सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बासुदेव बाजेलाई सुझाव

मुलुकमा अहिले बहुदलीय व्यवस्था छ र दलदलमा फसेका दलहरूलाई बरु यसो दुई चार लाख चन्दा दिनु भएको भए तपाईंको स्थिति नै अर्को हुन्थ्यो ।

Nepal Telecom ad

(यो व्यंग्य मैले कान्तिपुर कोशेली संवद्ध एकजना मित्रको अनुरोधमा २०५० फागुनको १३ गते लेखेको र उहाँकै हात प्रेशित गरेको थिएँ । यही विषयवस्तुमा लिखित अर्को लेख पाम भट्टेको नाममा प्रकाशित भएपछि यो व्यंग्य कोशेलीमा अस्वीकृत भएको ठानी शीर्षक मात्र बदलेर ‘प्रकाश’को यस स्तम्भ मार्फत् प्रस्तुत गरेको छु ।)

एक जना भिनाजु अहिले निकै चर्चामा हुनुहुन्छ । त्यसो त साली उडाउने जाली भिनाजुहरू पनि उल्लेखनीय चर्चामा आउने गरेका छन् । तर अहिले चर्चामा आउनु भएको भिनाजु कुनै साली उडाउने भिनाजु नभएर व्यंग लडाउने भूतपूर्व भूतको भिनाजु हुनुहुन्छ । म उहाँको साख्खैं सालो या साली होइन तर भिनाजु मन पराउने कुनै उत्ताउली सालीले भन्दा अलि बढ्तै म उहाँलाई मन पराउँदो रहेछु । मान्छे उहाँ भूतकै भिनाजु हो । अनि म भूत पनि त होइन । बरु कुलकुलायन र थर गोत्रावली (वंशावली हेर्ने फुर्सद भने छैन) केलाउँदै उमेरसम्मको हिसाब लगाउने हो भने भूतको भिनाजु उर्फ वासुदेव शर्मा लुइँटेल मेरो साख्खै बाजे पर्नु हुँदोरहेछ । म उहाँको नाति । आफ्नै मान्छे भएर पो मन परेको रहेछ भन्दै तपाई कुरा कोरल्न थाल्नु भयो होला तर कुरा त्यत्तिमै मात्र भने सीमित छैन ।

देवाधिदेव महादेवका सहश्रनाम भए जस्तै बाजे वासुदेव पनि अनगिन्ती नामले चिनिनु हुन्छ । हास्य व्यंग्यतर्फका एक तालिक र कौदा प्रकाशनका मालिक, “भूत छैन”, “चिठी- चपेटा”, ‘भीमसेन पाती” आदिका लेखुवा र झण्डै दुई दर्जन कृतिहरूका थोत्रा मोत्रा छापुवा यी बाजे अहिले आँखिभौतिर काँश उम्रने उमेरमा पनि क.दी.का कृपाले मदन पुरस्कार गुठीको थोत्रा थाम्रा सङ्कलन विभागको चिसो छिँडी कुर्ने द्वारपाले हुनुहुन्छ । उहाँको यही पदप्रति कति बेरोजगार डाडेहरू ‘डाढो’ गरिरहेका होलान् कहिले ‘नैकापे काका’ भनाउँदै मानभाउ खोज्ने, कहिले ‘म कवि’ को मपाईत्व बखान्ने त कहिले ‘ओम्कारनाथ उपाध्याय’ को नामले आफ्नो धर्मभिरुपन ओकल्ने ‘तने बासे’ उर्फ वासुदेव शर्मालाई आफ्नै बाजे भएर पनि सर्वप्रथम मैले ‘चिठी-चपेटा’मा भेटेको हुँ । त्यसपछि ‘भूत छैन’ र ‘भीमसेन पाती’ मा पनि जम्काभेट भएकै हो । अप्जसे कुरो कन्थो लेखेर जस बटुल्न सिपालु यिनै वासुदेव उर्फ ‘माड्साब’ अहिले चर्चामा हुनुहुन्छ । माथि नै उल्लेख गरिसकेँं साली उडाएर चर्चाको चौधेरामा चम्किने भिनाजु भने उहाँ हुँदै होइन ।

