सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रिमिक्स नेपाल

रिमिक्स युग, रिमिक्स समय, रिमिक्स नेता, रिमिक्स पार्टी, रिमिक्स सरकार, रिमिक्स नीति, रिमिक्स परिवेश हुँदै वातावरण पनि सबै रिमिक्स छ ।

Nepal Telecom ad

तपाइँहरूले नै बताइदिनुहोस् कि उत्पादन अंक गणितीय अनुपातमा, जनसङ्ख्या ज्यामितीय अनुपातमा बढ्ने गर्दछ भने ठूलाबडा मान्छेहरूको कुरा कुन अनुपातमा बढ्ने गर्दछ ? यसो भाषण र आसनमा गरेको चुरो कुराको जुरो बुझ्याैँ भने अड्कल काट्न सकिन्छ कि बुझक्कड नेताहरूको कुरो सरकारमा हुँदा चितुवाको गतिमा र प्रतिपक्षमा रहँदा सरकारको आलोचना गर्ने मतिमा ज्यादै उग्र रूपमा बढ्ने रहेछ । नबढोस् पनि कसरी ? यसरी आफ्नो आफ्नो दक्षताअनुसारको लुरेको जुरो बढ्न नसकेको भए हाम्रै बराजुको पालाँ भएको लगौँटी, कछाडे र झुत्रे अनि थोत्रो नेपाल अहिले हाम्रो पालाँ आइनपुग्दै टाइ, सुट, मिनीस्कट र रिमिक्स नेपालमा कसरी परिणत हुने थियो र हँ । हामी एकछिन सैर गर्न थालौँ अब रिमिक्स नेपालको नयाँ स्वरूपमा । हुन्न र ?

क्या राम्रो प्रगति भएको छ यहाँ । आर्थिक वृद्धि दुई अङ्कको हुनथालेको धेरै वर्ष भैसक्यो । मानिसहरू सबै बुद्धिजीवी, रिमिक्स नेपालले साक्षर मुलुकको प्रमाणपत्र लिइसक्यो । मेरै दिदीले हिजो मात्र नाम लेख्न नचाहेर ल्याप्चे ठोक्न छाप माग्दै हुनुहुन्थ्यो । चानेचुने दिदी होइन उहाँ फेरि जनताकै प्रतिनिधि सांसद भन्छन् क्या उहाँलाई । मुलुकको प्रगतिको लागि, समृद्धिको लागि राजनीतिक स्थायीत्व छताछुल्ल झाँगिएको छ जताततै । यहाँ कुर्ची हानाहानको मेलमिलापको खेल संसद भवनसम्म नै झाँगिएको छ । भाषणमा फुलेको देश, कुरामा झुलेको देश, झोलामा उनेको देश नसुहाउँदो त के नै पो छ र ? जताततै ओभर बिजुलीबत्ती बलेको बोल्यै छ,सबै सडक कालोपत्रे भएको छ । कहीँ धुलो उड्ने बाटो कतै छैन । रेल वे, रोप वे, केबुलकार, फास्ट ट्रयाक, आई वे, गई वे, हिज वे, हर वे, पार्टीको वे, जातिको वे, …वे त कति खुलेका छन् कति गनी साध्य नै छैन, भनी साध्य नै छैन । हुम्ला र डोल्पा जिल्ला मै पनि बाटोको त कुरो नै छोडाैँ, हवाइजहाज पुगेको पनि कतिवर्ष भैसक्यो ।

पाठक महाशयहरूलाई थाहा नै छ, कुनै पनि मुलुकको प्रगतिको लागि त्यस मुलुकको सभ्यता र संस्कृतिले महत्वपूणर् भूमिका खेलेको हुन्छ । त्यस मानेमा पनि एक अमल कमी होइन बरु एक हात नै माथि परिरहेका छौँ हामी । नाति/नातिनीहरूलाई हजुर बाबा/हजुर आमाको नाम थाहा छैन । सन्तान रिमिक्स, भाषा रिमिक्स, पोशाक रिमिक्स, गीत रिमिक्स, हित रिमिक्स, सभ्यता रिमिक्स, संस्कार रिमिक्स, शिक्षा रिमिक्स जस्ता कुराहरू त सामान्य नै भयो त्यसमा पनि अझ राम्रो कुरा त राजनीतिक दल रिमिक्स, भाषणमा बग्ने भल रिमिक्स, नदीनालामा बग्ने जल रिमिक्स, राम्रा कामहरूको सबै फल रिमिक्स

आदि रिमिक्स नै रिमिक्समा हामी निकै माथि परिरहेका नै छौँ र माथि पर्ने प्रयास गरिरहेकै छाैँ । रिमिक्स नेपालमा सबैको विचार रिमिक्स छन् । बल रिमिक्स छ, जोश रिमिक्स छ, होश रिमिक्स छ, ठोस रिमिक्स छ, कोष रिमिक्स छ …..के छैन र रिमिक्स ? नागरिकको खानेपानीको धारामा पानी नआएर के भो र ? सबैको आँखाको नानीमा पानी आएकै छ, बेरोजगारीको समस्या व्यापक छ र पो त हप्तँौँ हप्ता तेल र ग्याँसको लाइनमा बस्न भ्याएकै छन् । महिला र पुरुषबीचको भेदभाव हटाउने भनी महिलाले पनि एक बित्ताभन्दा झन्डै लामो कपडा लाएकै छन् । शिक्षामा त झन् चमत्कार नै गरेका छन् गाँठे । विद्यार्थी भन्दा निजी विद्यालय धेरै छन् । सरकारी विद्यालयमा जाँदा विद्यार्थी निकै कम भए पनि रेकर्डमा गनी नसक्ने धेरै छन् । ज्याकजुकले भिर्ने र छिर्ने ठाउँमा सबै ठूलाबडाहरूको मेरै छन् । रिमिक्स युग, रिमिक्स समय, रिमिक्स नेता, रिमिक्स पार्टी, रिमिक्स सरकार, रिमिक्स नीति, रिमिक्स परिवेश हुँदै वातावरण पनि सबै रिमिक्स छ ।

आहा क्या सुन्दर छ, रिमिक्स नेपाल ! घर सफा छ, चोक सफा छ, टोल सफा छ, गाउँ सफा छ, नगर सफा छ । सफा सुन्दरको देशमा गोल्ड मेडल नै प्राप्त गरेको छ । असल, इमान्दार, मेहनती र स्पष्ट वक्ता छन् नेतानेत्रीज्यूहरू । छोटो समयमा नै प्रशस्त रोजगारी सिर्जना भएको छ । दक्ष, प्राविधिक नागरिकहरू फालाफाल छन् । नेपालमा नै रोजगारी गर्न आउने विदेशीहरू गनीसाध्य छैनन् । कुनै नेपाली रोजगारी गर्न विदेश जानखोज्दै खोज्दैनन् । कृषिमा आधुनिकीकरण भएर निर्यात व्यापार बढेको छ । स्वदेशी उत्पादनले विदेशी आयातलाई प्रतिस्थापन गर्न सकेको छ । फाइदा व्यापारले मुलुक आर्थिक उन्नतिको शिखरमा दौडिरहेको छ । प्रतिव्यक्ति आय पैतालीस हजार डलर, जी.डी.पी. विश्वकै टप टेनभित्र । सूचना र सञ्चारमा भएको उन्नति र प्रगतिले सगरमाथालाई टपेर ध्रुवतारालाई छुन लागिसकेको छ । राजधानीका धारामा मात्र होइन सुक्खा फाँटहरूमा पनि पानी फालाफाल छ । समस्याका पोकाहरू कसैको पनि केही छैन ।

शैक्षिक क्षेत्रमा पनि व्यापक उन्नति प्रगति भनीसाध्य छैन । जसले जतिसम्म पढे पनि निःशुल्क । अनि किताबका पाना पानाभित्र पनि व्यावसायिक शिक्षा । पढेर हातमा मार्कसिट पर्न नभ्याउँदै जागिर फटाफट । वाक्य आनन्दको छ रिमिक्स नेपाल ! जताततै पिच सडक छ, सडकमा सररर गाडी कुद्छन् । कोही उभिनु पर्दैन । कोही छतमा चढ्नु पर्दैन । सडक दुर्घटनाका खबरहरू सुन्नु पर्र्दैपर्दैन । सस्तो, सहुलियतको भाडा दरमा सजिलै गन्तव्य सम्मपुग्न पाइन्छ । सुरक्षित हवाई यात्राको क्रममा पनि हाम्रो नेपाल टप एक/दुई नम्बरमा नै पर्दछ । के छैन र यहाँ ? सबै थोक छ । सबै कुरामा आत्मनिर्भर मात्रै होइन, सबै कुराहरू निर्यात गर्न सक्ने भैसकेको छ ।

