्किएको झोकमा डाक्टरलाई कुटे जस्तै मिल्काउनेलाई कुट्छ, अनि यो सूचना जारी गर्नुपर्ने मुख्य कारण के त ?

हामी बिर्सन्छौ, साथी एकोहोरो मात्र बनेको हुँदै होइन । कुरा दोहोरो हुन्छ । केही लिन केही दिनसक्नु पनि पर्छ । अर्कासँग मात्र माग्नेलाई त ‘माग्ने’ भनिन्छ । एक हातले दिने र एक हातले लिने बानी बसाल्नु पर्दछ । माया, प्रेम, धनसम्पत्ति, सहयोग, सरसापटी, वा लाइक कमेन्ट नै किन नहोस् । जब मलाई एकजना साथीले यो कुराको ज्ञान दिए, म झसङ्ग भएँ । वास्तवमा उनको कुरा पनि ठिकै थियो ।

मिल्काउने सूचना सम्प्रेषण गरेर लाइक कमेन्टको वर्षा गराउने यो अचूक सूत्र हो रे । तर यस विधिबाट कति लाइक कमेन्ट थपिने गरेको छ, त्यसको भने अनुसन्धान गर्नैपर्छ । यति बुझ्दा बुझ्दै पनि मिल्काउने उद्घोष सहितको क्षेप्यास्त्र वर्षा बाक्लै देख्न पाइन्छ ।

फेसबुक चलाउँदा विचार गर्नुपर्ने एउटा कुरा चाहिँ के हो भने कहिलेकाहीँ दारीवाला भनेर साथी बनायो सारीवाला पर्छ । कहिले सारीवाला भनेको साथी दारीवाला पर्ने गरेको छ । मेरो विचारमा जति मैँ हूँ भन्नेले पनि दारीवाला र सारीवाला छुट्याउन भने पक्कै सक्दैनन् म ठोकेर भन्छु ।

०००
चितवन ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
साढुदाजुको ससुराली

साढुदाजुको ससुराली

चिरञ्जीवी दाहाल
चटक जारी छ

चटक जारी छ

चिरञ्जीवी दाहाल
मूर्ख बनौँ

मूर्ख बनौँ

चिरञ्जीवी दाहाल
भात, भातमारा, भाते र भतुवा

भात, भातमारा, भाते र...

चिरञ्जीवी दाहाल
बुढ्यौलीका कुरा

बुढ्यौलीका कुरा

चिरञ्जीवी दाहाल
पुस्तकको भूमिका

पुस्तकको भूमिका

हरिशंकर परसाईं
कन्पु भिसा

कन्पु भिसा

होम सुवेदी
चोरहरू

चोरहरू

वसन्त अनुभव
भुकाइ र ढुकाइ

भुकाइ र ढुकाइ

गाेपेन्द्रप्रसाद रिजाल