बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

डिल्ले र च्यान्टीको दशैँयात्रा

च्यान्टी र लालाबाला त्यहीँ छोडेर डिल्ले पर्सिपल्ट जागिर धान्न काठमाडौँ फर्कियो । उसको अफिस खुलेको तेस्रो दिन ऊ अफिस पुग्यो र थाह पायो– जाबो अस्थायी खरिदार पनि गएलखारेजमा परि सफाचट भइसकेको पो रहेछ ।

Nepal Telecom ad

नरनाथ लुइँटेल :

पोहोरको दशैँ पनि काठमाडौँकै गल्लीमा हल्लिँदा हल्लिँदै बित्याथियो । उहाँ भने पितृ हुनलागेका पिता र माताका आँखा छोराको बाटो हेर्दाहेर्दै टट्टाए । यसपटक भने घर नपुगी हुँदैहुन्न । च्यान्टीले विरोध नगरेकी पनि कहाँ हो र, यस्तो बेलामा न टिकट पाइन्छ, यी आधा दर्जन भान्टाङभुन्टुङ काखी च्यापेर उति विघ्न लामो बसयात्रा पूरा गरी पाँचथरको यासोक पुग्नु भनेको ज्यामद्वारको ढोकामै पुग्नु बराबर हो । अर्को दशैँसम्म बाउआमा रहने हुन् कि होइनन् । त्यसो नभन च्यान्टी ! ट्रक पाए ट्रकमै जाउँला, बस पाए बसमै जाउँला । टीकाको दिनसम्ममा पुगे त भैगो नि । डिल्ले खत्रीले आफ्नी रामप्यारी च्यान्टीलाई ढाडस दियो ।

घरको ढिँडो–रोटो खाएर यासोककै स्कुलबाट एस्.एल.सी. परीक्षा दिएकै साल सँगै पढ्दै गरेकी च्यान्टीसँगै परेको पिरेम दिगो बनाउन डिल्ले काठमाडौँ हान्निएको थियो । बाह्र हण्डर र चौध ठक्कर खाएर बल्लतल्ल अस्थायी खरीदार खान पुगेको डिल्लेकी च्याण्टीले यी सात वर्षमा तीन भाइ छोरा र चार बैनी छोरी काठमाडौँकै छिँडी–कोठामा लगालगी पाइसकेकी छ । च्यान्टी यसपटक पनि गह्रौँ जीउकी छ त्यसैले पनि हरेस खाएर नजाउँ भनेकी हो तर डिल्लेले अचाक्ली जोड गर्यो । फेरि अफिसमा तलब नथापि हातमा पैसा नहुने, हातमा पैसा नभई टिकट नपाइने ! फूलपातीको अधिल्लो दिनमात्र अफिसमा तलब थाप्यो र डिल्ले सोझै बसपार्क पुग्यो टिकटका निम्ति । टिकट काट्ने र बस चढ्नेहरूको भीड माघेसङ्क्रान्तिको पशुपतिमा भन्दा बढ्ता थियो । भीडमा कुरेच काटेर साढे छ घण्टापछि कुनै जुक्तिले टिकट काट्यो । ऊ घट्टेकुलाको कोठा फर्कंदा साँझको आठ बजिसकेको थियो ।

फूलपातीको दिन बिहानै डिल्ले पोका–पन्तरा कस्न थाल्यो । च्यान्टीले भात–भान्साको जोहो गरी । खानपिन सकेर पोको–पन्तरो च्यापी सातैजना भाल्टाङभुल्टुङलाई झ्याइँकुटी पार्दै डिल्ले आफूले टिकट काटेको बस चढ्न कलङ्कीतिर हान्नियो । बस छुट्ने हो कि भन्ने पीरले ट्याक्सी लिन खोज्यो तर एउटा पनि ट्याक्सी तयार भएन । त्यान्द्राङ र तुन्द्रुङ गर्दै पुरानो बसपार्क आइपुग्यो तर कलङ्कीसम्म जानकै निम्ति पनि बसमा खुट्टा राख्ने ठाउँ थिएन । हैन, काठमाडौँमा के औधी मान्छे बसेका रहेछन् हँ ! डिल्ले र च्यान्टीले उदेक माने । त्यहाँबाट पैदलै यात्रा चलाई कलङ्की पुग्दा दिउँसोको तीन बज्नै लागेको थियो । आफूले टिकट काटेको बस गैसक्यो कि, आउनै बाँकी छ ? कलङ्की चोकमै पोका–पन्तरा र छोरा–छोरीको बथान थुपारेर डिल्ले यता र उता असिन र पसिन हुँदै भौतारियो । अन्तिममा पत्ता लाग्यो– उसले काटेको टिकट नै डुब्लीकेट रहेछ । यस पटकको दसैँमा डिल्ले जस्ता कति ठगिए केही लेखाजोखा छैन ।

