
कल्पना
अँ टिकटक, टिक लगाएर टक गर्ने भएर होला यसको नाम टिकटक भएको । हुन पनि पहिला फलोमा टिक लगाएर मात्रै टक गर्न पाइन्छ त्यो पनि टिक ठिक भयो भने । कल्पनाहरू प्रशस्तै टिक लगाएर टक गर्ने गरेकै बखत टिकटकलाई ११ रेक्टर स्केलको भुकम्पले हल्लायो ।

अशोककुमार शिवा :
कल्पनामा विचरण गर्नु पनि एक आनन्दित क्षण नै हुँदोरहेछ । यसरी कल्पनाका कुराहरू सँग एकाकार गर्दै वास्तविक अवस्थाको झैँ गरी आफूलाई समर्पण गर्नु अर्को आनन्द रहेछ । कल्पित कुराहरू सबैभन्दा प्यारो र प्रिय पनि हुने रहेछ । अनि अदृश्य अमूर्त कुराले आफुलाई कहिँकतै प्रशंसा गरे वा गर्यो भने त झन् कुरा छोडौँ, के के न पाए जस्तो भइहाल्छ ।
त्यो अदृश्य कुराले आफूलाई किन पछ्याई रहेछ बाल मतलव, तर प्रशंसा चाहिँ सुन्न पाउनुपर्छ बस् । कहिलेकाहीँ त त्यो वस्तु कहाँ छ भनेर आफैँ खोजी गर्दै समेत मानिसहरू हिँड्दा रहेछन् । न त वास्तविक अनुहार देख्नु न कुनै आवाजको दोहोरो संवाद हुनु तर पनि खै किन हो कल्पनाको साथीहरू सधैँ त्यतै झुम बराबर हुन्छन ? जताततै कल्पना र उस्का साथ सपोर्टरहरूको लर्को नै देखिन्छ ।
मेरो कल्पना पनि उस्तै नै छिन् । जब कल्पना आउँछिन म काल्पनिक संसारमा पुगिहाल्छु । त्यहाँ अरु कोही हुँदैनन् केवल कल्पना र म । नसोध्नुस् त्यहाँ अरु के के हुन्छ भनेर त्यो तपाईंलाई पनि थाहा नै छ । त्यो वास्तविक डेटिंग भन्दा हजार गुणा सेटिंग गरेर फिटिंग गरेको मिटिंग जस्तै हुन्छ । अब मिटिंगको एजेण्डा कहिलेकाहीँ गोप्य हुन्छ नै । बिना एजेण्डाको मिटिंगको कुनै अर्थ हुन्छ जस्तो किन हो मलाई चाहिकक फिटिक्कै लाग्दैन । अब “अर्थ न वर्थ गोविन्द गाई टाउको दुखेको औषधि नाईटामा लगाई” त गर्नु भएन ।
नाँच्न नजान्नेलाई आँगन सधैँ टेडो नै लाग्छ रे तर जान्नेको लागि भने के टेडो के मेडो एकहोरो भेडो । कल्पनामा म किन अचाक्ली मख्ख हुन्छु त्यो म भित्रको दोश्रो मानवले खोजी गर्दै होला तर बाहिरी म जान्दिनँ पटक्कै जान्दिन । अनि भित्री मले जति सम्झाए पनि मान्दिन पटक्कै मान्दिनँ । किन मान्दिनँ भनेर म कसैलाई भन्दिन । भनेर के हुन्छ यो दुनियाँ यति स्वार्थि छ । जति गर्यो के जाती के कता भने झैँ त हो ।
अँ टिकटक, टिक लगाएर टक गर्ने भएर होला यसको नाम टिकटक भएको । हुन पनि पहिला फलोमा टिक लगाएर मात्रै टक गर्न पाइन्छ त्यो पनि टिक ठिक भयो भने । कल्पनाहरू प्रशस्तै टिक लगाएर टक गर्ने गरेकै बखत टिकटकलाई ११ रेक्टर स्केलको भुकम्पले हल्लायो । कैयन टिकटके घरहरू ध्वस्त भए । कतिको वाल चर्केर कोठामा छिर्नै नमिल्ने भयो त कतिको भर्याङ भाँचियो । जसोतसो बाँसको लिंगो काटेर बनाएको भर्याङबाट पनि पटक पटक चिप्लेर गल्र्याम्म पछारिन्छ । मेरो कल्पनामा आधि ल्याउने जो कोही किन नहोस् त्यस अपराधिलाई कुनै हालतमा छोड्ने मनसाय छैन । निर्धो भएपछि भुसुनाले नि हेप्छ भन्थे हो रहेछ, अहिले म निर्धो नै भएको भान परेको छ ।
जब कोही निर्धो हुन्छ ऊ असमन्जसमा पर्छ अनि ऊ के गर्छ ? मात्रै कल्पना । कल्पनामा जति शक्ति वास्तविकतामा हुने भए के हुन्थ्यो होला ? तपाईंलाई थाहा छ ? छ भने मलाई खुसुक्क भनिदिनु होला तर मुसुक्क हाँसेर । नहाँसी भनेको कुराको कुनै दरिलो तुक हुँदैन । मुखमा राम राम बगलीमा छुरा जस्तै कुरा हुन्छ । हुन त नजाने गाउँको बाटो नसोध्नु भन्छन तर के गर्नु चित्त त बुझाउनु पर्यो नि कि कसो ?
०००
गल्कोपाखा, काठमाडौं ।
२०८०/०८/०२