निर्वाचन प्रचार सामाग्री

भर्‍याङ नभएर

सारीको पनि भर्‍याङ हुन्छ भनेर के उल्लु कुरा गरेको भन्नु होला । महासय ! सारीको मात्र होइन निहालेर हेर्नोस् त, सारीको पारीलाई समेत भर्‍याङ बनाएर माथि पुग्नेहरूको ताँती प्रष्ट देखिन्छ ।

मान्छेको जात कहिल्यै तल रहन मान्दैन । उसलाई माथि माथि र झन् माथि जाने रउस् चल्छ । उसको यो मनोकाङ्क्षा पूरा गर्ने साधन हो भर्‍याङ । आकाङ्क्षाहरूका एकपछि अर्का तलाहरू चढ्न मान्छेलाई भर्‍याङले साह्रै सहज र सजिलो बनाई दिएको छ । यसका एक एक सिँडी कुल्चिएर आजको मान्छे अनन्त उचाईमा उक्लिरहेको छ । त्यो उचाईभन्दा माथि ऊ अग्लिरहेको छ । हरेक मान्छेलाई उच्चासन र शीर्षासनमा पुर्‍याउने एउटा जादूको औजार भर्‍याङ न हो । तपाईं ठान्नु होला, मान्छेले बनाएको जाबो भर्‍याङको त्यस्तो कुन देवी पराक्रम छ र ! म त भन्छु, मान्छेले भर्‍याङ बनाएको होइन, बरु भर्‍याङले मान्छे बनाइरहेको छ । बन्जर भूमिमा नाङ्गै-मुडुले पछारिएको मान्छे पनि कुनै मान्छे हो र ? तर यदि त्यही अमान्छेले भर्‍याङ चढ्न पायो भने उसको फलिफाप शुरु भयो भन्ने संझिए हुन्छ । र केही छिन या केही दिनमै उसको निम्ति भाग्यमानीको भूतै कमारो बनिदिन्छ । यसर्थ भर्‍याङ चढ्न पाउनु परम सौभाग्यको ढोका खुल्नु पनि हो ।

प्रजातान्त्रिक कालमा भर्‍याङको भूमिका झन धेरै बढेको छ । झुठ र बेइमानीको भर्‍याङ चढेर नेता बन्न सकिन्छ । चाकरी र चाप्लुसीको भर्‍याङ चढेर पदोन्नति गर्न सकिन्छ । जाल-झेल कपटपूणर् प्रचारको भर्‍याङ चढेर कुर्सीमा टाँस्सिइरहन सकिन्छ । इज्जतको भर्‍याङ चढेर बेइज्जत छोप्न सकिन्छ । कमिशनको भर्‍याङ चढेर आलिशान महल ठड्याउन सकिन्छ । ठाडो तोक र आदेशको भर्‍याङ चढेर स्वार्थ पट्याउन सकिन्छ । साइनो र नाताको भर्‍याङ चढेर गोलमाल गरिएको खातालाई दुरुस्त पार्न सकिन्छ । कि त कागजको भर्‍याङ चढेर गर्नु कुकृत्य गर्न सकिन्छ । तस्करीको भर्‍याङ चढेर नून ठग्नदेखि सुन हग्न समेत सकिन्छ । भर्‍याङको यो बहुआयामिक व्यक्तित्वबाट प्रभावित नहुने दुनियामा को होला ?

कलमको भर्‍याङ चढ्नेहरूको कथा झन् काइदाको छ । यस तहका भर्‍याङ चढुवाहरू जानी जानी आफै भर्‍याङ भैरहेका हुन्छन् र उनीहरूको टाउकोलाई भर्‍याङ बनाएर बुद्धिहीन गोज्याङ्ग्राहरू माथि चढिरहेका छन् । आफ्नो भने न कलम भर्‍याङ हुन मान्छ न त आफै भर्‍याङ हुन सकिरहेको छु । मेरो स्वाभिमान भर्‍याङ बन्न सकेको भए यतिखेर मेरो फूर्तिफार्ती नै अर्को हुने थियो । साहित्यमा उचाई समात्न पनि तपाईले कि भर्‍याङ चढ्नुपर्छ, कि दुईचार साहित्यिक मठाधीशहरूको भर्‍याङ बन्नुपर्छ । बीचको अर्को बाटै छैन । आफू भर्‍याङ चढ्नेहरू या निर्धाहरूलाई भर्‍याङ बनाउनेहरूलाई चिन्न त्यति गाह्रो छैन । उनीहरूको लेखन शैली र प्रस्तुतीकरणले आफै बकपत्र गरिरहेको हुन्छ ।

तपाईले भोटको भर्‍याङ चढेर संसदीय तलामा उक्लिएकाहरू मध्ये कतिपयको अनुहारलाई निर्वाचन जितेको भोलिपल्टदेखि देख्न पाउनु भएको छैन । यो त भर्‍याङको कर्तुत हो । पाँचै वर्षमा भएको भर्‍याङ उक्लिएकाहरूको त यो स्थिति छ भने लामो आयुवाला भर्‍याङ चढ्नेहरूको ताल कस्तो होला, कल्पना गरेर हेरौं त ! माथि उक्लिनेहरूलाई अझ माथि जानु छ । समुद्र पारिका मुलुकहरू हाम्रो मुलुक भन्दा धेरै कुरामा माथि छन् । त्यता भर्‍याङ चढ्न चलिरहेको तँछाड-मछाड, घुर्चा-घुर्ची र कठालो समाता-समात कुनै मूल्यमा पनि कम रोचक छैन । कुनै पनि बेला दाउ पार्न जुँगामा ताउ लाएर गौंडो ढुक्नु प्राथमिकता क्रमको पहिलो काम हुने गरिरहेको छ । यति स्वादिलो पाराले ढाडे बिरालो पनि मुसा ढुक्दैन सायद ।

आधुनिक प्रविधिले हिजोआज भर्‍याङलाई पनि प्रभावित पारि दिएको छ । नेपाली लिस्नोको एउटा एउटा खुड्किलो गनेर माथि जानुपर्ने अवस्था अब एकदम पुरातन भैसक्यो । लिफ्ट सिस्टमले प्रसिद्धी पाएको छ । अब त विद्युतीय भर्‍याङले बटन दबाएको एक दुई सेकेण्डमै आफूले चाहेको अन्तिम उचाईसम्म पुर्‍याउन थालेको छ । कैयौं सडकछाप मान्छे मिलिक्कै वरिष्ट- विशिष्ट पदमा आशिन हुन पुगेका छन्, यस खाले भर्‍याङको प्रतापले । कैयौं टपरटुईयाँहरूलाई कुर्सीमा विराजमान बनाएको छ, भर्‍याङकै भरोसाले ।

दुनियाभरी प्रचलनमा आएका भर्‍याङहरूलाई मूलतः दुई वर्गमा विभाजन गर्न सकिन्छ भन्ने मलाई लाग्छ । एउटा हो दृश्यमान भर्‍याङ र अर्को हो अदृश्यमान भर्‍याङ । दृश्यमान भर्‍याङ तपाईं हामी नाङ्गो आँखाले जुनसुकै बेला र जस्तोसुकै रूपमा भएको भए पनि देख्न सक्छौँ । कसले कसलाई भर्‍याङ बनाएर आफू माथि चढ्दै छ भन्ने कुरा प्रष्ट थाहा पाउन सकिन्छ । अथवा कसको टाउको भर्‍याङ बनाएर आफू चढ्दै छु भन्ने पनि हरेक भर्‍याङ चढुवाले देख्न सक्छ । भर्‍याङकै आधुनिक अवस्थाको रूप क्रेन हो भन्दा पनि अत्युक्ति हुन्न । प्राचीन र ऐतिहासिक मन्दीरहरूका मूर्ति उखेल्न प्रयोग हुने गरेका क्रेनहरू पनि त एक खालका भर्‍याङ नै हुन् । यसखाले भर्‍याङ चढेर रातारात धनाढ्य बन्नेहरू तपाई हाम्रो नजरबाट छुपेका छैनन् ।

दोश्रो प्रकारका भर्‍याङहरूलाई नाङ्गो आँखाले हत्पती देख्ने सकिन्न, खालि अनुभूत गर्नुपर्छ । यी अदृश्यमान भर्‍याङहरूको भने निश्चित आकार पनि हुँदैन । चढ्नेहरूको आवश्यकता र स्थिति अनुरुप लाम्चो/छोटो, चेप्टो/नेप्टो, होचो/अग्लो जस्तो पनि हुने यसखाले भर्‍याङको मूख्य विशेषता हो । कसका निम्ति स्वास्नीको सारी पनि बकाइदा भर्‍याङ बनिरहेको हुन्छ । कसैका निम्ति हजुरबाको दारी पनि भारी भरकमका साथ लर्‍याङ बर्‍याङ नगरी भर्‍याङ बनिरहेको हुन्छ । सारीको पनि भर्‍याङ हुन्छ भनेर के उल्लु कुरा गरेको भन्नु होला । महासय ! सारीको मात्र होइन निहालेर हेर्नोस् त, सारीको पारीलाई समेत भर्‍याङ बनाएर माथि पुग्नेहरूको ताँती प्रष्ट देखिन्छ ।

भर्‍याङको यो बहुआयामिक व्यक्तित्वबाट शतस प्रभावित हुँदै एकजना भर्‍याङ-भक्तले लेख्नु भएको छोटो भजन अंश उधृत गर्दै म आफ्नो कलम बिसाउँछु । जति लामो लेखे पनि भर्‍याङ बनेका कलमहरूको दृष्टिमा यो सानो लेख न त सफल व्यङ्ग्य नै हुने छ, न त आफू चढ्ने चिल्लो भर्‍याङ नै हुनेछ ।

“व्यक्तित्वको ढोका हो यो जीवन-जीवनको आधार ।
रित्तो खण्डहर बन्न सक्छ भर्‍याङ विनाको संसार ।।”

०००
०५० चैत ८
प्रकाश साप्ताहिकको ‘छेपन’ स्तम्भमा प्रकाशित

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
भोट के मा ? बन्चरोमा !!

भोट के मा ?...

नरनाथ लुइँटेल
म उमेदवार हैन !

म उमेदवार हैन !

नरनाथ लुइँटेल
देवकोटालाई सम्झँदै

देवकोटालाई सम्झँदै

नरनाथ लुइँटेल
फोहर-राजनीति !!

फोहर-राजनीति !!

नरनाथ लुइँटेल
माला

माला

डा. टीकाराम पोखरेल
कुजात !!

कुजात !!

अप्सरा सुनार
साथी नामका केही पात्र

साथी नामका केही पात्र

ठाकुरप्रसाद अधिकारी
डरसँग नडराउँंदा

डरसँग नडराउँंदा

गाेपेन्द्रप्रसाद रिजाल