घर जान भनेर निस्किसकेको डिल्लेले हरेश खाएन । गोडादसेक बसका खलासीलाई हारगुहार र नमस्कार गरेर भए पनि बल्लतल्ल काँकरभिट्टा जाने एउटा बसमा दुईटा टुल सिट फेला परे । डिल्लेले आफ्नो भाग्यलाई सलाम ठोक्यो र आफ्नो बथान त्यही बसभित्र हुल्यो । सानाठूला मिलाएर साढे तीनवटा च्यान्टीले सम्हाली, बाँकी चार वटामध्ये डिल्लेले कसैलाई बुईमा, कसैलाई काखमा र कसैलाई पोका–पन्तरामा बसायो । बसभित्र तीनतमासको घुचाघुइरो थियो । साँझ पाँच बजेतिर बस कलङ्कीबाट बाटो लाग्यो ।

काठमाडौँबाट नारायणघाटसम्म पुग्दा डिल्ले र च्यान्टीको हालत खराव भैसकेको थियो । ठूलो चैँ छोरो र ठूली चैँ छोरीले बान्ता गर्ने ठाउँ नपाएर पेटबाट निस्केको पित्तसमेत पोका–पन्तरामाथि नै पोखिदिए । उता सानो छोरोको आका र सुले च्यान्टीको काख भरिइसकेको थियो । बसका भद्रभलाद्मीहरू बस नौविसे नआइपुग्दैदेखि डिल्ले र च्यान्टीलाई नराम्रोसँग गाली गरिरहेका थिए । पोका, पन्तरा र च्यान्टीको काखबाट जुनमात्रामा गन्धको हरक बाहिर निस्किएर बस भरी छरिन्थो त्यो भन्दा तीनगुना बढ्ता गाली बसका अन्य यात्रीहरूको मुखबाट ओइरी रहेको थियो ।

यही फजितीका साथ नारायणघाटमा एक दुईजना यात्रु ओरालेर र दुई चारजना यात्रु उकालेर बस पूर्व लाग्यो । माइलो छोरो र साइँली छोरी भोक लाग्यो भनेर ठ्याँसठ्याँस गर्दागर्दै निदाएछन् । टुल सिटमा सवार डिल्ले र च्यान्टी पनि मुस्किलले झकाउन थालेछन् । अरु यात्रीहरू पनि जीर्ण बसको खटखट र घ्यारघ्यारसँगै उँग्ने क्रियाकलाप गरिरहेका थिए । रात छिप्पिँदै जाँदोथियो, अचानक ठूलो आवाजले सबै ब्युँझिए । बस जोडले रोकियो । ड्राइबरको पनि हजुरबा भन्न लायकको बसको अगाडिको टायर पड्किएको रहेछ । पछाडिको धुरास“गै चारवटा पत्ती एकैपटक भाँचिएछन् । यात्रुहरू रिसाउँदै र भुनभुनाउँदै बाहिर निस्किए । पथ्लैयाको आपट्य वन, कालो अँध्यारो जति रिसाए पनि कसैको केही लाग्नेवाला थिएन । रातको बाह्र बजिसकेको थियो । खलासीलाई जग राखेर टायर बदल्ने आदेश छाँटेर कन्टेक्टर र गाडीसाहू ढल्केबरबाट आएको लोड ट्रक चढी हेटौडातिर पत्ति लिन छाँटिए । एक बज्यो, दुई बज्यो, तीन बज्यो तर उनीहरू फर्किएनन् । कन्तविजोकसँग पथ्लैयाकै वनमा रात बितेर बिहान भयो ।

