कुकुरको सपना

दुर्लभ सपना बीचैमा खण्डित भएको कुराले उहाँलाई नराम्रोसँग चिमोटिरहे पनि मालिकअघि उभिएर उहाँ पुच्छर हल्लाउन थाल्नु भयो अदबसाथ- आज गर्नुपर्ने कामको आदेश पर्खदै ।

कुकुर महँगो गलैँचा ओछ्याइएको बैठक कोठामा पाउपोश नफुकाली निर्धक्क पस्नु भयो र सबभन्दा बीचको सोफालाई आशन बनाएर गजक्कसँग बस्नु भयो । उहाँको नाकको तीव्र घ्राणशक्तिले बैठक कोठाको सम्पूणर् वातावरणलाई एकै निमेषमा सुँघिभ्यायो- सब ठीकठाक छ । कोठामा मालिकको उपस्थिति र आदेश नभएसम्म उहाँको कुनै खास काम थिएन । काम नभएको बेला कुकुरहरू मस्तसँग सुत्न मन पराउँछन् । उहाँलाई पनि त्यहींको लचक्दार सोफामा एकै छिन भए पनि सुतुँसुतुँ लागेर आयो । उहाँको मालिकले कोठाभित्र प्रवेश गर्ने समय अझै चौध मिनेट बाँकी थियो । कुकुर सुताइका निम्ति यो चौध मिनेटको अवसर पनि कम महत्वकाे हुँदैन । उहाँ आफना वर्गीय स्वभाव र प्रचलित आद्धतअनुसार नै सोफामा एकै डल्लो बन्नु भयो र एकै छिनपछि काइदासँग घुर्न थाल्नु भयो । नाकका फोन्द्राबाट घुराइको पौन जोडतोडले बाहिर-भित्र गरिरहे पनि उहाँको ठूलो मस्तिष्क अत्यन्त क्रियाशील छ । यो क्रियाशीलता मीठामीठा र दुर्लभ सपना देख्न सहायकसिद्ध हुने गर्दछ । अँ, कुकुर सङ्गीतमय दोहोरो घुराइसँगै स्वादिलो सपना संसारमा विचरण गर्न थाल्नु भयो ।

मालिकहरू कुकुरका असाध्यै शौखिन हुन्छन् । कुकुर नभए उनीहरूको जीवन-व्यवशाय नै चल्दैन, बेलाबेला हुने नेपालबन्द जस्तै ठप्प हुन्छ । कुकुरहरूको महानता पनि उनीहरूको इमान्दारितामा अडेको छ । मालिकप्रतिको कुकुरको समर्पणभाव स्वामिभक्तिको अद्वितीय उदाहरण हो, साह्रै सुन्दर नमूना हो । तिनै नमूनाहरूमध्येको पनि अति उत्तम नमूना हुनुहुन्छ उहाँ । मालिकको एक ईशारामा उहाँ न्वारनदेखिको बल झिकेर गाउँ र टोल थर्किने गरी भुक्नुहुन्छ । मालिकको एकै सङ्केतमा उहाँ सहर-बजारकै भव्य महलको ठूलो कम्पाउण्ड जुरूक्कै उचालिने गरी भुक्नु हुन्छ । उहाँको भुकाइमै स्वागत-सम्मान व्यक्तिन्छ र उहाँको भुकाइमै रिस-आक्रोश पोखिन्छ । अनुहार उही, आवाज उही, धुन र धन्दा उही, केवल भुक्दा निस्केको ध्वनि-तरङ्गको आरोह अवरोहमा भिन्नता छ । यो भिन्नतालाई लर्तरो किसिमले जो कसैले बुझ्न र र देख्न सक्दैन ।

कुकुर आफ्नो मालिकको ईशारामा मान्छेको चोक्टा लुछ्न पनि तयार हुन्छ । उहाँ पनि कुकुर हो । उहाँले पनि धेरै पटक धेरै जनाको चोक्टा लुछिसक्नु भएको छ । त्यसो त उहाँको मनपर्ने खाद्य पदार्थ नै मासु हो । कुुकुरलाई खान पाए, मान्छेको मासु औधी मीठो लाग्छ । टोकाइ र लुछाइको कुरै नगरौं, उहाँको भुकाइले सातो गएकाहरूको सङ्ख्या नै अगणित छ । तर भुक्नु र टोक्नु या चोक्टा लुछ्नु मात्रै उहाँको जीवन होइन । यी त दिनचर्या अन्तरगतका केही उपक्रम मात्रै हुन् । उहाँले गर्ने अरू पनि धेरै कामहरू छन्- जुन उहाँको मालिकको रुचिसँग सरोकार राख्छन् ।

मालिकको स्वार्थ पूर्तिका निम्ति उहाँ विद्वान् गोरुहरूलाई आपसमै जुधाउनु हुन्छ । यसरी युद्धमै ओर्लिएपछि एउटाले जित्छ र एउटा हार्छ नै । जित्ने गोरुको विद्वतालाई दाम्लैसँग मालिकको गोठ या कटेरोमा भित्र्याउनु हुन्छ । टाट्नामा विकासे घाँस हालिदिनु हुन्छ । विकासे घाँस खाएर गोब्रया उन पाउँदा विद्वान् गोरु पनि मख्ख, कुकुरको महान् मालिक पनि दङ्ग । कुकुरको यस्तो विशिष्ट पौरख देखेर मालिक आफ्ना मायालु हातले उहाँलाई सुम्सुम्याउँछन्, उहाँ पनि आफ्नो पुच्छर हल्लाएर कृतज्ञता जाहेर गर्नुहुन्छ ।

कहिले फेरि उहाँ चरनमै धावा बोली विशिष्टखाले बोकाहरूको बथान् नै गोल्याएर मालिकको खोरमा हुलिदिनु हुन्छ । यसरी खोरमा थुनिन पाएर बोकाहरू गौरवान्तित हुँदै कान पड्काउँछन् । बन्द कोठाभित्र उपलब्ध दानाको स्वादसँग विचरा बोकाहरू मस्ताराम हुँदै हप्ताैँ  उग्राउँछन् । बिक्रीबट्टालाई नै जीवनको आदर्श मान्ने बोकाहरू पनि मख्ख, कुकुरको मालिक पनि दङ्ग । कुकुरको यस्तो पराक्रम देखेर मालिक कृतकृत हुँदै ढाडमाथि धाप दिन्छन्, उहाँ पनि महँगो गलैँचामा जीउ ढलिमली पार्दै र कुइँकुइँ गर्दै बेहुदा खुसी व्यक्त गर्नु हुन्छ । त्यो खुसीको बेला उहाँको पुच्छर उसैगरी हल्लिरहेको हुन्छ- जसरी धन र धाँधलीको बलमा चुनाव जितेर पदमा पुगेको नेता आरामदायी कुर्सीमा बसेर खुट्टा हल्लाइरहेका हुन्छन् । उहाँ भुस्याहा जातको मामुली कुकुर होइन भन्ने कुराका यी थोरै दशीहरू हुन् ।

मालिकको महँगो पजेरोमा सवार भएर उहाँ प्राइभेट पार्टी, गजल र डान्स रेष्टुरेन्टहरूमा जाने गर्नुहुुन्छ । उहाँ जहाँजहाँ पुग्नुहुन्छ मामुली खालको त नाकै फोर्ने अत्तरको दुर्गन्ध ह्वार्ह्वार्ती ओइरिने गर्दछ । सबैसबैको नजर उहाँमै पर्दछ । दौरासुरूवाल लगाउँदा उहाँ राष्ट्रिय कुकुर देखिनुहुन्छ । सुटमाथि टाई झुण्ड्याउँदा उहाँ अन्तर्राष्ट्रिय कुकुर देखिनुहुन्छ । अनाहकमा एकताका उहाँको टाउकामा रङ्गिला टोपी ओढाइदिएर टोपीको इज्जत बढाइदिएका थिए । ढाकाटोपी ढल्काएर उहाँ पजेरोमा यताउता निस्कँदा टाउको झुकाएर नमस्कार गर्नेहरूको जहाँतहीँ भीड लाग्ने गर्दछ । देख्नेहरू अलमल्ल पर्दछन्- त्यो नमस्कार कुकुरलाई गरिएको हो कि कुकुरको मालिकलाई ? उहाँको यस्तो फुर्तिफार्ती देखेर आहारिस गर्नेहरू आफूलाई पनि कुकुर बनाउने रहर उमार्छन् । आफूलाई कुकुर नबनाएर प्रकृतिले ठगेकोमा धारेहात लगाएर आफ्नै भाग्यलाई धिक्कार्दछन् ।

बिजुली चम्किँदा तर्सिने अगुल्टोले हानेको कुकुर उहाँ होइन । उहाँलाई अगुल्टोले हान्ने हिम्मत पो कसको छ र भन्या ! अगुल्टो होइन, बरू उहाँलाई कमिशनको मुठोले हिर्काउँछ । अगुल्टोले होइन, बरु उहाँलाई घूसको बिटोले हिर्काउँछ । यसरी हिर्काउँदा उहाँलाई साह्रै सञ्चो र आनन्द लाग्दछ । प्राप्त भएको घूस र कमिशनको पाइपाई हिसाब गरी मालिकको ढुकुटीमा हालिदिनु उहाँको मौलिक धर्म हो । यही धर्ममा उहाँको कर्म फुलिरहेको छ । हिजो साँझको ढुकुटी निरीक्षणपछि मालिकको चम्किलो अनुहार हेरेर उहाँ पनि निकै रमाउनु भएको थियो । कुकुरको यस्तो अतुलनीय योगदान देखेर मालिक हर्षले गदगद हुन्छन् र उहाँलाई शोफामा राखेर टाउको सुम्सुम्याउँछन् । उहाँ शोफाबाट फुत्रुक्क ओर्लिनुहुन्छ, पुच्छर डोलायमान पार्नुहुन्छ र मालिकको गोडामा लुटुपुटु गर्नुहुन्छ ।

मालिकहरू प्राय बेफुर्सद हुन्छन्, राजनीति, उद्योग, व्यापार, विजनेस आदि व्यवसाय एउटै ज्यानले धान्नु निकै मुस्किलको कुरा हो । यस्तो अस्तव्यस्त बेलामा मालिकहरू आफ्ना परिवारलाई समय दिन कहाँ भ्याउँछन् र ? त्यसैले कुकुर महोदय प्राइभेट पजेरोमा पुलपुलिएकी एक्ली छोरीसँग (धेरैजसो काखमै बसेर) नगरकोट, दक्षिणकाली र सूर्यबिनायकतिर पुग्ने गर्नुहुन्छ । यसरी “रिल्याक्स” गर्ने काममा धेरै पटक उहाँले मालिक्नीलाई समेत साथ दिंदै आउनु भएको छ । यस्ता सानातिना कुरामा उहाँलाई अनैतिकताको आरोप लगाउँदै आशङ्का गर्नु पनि महापाप हो ।

आज पनि मालिक घरमा थिएनन्, मालिक्नी बिहानको खाना उतै खानेगरी आफन्तका घरतिर गएकी थिइन् । त्यति ठूलो महलमा एउटा कुकुर अनि एउटी चुलबुले र अत्यन्त पात्तिएकी एक्ली छोरी- दुई जना मात्रै थिए । “सवैलाई यस्तै हो सोह्र-सत्रमा” खालको “पपुलर” गीत गुुनगुनाउँदै मालिककी छोरी सुटुक्क पसिन् बैठक कोठामा । …उहाँको काखमा बेखबरसँग तिनी फ्यात्त बसिन् । कुकुर महाशय निकै तिल्मिलाउनु भयो । उनको इच्छाअनुरूप नै उहाँ उनको अनुहारभरि चाट्न थाल्नुभयो । उहाँको र्‍यालमा रेबिजका खतर्नाक किटाणुहरू थिएनन् । सबलाई थाहा छ, सहरमा पाल्तु कुकुरलाई छ/छ महिनामा पशु चिकित्सालय लगी भ्याक्सिन दिने गरिएको हुन्छ ।

अनुहार चटाइ बेरोकटोक निकैबेर चलिरह्यो । स्थिति क्रमशः धेरै अगि बढ्यो । कुकुर महोदयलाई कानमा समातेर मालिककी छोरी बेडरूमतिर तान्न थालिन् । उहाँ कुइँकुइँ गर्दै हुनुहुन्थ्यो… । अचानक बैठककोेठाको ढोकाको चुइँक्याइँले उहाँको निद्रा टुट्न पुग्यो । बडो हतारोसाथ मालिक भित्र पसेका रहेछन् । भित्ताको घडीमा उहाँको आँखा पर्‍यो- चौध मिनेट बितिसकेछ । तर एउटा दुर्लभ सपना बीचैमा खण्डित भएको कुराले उहाँलाई नराम्रोसँग चिमोटिरहे पनि मालिकअघि उभिएर उहाँ पुच्छर हल्लाउन थाल्नु भयो अदबसाथ- आज गर्नुपर्ने कामको आदेश पर्खदै । पुच्छरको यस किसिमको हल्लाई स्वामिभक्तिको अनुपम उदाहरण थियो ।

उहाँको पुच्छर निरन्तर हल्लिई रह्यो । अदबसाथ हल्लिई रह्योे ।

०००
‘समकालीन साहित्य’ नेपाल प्रज्ञा प्रतिष्ठान, २०५८ असोज

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

माधव पोखरेल गोज्याङ्ग्रे
छेपारो

छेपारो

डा. विदुर चालिसे
अल्छीका अधिकार

अल्छीका अधिकार

डा. टीकाराम पोखरेल
भगौडा बुद्धि ! आज पनि भाग्यो

भगौडा बुद्धि ! आज...

सुरज पराजुली
दुब्लो गान

दुब्लो गान

रेहित सैजु