निर्वाचन प्रचार सामाग्री

भाइ फुटे गँवार लुटे

जन्मने र मर्ने मात्र कहाँ हो र ! फुट्ने, लुट्ने, टुट्ने, जुट्ने, चुट्ने, छुट्ने, भुट्ने अनि फेरि फुट्ने र लुट्ने क्रम उहिलेका पर्सुराम र बलरामका पालादेखि अहिलेका हसुरराम र छलरामका पालासम्म मात्र हैन भोलिका लत्रुराम र ढलरामका पालासम्मै चल्नेछ ।

भाइ फुटे गँवार लुटे भनेर बाजेहरूले आधा मात्र उखान भन्ने गरेका रहेछन् भन्ने मेरो ठम्याइ छ । भाइ फुटेपछि गँवारले पनि लुट्छ भनेर त बिरालाहरूले पनि सिकिसकेका छन् । मान्छेलाई यति कुरो बुझ्न पनि किन कठिन भएको हो म जान्दिन । अझै पनि फुटेका छन्; यति मात्र हैन फुटाएका छन्, कस्ता महामूर्खहरू ! यो आधा उखानलाई पूरा गर्न के जोड्नु पर्ला तपाईँ मनमनै गुन्दै गर्नोस् । मैले थप्न खोजेको चाहिँ ‘भाइ जुटे सरकार टुटे’ भन्ने हो । तपाईंको मनमा ‘भाइ जुटे दरबार छुटे’ भन्ने पदावली पनि आउन सक्छ । अझै मिलाई मिलाई अरु टुक्रा जोड्नुभयो भने पनि म मानिदिउँला भएन ?

मान्छेले नसिकेको कुरो बिरालाहरूले कसरी सिके ? तपाईंलाई खुल्दुली लागेको हुनुपर्छ । साँच्चै हो क्या ! भाइ फुटे गँवार लुटे भनेर बिरालाहरूलाई बाँदरले सिकाइदिएको थियो । अब मान्छेलाई सिकाउन पनि त्यही बाँदर नै चाहिएला जस्तो पो लाग्या छ है मलाई त !! किनकि आजकल मान्छेहरू बाँदरिन बाँदरिन थालेका छन् भने बाँदरहरू मान्छिन मान्छिन लागेका छन् । मान्छेको जङ्गलीपन बढ्नु र बाँदरको सहरीपन बढ्नुले यो कुरालाई ठ्याक्कै पुस्टि गर्न सकिन्छ । मान्छेहरू कसरी जङ्गलिँदै छन् भन्ने कुरा मैले भनिरहनु नपर्ला ! बरु बाँदर कसरी मान्छिन लागेका हुन् ? त्यो कुरा चाहिँ गरुँ कि !

पहिले पहिले गुलेली देखेर भाग्ने बाँदर आजकल बन्दुक पड्काउँदा पनि नतर्सिने भएछ । पहिले पहिले बारीका मकै खाने बाँदरले आजभोलि घरको धुरीबाट छिरेर बुइँगलकै मकै जिप्ट्याउन थालेछ । अब त यस्तै हो भने कुनै कुनै गाउँका वडाहरूमा अध्यक्ष नै उठ्छु भनेर भोट माग्न आउन बेर छैन भन्दै थिए तल्लारे माइलाले ।

मलाई मेरा बाले सानैमा सुनाएको एउटा कथा छ क्या ! हो, त्यही कथामा बाँदरले बिरालाहरूलाई सिकाएको थियो । दुईटा बिरालाहरूले एउटा कोदाको सिङ्गो रोटी फेला पारेछन् । आधा आधा पारेर खाने मामिलामा दुवैको सहमती भएनछ । भाँच्दा एउटा ठुलो र अर्को सानो भयो भने के गर्ने ? एउटालाई धेरै र अर्कोलाई थोरै हुन सक्ने शङ्काले रोटी भाँच्न नमानी एउटा यता ङ्यार्र अर्को उता ङुर्र गर्दै बसेका रहेछन् । यत्तिकैमा एउटा बाँदर आएर ती बिरालाहरूको चाला हेरेपछि भनेछ ‘भाइ हो ! तिमीहरूलाई दुईतिर राखेर यो रोटी म बाँडिदिन्छु, मान्छौ ?’ बिरालाहरूले सहमति जनाएछन् । अनि बाँदरको पालो रोटी आधा पारेर भाँचेछ । यसो हेर्दा एउटा भाग अलिक ठुलो देखिएछ । ‘ऊः त्यो ठुलो छ ।‘ एउटा बिरालो कराएछ । बाँदरको पालो ठुलोपट्टिको आधाबाट एक टुक्रा पटक्क भाँचेर खाएछ । यसो गर्दा अर्को आधा ठुलो भएछ । फेरि यो ठुलो भयो भनेर त्यसबाट पनि भाँचेर एक टुक्रा खाएछ । यसरी एउटाको भाग खाँदा अर्को र अर्को खाँदा पहिलो सानो हुने क्रम रोकिएनछ । यता रोटी सिद्धिएछ । उता बिरालाहरू जिल्लिएछन् । कथा यत्ति हो । आखिर एक गास सानोठुलो मात्र त हुन्थ्यो होला रोटी ! मिलेर खाएको भए बाँदरले भेटाउने नै थिएन । यसरी बिरालाहरूले बाँदरबाट सिकेका हुन् भाइ फुटे गँवार लुटे ।

बिरालाहरूले सिकेर के गर्नु ! बिरालो मानसिकताका मान्छेहरूले अहिलेसम्म सिक्न सकेनन् । बाँदरले खाने दाउ गरेकै छ बिरालाहरू ङ्यार्रङुर्र गर्न छोडेकै छैनन् । अहिलेसम्म त कोदाको रोटी पाएर मख्ख होलान् बाँदरले लुट्दै जाँदा त्यो पनि सकिन्छ अनि म्याउँ गर्दै स्यालकहाँ दही चोर्न जानुपर्ने अवस्था आयो भने चाल पाउँथे कि !!

गँवारले भाइहरू फुटेपछि मात्र लुट्न सक्छ तर बुद्धिमानले भने मिलेका भाइलाई फुटाउँछ अनि मजाले लुट्छ । त्यतिखेर भाइहरू नै गँवार भइदिन्छन् । यता एउटा बिउ रोप्छ उता अर्को कीरो लगाइदिन्छ । यता हामीलाई भाइ फुटे गँवार लुटे भन्ने सुक्ति घोकाउँछ उता फुटाउने दाउ पर्खिरहन्छ, बाठो छ क्या आजकलको बाँदर ! हामीले ज्यान फालेर घोकेको भाषामा नै भन्ने हो भने ‘डिभाइड एन्ड रुल’ भन्ने उसको गायत्री मन्त्र हो । यो मन्त्र ऊ जो कसैलाई सुनाउँदै सुनाउन्न । ठ्याक्कै उल्टो छ; हाम्रा बाजेहरूले गायत्री मन्त्र सुन्नलाई गुरुदक्षिणा दिन्थे, उसले त आफैले दक्षिणा दिएर पो मन्त्र सुनाउँछ ! दक्षिणाका लोभीहरू मन्त्रले दिने फाइदा र बेफाइदा भन्दा पनि दक्षिणाको मात्र फाइदा देख्छन् । दक्षिणाको दलदलमा फसेपछि खुदोमा लटपटिएको मौरी झैँ उड्न नसक्ने हुन्छन् र मात्र आँखाले देख्छन् । देखेर के गर्नु, त्यतिखेर पाँचओटा आँखा भए पनि काम लाग्दैन ।

मैले यो उखानलाई आधा मात्र भनेछन् बाजेहरूले भन्न खोजेको पनि त्यसैले नै हो । भाइ फुटेपछिको कुरा मात्र गर्दा आधा भएन त ? भाइ जुटे के हुन्छ भन्ने पाटो किन छोडेको ? त्यसैले भाइ जुटे सरकार टुटे भन्दामात्र उखानले पूणर्ता पाउँछ । देख्नुभएकै हो क्यारे ! एकथरि भाइहरू जुट्दा अर्का भाइको सरकार टुटेकै हो । अझ पहिलेको कुरो सम्झनुहुन्छ ? हो, त्यतिखेर यी भाइहरू जुट्दा अझ अर्का भाइको दरबार छुटेकै हो । झन् पहिलेको कुरा सम्झँदै जाने हो भने एकाथरि भाइहरू जुट्दा अर्काथरि भाइहरू कति चुटिए, कति कुटिए को लेखाजोखा गरोस् ! भाइ जुटे के हुँदैन ? जे पनि हुन सक्दोरहेछ नि त ! त्यसैले यो उखानलाई पूरा गर्न भाइ फुटे गँवार लुटे भाइ जुटे सरकार टुटे/भाइ जुटे दरबार छुटे भन्नुपर्छ भन्ने मेरो गोबरे बुद्धिको ठम्याइ छ, तपाईं जे भन्नुहोस् ।

सबभन्दा जटिल कुरा त भाइ चिन्न हुन्छ । तपाईंले भाइ भन्नासाथ सहोदर भाइ अर्थात् आफ्नै आमाको कोखबाट जन्मेको आफूबाहेक अर्को छोरो भन्ने ठान्नुहुन्छ होला ! भाइ त सहोदर मात्र कहाँ हुन्छन् र ? सगोत्री पनि हुन्छन्, परगोत्री पनि हुन्छन् । आजकल त भिनाजुले सालालाई पनि भाइ भन्न थालेका छन् !! भाउजूले देवरलाई पनि भाइ !! बुहारीले जेठाजुलाई पनि दाइ, ज्वाइँले जेठानलाई पनि दाइ !! सूचना प्रविधिले संसार बरु के साँगुरिएको होला नाता साइनो त्यति साँगुरिएको पो छ त । अब यस्ता किसिम किसिमका भाइहरूमध्ये कुन भाइ फुटे गँवार लुट्ने हुन् छुट्याउनै नसकिने भो । नाता साइनोले नजिक नभएर स्वार्थले नजिक भएपछि त भाइहरूको सम्बन्ध अझै खतरनाक बन्न पुग्दो रहेछ । बाबु एउटै र आमा फरक भएका सौतेनी भाइहरू पनि त छोड्न मिल्दैन नि ! आखिर सम्पत्ति लुड्याउन परगोत्रीको सहारा लिएर सगोत्रीलाई धोखा दिए भने कसको कुभलो हुने हो र ! आफ्नै शाखासन्तानको त होला ।

राम भगवान भएकाले लङ्का जितेका र रावण राक्षस भएकाले हार्नु परेको हो भन्ने भ्रम अझै पालेका छौँ हामीले । तपाईंले विश्वास गरे गर्नोस् नगरे नगर्नोस् रामका भाइ जुटेका र रावणका भाइ फुटेकाले लङ्का हारेको हो । अहिले हाम्रा छोटे राजाहरू पनि फुट्ने र जुट्ने क्रम जारी छ । के तिनका बाबुले तिनीहरूलाई रामायण पढाएनन् होला र ? छोटे राजाहरू पनि एक से एक विद्वान् छन् तर भाइ फुटे गँवार लुटे भन्ने उखान चाहिँ थाहा रहेनछ कि ! नत्र त फुट्दा भन्दा जुट्दा फाइदा हुन्छ भन्ने चेतना हुनुपर्ने ! बाँदरलाई गुरु मानेर हो कि ! जो फुटेर टुक्रिएको छ उसैको नाम एकीकृत, कस्तो अचम्म ! भूमिका विभीषणको, अभिनय लक्ष्मणको । आखिर नेपाली छाउराहरूलाई ‘संगठनमा बल हुन्छ ।’ भन्ने सुत्र त घोकाएकै थिए क्यारे !

जन्मने र मर्ने मात्र कहाँ हो र ! फुट्ने, लुट्ने, टुट्ने, जुट्ने, चुट्ने, छुट्ने, भुट्ने अनि फेरि फुट्ने र लुट्ने क्रम उहिलेका पर्सुराम र बलरामका पालादेखि अहिलेका हसुरराम र छलरामका पालासम्म मात्र हैन भोलिका लत्रुराम र ढलरामका पालासम्मै चल्नेछ । मैले उहिलेको अवैज्ञानिक युगको कुरो गर्न खोजेको हैन, अहिलेको वैज्ञानिक युग र पछि आउने उपरवैज्ञानिक युगसम्मकै भविष्यवाणी गरेको हुँ । मेरो भविष्यवाणी मिलेन भने मृत्युपर्यन्त मलाई जस्तो कार्वाही गरे पनि सहन तयार छु । भाटे कार्वाही गरे पनि लाठे कार्वाही गरे पनि मेरो कुनै आपत्ति रहने छैन !!

तपाईंसित साख्खै आफ्नै आमाको छोरो जस्तो नाता लाएर भन्ने हो भने मैले भन्न चाहेको गाँठी कुरो के भने भाइहरू जुट्ने स्थिति नबने पनि फुट्ने र टुट्ने क्रम भने निरन्तर चलिरहनु पर्छ ।

०००
२०७९ कार्तिक १० गते भाइटीका
रुरुक्षेत्र- ५, गुल्मी

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
अर्थ न बर्थ गोबिन्द गाई

अर्थ न बर्थ गोबिन्द...

काशीनाथ मिश्रित
किन ?

किन ?

काशीनाथ मिश्रित
नुनकाे बाङ्गाे

नुनकाे बाङ्गाे

काशीनाथ मिश्रित
जसले मह काढ्छ उसले हात चाट्छ ?

जसले मह काढ्छ उसले...

काशीनाथ मिश्रित
नयाँ नेपाल साँच्चै भयो !!

नयाँ नेपाल साँच्चै भयो...

काशीनाथ मिश्रित
नुनकाे बाङ्गाे

नुनकाे बाङ्गाे

काशीनाथ मिश्रित
जसले मह काढ्छ उसले हात चाट्छ ?

जसले मह काढ्छ उसले...

काशीनाथ मिश्रित
बोकाको मन

बोकाको मन

काशीनाथ मिश्रित
जति जोगी आए पनि कानै चिरेका

जति जोगी आए पनि...

काशीनाथ मिश्रित
को धनी ?

को धनी ?

काशीनाथ मिश्रित