
राष्ट्रियता
टाउको उठाएर गुरुका आँखामा हेर्दै बोल्यो, ‘मेरो तन नेपालमा छ । रगतको नाता अन्तरदेशीय स्थानमा फैलिएको छ । अनि मेरो मन तीनतिर बाँडिएको छ । अब तपाईं भन्नुहोस् गुरु मेरो राष्ट्रियता के हो ?’

डा. कुसुमाकर शर्मा गौतम :
सामाजिक पढाउने गुरुले आज पढाउने शीर्षक कालोपाटीमा लेख्नु अघि विद्यार्थीहरूलाई सोध्नु भयो, ‘हामी कुन देशका नागरिक हौँ ?’
‘नेपाल’ सबैले एक स्वरमा जवाफ दिए । ‘हामी नेपालका नागरिक हौँ भने हाम्रो राष्ट्रियता के हो?’ गुरुले दोश्रो प्रश्न सोध्नु भयो ।
‘हाम्रो राष्ट्रियता नेपाली हो ।’ सबैले एकै स्वरमा उत्तर दिए ।
गुरुले कालोपाटीमा आज पढाउने शीर्षकको नाम लेख्नु भयो ‘राष्ट्रियता’ । लेखिसकेर विद्यार्थीतिर फर्कनु भयो । यसो हेर्दा पीटर गोर्खाली कुनै उत्तर नदिएर चुपचाप बसेको देख्नु भयो । गुरुले पीटरलाई सोध्नु भयो, ‘तिमी किन चुपचाप छौ पीटर ?’
‘मेरो बुवा चाइनिज हुन र मेरी आमा मलयाली (केरलाकी) हुन् । बुवाले पच्चीस वर्षदेखि नेपालमा जलविद्युत उत्पादनको कम्पनीमा काम गर्नुहुन्छ । मेरी आमा त्यही जलविद्युत कम्पनीको एकाउन्टेन्ट भएर पन्ध्र वर्षदेखि नेपालमा काम गर्दै हुनुहुन्छ । दश वर्षअघि उहाँहरूले विवाह गर्नु भयो । म जन्मनुअघि मात्र उहाँहरूले नेपालको नागरिकता पाउनु भयो । त्यसैले म जन्मदै नेपालको नागरिक हूँ । नेपालमा जन्मिएकोले मेरो थर गोर्खाली राखे ।’ एकै सासमा पिटरले आफ्नो कथा बतायो ।
‘तिम्रो नागरिकता नेपाली भएपछि त तिम्रो राष्ट्रियता पनि नेपाली नै भयो नि । हैन र?’ गुरुले फेरि सोध्नु भयो ।
पीटरले अनुहारमा मुस्कान ल्याउँदै भन्यो, ‘म चाइनिज हजुरआमालाई धेरै माया गर्छु । उहाँ बुद्धको पूजा गर्नुहुन्छ । अनि प्रत्येक गर्मीको छुट्टीमा उहाँलाई भेट्न चीन जान्छु । हजुरआमाको हातको खाना यति मीठो हुन्छ कि ? सम्झँदै मुख रसाउँछ । भारतको केरलाका बाजे बज्यै मलाई असाध्यै माया गर्नु हुन्छ । उहाँहरू क्रिश्चियन हुनुहुन्छ । मलाई केरलको समुद्री किनार, त्यहाँको नाचगान र संस्कृति मनपर्छ । त्यसैले प्रत्येक जाडो याममा म केरला जान्छु । म चाइनिज बोल्छु, मलायली पनि मज्जासँग बोल्छु । म नेपालमा जन्मिएको हुनाले यहीँ नेपालीमा शिक्षा दिक्षा लिदै छु ।’
टाउको उठाएर गुरुका आँखामा हेर्दै बोल्यो, ‘मेरो तन नेपालमा छ । रगतको नाता अन्तरदेशीय स्थानमा फैलिएको छ । अनि मेरो मन तीनतिर बाँडिएको छ । अब तपाईं भन्नुहोस् गुरु मेरो राष्ट्रियता के हो ?’
०००
रुकुमकोट रुकुम पूर्व
हाल एडमन्टन, क्यानाडा
कार्टुन साभार : नागरिक न्युज डटकम