
मातातीर्थ औँशी, मकालु-यात्रा र गोरुचोर !
यसै पनि निस्पट्ट अँध्यारो त्यहाँमाथि हिलोमा छप्ल्याङ र छुप्लुङ गर्दै नचिन्ने भएर घर पुगेको मनुवालाई आँगनमा देख्दा यो त गोरुचोर नै हो भन्ठानी झण्डै घरैकाकाे भकुराइमा नपरेको !

कुरो ठयाक्कै चौबिस वर्ष अघिको हो, अर्थात २०५६ सालको मातातीर्थ औँशीभन्दा एक हप्ता अघिको । म काठमाडौंमा, आमा हुनुहुन्थ्यो झापाको ग्रामीण बस्ती गौरादहमा । श्रद्धेय आमासँग भेट नभएको दुई वर्ष पो हुन लागेछ । मातातीर्थ औँशी, आमालाई भेट्ने उपयुक्त अवसर । यो लखरठ्याक झापा जाने मेसो मिलाउन थाल्यो ।
काठमाडौं उपत्यका बाहिर निस्कने दुईवटा मात्र नाका छन्- एउटा हो हवाइ नाका जो चीलगाडीबाट नाघ्नु पर्छ, अनि अर्को हो भुइँ नाका जो नाइट र डे नामका बस गाडीहरूबाट पार गर्नुपर्छ । लखरठ्याकलाई तुरुन्तै जानुु छ र पुनः तुरुन्तै फर्किनु पनि छ । उसले सोच्यो यस्तो अपरझट परेका बेला त छिटो छरितोका निम्ति चीलगाडीको यात्रा नै उपयुक्त हो । तर यता आएर चीलगाडीको यात्रा पनि कति भरपर्दो भइरहेको छ र ? भन्ने प्रश्नले लखरठ्याकलाई चोरकमिलाले टोके जस्तो चिरिक चिरिक टोक्न थाल्यो ।
हवाइयात्रामा अत्यन्त भरपर्दो ठानिएका चीलगाडीहरू सैयौं यात्रुहरू सहित जङ्गल, डाँडा, भीर र पहरातिर फ्यात्त फ्यात्त खस्दै र बस्दै आएका छन् । दुई चार वर्षकै अवधिमा कुनै चीलगाड़ी घोप्टेभीरमा नाक जोतेर धूलोपीठो हुन पुग्यो । कुनै भट्टेडाँडामा ढाड़ जोतेर ह्वारह्वार बल्दै खरानी भयो । एउटा मुगलिङ माथिको चुचुरोमा चुम्बन गर्दा चकनाचुर हुन पुग्यो भने अर्को मुस्ताङतिरै मर्याकमुरूक भयो । अर्को एउटा नेपालगन्जको हवाइमैदानमा बस्नै भ्याएन त अर्को एउटाले काठमाडौंको विमानस्थल छोड्नै पाएन । कहिले कुनै चिलगाडीको पाङ्ग्रा ओपन नभएर घन्टौँ आकाशमा कावा खाइरहन्छ त कहिले कुनै डाँडाको टावरमा टाउको ठोकेर हावा खाइरहन्छ । यो सबै सम्झेर ल्याउँदा लखरठ्याकको हंशले राम्रैसँग ठाउँ छोड्यो । जेट विमानको गति जस्तै उसको सातो र पुत्लो पनि उड्यो । यो चील गाड़ीको यात्रा अलिकति मात्र चिप्लियो भने ऐया आत्थुुसम्म पनि भन्न नभ्याइ सिधै सिलटिम्मुर खान तयार हुनुपर्ने जिन्दगीमा यो भन्दा खतरनाक खेल अरु के हुन सक्छ ?
लखरठ्याकले चीलगाडीको यात्राबाट हवाइनाका नापी उपत्याका बाहिर जाने विचार नामी नामी र त्यागी त्यागी नेताले सिद्धान्त त्याग गरे जस्तै परित्याग गरिदियो । तर फेरि पनि, जोगीमारा, पतौरी, सिम्ले, दासढुंगा, खैरेनी र बैरेनीका भयानक बस दुर्घटनाका प्रसङ्गहरूले उसको मानसिकतालाई कोपर्न भने छोडेन । नाइट र डे नामका बसहरू मार्फत भुइँ नाका नाघ्ने क्रममा लखरठ्याक स्वयम्ले पटकपटक भीषण दुर्घटना बेहोरिसकेको थियो । सशरीर ऊ आफैँ सवार भएको गाडी एक पटक सोझो बाटो छोडेर डिलबाट पुल्टुङ्बाजी खेल्दै निकै तल खसेको थियो, ऊसँगै यात्रा गर्ने चार जनाले त्यतैबाट स्वर्गको टिकट हात पारे तर ऊ मुस्किलले बच्यो । अर्को एकपटक विपरित दिसाबाट आएको ट्रकसँग बेतोडले बस सिंगौरी खेल्नपुग्दा क्याबिनमा बसेका गोडातिनेक ज्यान क्याबिनसँगै कच्याककुचुक भएर परिनिर्वाण प्राप्त गरेका थिए । त्यो घटनामा पनि लखरठ्याक झन्डै एक महिना थला परेर कालसँग कुस्ती खेल्दै मत्र्यलोकमै फिर्ता भएको थियो । अर्को एकपटक ऊ सवार रहेको गाडी बाटो छोडेर हेलिकप्टर उडेझैं केही बेर उडी पन्द्रबिस फिट जतिको बाटो मुनिको गहिराइ दूरी तय गरेर हिलोमा भ्यागुता बसेझैं बस्न पुगेको थियो । यी सबै संझिदा लखरठ्याकलाई औधी औडाहा भएर आयो । नगई पनि भा‘छैन, जाउँ भने बाँच्ने चाह पनि मरिसकेको छैन । लखरठ्याकको मन तीनतमाससँग थर्थराइरहेको बेला भावी बनेर एउटा गोक्ते साथी आइपुग्यो ।
गोक्ते साथीले मेरो मनस्थिति र भोलि नै गर्नुपर्ने यात्राको बारेमा जानकारी पाएपछि काइदाको सल्लाह फर्मायो- “सुन लखरट्याक ! अनमनीका थोत्रा नाइट साइटतिर फाइट गर्दै ज्यान जोखिममा छोड्ने होइन । तँलाई थाह छैन र भन्या, मकालु नामको भुइँ नाका पार गर्ने कम्पनीले अहिले नाइट र डे दुवै सेवा नयाँ बसहरूबाट समर्पण गरिरहेको छ । नाइटमा डर लागे डेमै दगुर, अहिलेसम्म गुल्टेको छैन, कथंकदाचित गुल्टी हाल्यो भने पचास हजारको बीमा, तेरा हकवालाको हात पर्नेछ । टाइममा हिँडाउँछ र टाइममै गन्तव्यमा पुर्याउँछ । यहाँ भन्दा भरपर्दो यात्रा न आर.एन. ए.सी. को छ, न त नेकन वा एभरेस्ट एयरको छ ।”
गोक्तेको कुराले लखरठ्याकको शरीरमा अलिकति तरान भरियो । जान त नगई भएकै छैन । आधा मरेको मन लिएर ऊ मकालुको काउन्टरमा टिकट लिन पुग्यो । हैन, यो चाँहि कुन ड्याङको मुला हो र ! भन्दै कलङ्की काउन्टर पुगेको लखठ्याकलाई काउन्टरकी बेनी नानीले स्वागत गरिन् । त्यहाँको चालढाल देख्दा ड्याङ चाहिँ उही हो, मुला भने अलि भिन्दै हो कि जस्तो नलागेको कहाँ हो र ? टिकटको निम्ति दाम बुुझाउने काम हुनासाथ कम्प्युटर-टिकट लखरठ्याकका हात फ्र्यो । बसको टिकट पनि कम्प्युटरबाट ? यस किसिमको नौल्याइँपनले पनि मकालुलाई नयाँ ड्याङको नयाँ मुला भन्नैपर्ने भयो !
