बागमती प्रदेश सञ्चार कार्यालय लामो

टोपी र टाईको फाइट

चुप लाग, म त बोर्डिङ्गका विद्यार्थीहरूले लगाउने पोशाक हूँ । ठूला ठूला जि.एम, हाकिम र राजदूतहरू पनि मलाई नै लगाएर सजिन्छन् । के सम्झेको छस् ?’

कहीँ नभएको झगडा कपडा धुने ठाउँमा’ भनौं भने नपत्याउनु होला, नभनौं त त्यस घटनाले उकुस-मुकुस भएर भुँडी फुट्लाजस्तो भइसक्यो । कुरो के पर्‍यो भने, एकदिन मेरो टोपी र टाईको बीचमा घमासान लडाई भयो । लडाईंको विषय के थियो कुन्नि, दुबैजना ट्वाइलेट अगाडि बसेर मारमुङ्ग्री गर्दैथिए ।

बेला न कुबेला मलाई चाहिँ टाई र टोपी एकैपटक धुनुपरेको नि ! बज्जेहरूको न जात मिल्ने, न धर्मकर्म मिल्ने । न नाउँ मिल्ने, न त तिनीहरूको बस्ने ठाउँ मिल्ने ? एउटा स्लिकको अर्को ढाकाको । हुन त कमजोरी मेरो नै हो, कुकुर र बिरालोलाई एउटै खोरमा थुन्नखोज्नु पनि कहीँ बुद्धिमानी काम होला त ?

टाई र टोपी जनावरसँग तुलना गर्ने हो भने, स्याल र बाख्रा रहेछन् । नेतामा तुलना गर्ने हो भने, शेरबहादुर र गिरिजा रहेछन् । (वर्तमान परिप्रेक्षमा भन्ने हो भने केपी ओली र माकुने रहेछन् ।)

टाईको दम्भ पनि बुझिनसक्नुको हुन्छ । ’म त मान्छेको छातीमा गर्वसाथ झुण्डिने शोभा हुँ’ भन्ने घमण्डले टाईसँग कुरा गर्नै नसकिने, उता टोपी पनि छात्तीभन्दा टाउकाको महत्व बताउँदै आफूलाई सानो मान्दै नमान्ने !

कुरा के पर्‍यो भने, एकहप्ता अगाडि टोपी लगाएर गाउँको साथीको विहेमा जन्ती गएको थिएँ । गाउँको बिहे, धूलोले गर्दा टोपी हेरिसक्नु थिएन, घरमा आएर टोपीलाई बाल्टीमा फ्याँकें ।

उता घटनाको अघिल्लो दिन मात्रै एउटा भव्य पार्टीमा सामेल भएको थिएँ । साथीहरूले मलाई जबरजस्ती सोमरस पिलाउन खोज्दा टाई बिचरो निथ्रुक्कै हुन पुग्यो । त्यसलाई पनि गुटुमुटु पारेर त्यही बाल्टीमा ड्याँकिदिएको थिएँ ।

धेरै दिनसम्म ’भाषणको काम पनि छैन, मन्त्रीले गर्न पनि छोड्दैन’ भनेजस्तो भयो, धुनलाई त भुसुक्कै बिर्सिएछु ।

शनिवारको दिन थियो । कपडा धुनुपर्यो भनेर भिजाएँ र घाम ताप्न बसें । कुन्नि कुन बेला हो टाईचाहिँ सुटुक्क निस्किएर ट्वाइलेटतिर गएछ । आफूमाथि चढेको टाई हिंडेपछि टोपी पनि फुत्त निस्कियो ।

निकैबेर टाईले ट्वाइलेटमा नित्यकर्म गर्‍यो । यता टोपीचाहिँ ट्वाइलेटको ढोका कुरेर बसिरहृयो । ट्वाइलेटको ढोका खुल्यो, एक अर्कालाई देखेर दुबैजना राता राता आँखा बनाएर घुराघुर गर्नथाले । धेरै दिनदेखि आफूलाई थिचिराख्ने टाईलाई देखेर टोपी बोल्न थाल्यो- ‘ए मलाई च्यापीसक्यो, बाटो छोड्, म पहिला जान्छु ।’

‘तँ चाहिँ पहिला छोड् । ठूलोलाई सानोले बाटो छोड्नुपर्छ भन्ने थाहा छैन ?’ टाईले टोपीलाई यस्सो धकेलौला झंै गर्‍यो । टोपी पनि लाटो थिएन, धक्का लगाउँदै बोल्यो- ‘ठेल्ने र पेल्ने कामचाहिँ नगर है ।’ टाई झण्डै पछारियो । कसो कसो पर्खालमा समातेर मात्रै बच्यो ‘हैन, तैले के गर्छस् हौ ? लौ मैले ठेलेंं रे, के हुन्छ अब ?’ केटाकेटीले निहुँ खोजेजस्तै टाईले टोपीलाई धक्का लगायो ।

‘यस्तै हेपाहा र पेलाहाहरूले लगाउने पोशाक भएपछि किन नसिकोस् त मालिकको बानी ।’ टोपीले यति कुरो सोचेपछि ठूलो आवाजका साथ टाईलाई हप्कायो- ‘हैन ए, मलाई अहिल्यै खस्लाजस्तो भइसक्यो, छोड्छस् कि दिउँ दनक ?’ मैले मुर्खहरूलाई बाटो छोड्ने गरेको छैन ।’ टाईले घमण्डसाथ भन्यो । ‘तर मैले त मुर्खहरूलाई बाटो छोड्ने गरेको छु ।’ यति भनेर टोपी खुत्रुक्क भुईमा ओर्लियो र टाईलाई बाटो छोडिदियो ।

टोपीको बौद्धिक व्यङ्ग्य सुनेर टाईले तोरीको फूल देख्यो । नाकका पोह्राबाट १५० डेसीमाइलको आवाजका साथ स्वास फ्याँक्दै उसले जवाफ दियो ‘ए, जंगली युगको सन्तान, न खान जान्दछस् न लाउन जान्दछस्- त्यसै अर्कोलाई मुर्ख बनाउँछस् ?’ यति भनेर टाईले टोपीलाई एक झापड बजायो ।’ हात चाहिँ नलगा है ।’ एक झापडको साथमा टोपीले पनि थप्यो ।’

तँ चाहिँ न बोल्न जान्दछस्, न लगाउने शैली छ । शील न स्वभाव त्यसै अर्कालाई जंगली भन्दो रहेछ ए !

’चुप लाग, म त बोर्डिङ्गका विद्यार्थीहरूले लगाउने पोशाक हूँ । ठूला ठूला जि.एम, हाकिम र राजदूतहरू पनि मलाई नै लगाएर सजिन्छन् । के सम्झेको छस् ?’ टाई पनि कुरा गर्न कमको थिएन । ‘तेरा ती टाई लगाउने सबैजनालाई यही टोपी लगाउने मन्त्री र नेताहरूले सञ्चालन गर्छन् । टोपीकै कृपाले त तिनले टाई लगाउन पाएका हुन् नि । म त ढाकाको टोपी हुँ बाबु, ढाकाको टोपी ।’ टोपीले जुँगामा ताउ लगायो ।

टाईलाइ निकै घत परेछ क्यारे, मरीमरी हाँस्न थाल्यो- ‘ढाकाको होइन, डाँकाको टोपी चाहिँ भन् न । यही टोपीले टाउको छोपेर डाँकाहरू डकैती गर्ने गर्छन् ।’ यति भनेर टाईले पिच्च भुईमा थुक्यो । ‘ओए, तेरो आङ्गमा चर्दै गरेको भैसीलाई अलि हेरेर बोल है । तँलाई नै घांटीमा झुण्ड्याएर मान्छेहरू तस्करी गर्छन् । समाजसेवाको नाममा मेवा फलाउँछन् र खान्छन् । मोरा तस्करका धोती ।’ टोपीले भए भरको रिस पोख्यो ।

‘हे टोप्रे, गोबर नै गोबर भरिएका मान्छेहरूको टाउकोमा बस्दा तँलाई लाज लाग्दैन हगि ?’ – टाईले सोध्यो । ’लादी नै लादी, मल नै मल, कमिशनको ढल नै ढल भएका मान्छेहरूको भुँडीमाथि लिसोझैँ टाँसिएर बस्न तँलाई चाहिँ शरम छैन हगि ?’

प्रतिउत्तरमा टोपीले जोडदार व्यङ्ग्य कस्यो । बोसो नै गल्ने प्रत्युत्तर सुनेर टाईले जुक्ति निकाल्यो । यसलाई तर्कले होइन, बुद्धिले परास्त गर्नुपर्छ भनेर अगाडि भन्नथाल्यो- ‘ए हेर, तँ र म त अर्काका शोभा मात्रै हौंँ । हामीलाई माध्यम बनाएर कोही नक्कली राष्ट्रियताको स्वाङ रच्छन् । कोही विद्वान् भएको नाटक गरेर दुनियाँलाई धोका दिन्छन् । बरु तँ र म त साथी हौंँ, बरू मित लगाऔं ।’ टाइले फकाउने प्रयत्न गर्यो । ‘तँसँग मित लगाउने ?’ टोपी मरीमरी हाँस्न थाल्यो । हेर् बाबु, तँसँग मेरो के मिल्छ र ? तँ डिनर खान्छस्, हामी भात खान्छौंँ । ँतँ डिस्को जान्छस्, म रोदीघरमा नाच्छु । स्कुल जाँदा तँ टिफिन लिएर जान्छस्, म बासीभात खान घर आउँछु । तँ नयाँ साथीहरूसँग इन्ट्रड्युस गर्छस्, म चिनापर्ची गर्छु । त सुटबुटमा सजिन्छस्, म दौरासुरुवाल लगाउँछु । तँ डिस्कस गर्छस्, म बात गर्छु । तँलाई ड्राइक्लिनर्समा वास गरिन्छ, म धारामा पखालिन्छु । केही मिल्दैन, के को मित्रता तँ पाजीसँग’ टोपीले खिसीको हाँसो हाँस्यो ।

’हैन ए, गाली चाहिँ नगर है ल ?’ टाईले टोपीलाई साँपले बेरेझैँ बेरेर भुईमा पछारेपछि भन्यो- ‘यु ब्लडीफुल टोप्रे ।’ टोपी धुलो टक्टकाउँदै उठेर बोल्यो- ‘निकै अंग्रेजी जान्दछु भन्ने भ्रम छ हैन तँलाई ? एउटा कुरा सोध्छु भन्न सक्छस् ?’ ‘फस्ट टाईम आक्स न, आक्स त्यसपछि थाहा पाउँछस् आइ नो कि डन्ट नो भनेर ।’ – टाईले फूर्ति लगायो ।

‘काकी र सानीमा फुपूको घरमा गए तर माइजू चाहि जानुभएन- यसलाई अंग्रेजीमा उल्था गर् त ।’ टोपीले टाईको घमण्ड चूणर् गर्ने जुक्ति निकाल्यो । ‘छिः छिः छिः, यस्तो कुरो त हामीले बाहुलाले सिंगान पुछ्ने बेलामै सिकेका हौंँ । सुन्- आन्टी एण्ड आन्टी गन् टु आन्टीज् होम, बट आन्टीचाहिँ नट गन् । अन्डरस्ट्याण्ड ?’ यति भनेर टाई विजयी मुद्रामा मुस्कुरायो । खुब जानिस् ! काकी, सानीमा, फुपू माइजू सबैलाई आन्टी नै आन्टी ! तँसँग भाषा छैन ? ए हरिबिजोग, तेरो त इज्जत नै छैन, कम्तिमा टोपी लगाउनेको त इज्जत गर्न सिक् ।’ टोपीले टाईलाई उपदेश दिन खोज्यो ।

‘यस्ता कुरा चाहिँ नगरौं बाबु । टाउकामा ढाकाको टोपी लगाएर विद्वान् हुनु ठूलो कुरो होइन बुझिस् ?’- टाईले टोपीलाई प्रत्युत्तर दियो । टोपीले जवाफ फर्काई हाल्यो- ‘घाँटीमा दाम्लो झण्ड्याउँदैमा विद्वान् होइने भए सधैँभरी दाम्लोमै वाँधिने भैंसी महान् हुनुपर्ने भैंसीले कहिल्यै नोवेल पुरस्कार पाएको छ ?’ टोपीको जोडदार व्यङ्ग्यले टाईको दम्भमा दह्रो चोट लागेछ, एकैचोटि टोपीमाथि जाइलाग्यो । टोपी पनि सकेसम्म त भिड्दै थियो तर स्लिकको टाईलाई बिचरो ढाकाको टोपीले के जित्न सक्थ्यो ?

अन्तिममा आफै गएर टोपी र टाईलाई छुट्याउनु पर्‍यो । होस् गर्नुस् है, तपाईंका टोपी र टाई पनि फाइट गर्लान् । भोजमा जानुपर्दा टोपी नहोला, पार्टीमा जानुपर्दा टाई च्यातिएको होला !

काठमाडौं

बागमती प्रदेश सञ्चार कार्यालय लामो