पाँच बजेतिर मेकानिक्स सहित कन्टेक्टर र गाडीसाहू पथ्लैया आइपुगे । जग राख्ने, खोल्ने, जोड्ने, फेरि खोल्ने र फेरि जोड्ने गर्दा बिहानको साढे दस बजेमात्र पथ्लैयाको वन थर्किने गरी बल्ल बस गुर्जियो । ओथाइपथाई सकेका यात्रुहरू लिएर बस बेपत्तासँग अघि बढ्यो । काठमाडौँबाट हिँडेको नाइट बस पथ्लैयाबाट डेमा परिणत भइसकेकै थियो । ससाना खाल्टाखुल्टीमा जोल्टिङ खाँदै उसको पितृ क्षमताभन्दा बढी गुडाउने ड्राइवरको कसरतले यात्रुहरूलाई हालत बनाइरहेको थियो । ढल्केबर पुग्दा नपुग्दै एउटा माउ सुँगुर र पाँचवटा पाठाहरू रोडमै अचार थिचे झेँ थिचेर पनि रोकिएन । बसभित्रै मधौरू बनेको डिल्लेको परिवारका सदस्यहरूमा अब बान्ता गर्ने पित्त पनि बाँकी थिएन । झाडापखालाले सुकेका डाम्रे पेट जस्ता पेट पोकापन्तरामै राखेर उनीहरू आफ्नो यात्रा चलाइरहेका थिए ।

चार बजेतिर कोशी ब्यारेज तरेर बस इनरुवा पुग्ने बेलामा बाटो किनारतिर चरिरहेको भैँसीस“ग जुध्न पुग्यो उनीहरू चढेको बस । उत्तानो टाङ हुनबाट बस मुस्किलले जोगियो तर माउ भैँसी ठाउँको ठाउँ ठहरै । सारा गाउँलेले बस घेरे र ड्राइवरलाई दुई चार घुस्सा लगाइहाले । लागेको बिगो तिर्छु तर नपिट भन्दै कोकोहोलो गरी हात जोडेपछि बल्ल कुटाइबाट मुक्ति पायो डाइवरले । इनरुवा चौकीमा गाडी ठडरम्म पारी मिलिमतोका निम्ति छलफल गर्दा रु. आठ हजार तिर्नुपर्ने टुङ्गो भयो । कागजपत्र जाहेरी र मिलापत्र सारा काम सम्पन्न गर्दा साँझको झण्डै आठ त्यहीँ बज्यो ।

रातको एघार बजे डिल्लेको परिवारलाई बिर्तामोडमा ओरालेर बस घान्द्राङ र घुन्द्रुङ गर्दै काँकरभिट्टातर्फ लाग्यो । नजाने काँकरभिट्टा टु काठमाडौँको दुई तीन वटा नम्बर छुटिसकेको थियो । बिर्तामोडको पूर्वी बसपार्कको ठूलो रुखको फेदमा पोकापन्तरा र लतरा भइसकेका बालबालिकालाई बिसाएर डिल्लेले खुई…य सास फेर्यो । यसो हेर्यो च्यान्टीको अनुहार सोहोरिएको छ, ऊ तल्लो पेट समाइरहेकी छ । डिल्लेले यो सब भोकले होला भन्ने अन्दाज गर्यो । उसले सम्झ्यो आज त अष्टमीको दिन पनि यसै बितेछ । बस्ने बास र खाने गाँस केही पाइन्छ कि भनेर बिर्तामोडको चोकमा डिल्लेले तीन चक्कर लगायो । एघार बजे राती कहाँ के पाउनु ? लजहरूतिरै सोध्न जान पनि उसले हिम्मत गरेन । अन्तमा आधा खुलेको एउटा सानो झुप्रे पसलबाट दुई सेर चिउरा र आधा पाउ चिनी लिएर ऊ फर्कियो । भोकले सिद्रा भएका लालाबालाले त्यही फुको च्यूरा मुक्याए । च्यान्टीले भने एउटा डाम्रो पनि मुखमा हालिन । चिउरा खाइसकेपछि पर्तिरको कलमा लगेर लाइन लगाई डिल्लेले सबैलाई पानी खुवायो । अस्तिदेखि फोहोर गरेका कपडाफाटो च्यान्टीलाई धुन लगायो । साढे बाह्र बजेतिर बिरालाले छाउरा सारे झंै त्यताबाट झ्याल्टुङझ्याईं पार्दै उसले सबै लालाबालालाई इलाम जाने बसपार्कतिर सार्यो । त्यही छेउमा बिग्रेर बसेको थोत्रो जिपको आड लागेर डिल्लेको परिवारले रात काट्ने सुर गर्यो ।

विर्तामोडबाट फिदिम जाने पहिलो बसमा छतको सिट पनि डिल्लेले फेला पार्न सकेन । ऊ एक्लोसरो भए त झुन्डिएर पनि जान्थ्यो होला तर ऊसँग नौ नौजना । भद्रपुरबाट आएको अर्को बस विहान आठ बजे छुट्यो । त्यसमा पनि बस्ने त कुरै छोडौँ खुट्टा राख्ने ठाउँसम्म थिएन । कुन्नि कताबाट आएको अर्को बस इलामतिर सोझियो अहँ, त्यसमा पनि चढ्न सकेन । भरीभराउ मानिस भरेर एउटा ट्रक आयो । डिल्लेले सोध्यो– फिदिम जाने हो ? इलामसम्म मात्र जाने हो– खलासीले जवाफ दियो । त्यहाँबाट उता देखाजाएगा भन्ने सम्झेर पोकापन्तरा सहित डिल्लेको परिवार त्यसैमा सवार भयो । तीनतमास धुलो उडाउँदै ट्रक शनिश्चरेलाई छाडेर बोर्ने चियाकमान हुँदै अगाडि बढ्यो । बाटो थियो आधा कच्ची र आधा पक्की, बेलाबेलाको जोल्टिङ र हिजोदेखिको बिसन्चोले च्यान्टीलाई आलसतालस पारिहाल्यो । ट्रकको माथि हुटमा भए त तैबिसेक, पछाडि पट्टि धुलोले सबैलाई नराम्रोसँग छोपी दिएको छ । डिल्लेले च्यान्टीको अनुहारको धुलो पच्छ्यौराले पुछिदिएर यसो हेर्यो– अनुहार पूरै सोहोरिएको छ, आँखा गाडिएका छन् । तालु बेपत्तासँग हानिरहेको छ ।

ट्रक कोल्बुङ पुग्दानपुग्दै च्यान्टी मडारिन थालिहाली । च्यान्टीलाई दुई महिना बाँकी हुँदै यो यात्राले बाटैमा सुत्केरी व्यथा पो थपेछ । यता समाउँदा पनि हुन्न, उता समाउँदा पनि हुन्न, ट्रकभित्रै सुत्केरी हुन त दिनुभएन । लौ बित्याँसै पर्यो । यात्रुहरू सबै कोकोहोलो गर्न थाले ड्राइवरले ट्रक रोक्यो र खोजतलास गर्यो । सुत्केरी व्यथा नै हो भन्ने ठम्याएपछि डिल्लेले ट्रकबाट च्यान्टी र उसको सिङ्गै परिवार ओलिर्ने निर्णय गर्यो । कोल्बुङ पुग्न आधा किलोमिटर ओरै उनीहरूलाई छोडेर ट्रक अगाडि गयो । ट्रकबाट ओर्लिएर डिल्लेले वरपर हेर्यो बाटोमाथि एउटा छाप्रो रहेछ– हिउँदे गोठ । च्यान्टीलाई अतेरेर छाप्रोसम्म पु¥याउन के पाएको थियो, ऊ सुत्केरी भइहाली । डिल्ले चौथो छोरीको पिता भयो । दसैँको राम–रमितामा रमेका कोल्बुङेहरूले दोस्रो दिन मात्रै थाहा पाए– गोठमा सुत्केरी परेको छ । पाखण्ड गर्नु कीर्ति गरेर डिल्लेले त्यो बीचबाटोमा सुत्केरी उतार्यो । तेस्रो दिन अलि तङ्ग्रिएपछि बस चढेर ऊ इलाम पुग्यो । इलाममा एकरात बास बसेर भोलिपल्ट यासोक पुग्यो । त्यो दिन टीको जाने पूर्णिमाको दिन थियो । छोराको सिङ्गै परिवारलार्ई आँगनमा देखेर वृद्ध पितामाता खुसी भए । तर सुत्केरी परेको हुँदा आखिर टीको टालो भने भएन ।

च्यान्टी र लालाबाला त्यहीँ छोडेर डिल्ले पर्सिपल्ट जागिर धान्न काठमाडौँ फर्कियो । उसको अफिस खुलेको तेस्रो दिन ऊ अफिस पुग्यो र थाह पायो– जाबो अस्थायी खरिदार पनि गएलखारेजमा परि सफाचट भइसकेको पो रहेछ ।

०००
‘जस्केलो’ अङ्क १, ०५५
फित्काैलीमा चाहिँ असोज १५, २०७१ मा प्रविष्ट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad