गुटबन्दी जिन्दावाद ! जिन्दावाद !!

पत्याए पत्याउनोस् नपत्याए नपत्याउनोस् म स्वयम पनि अगणित गुटहरूमध्ये कुनै एउटा गुटको झण्डा बोकेर नारा फलाकी रहेको छु– गुटबन्दी जिन्दावाद ! जिन्दावाद !!

विषय वा प्रसङ्गले अर्को अर्थ नलगाएमा गुट भन्नाले निश्चित अनिश्चित उद्देश्य लिएर कुनै अवस्था वा स्थितिमा खास कुनै दल वा समूह भित्रै प्रकट भएको अर्को उपदल वा उपसमूह विशेष हो भन्ने बुझिन्छ । यही गुटलाई एक किसिमको जेल वा कारागार संझिदियो भने बन्दीको अर्थ स्वतः खुल्दछ । बन्दी भनेको चाहिँ कारण वा अकारण थुनामा परेको कैदी । गुटगत गतिविधि सञ्चालनार्थ गुट्मुटिएर लागेको एउटा गुठियार जो हरहिसावले गुटमा बाँधिएको र खाँदिएको छ त्यो बन्दी हो । अर्थको पोयो फुकाउँदै जाँदा गुट र गुठ भन्नुमा त्यति बिघ्न भिन्नता भेटिँदैन । गुट बनाउने गुटियार र गुठ बनाउने गुठियारको उद्देश्य लक्ष र क्रियाकलापमा गज्जबको समानता छ ।

गुटबन्दी वर्तमानको बहुचर्चित खेल पनि हो । यो खेलले अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय, ध्रुवीय, क्षेत्रीय, उपक्षेत्रीय सबै रूपमा सम्मान र मान्यता प्राप्त गरेको छ । गुट बनाऊ, शासनको डोरी समाऊ अथवा गुट बसाल, कसैलाई सत्ताबाट खसाल । गुटबन्दी गर, कसैलाई सत्ताको धुरीमा उकाल । जहाँकहीं जेसुकै कुरामा हाटहुट मच्चाउनु छ भने सानोतिनो नै किन नहोस् गुटको सहयोग चाहिन्छ । गुटबन्दीका बलमा जेलखान भित्रकै बन्दी त नाइके बन्न सक्छ भने कुनै दलभित्र कोही नेता बन्नु अनौठो हुँदै हैन । आउनोस् एकैछिन यो सर्वव्यापी खेल गुटबन्दीले हाम्रो राष्ट्रिय जीवनलाई कति माथि उचालिरहेको छ भन्नेबारेमा नम्बर लगाएर जानकारी लिउँ, हुन्न ?

मुलुक निर्माणको मेरुदण्ड प्रजातान्त्रिक (अब त लोकतान्त्रिक) वातावरण हो भनेर जतिसुकै गुड्डी हाँके पनि प्रजातन्त्र वा लोकतन्त्रको मेरुदण्ड चाहिँ वर्तमान राजनीति हो, अनि यो राजनीति चाहिँ गुटनीतिमा फेरिएको छ । गुटनीतिले राष्ट्रिय राजनीतिलाई उठ् भने उठ्नीति र बस् भने बस्नीति पारेको कुरा कसैबाट लुकेको छैन, कसैसँग लुक्नु परेको पनि छैन । बडेबडे भाषाशास्त्रीहरू (चाकडीको भरमा शास्त्री पड्काएकाहरू ?) ले समेत पत्याउन नसक्ने एउटा कुरा… राजनीति भनेकै गुटनीति अर्थात् गुटबन्दी हो । वर्तमान वस्तुस्थितिले मुलुकको राजनीतिलाई एकदमै तरल बनाइदिएको छ । यो तरल अवस्था गुटबन्दीका निम्ति अत्यन्त सरल बन्छ ।

गणितमा खण्डीकरणको जुन महत्व तथा मान–सम्मान रहेको हुन्छ त्यो भन्दा बढ्ता राजनीतिमा गुटबन्दीकरणको । राष्ट्रिय राजनीतिमा अहम् भूमिका निर्वाह गरिरहेका दलहरूभित्र अनेकन उपदलहरू परिचालित छन् । दलहरूको दलीय विकासमा यस किसिमको स्थितिले सकारात्मक प्रभाव पारिरहेको छ । त्यसकारण दलहरूभित्र उपदलहरू निर्माण हुनु अनिवार्य आवश्यकताभित्रै पर्ने कुरा हो । गुटबन्दीलाई वर्गीकरण गर्दा अब्बलदर्जाको गुटबन्दीका रूपमा यही राजनीतिक गुटबन्दीलाई लिनुपर्ने भएको छ । सबै भन्न थालेका छन्– जोगी हुन राजनीति गरिँदैन । केही नहुनुनै जोगी हुनु हो भने अहिलेका कैयौँ सुविधाभोगीहरू हिजो जोगी भएरै राजनीतिमा सरिक थिए । उनीहरूको यही सुविधाभोगी स्वभावले राजनीतिलाई नै रोगी बनाइदिएको छ । त्यही रुग्ण–रोगी मानसिकताको ढोँगी चरित्र नै गुटबन्दीको रूपमा प्रकट हुने गरेको छ । प्रकट जे जसरी भएको होस् प्रकट भइसकेपछि यसले राजनीतिमा पारेको प्रभाव भने अत्यन्त प्रभावकारी सावित भएको छ ।

गुटबन्दीले सरकार बनाउँछ र गुटबन्दीले सरकार भत्काउँछ । गुटबन्दीले गुट्मुट्याउँदा एउटा गोवरगण्ोशले पनि मन्त्री पद जिप्ट्याउँछ । यति मात्र होइन गुटबन्दीको जोरजुलुमले हिजोआज गोरु पनि ब्याउँछ, गोरु ब्याउँदा पाडो पाउँछ, पाडोलाई पनि पाडी बनाउँछ । गुटबन्दीको पहुँच र पराक्रमले थोत्रो थाङ्नोलाई समेत साडी बनाउँछ । पौरख पनि हेर्नाका हुन्छन् । गुटबन्दीले यस्तै पौरख देखाइरहेको छ, देखाइ आएको छ । यसर्थ पनि राजनीतिक गुटबन्दी एक नम्बरिया गुटबन्दी हो ।

कालोलाई सेतो र सेतोलाई कालो बनाएर रङ्ग परिवर्तनको दृष्टान्त दिनु, भालेलाई पोथी र पोथीलाई भाले बनाएर लिङ्ग परिवर्तनको उदाहरण दिनु, दिनलाई रात र रातलाई दिन बनाएर मौसम परिवर्तनको सङ्केत गर्नु, इमान्दारलाई बेइमान र बेइमानलाई इमान्दार घोषित गरेर आफू र आफ्नाहरूलाई पालित पोषित गर्न अपूर्व पारितोषिकको व्यवस्था मिलाउनुजस्ता शिष्ट–विशिष्ट कार्यहरू एक नम्बरिया गुटबन्दीका परिचायक हुन्, विशेषता हुन् । सिर्फ गाँठको भरमा अनमनीका ल्वाँठ बज्रस्वाँठहरू छरिछाँट झिकेर गर्नु नगर्नु गरिरहेका छन् । वुद्धि बस्ने भाँडो उभिन्डो भएका हरिपहरू कुहिएको कुभिण्डोभन्दा बढ्ता गन्हाउँदा छन् । यी सवै एक नम्बरिया गुटबन्दी अर्थात राजनीतिक गुटबन्दीका परिणाम हुन् ।

माथि सङ्क्षेपमा चर्चा गरिएको एक नम्बरिया गुटबन्दीका कारण प्राप्त भएको परिणामले दुई नम्बरिया गुटबन्दीका निम्ति यो मुलुकको माटोलाई अत्यन्त उर्वर बनाइदिएको छ । दुई नम्बरी काम, दुई नम्बरी धन्दा, दुई नम्बरी पेशा भनेर तपार्इंले जुन कामकुरालाई जान्नु वा सुन्नुभएको छ त्यही कामकुरो दुई नम्बरिया गुटबन्दी हो । कुरो सुन्दा तपार्इंलाई उदेक लाग्ला, एक नम्बरिया गुटबन्दी र दुई नम्बरिया गुटबन्दी अहिले एउटै सिक्काका दुई पाटा भएका छन् । उनीहरू बीचको यो अन्योन्याश्रित र सुमधुर सम्बन्धलाई देखेर तपाईं छक्क पर्नु होला, तर त्यसरी छक्क पर्नुको पनि कुनै तुक छैन, न त चुकचुक गरेर नै केही हुनेवाला छ ।

दुई नम्बरिया गुटबन्दीको छत्रछायाले भेटेको क्षेत्र पनि कहाँ सानो छ र फेरि ? दुई नम्बरी गुटबन्दी अन्तरगत पनि अनेकन गुट–उपगुटहरू क्रियाशील छन् । एउटा गुट खैराहरूको मुलुकबाट खैरो चिनी (ब्राउन सुगर) ओसार्नमा व्यस्त छ भने अर्को गुट हामै्र गाउँघरका चेलीबेटीहरू बम्बैतिर ओसार्नमा मस्त छ । कुनै गुट फेन्सिडिलको व्यापारमा चुर्लुम्मै डुबेको छ त कुनै गुट मान्छेकै खप्पर र नलिहाड बटुल्नमा धुत्त बनेको छ । पढ्न लेख्न नपाएका गाउँले बेरोजगारहरूलाई डलरको सपना देखाउँदै मलेसियातिरका जेल पुर्याउने पवित्र कार्य होस् या पढेलेखेका शहरिया बेरोजगारहरूलाई लागूपदार्थको सेवनमा सुर्याउने सेवा–कार्य होस्– दुई नम्बरी गुटबन्दीका गुट–उपगुटहरू निर्लिप्त भएर लागेका छन् । यिनीहरूको लगनशीलता र क्षमता अन्तर्राष्ट्रिय स्तरमा उक्लिइसकेको छ । हजार हजारका जाली नोट बनाएर राष्ट्र वैङ्कलाई तङ्ग गर्ने मात्रै हैन हरिया डलरका बोट नै उमारेर डलरप्रेमीहरूलाई दङ्ग पार्ने काम अब देब्रेहातकै खेल भएको छ । अब त परिआएको बेला विदेशतिर प्राण दिन अथवा स्वदेशतिरै आएर सांसद जस्ताको समेत प्राण लिन कुनै खतरा मोल्नु नपर्ने भएको छ । पुराना मठमन्दिरका मूर्ति निख्रिइसकेको कुरा उनीहरूलाई थाह छ, त्यसकारण कतिपय गुट चरेश गाँजा र सूर्तिको कारोवारमा निमग्न छन् । उनीहरूको कामधन्दाको जाबो राजनीतिको रालो समाउँदै सांसद र मन्त्रीसम्मको कठालो खैँचन सफल भएको छ । यही कठालो खैँचन कार्यमा कहॉ कता केको र्याङ्ठ्याङ् नमिल्दा एउटा दिलदार सांसदले ज्यानै गुमाए, नामै कमाए ।

तपाईं भन्नुहोला यी एकनम्बरे र दुई नम्बरे गुटबन्दी बीच आनकातान फरक छ, जातै अलग, हातै अलग, पृष्ठभूमि, प्रवृत्ति, आवृत्ति सवै अलग छ नि त ! तपाईंलाई लागेको कुरा ठीकै हो । त्यसो भएर नै एउटा एक नम्बरे र अर्को दुई नम्बरे भएका हुन् । तर यावत् कुरा अलग हुँदाहुँदै पनि खासखालको स्वार्थ मिल्न जाँदा फलाममा कस मिलेझैँ वा जिलेबीमा रस मिलेझैँ ठ्याम्म मिलेर ड्याम्म हुनुलाई अनौठो मान्नु जरुरी छैन । यसरी अहिले यी दुवै एकअर्काका परिपूरक बनेका छन् । एक आपसी सहयोगविना गुजारा र गुजेस्ता चल्नै नसक्ने भएको छ । यो मुलुकको अग्रगति प्रगति यिनै एक नम्बरिया र दुई नम्बरिया गुटबन्दी अन्तरगत क्रियाशील गुट–उपगुटका काँधबाट गुट्की रहेको छ । यो दुर्भाग्य हैन परम् सौभाग्य हो ।

