टोपी र टाईको फाइट

टोपीको जोडदार व्यंग्यले टाईको दम्भमा दह्रो चोट लागेछ, एकैचोटि टोपीमाथि जाइलाग्यो । टोपी पनि सकेसम्म त भिड्दै थियो तर स्लिकको टाईलाई बिचरो ढाकाको टोपीले के जित्न सक्थ्यो ?

कहीं नभएको झगडा कपडा धुने ठाउँमा ! भनौं भने नपत्याउनु होला, नभनौं त त्यस घटनाले उकुस-मुकुस भएर भुँडी फुट्लाजस्तो भइसक्यो । सुन्ननोस कुरो के पर्‍यो भने एकदिन मेरो टोपी र टाईको बीचमा घमासान लडाईं भयो । लडाईंको विषय के थियो कुन्नी दुवैजना ट्वाइलेट अगाडि बसेर मारमुङग्री गर्दैथिए ।

बेला न कुबेला मलाईचाँहि टाई र टोपी एकैपटक धुनु परेको नि ! बज्जेहरूको न जात मिल्ने, न धर्मकर्म मिल्ने । न नाउँ मिल्ने, न त तिनीहरूको बस्ने ठाउँ मिल्ने ! एउटा स्लिकको अर्को ढाकाको । हुन त कमजोरी मेरो नै हो, कुकुर र बिरालोलाई एउटै खोरमा थुन्न खोज्नु पनि कहीं बुद्धिमानी काम होला त ?

टाई र टोपी ! जनावरसँग तुलना गर्ने हो भने, स्याल र बाख्रा रहेछन् । नेतामा तुलना गर्ने हो भने, शेर वहादुर र गिरिजा रहेछन् ।
टाईको दम्भ पनि बुझिनसक्नुको हुन्छ । ‘म त मान्छेको छातीमा गर्वसाथ झुण्डिने शोभा हुँ’ भन्ने घमण्डले टाईसँग कुरा गर्नै नसकिने, उता टोपी पनि छात्तीभन्दा टाउकाको महत्व बताउँदै आफूलाई सानो मान्दै नमान्ने !

कुरा के पर्यो भने, एकहप्ता अगाडि टोपी लगाएर गाउँको साथीको विहेमा जन्ती गएको थिएँ । गाउँको विहे, धूलोले गर्दा टोपी हेरिसक्नु थिएन, घरमा आएर टोपीलाई बाल्टीमा फ्याँकें ।

उता घटनाको अघिल्लो दिन मात्रै एउटा भव्य पार्टीमा सामेल भएको थिएँ । साथीहरूले मलाई जबरजस्ती सोमरस पिलाउन खोज्दा टाई बिचरो निथ्रुक्कै हुन पुग्यो । त्यसलाई पनि गुटुमुटु पारेर त्यही बाल्टीमा फ्याँकिदिएको थिएँ ।

धेरै दिन सम्म ‘भाषणको काम पनि छैन, मन्त्रीले गर्न पनि छोड्दैन’ भनेजस्तो भयो, धुनलाई त भुसुक्कै बिर्सिएछु । शनिवारको दिन थियो ।
कपडा धुनु पर्यो भनेर भिजाएँ र घाम ताप्न बसें । कुन्नी कुन बेला हो टाईचाँहि सुटुक्क निस्किएर ट्वाइलेटतिर गएछ । टाईले टोपीलाइ थिचिरहेकोले टोपी पनि टाई निस्किएपछि फुत्त निस्कियो ।

निकैबेर टाईले ट्वाइलेटमा नित्यकर्म गर्‍यो । यता टोपीचाँहि ट्वाइलेटको ढोका कुरेर बसिरह्यो । ट्वाइलेटको ढोका खुल्यो । एक अर्कालाई देखेर दुवैजना राता राता आँखा बनाएर धुराधुर गर्नथाले । धेरै दिनदेखि आफूलाई थिचिराख्ने टाईलाई देखेर टोपी बोल्न थाल्यो- ‘ए मलाई च्यापीसक्यो, बाटो छोड्, म पहिला जान्छु ।’