लखरठ्याक यस्तै के के सोच्दै भोलिपल्ट बिहान पाँच बजेदेखि शुरु हुने मकालु यात्राको तम्तयारीमा जुट्यो । मकालुको नाइट र डे दुवै बस कलङ्कीको हेड अफिसबाट छुट्छ । बिहान हुर्दुराउँदै ऊ त्यहाँ पुग्दा घडीमा पाँच बज्नै लागेको थियो तर गाडी छुट्ने सुरसार थिएन । बाटो किनारमै सानो सुची र चियापान गर्ने अवसरको सदुपयोग गरिसक्दा मात्रै उसले यात्रा गर्ने बसका ड्राइभर सिटमा सवार भए । त्यसपछि पनि अर्को आधा घन्टाको घ्यारघ्यार, टाँटाँ टुँटुँ र ढाइँ ढुुइँमै बित्यो । गाडी हिंड्नु भन्दा दश मिनेट अगाडि मकालुको एउटा स्टाफले एक केजीवाला पोलिथिन ब्याग सबैै यात्रुहरूलाई वितरण गरे- “हजुर बान्ता आए यसैमा गरिदिनु होला, पुगेन भने पुनः माग्नु भए हामी उपलब्ध गराउने छौं ।”
छुट्ने समय साडे पाँच भनिएको भए पनि लखरठ्याक सवार भएको मकालु बस कलङ्कीबाट खचाखच यात्रु लिई ओह्रालो लाग्दा साडे छ बजिसकेको थियो । बस कलङ्कीबाट छ-आठसय मीटर पनि अघि बढेकै थिएन लखरठ्याकको ठीक पछाडि पट्टिको सिटमा बसेकी एउटी बैनीले पोलिथिन ब्याग भर्न शुरु गरिहालिछन् । यो क्रम अटुट र निरन्तर चलिरह्यो । दर्जनौं पोलिथिनले पनि नभ्याएर उनी झ्यालबाट टाउको निकालेरै वाक्न बाध्य भइन् । मकालुको हो वा लखरठ्याकको दुर्भाग्य ? बस दासढुंगाको आसपासतिर पुग्दा लामो सुस्केरा छोडी बाटोको किनारमा घ्याच्च उभिन पुग्यो । अगाडि पट्टी दुईवटा ट्रक एकआपसमा सिंगौरी खेली एउटाको पुच्छर र अर्कोको ढाड कच्याककुचुुक भएर बसेका छन् । अरू बस र गाडीहरू यताको यतै, उताको उतै । त्यहाँबाट चितवनको रामनगर करीब आठ/दश किलोमिटर होला । तर रामनगर चौकीका प्रहरी जवानको टोली तत्काल त्यहाँ आइ बाटो खोल्ने हो भने आधा घण्टा पनि लाग्दैनथ्यो । लखरठ्याक लगायतका सैयौं यात्रुुहरूले साढे दुई घन्टा तातो घाम ताप्नु पर्यो ! मकालुका स्टाफहरू भने अक्वाको पानी र कुर्मुरे चाउचाउ खाँदै बसको सियाँलमा फलाँस खेल्न थाले, फुर्सदको मनोरञ्जनमा उनीहरू पनि माहिर रहेछन् बा !