तीन नम्बरिया गुटबन्दीको प्रसङ्ग नचलाउने हो भने गुटबन्दीको चर्चा अधुरै रहन्छ । कलम काँधमा बोकेर परेडमा निस्किएका कलमवाजहरूको गुट–उपगुट तीन नम्बरिया गुटबन्दी अन्तरगत पर्दछ । कुरो स्पष्टै छ, कलमबाजहरू मध्येको एउटा गुट सिर्फ नाम प्राप्तिको निम्ति कलमको तोप पड्काइरहेको छ भने अर्को गुट सिर्फ दाम प्राप्तिका निम्ति कलमलाई नै तीर बनाएर धड्काइरहेको छ । कुनै छन् विरोधको बारुदबाहेक केही नखोतल्ने त कोही छन् इष्टदेव खुसी पार्न प्रशंसाबाहेक केही नबोल्ने । एउटा गुटले आफूलाई पत्रकारको व्यवशायमा ओरालेको छ त अर्को गुटले आफूलाई अलपत्रकारमै बरालेको छ । कोही लागेका छन् सिर्फ ‘कोर्श बुक’ लेखनतिर भने कोही लागेका छन् सिर्फ ‘सोर्स बुक’ लेखनतिर । थरिथरिका कलमवाजहरूमध्ये कुनै समर्पित भएका छन् सरकारी सेवामा त कुनै समर्पित छन् गैरसरकारी सेवामा । सरकारी सेवामा संलग्न कलमवाजहरूलाई भत्ता भक्षणको आरोप लाग्ने गरेको छ भने गैरसरकारी सेवामा संलग्न कलमवाजहरूलाई डलर लक्षणको । जो जहाँ र जसरी रहेका हुन्, उनीहरूको मूल काम भनेको दाम हाम गर्दै आमरूपमा गुटबन्दी मच्चाउनु हो । गुटगत समाचार बटुल्ने पत्रकार, गुटगत विचार बक्ने साहित्यकार, गुटगत कविता रचना गर्ने कवि, गुटगत गीत अर्थात् गुटगायनमा पोख्त गायक यी सबै तीन नम्बरिया गुटबन्दीका एकसेएक नायकहरू हुन्, लायक छन्, गुटबन्दीका निम्ति नालायक छैनन् । सबै आ–आफ्नो गुटका निम्ति अनमोल औजारहरू हुन् । एक नम्बरिया गुटस्वार्थका निम्ति कुटकुरा लेख्दै आपसमा आमाचकारी गाली गर्नु, बिनामेसै उड्कनु, चड्कनु र पड्कनु गुटबन्दीमा निर्लिप्त कलमवाजहरूको विशेषता हो । यही विशेषताको बलमा बुद्धि र विवेकलाई बन्धकी राखी बेमत्लवी बयान बखानेर वैभव बटुल्न व्यस्त छन् उनीहरू ।

वुद्धि र विवेक नै बन्धकी राखेर कलवाजहरूको गुट नै गुटगत गतिविधिको सेवामा समर्पित भइसकेपछि बाँकी के नै रहन्छ र ! मौसम नै गुटबन्दीको छ, वातावरण गुटबन्दीमय छ, हावा पनि गुटगत भएर वहँदै छ । नम्बर लागेका गुटहरूबाहेक अहिले विभिन्न बेनम्बरी गुटहरू पनि गुटगत गतिविधिमा क्रियाशील देखिन्छन् । गुण्डाहरूको गुट, डन र अपराधीहरूको गुट, भष्टाचारीहरूको गुट, कमिसनखोरहरूको गुट, राजश्वमाराहरूको गुट, घुसखोर र स्वघोषित सज्जन बनेका चोर र डाँकाहरूको गुट आदित्यादि गुटहरू आ–आफ्ना गुटगत काममा बेरोकटोक जुटिरहेका छन् । नम्बरिया गुटबन्दीमा यी बेनम्बरी गुटहरूको उपस्थिति र प्रयोग गुटस्वार्थका निम्ति आवश्यक बनिरहेको छ । आवश्यकता अनुसार सदुपयोग दुरूपयोग गर्नु गुठियारहरूको मौलिक अधिकार हो । यो अधिकारमाथि औँलो ठड्याउने मूर्ख मनुवा मौलामा बाँधिन्छ बाँधिँदै आएको छ ।

गुटबन्दीमाथि व्यङ्ग्य गर्दै लेखिएको यो निबन्ध हो भन्ने भ्रममा तपाईं पर्नुभयो होला, नपर्नुहोस् है । यो पनि अलि बाङ्गो पाराले गरिएको गुटबन्दीकै एउटा नमूना पो हो त ! पत्याए पत्याउनोस् नपत्याए नपत्याउनोस् म स्वयम पनि अगणित गुटहरूमध्ये कुनै एउटा गुटको झण्डा बोकेर नारा फलाकी रहेको छु– गुटबन्दी जिन्दावाद ! जिन्दावाद !!

कलङ्की, काठमाडौँ

जुकासँग जम्काभेट 

जुकासँग जम्काभेट 

नरनाथ लुइँटेल
होली रे होली !!

होली रे होली !!

नरनाथ लुइँटेल