‘तँ चाँहि पहिला छोड् । ठूलोलाई सानोले बाटो छोड्नुपर्छ भन्ने थाहा छैन’ टाईले टोपीलाई यस्सो धकेलांझैं गर्‍यो । टोपी पनि झुक्नेवाला थिएन, धक्का लगाउँदै बोल्यो- ‘ठेल्ने र पेल्ने कामचाँहि नगर है ।’ टाई झण्डै पछारियो कसो कसो पर्खालमा समातेर मात्रै बच्यो । ‘हैन, तैंले के गर्छस् हौ ? लौ मैले ठेलें रे, के हुन्छ अब ?’ केटाकेटीले निह खोजेजस्तै टाईले टोपीलाई धक्का लगायो ।

‘यस्तै हेपाहा र पेलाहाहरूले लगाउने पोशाक भएपछि किन नसिकोस् त मालिकको बानी ।’ टोपीले यति कुरो सोचेपछि ठूलो आवाजका साथ टाईलाई हप्कायो- ‘हैन ए, मलाई अहिल्यै खस्लाजस्तो भइसक्यो, छोड्छस् कि दिउदनक ? ‘मैले मूर्खहरूलाई बाटो छोड्ने गरेको छैन ।’ टाईले घमण्डसाथ भन्यो । ‘तर मैले त मूर्खहरूलाई बाटो छोड्ने गरेको छु ।’ यति भनेर टोपी खुत्रुक्क भूईंमा ओर्लियो र टाईलाई बाटो छोडिदियो ।

टोपीको बौद्धिक व्यंग्य सुनेर टाईले तोरिको फूल देख्यो । नाकका पोह्राबाट १५० डेसीमाइलको आवाजका साथ स्वास फ्याँक्दै उसले जवाफ दियो – ‘ए, जंगली युगको सन्तान, न खान जान्दछस् न लाउन जान्दछस्, त्यसै अर्कोलाई मूर्ख बनाउँछस् ?’ यति भनेर टाईले टोपीलाई एक झापड बजायो । ‘हात चाँहि नलगा है ।’ एक झापडको साथमा टोपीले थुर्यो ।

‘तँ चाँहि न बोल्न जान्दछस्, न लगाउने शैली छ ! शील न स्वभाव त्यसै अर्कालाई जंगली भन्दो रहेछ ए !’
‘चूप लाग ! म त बोर्डिङ्गका विद्यार्थीहरूले लगाउने पोशाक हुँ । ठूला ठूला जि.एम., हाकिम र राजदूतहरू पनि मलाई नै लगाएर सजिन्छन् । के संझेको छस् ?’ टाई पनि कुरा गर्न कमको थिएन । ‘तेरा ती टाई लगाउने सबैजनालाई यही टोपी लगाउने मन्त्री र नेताहरूले संचालन गर्छन् । टोपीकै कृपाले त तिनले टाई लगाउन पाएका हुन् नि । म त ढाकाको टोपी हुँ बाबु , ढाकाको टोपी ।’ टोपीले जुँगामा ताउ त्योर लगायो ।

टाईलाइ निकै घत परेछ क्यारे, मरीमरी हाँस्न थाल्यो -‘ढाकाको होइन, डाँकाको टोपी चाँहि भन् न । यही टोपीले टाउको छोपेर डाँकाहरू डकैती गर्ने गर्छन् ।’ यति भनेर टाईले पिच्च भुईमा थुक्यो । ‘ओए, तेरो आङ्गमा चर्दै गरेको भैंसीलाइ अलि हेरेर बोल है । तँलाई नै घाँटीमा झुण्ड्याएर मान्छेहरू तस्करी गर्छन् । समाजसेवाको नाममा मेवा फलाउँछन् र खान्छन् । मोरा तस्करका धोती ।’ टोपीले भए भरको रिस पोख्यो ।

‘हेर् टोप्रे, गोबर नै गोबर भरिएका मान्छेहरूको टाउकोमा बस्दा तँलाई लाज लाग्दैन हगि ?’- टाईले सोध्यो । ‘लादी नै लादी, मल नै मल, कमिशनको ढल नै ढल भएका मान्छेहरूको भुँडीमाथि लिसोझैं टाँसिएर बस्न तँलाई चाँहि शरम छैन हगि ?’

प्रतिउत्तरमा टोपीले जोडदार व्यंग्य कस्यो बोसो नै गल्ने प्रत्यूत्तर सुनेर टाईले जुक्ति निकाल्यो । यसलाई तर्कले होइन, बुद्धिले परास्त गर्नुपर्छ भनेर अगाडि भन्न थाल्यो ‘ए हेर, तँ र म त अर्काका शोभा मात्रै हौं । हामीलाई माध्ययम बनाएर कोही नक्कली राष्ट्रियताको स्वाङ्ग रच्छन् । कोही विद्वान भएको नाटक गरेर दुनियाँलाई धोका दिन्छन् । बरु तँ र म त साथी हौं, मित लगाऔं ।’ टाइले फकाउने प्रयत्न गर्‍यो । ‘तँसँग मित लगाउने ?’ टोपी मरीमरी हाँस्न थाल्यो ‘हेर् बाबु ! तँसँग मेरो के मिल्छ र ? तँ डिनर खान्छस्, हामी भात खान्छौं । तँ डिस्को जान्छस्, म रोदीघरमा नाच्छु । स्कूल जाँदा तँ टिफिन लिएर जान्छस्, म बासी भात खान घर आउँछु । तँ नयाँ साथीहरूसँग इन्ट्रडयस गर्छस्, म चिनापर्ची गर्छु । तँ सुटबुटमा सजिन्छस्, म दौरासुरुवाल लगाउँछ । तँ डिस्कस गर्छस, म वात गर्छु तँलाई ड्राइक्लिनर्समा वात गरिन्छ । म धारामा पखालिन्छु । केही मिल्दैन, केको मित्रता तँ पाजीसँग ।’ टोपीले खिसीको हाँसो हाँस्यो ।
‘हैन ए, गालीचाँहि नगर है ल ?’ टाईले टोपीलाई साँपले बेरेझैं बेरेर भुईंमा पछारेपछि भन्यो- ‘यू ब्लडीफूल टोप्रे ।’ टोपी धुलो टक्टकाउँदै उठेर बोल्यो- ‘निकै अंग्रेजी जान्दछ’ भन्ने भ्रम छ हैन तँलाई ? एउटा कुरा सोध्छु भन्न सक्छस् ?’

‘फस्ट टाईम आक्स न, आक्न त्यसपछि थाहा पाउछस् आइ नो कि डन्ट नो भनेर ।’ – टाईले फुर्ती लगायो ।
‘काकी र सानीमा फुपुको घरमा गए तर माइजुचाँहि जानुभएन यसलाई अंग्रजीमा उल्था गर त ।’ टोपीले टाईको घमण्ड चूणर् गर्ने जुक्ति निकाल्यो । ‘छिः छिः छिः, यस्तो कुरो त हामीले बाहुलाले सिंगान पुछ्ने बेलामै सिकेका हौं । सुन- आन्टी एण्ड आन्टी गन टु आन्टीज् होम, बट आन्टीचाँहि नट गन । अन्डरस्ट्याण्ड ?’ यति भनेर टाई बिजयी मुद्रामा मुस्कुरायो । ‘खुब जानीस् काकी, सानीमा, फूपु माइजु सबैलाई आन्टी नै आन्टी ! तँसँग भाषा छैन ? ए हरिबिजोग, तेरो त इज्जत नै छैन कम्तिमा टोपी लगाउनेको त इज्जत गर्न सिक् ।’ टोपीले टाईलाई उपदेश दिन खोज्यो ।

‘यस्ता कुराचाँहि नगरौ बाबु । टाउकामा ढाकाको टोपी लगाएर विद्वान हुनु ठूलो कुरो होइन बुझिस् ?’ -टाईले टोपीलाई प्रत्युत्तर दियो । टोपीले जवाफ फर्काई हाल्यो- ‘घाँटीमा दाम्लो झुण्ड्याउँदैमा विद्वान होइने भए सधैंभरी दाम्लोमै बधिने भैंसी महान हुनुपर्ने ! भैंसीले कहिल्यै नोवेल पुरस्कार पाएको छ ?’ टोपीको जोडदार व्यंग्यले टाईको दम्भमा दह्रो चोट लागेछ, एकैचोटि टोपीमाथि जाइलाग्यो । टोपी पनि सकेसम्म त भिड्दै थियो तर स्लिकको टाईलाई बिचरो ढाकाको टोपीले के जित्न सक्थ्यो ?

अन्तिममा आफैं गएर टोपी र टाईलाई छुट्याउनु पर्यो । होस् गर्नुस् है, तपाईँका टोपी र टाई पनि फाइट गर्लान् । भोजमा जानुपर्दा टोपी नहोला, पार्टीमा जानु पर्दा टाई च्यातिएको होला !

०००

(२०१३/११/१३ पोष्ट भएको)

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो