निर्वाचन प्रचार सामाग्री

फोहर-राजनीति !!

चोक चोक र गल्ली गल्लीमा दिनहुँ थुप्रिने फोहरको रासलाई फोहरको रास होइन डलर आर्जन हुने आस हो भन्नुपर्छ । यही रास र आसबीच फोहर-राजनीतिले सास फेर्दैछ ।

शीर्षक हेर्नासाथ तपाईं भ्रममा परिसकेको हुनुपर्छ भन्ने अनुमान मैले गरिसकेँ । त्यसकारण पहिले तपाईंको भ्रम निवारण गरिहालूँ । राजनीतिको अघिल्तिर फोहरको डङ्गुर शब्द बसाल्नुको अर्थ राजनीति फोहरी भएको हो भन्न खोजेको होइन । राजनीति त पवित्र गंगाजलभन्दा पनि धेरै शुद्ध छ, हुनुपर्छ । पवित्र र शुद्ध वस्तु विशेषलाई फोहर भन्दै फोहरी गाली गर्ने मनशाय पनि मेरो छँदै छैन । मैले गर्न खोजेको कुरोको चुरो चाहिँ यो देशको एक मात्र राजधानी कान्तिपुरी काठमाडौंको फोहरमाथि हँुदै आएको, भइरहेका र भविष्यका दिनहरूमा समेत हुनसक्ने राजनीतिसँग सम्बन्धित छ । उपरउल्लिखित शीर्षकसँगको यो देशको राष्ट्रिय राजनीतिमा चाहिँ गोरु बेचेको साइनोसम्म पनि छैन ।

त्यसो त राजनीति हो, यो जहाँ, जता र जेसुकै कुरामा पनि घुस्न थालेको छ हिजोआज । त्यसैले पनि भनिएको होला घुसघुसे राजनीति भनेर । तर मैले यहाँ खुस्खुस् गर्दै घुसघुसे राजनीतिको पनि कुरा गर्न खोजेको हुँदै होइन । अरु सबै राजनीति सम्बन्धी कुरा गर्ने हक अधिकारवाला राजनेता वा राजनीतिक कर्मीहरूलाई राजीखुशी मनोमानीसँग हस्तान्तरण गरी यहाँ मैले गर्न चाहेको कुरा चाहिं राजधानीको फोहर-राजनीतिको मात्रै हो ।

फेरि तपाईंलाई लाग्न सक्छ यो फोहर र राजनीतिबीच के सम्बन्ध छ ? अथवा राजनीति जस्तो पवित्र वस्तुलाई फोहर जस्तो अपवित्र वस्तुसँग सामीप्यता प्रदान गर्न किन खोजियो ? यदि तपाईंलाई यस्तै लागेको हो भने यो तपाइँलाई शतप्रतिशत गलत लाग्यो । जथाभावी घुस्दाघुस्दै राजनीतिको सुकुमार र सफा अनुहार राजधानीको फोहरभित्र पनि खुसुक्क छिरेर नराम्रोसँग पिरेछ । पञ्चायती कालदेखि नै यसरी छिरेर दुर्गन्धित भएको यो राजनीति पञ्चायतकै जडौरी ओढ्न रमाइआएका प्रजातान्त्रिक र अहिलेका गणतान्त्रिक राजनेताका चंगुलभित्रैबाट पनि फोहरभित्र खुसुक्क घुसिदियो । यो पनि अनौठो मान्नुपर्ने विषय होइन । अनि तपाईं नै भन्नुहोस् त राजनीति र काठमाडौंको फोहरबीच नङ र मासुको सम्बन्ध कायम भयो कि भएन ?

राजधानीको राजनीति र फोहरबीच साँच्चै सम्बन्ध सुमधुर छ, हार्दिक छ, मैत्रीपूणर् छ र गौरवपूणर् पनि छ । निकै पहिले नै चर्चित हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले पनि फोहर र राजनीति बीचको यो एकात्मक सम्बन्धको गुढ भेउ पाएर एउटा गज्जवको व्यङ्ग्य कविता लेख्नुभएको थियो । ‘आची’ शीर्षकको त्यो कविता यही फोहरमा केन्द्रित छ र यही राजनीतिमा आधारित छ । कसैलाई कुर्सीमाथि उकाल्ने र कसैलाई कुर्सीबाट पछार्ने, कसैलाई भोट तान्न सघाउने त कसैलाई नोट तान्न मद्धत पुर्‍याउने राजधानीको फोहर, राजधानीको राजनीतिको मूल मेरुदण्ड नै हो भन्दा फरक पर्दैन । त्यसै भएर कतिपय राजनीतिज्ञका निम्ति त यो फोहरको कुइगन्धे दुर्गन्ध पनि अत्तरको भन्दा मीठो सुगन्ध हुने गरेको छ । फोहर होस् त यस्तो ! यही फोहरलाई छ्याल्लब्याल्ल पारेर चुनाव जिती सत्ताको सातुसामल गुमुक्र्याउन पुगेका सुकिला महानुभावहरू यही फोहर देखाएर विदेशीसँग अनुदान माग्छन् । यो पनि पुरानै परम्परा हो ।

उनीहरूको मात्रै कुरो होइन, हामी खान पुगेन भनेर उतै ऋण माग्छौँ अनि खाइसकेपछि पचहत्ते आन्द्राको फेरो मार्दै निसृत हुन पुगेको फोहर तह लगाउन पनि आर्थिक सहायता उतै माग्छौँ । लौ भन्नोस् त यो फोहरलाई फोहर भनेर गाली गर्न अब तपाईंलाई लाज लाग्दैन ? यही फोहर हाम्रो मागिखाने भाँडो भएको छ । हामीले धक फ्ुकाएर माग्न पाएका छौँ । मागिएको सहायता डलरमा आउँछ, त्यो रुपियाँमा रुपान्तर हुँदा झण्डै ६० गुणा बढ्छ । राजधानीको यो फोहर अब फोहर हैन, हाम्रो आम्दानीको मौलिक श्रोत हुन पुगेको छ । यस्तो श्रोतमाथि राजनीति नघुसेर त्यसै कसरी बस्न सक्छ ?

यो आची हो, सदर झण्डै ४२ लाख राजधानीबासीको आची, अनि छिमेकी देशहरूबाट दिनहुँ ओइरिने वैध र अवैध पाहुनाहरूको आची, यताको आची, उताको आची । यत्रो विधि आची जम्मा गर्न पनि समस्या, जम्मा गरेको आची उठाउन पनि समस्या, वडो मुश्किलले उठाएर ल्याण्डफिलसम्म पुर्‍याउन पनि समस्या, फेरि फसाद अर्को छ- ल्याण्डफिलकै समस्या, कहिले पूर्व ओसार्‍यो- खबरदार अब यता ल्याउन पाइँदैन भन्छन्, फकाइफुल्याई गर्‍यो केही समय थुपार्‍यो, फेरि लौ अब पुग्यो अन्तै लैजाऊ भन्छन् । कहिले पश्चिम लग्यो उता पनि उस्तै । फोहर कहिले ओखर पौवा ताक्छ, कहिले दक्षिणकालीतर्फ हुर्रिन खोज्छ, कहिले स्युचाटारको हाइटतिर ओइरिन खोज्छ । यो सब उसको राजनीति हो । फोहरको राजनीति सुग्घरको राजनीतिभन्दा कुनै माने र मूल्यमा कम छैन । बरु सुग्घरको राजनीति फोहरी हुँदैछ तर फोहरको राजनीति झन् सफा, झन् चहकिलो, झन् पारदर्शी हुँदै गएको छ । यो त राष्ट्रिय राजनीतिमाथि देखापरेको गम्भीर चुनौति भएन र ? सामना नगरी धर नपाउने यस्तो चुनौतिप्रति तपाईं हामी सबैको सहानुभूति हुनुपर्छ र राष्ट्रिय राजनीतिले सामना गर्न सकोस् भन्ने कामना गर्नुपर्छ ।

राजधानीमा फोहरको राजनीति हावी भएको देखेर राष्ट्रिय राजनीतिलाई पनि फोहरी आरोप लगाउनु कदाचित हुन्न । गणतन्त्र पाइएको छ भन्दैमा जे पायो त्यही बोल्ने छुट कहाँ पाइन्छ र ! फोहरमाथि दाइँ गरेरै भए पनि राष्ट्रिय राजनीतिको जुइनो समाउन पुगेका महासयहरूलाई तिम्रो आचरण फोहर भयो भन्नु राजधानीको फोहरको अवमूल्यन गर्नु हो । यसो भनेर राजधानीको फोहरको अवमूल्यन गर्ने धृष्टता कसैले नगरे हुन्छ । फोहरको पौरख र पराक्रम सानो छैन भन्ने कुरा एक पटक होइन धेरै पटक पुष्टि भइसकेको छ । महानगरीय मेयरको चुनावमा हारजीतको निणर्ायक कारक भनेकै यहीँको फोहर हो । यही फोहरलाई उधिनेर छारस्ट पार्ने योजना र एजेन्डा लिएर चुनावमा हामफालेका युवा बालेन्द्र अहिले मेयरको कुर्सीमा विराजमान छन् । विजयी घोषणा भएकै दिन माला र खादा लाउन समेत नदिइ उनलाई तान्यो ओखरपौवा यही फोहरले । मन्त्री, मेयर, वडा सदस्य सबकासबलाई हैरान पारेको पार्‍यै छ यही फोहरले ।

चोकचोकमा थुप्रिएको फोहरको थुप्रोले राजधानीका सुकिला मुकिलाहरूलाई गिज्याउनुसम्म गिज्याउँछ रात दिन । दुर्गन्ध छेक्न सक्दैन नाकमा लगाएको माक्सको बिर्कोले । हसहस्ती गन्हाएको गन्ध सोझै फोक्सोमा पुगेर आराम गर्छ र सुकिलामुकिलाहरूको शरीरमा बिमार थप्छ । चाहिने भन्दा कैयौँ गुना बढी कसाइखाना जस्ता प्राइभेट अस्पताल छँदैछन् राजधानीमा । यही फोहरका कारण पनि यी अस्पतालहरूको आमदानी महिनाकै करोड नाघ्ने गरेको छ । यो चानचुने स्वादको कुरा हो त ? हुँदाहुँदा अब त राजधानीको यो फोहर राजनीतिक दलहहरूका निम्ति गलपासो पो हुने भएछ ।

संसारको सबैभन्दा अव्यवस्थित, कुरुप, प्रदुषित, फोहर र भद्रगोल राजधानी काठमाडौं नै त हैन ? हैन भन्न सकिने आधार केही पनि बाँकी रहेनन् । नगर पालिका छँदैथियो अब त महानगर पालिका । गर पालिका भए पो गथ्र्यो, नामै नगर पालिका, के को काम गर्नुपथ्र्यो ! खानेपानीको धारामा थौपै पानी नझरे पनि पहिनैपिच्छे जरिवानासहित बिल चाहिँ झरिरहन्छ । राजधानी भित्रका बाटोघाटोको कुरै नगरौँ बर्खामा खोलो, हिउँदमा बाटो, धूलो धुवाँ, हिलो माटो । खानेकुराका नाममा विषादि बेचे पनि छुट, दश रुपैयाँको सामानलाई सय रुपैयाँमा बेचेर लुटैलुट । न कतै अनुगमन, न कसैलाई कारवाही, सार्वजनिक ठाउँ, पाटी मन्दिर पेटी सबै सेटिङमा ठेक्का, कमिसनको मिसन, वा !… हाम्रो राजधानी । क्या गजबका हामी राजधानीबासी !!

जेसुकै होस्, जस्तोसुकै होस्, अब राजधानीलाई फोहर शहर भन्नुभन्दा पहिले आफ्ना करङ मजबुत पार्नुपर्ला जस्तो छ । यो त हराभरा र स्वच्छ सफा शहर हो भन्नुपर्छ । सधैं सुकिलो छ, सफा छ भनिदिनुपर्छ । वर्खामा पानी प्रशस्त भए पनि राजधानी हिलो मैलो भएको छैन भन्नुपर्छ । हिउँदमा धाराको टुटीबाट थोपै पानी नझरे पनि धुवाँ र धूलोले राजधानी छोपिएको छैन भनिदिनु पर्छ । चोक चोक र गल्ली गल्लीमा दिनहुँ थुप्रिने फोहरको रासलाई फोहरको रास होइन डलर आर्जन हुने आस हो भन्नुपर्छ । यही रास र आसबीच फोहर-राजनीतिले सास फेर्दैछ । निहालेर आफैंलाई हेर्दैछ । म फोहर फोहर हुँ कि सफा राजनीति हुँ भनेर आफैंले आफैलाई केर्दैछ । यही हाम्रो सभ्यता हो पौरख हो । यसैको जगेर्नामा हामी लागौँ । राजधानीको जय गाऔँ ।

०००
१८, साउन, २०७९
कलङ्की, काठमाडौं
‘आलेख’ पूर्णाङ्क ४९

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
भोट के मा ? बन्चरोमा !!

भोट के मा ?...

नरनाथ लुइँटेल
भर्‍याङ नभएर

भर्‍याङ नभएर

नरनाथ लुइँटेल
म उमेदवार हैन !

म उमेदवार हैन !

नरनाथ लुइँटेल
देवकोटालाई सम्झँदै

देवकोटालाई सम्झँदै

नरनाथ लुइँटेल