साथी सँगी रिसाउने र संगिनी ठुस्काउने, दिमागको सास्ती तर आमदानी नास्ती, यस्तो प्रकृति र प्रवृत्तिको लेखुवा विधामा हात हालेर जुनी गाल्दा पनि धीत नमरेर त्यही- विधामा हजार-हजारको मात्र नभै लाख लाखको पुरस्कार स्थापना गर्न मूख्याइँपूणर् सल्लाह यी बाजेलाई क-कसले दिए, म भने तीन छक्क परेको छु । बाजे आफू त दङ्ग पर्नु भा होला तर मलाई भने बाजेले जमानाको रङ्ग नबुझेको देख्दा रीस पनि उठेर आयो । फेरि रीस खा आफू बुद्धि खा अर्को भन्ने सम्झेर उठेको रीसलाई बल्ल बल्ल बिसाएँ ।

राजनीतिक भाङपेलाइका कारण कुनामा कुच्रिन पुगेको साहित्य र त्यसमा पनि हास्यव्यंग्य वेफ्वाँके विधामा यत्रो राशी पुरस्कार राख्ने बाजेको दुस्प्रयाशलाई कुनै सनकी बूढाको सनक हो भन्दा त्यति अर्धेल्याई नहोला । जुन बेला तुरुन्ता तुरुन्ती आमदानी दोब्रिने र तेब्रिने विधातिर लगानी लगाउनेहरूको होडबाजी मुलुकमा चलिरहेको छ । बैधदेखि अवैध व्यापार व्यवसायमा आकृष्ट अभिरूचिका साथ लाख लाख लगानी गरी रातारात करोडीमल बन्ने धुनधन्दा धुमधडाकाका साथ चलिरहेको छ । आफ्ना बाजेको भने यो चाला छ । ‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी’ यो उक्तिको अर्थ माड्साबले बुझ्नु भएको छैन भनेर त म कसरी भनूँ तर बुझ्नु भएको छ भनुँ भने बिनसित्तिमा यो उपद्रो के गर्नु भएको होला ।

मुलुकमा अहिले बहुदलीय व्यवस्था छ र दलदलमा फसेका दलहरूलाई बरु यसो दुई चार लाख चन्दा-सन्दा दिनु भएको भए तपाईंको स्थिति नै अर्को हुन्थ्यो । देख्नु भा छैन, माडवारीहरूको फूर्ति ? यता चन्दा दियो, उता गन्दा चामलमा डेढा मूल्य बृद्धि गर्‍यो । एक महिना भित्रैमा चन्दा दिएको रकमभन्दा दुई गुना नभए पनि डेढ गुना नाफा हात बाप्यो । यस्तो मालामाल हुन सकिने सक्कली धन्दातिर च्याँखे नथापेर सुन्दा पनि उकउको लाग्ने पुरस्कार सुरस्कारमा जेथो खर्च गर्ने सल्लाह आखिर वासुदेव बाजेलाई कसले दियो कुन्नि ! ‘तीन फुकुवाले मुलुक बिगारे’ भन्ने उहाँको कथनले फेल खाइसक्यो । अहिले त सल्लाहाकारहरूले पो मुलुक बिगार्दछन् । वासुदेव बाजे पनि त्यस्तै कुनै सल्लाहकारको फन्दामा परेर यस्तो नाफा न मुनाफाको धन्दामा अघिसर्नु भएकै हो भनी ठोकुवा गर्नुपर्ने भएको छ । भन्न त नाम कीर्ति राख्न यसो गरेको भन्नु होला तर राष्ट्रिय राजनीतिदेखि अन्तर्राष्ट्रिय अर्थनीतिको पेरिफेरीमा खेतान-सेतानहरूको नाम के कुरामा कम छ ? नाममा नाम छ, इज्जतमा इज्जत छ । फूर्ति फार्तिको कुरा मात्रै होइन, हेर्दै जानु होला दुई चार वर्षपछि सार्वजनिक चोकहरूमा उनीहरूकै मूर्ति स्थापित हुनेछ । चाहे जोसुकैको होस् मूर्ति देखेपछि भोंदुं नेपाली फूल अक्षता लिएर पूजा आराधना गर्न थालिहाल्छन् ।

एकैछिन गम् खाएर सोचेंँ- यति विघ्न राशीको रकम राखेर बाउ छोराकै नाममा स्थापित र वर्षेनी दिइने भनिएको पुरस्कार दिने चाहिँ ककसलाई त ? हास्यव्यंग्य विधाको इतिहासमा उँधमुन्टिएकादेखि वर्तमानमा छचन्डाएकासम्मका एक एक नाम सम्झँदै गएँ । ‘लामखुट्टे उडुस उपियाँ’ धपाउने भानुभक्तदेखि ‘गलबन्दी’ले गाँड छोप्ने भैरव अयलिसम्मका अथवा ‘ख्ष्याल-ख्याल’ गर्ने पाँडेपुराणका हराम कुुपाँडेसम्म सबै सबै डेटएक्सपायर भैसके । (स्वयं वासुदेव बाजेकै लेखनीले त धकाइ धकाइ थकाई मार्दैछ क्यारे) उनीहरूले त पाउने कुरै भएन । ‘दमाहा’ नै ठोक्ने घटोत्कच शर्माको हिजोआज ट्याम्को बजेको पनि सुनिदै छैन । कसैको नभएको श्याम गोतामेको ‘मपाईं’ पनि लम्पसार परे जस्तो लाग्दैछ । फाईफुट्टिराजको टार्इंफाई समेत ‘उल्ली. बिल्लीमा’ परेर हाल सोत्र्यान्त भै सकेको छ ।

पूणर्प्रसाद ढुंगेलका निम्ति भने ‘कौवा’ लाई बेल पाक्यो हर्ष न विष्मात् । ‘खै खै’ को ताहुरमाहुर झिकेर अगाडि आएका पिंडाली भने पिंँडालु कोपर्दै विपक्षीलाई चिथोर्नमा व्यस्त छन् । उनलाई भूतको अद्भूत करामतपट्टि भन्दा सत्ताको दूत हुनमै बढ्ता स्वाद आइरहेछ । पाका पुरानाको हाल यस्तै छ, नयाँहरूको चाल पनि निको छैन । एकले अर्कोलाई गन्ती गर्नसम्म नसकेर पाए खन्ति लिएर खाल्डो खन्न पो तम्सन्छन् । भनिन्छ राम कुपाँडे त्यही खाडललाई भड्खारो बनाउन उल्टै उकास्नेसम्म गर्दछन् रे । ‘चौथो कालम’ मै कक्रक्क परेका विमल निभादेखि कनकान गरेर लेखिटोपले झैं गर्ने मुन पौड्यालसम्म अथवा फाट्टफुट्ट देखिने चोलेश्वरदेखि साट्टसुट्ट भेटिन् राजवसम्मका औंलामा गन्न सकिने तर भन्न नसकिनेहरू छरपस्ट छन् । बकितम भन्दा लिखितम नै पो प्रामाणिक हुने रहेछ भन्ने कुरा बल्ल बल्ल चाल पाइ मह जोडी आइपुगे ‘महसन’ लिएर भर्खरै ढोका ढक्ढकाउन । थोरै लेखेर धेरै चर्चामा आाउन खोज्ने प्रभातको व्यंग्य त झन बर्बातै देखिन्छ । सुनीलको सम्झना के गर्नु, उनी त ‘ऐना’ मा हेर्दा पनि आफ्नो अनुहार देख्दैनन् । विष्णु प्रसाईलाई लेख बेच्न बसाई सर्दै ठिक्क छ । स्टोभ मर्मत गर्दै लामालामा गफ गर्ने नरमेन्द्र लामा पनि लाम लाग्न त सक्छन् तर दाम अनुसारको काम नगर्ने भनी सबैले टिप्पणी गर्नेलाई त्यस्तो साइत के जुर्ला खै ? बाजेको नाति म नाथेको त झन् के गन्ती । (यहाँ उल्लेख नभएका अरू कुनै नाम बाँकी बसे भने आ-आफैले आ-आफ्नो नाम संझेर मःम भने पनि हुन्छ ।)

उहिले उहिले काल भैरवका पालामा जस्तो शीप पुर्‍याएर र जाँगर खन्याएर लेख्ने नै पो अहिले कुन मूर्ख छ र ! सोझो लेखनमै अनिकाल पर्न थालेको छ भने बाँगो लेख्न को सुरियोस् । अरू त अरू परै जावस् पुरानाहरूका एक सक्रिय समकालीन राम कुपाँडे समेत सोझो बाँगो सबै छोडी चारहात पाउ टेक्दै शोर्सफोर्स लाएर नै भए पनि कोर्शबुकतिर तल्लीन छन् । बस्र्यौनी दुई चार लाख हेलै कुम्ल्याउने उनलाई जाबो यो पुरस्कारमा के आँखा लाग्ला र । अरू कतिपय भने एन्जीओ. सेनजिओको प्रपोजल लेख्न पत्केका छन् । एउटा प्रपोजलमा २०/३० हजार खसाल्न पल्केकाहरू दाम न जसको हास्यव्यंग्य कसले लेखिरहोस् माथापच्ची गरेर । बाँकी रहेका कोही भाग्यमानी भजन किर्तन लेखेर मालपानी जुटाइरहेका छन् । कोही चरित्रगीता लेखेर विद्वत्वृत्ति जिष्टयाइरहेछन् । देखेको लेख्ने लेखनवृत्ति र लखेको देख्ने देखनवृत्ति एउटै कुरा होइन र विद्वत्वृत्तिका निम्ति लेखनवृत्तिको जरूरत न हिजो थियो न आज छ ।

यो सब देखी भोगी जानेका देवाधिदेव वासुदेव बाजेलाई म नाथे नातिले अर्ति दिन खोजेको चाहिँ होइन । हुन त अर्ति भनेको घर्तीको पनि लिनुपर्छ भन्छन् । मेरो यो आग्रहलाई घर्तीकै अर्ति वा सो सरह सम्झेर भए पनि आमदानी न उपतिको उक्त पुरस्कार रुपी खतिलाई गोरखापत्रमा एक सूचना प्रकाशित गरी ढिस्मिस् गरिदिए न रह्यो बाँस न बज्यो बाँसुरी । नामका पारखी भिनाजु उर्फ वासुदेव बाजे ! नाम र दाम दुवै एकैचोटि कमाउने आम ध्याउन्नातिर ध्यान नपुर्‍याएर यस्तो वेफ्वाँके काममा दाम खर्च गर्न सल्लाह दिने तपाईका सल्लाहकारहरूले के कस्तो भीष्म प्रतिज्ञा गरेका छन्, त्यो त मलाई थाह छैन तर यतिवेलाको नेपालमा कपालभित्र घुस्नैपर्ने कुरोको चुरो चाहिँ के हो भने सनकी सल्लाहकारको साँघुरो सर्कलबाट सरक्क सड्किनु सबैका निम्ति सबैभन्दा कल्याणकारी र हितकर हुनेछ ।

‘प्रकाश’ साप्ताहिक, २०५० चैत्र १५ गते

Fitkauli Publication Books comming soon
Nepal Telecom ad