तैपनि भन्छन् विकास भाछैन

मैले पत्रकारलाई चिमोट्दै आफ्नो कुरा सकें । उ हत्तपत्त उठ्यो र निन्द्रामा नै चिच्चायो– ‘हो हजुर हो, तै पनि भन्छन् विकास भा’ छैन !’ जनतालाई हामीले एकै पटक सराप्दै र दुवैजनाले टिमिक्क हात मिलायो ।

‘फुटाउनु मेरो शोख हो । केटाकेटी छँदा मैले सयौं वेलुन फुटाएको छु । स्कुल लाइफमा समकालीन साथीहरूको टाउको फुटाएको छु । चिट चोर्न नदिएको झोंकमा गुरुजीको नाथ्री फुटाएको छु । आफ्नो बिचार लागू नहुँदा म पार्टी फुटाउन समेत पछाडि परेको छुइन ।’ मैले आफ्नो बारेमा पत्रकारलाई बताएँ ।

‘अब आगामी दिनमा तपाईँं के फुटाउँदै हुनुहुन्छ ?’ पत्रकारले पुनः सोध्यो । उसको प्रश्न सुनेर मैले लामो स्वास तानें । माथिल्ला दाँत निकालें र ती दाँतले तल्लो ओठ टोक्दै भनें– ‘अब म यो देशमा विकासको मूल कसरी फुटाउन सकिन्छ भन्ने बारेमा सोचिरहेको छु ।’
‘तपाईँ माननीय बन्नु भएको त धेरै वर्ष भइसक्यो । विकासको मूलको त कुरै छोडौं, कुनै प्वाल पनि खन्न सक्नु भएन । अब हामीले कसरी विश्वास गर्ने तपाईँंले विकासको मूल…।’ पत्रकारको कुरो नसकिंदै मैले जवाफ दिएँ– ‘देख्नु भएन, सगरमाथाको उचाई दुई मिटर बढ्यो रे । सयौं वर्षसम्म ८८४८ मिटरमा नै ठडिइरहेको सगरमाथा मेरै पालोमा दुई मिटर बढ्यो । के यो विकासको मूल होइन र ?’

‘तर हजुर ! सगरमाथको उचाई बढ्नु भनेको त एउटा भूगोलको कुरो भयो । सगोलमा सम्पूर्ण नेपालीको जीवनमा विकासको अनुभूति त भएन नि ।’ मेरो अनुहारमा हेर्दै पत्रकारले सोध्यो । ‘किन विकास भएन ! राजादेखि रंकसम्म मारिईरहेका छन् । परारभन्दा पोहोर ज्यादा मरे । पोहोरभन्दा यसपाला धेरैले जिब्रो टोके । के यो विकास होइन ?’ स्वरको भोलुम बढाउँदै मैले जवाफ फर्काएँ ।

‘मान्छे मर्नु, कसरी विकास हुन सक्छ ? यो त अवनति भयो नि हजूर, मानवीय सभ्यताको ।’ मेरो हाई भोलुमको जवाफ सुनेर लो भोलुममा उसले सोध्यो । ‘मुलुकको फेमली प्लानिङ्ग इज बिइङ्ग असफल इभ्री मर्निङ्ग एण्ड इभिनिङ्ग । परिवार नियोजनको काम माओवादीहरूले गरिदिएका छन् । प्रहरीले पनि यस कार्यक्रमलाई सघाइरहेका छन् । के यसलाई तपाईँ विकास भन्नुहुन्न ?’ खल्तीबाट पानको खिल्ली निकाल्दै मैले बताएँ ।

‘परिवार नियोजनमा मात्रै होइन, प्रविधिमा पनि केहीं नभएको विकास भएको छ नेपालमा । छानी छानी मान्छे मार्न सक्ने हतियार अरु कुनै देशमा बनेको छ ? तर देखेनौं, नारायणहिटी हत्याकाण्ड…।’ मेरो कुरो सुन्नासाथ पत्रकार थर्थरी काम्न थाल्यो । उ कामेको देखेर म पनि काम्न शुरु गरे । डरले नमरोस् भनेर मैले प्रसंग बदलें– ‘डिजेल–पेट्रोल को भाउ बढ्यो । बढ्नु भनेको प्रगति होइन ?’

‘कसरी हजुर ?’ काम्ने क्रम कम गर्दै पत्रकारले मतिर अनुहार फर्कायो । ‘यसरी उसरी भन्ने प्रश्न नै छैन । प्रगति भनेपछि प्रगति भयो, बस् । बरु यसको फाइदा सुन्नुहोस्– भाउ बढेपछि कसैले केहि किन्ने प्रश्न आएन । पेट्रोल–मट्टीतेल प्रयोग नभएपछि वातावरण प्रदूषित हुनबाट बच्यो !’ मेरो जवाफ सुनेर पत्रकार आँ गरेको गर्यै भयो । ‘प्रदूषण पेट्रोल डिजेल प्रयोग नगरे पनि भइहाल्छ नि हजुर । जस्तो दाउरा बाल्दा पनि धुवाँ …।’

उसको कुरो काट्दै म अगाडि बोलें– ‘किन बाल्ने त दाउरा ! यसमा पनि ‘बन भ्याट’ बढाउनु पर्छ, ग्याँसमा पनि क्याँस दस्तुर थप्नु पर्छ र बिजुलीमा लोड सेडिङ्ग गर्नु पर्छ । के यी सबै विकासका नमुना होइनन् त ?‘