दासढुंगाको बाटो जाम खुलेर हेटौँडा पुग्दा दिउँसोको दुई बज्न लगेको थियो । लखरठ्याक गर्मी र भोकले लखतरान परिसकेको थियो । स्टाफ खानाको रुपरंग हेर्ने बितिकै वान्ता आउला जस्तो भयो उसलाई । रु. ५० तिरेर भाग बसेका भोकका कारण कोही खाँदै थिए, कोही खाए जस्तो मात्र गर्दै थिए । लखरठ्याक भने अर्को होटलतिर छिर्यो र गहुँका दुई चारवटा सुख्खा रोटी टोक्न थाल्यो । कक्रक्क परेको रोटी आधा नबुत्याउँदै उसको मकालुले लामो हर्न दियो । बाँकी रोटी आधा हातमा र आधा मुखमा हालेर दौडिंदै बस चढ्यो । हेटौडाबाट हिँडेपछि भने मकालु एक्सप्रेस अब पूरै लोक्कल हुन पुग्यो । लोकल यात्रुहरू उकाल्दै र ओराल्दै लहान नपुगी डेको मकालु नाइटमा परिवर्तन भयो । जति ढिलो भयो ड्राइभरहरूलाई चाँहि उति हतारो हुने गर्छ । अब मकालु हुँइकिन थाल्यो हावाको वेग जसरी ।
साँझको चौपट्टै अँध्यारो खसिसकेपछि लखरठ्याकले भेउ पायो- उसको बसले भर्खरै कोशी ब्यारेज क्रस गरेछ । कोशी तरे पनि उसको पछिल्लो सिटमा बसेकी बैनीको मुखबाट कोशी ओइरिन चाहिँ छोडेकै थिएन । बिचबिचमा उनलाई अरुले पनि सघाउँदै साथ दिइरहेका थिए । बिस्तारै उनी झ्यालबाट टाउको बाहिर झिक्न पनि नसक्ने भइन् । अब त जति आउँछ भित्रै पो ! वान्ताको दुर्घन्ध मकालुको सुविधा अन्तर्गतको अक्वा मिनेरल वाटरको बोतले पानीले पखाल्न के सक्थ्यो ! अरुअरु पनि धेरैले पोलिथिन भर्ने कम्पिटसनमा तँछाड मछाड गरेका गर्यै ।
लखरठ्याक ओर्लिनुपर्ने स्टप दमक थियो । दमकबाट गौरादहतिर झर्ने अन्तिम लोकलबस छ बजे नै छुटिसक्थ्यो । तर मकालु दमक पुग्दा रातको दश बज्नै लागेको थियो । सुनसान भैसकेको कालो रात बिच लखरठ्याकलाई एक्लै छोडेर मकालु अगाडि हुइँकियो । आफू जानुपर्ने र पुग्नुपर्ने ठाउँ त्यहाँबाट पनि टाढै थियो, न गाडी पाउँछ, न कुनै उपयुक्त बासको बन्दोवस्त छ, त्यहाँ । लखरठ्याकले मकालुलाई, उसको पंक्चुयालिटीलाई मनमनै गाली गर्न पनि सकेन, किन कि एकदुई दिन बिताएर मकालुबाटै फेरि काठमाडौं फर्किनु थियो ।
हिउँदे झरीले हिलाम्य तराईको बाटो पैदल तय गरेर मध्ये रातमा घर पुग्यो लखरठ्याक । यसै पनि निस्पट्ट अँध्यारो त्यहाँमाथि हिलोमा छप्ल्याङ र छुप्लुङ गर्दै नचिन्ने भएर घर पुगेको मनुवालाई आँगनमा देख्दा यो त गोरुचोर नै हो भन्ठानी झण्डै घरैकाकाे भकुराइमा नपरेको ! आफ्नै दाइ बाँसकाे अखनी लिएर उभिनु भएकाे थियाे गाेरूचाेर कुट्न । एकदमै आत्तिएर कराएपछि पो यो लखरठ्याकलाई बल्ल चिने, ज्यान बच्यो । अहिले सम्झँदा पनि आङ जिरिङ्ग गर्छ ! धन्य मकालुको यात्रा !! धन्य आमाको मुख हेर्ने औँशी !!
०००
०५६ साल बैशाखको टिपोटबाट रिपोट