‘त्यसो भए अरु कुनै प्रदुशणमुक्त उर्जा पनि त विकास गर्नुभएको होला नि !’ उसले सोध्यो । ‘ऊर्जा भनेको आविष्कार गर्ने चीज हो । म वैज्ञानिक होइन राजनीतिक कार्यकर्ता हुँ, बुझ्नु भो !’ म रिसको झोंकमा जुरुक्क उठ्न खोजें । ‘हजुर, किसानहरूका लागि पनि कुनै विकास देख्नु भएको छ कि !’ मलाई बसाउने कसरत गर्दै सोध्यो । म शान्त हुँदै बसें र भनें –‘छ ! अवश्य छ । सिंचाइको कुरो हेर्नु हुन्छ भने, सगरमाथाको उचाइलाई समेत माथ खुवाउने खालको छ’ मैले थपे ।

‘प्रसंगवस कृषि संवन्धी मेरो नीति पनि सुनिहाल्नोस् – कुलो खनेर खेत भिजाउनु मात्र होइन, घुस हसुरेर मानव खाद्य दुलो भर्नु पनि एक खाले सिंचाई नै हो ।’ मैले अफै बाेल्नु बाँकी थियो ।

‘भोट र नोट जस्ता ठोस बस्तुले जिन्दगी सिंचाई गर्नु त झन सानो विकास होइन । यिनै ठोस वस्तुहरू चुनावको खेतमा रोप्नाले राम्रो सत्ता उब्जाउ हुन्छ । यसरी दुनियाँमा नै नभएको विकास मेरो पालामा भएको छ ।’ मैले लामो बिचार राखें । पत्रकारले पुनः सोध्यो– ‘यस्तो सिंचाईले त जनताको खेत भिजाउन सक्ला र हजुर ?’

‘हेर्नोस्, माटोको खेत जोतेर छालाको पेट भर्नेहरूले यस पद्धतिको महत्व नै बुझेका छैनन् । यसको महŒव त तिनीहरूलाई मात्र थाहा छजो धर्मको नाममा धन्दा चलाउँछन् र चन्दा उठाएर सोमरस् सुईक्याउँछन् । सुनका डल्ला र रुपैंयाका बिटाले सिंचाइ गर्ने श्रेय केवल नेपालीलाई मात्र जान्छ । तैपनि तपाईँंहरू भन्नुहुन्छ– विकास भएकै छैन !’ मैले विकासको बेलिबिस्तार लगाएँ ।

‘नेपालीको कामभन्दा कुरो बढेको छ । हाम्रो चिच्याइभन्दा सगरमाथाको उचाई कुनै मानेमा माथि छैन । मेलम्चीको हल्ला त तपाईँलाई थाहा नै होला– विश्व बैंक गुहारियो, दातृसंस्था डाकियोे, सडक पखाल्ने हल्ला चलाइयो ,तर मच्चियो मच्चियो– थच्चियो ! हल्लाको यस्तो विकास अरु मुलुकमा भएको छ त !’ मैले पत्रकारलाई हेरें, बिचरो निदाइसकेछ ।

पत्रकार निदाए पनि उसको क्यासेट रेकर्डर चलिरहेको थियो । मौकामा चौका नहान्ने कुरै भएन , म विकासको कथा भटाभट भट्याउँन थालें– ‘सगरमाथाको अनुत्पादक उचाइको यत्रोविधि चर्चा छ, तर भ्रष्टाचारको रेकर्ड तोड्ने लाउडा र चाइना साउथवेस्टको खै कुरो गरेको ? नेपालमा विकास भएन भनेर बकबक गर्नु भन्दा विकासको अध्ययन गर्नोस् ।’ पत्रकारलाई हेरे, ऊ क्वारक्वारती गर्दै थियो ।

मैले अगाडि भने– प्रहरीको बलमिचाईको काण्ड हेर्नोस् । महंगीको थिचाइको कुरो छाप्नोस् । यहाँ चिच्याई र घिचाई पनि त्यतिकै बढेको छ । सत्य लुकाएर असत्य बताउने प्रवृत्ति पनि जेष्ठ १९ गतेदेखि निकै माथि आएको छ । कुर्सी बचाउने नाटक रचाई र छुच्याईंको बारेमा पनि बोल्नोस् । विकास जताततै भएको छ, सच्चाई यही हो ।’

मैले पत्रकारलाई चिमोट्दै आफ्नो कुरा सकें । उ हत्तपत्त उठ्यो र निन्द्रामा नै चिच्चायो– ‘हो हजुर हो, तै पनि भन्छन् विकास भा’ छैन !’ जनतालाई हामीले एकै पटक सराप्दै र दुवैजनाले टिमिक्क हात मिलायो ।

०००

फित्काैलीमा पहिलाे पटक प्रविष्ट गरिएकाे मिति :  कात्तिक २७, २०७०

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
टोपी र टाईको फाइट

टोपी र टाईको फाइट

मनोज गजुरेल
गजुरेलीय जोक

गजुरेलीय जोक

मनोज गजुरेल
सर्वहारा रक्सी

सर्वहारा रक्सी

मनोज गजुरेल
टोपी र टाईको फाइट

टोपी र टाईको फाइट

मनोज गजुरेल
टोपी र टाईको फाइट

टोपी र टाईको फाइट

मनोज गजुरेल
गजुरेलीय जोक

गजुरेलीय जोक

मनोज गजुरेल
सर्वहारा रक्सी

सर्वहारा रक्सी

मनोज गजुरेल
टोपी र टाईको फाइट

टोपी र टाईको फाइट

मनोज गजुरेल