हाइड्रो पचास हजार मेगावाट निर्यात, वायु लगायतका अन्य उर्जा गनी साध्य र भनी साध्य नहुने जति निर्यात, खाद्यान्न लाखौँ लाख टन । राजनीतिक स्थायित्व बताउनै नमिल्ने प्रबल । विश्वकै उत्कृष्ट लोकतन्त्र मात्र होइन महालोकतन्त्र, बहुदलीय, समाजवादी, साम्यवादी, पूँजीवादी, बहुउत्कृष्ट, गणतन्त्रात्मक, लोकतान्त्रिक, प्रजातान्त्रिक, बहुलवादीय संसदीय व्यवस्था । सम्पन्न समावेशी, विपन्न बहिष्कृत आदर्श नीति व्यापक रूपमा प्रयोग भैरहेको छ । महानिष्पक्ष, स्वतन्त्र न्यायपालिका छ । अन्याय कहीँ देख्न, सुन्न पाइँदै पाइँदैन । न्यायको बत्ती झुपडीमा मात्र होइन नदीको बीच-बीचमा नै स्पष्ट रूपमा बलेको देख्न, हेर्न, छाम्न र सुन्न पाइन्छ । प्रेस स्वतन्त्रताविश्वमा नै हुन नसकेको व्यापक छ । जसले जे मन लाग्यो त्यही गर्न, भन्न, लेख्न, हेर्न, छर्न, पर्न, भर्न, लर्न, चर्न पाइन्छ । मानव अधिकारको कुरा गर्दा पनि ज्यादै प्रबल छ । मानव अधिकारका कुरा सडक बालबालिका, द्वन्द्व पीडित, राज्य पीडित, अशक्त, अनाथ, बेचिएकी चेली, बलात्कृत चेली, ..सबैलाई स्पष्ट थाहा छ ।

पाठक महाशय के छैन र रिमिक्स नेपालमा । स्वतन्त्रताको कुरा गर्नुहुन्छ भने पनि कम्ती माथि छैनाैँ हामीहरू । हरेक राजनीतिक दलहरूले गुण्डा नाइके पाल्न पाउनु मौलिक स्वतन्त्रता नै हो । हुने खाने, टाठाबाठा, बलिया बाहुबलेहरूले निर्धा, अशक्त, दीनदुखी र गरिबहरूलाई निचोर्न, पेल्न, हेप्न, चेप्न, छोप्न पाउनु सनातन अधिकार हो । आफ्नो आची सडकमा फालेर छया् गन्हायो भनेर नाक थुन्दै हिँड्नु ज्यादै आधुनिक संस्कार हो । किफायती बनी शरीरका गोप्य अङ्गहरूलाई पनिकम छोप्ने गरी छोटो लुगा लगाउनु अत्याधुनिक सभ्यता हो । आजभोलि त झन् प्रत्येक कुराहरू कति रिमिक्स छन् कति यहाँ । स्कूलहरू रिमिक्स छन्, अमेरिकन इन्टरनेशनल, बेलायती इन्टरनेसनल, जर्मनी इन्टरनेशनल, इन्डियन इन्टरनेशनल …आदि सबै रिमिक्स । सबै थोक रिमिक्स छन्, सबै चोक रिमिक्स छन् । पेरिस चोक, जेनेभाचोक, इटाली चोक, न्यू दिल्लीचोक, बेइजिङ चोक …चोकै चोक मात्र । वा ! हाम्रो नेपाल रिमिक्स नेपाल, आहा कति राम्रो छ बाइ । खाना रिमिक्स, नाना रिमिक्स, छाना रिमिक्स, दाना रिमिक्स, जाति रिमिक्स, नाति रिमिक्स, छाती रिमिक्स, देश रिमिक्स, भेष रिमिक्स, फेस रिमिक्स, काम रिमिक्स, जाम रिमिक्स, नाम रिमिक्स, धाम रिमिक्स, भाव रिमिक्स, रीति रिमिक्स, नीति रिमिक्स, थीति रिमिक्स, साँच्चै हो बा अझ भन्नेहरूले त अरु बताउनै नमिल्ने कुराहरू पनि रिमिक्स छ भन्छन् ।

स्याङ्जा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
हामी सबै खाओवादी !

हामी सबै खाओवादी !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
ज्युनार गोष्ठी !

ज्युनार गोष्ठी !

गायत्री परिरोशनी
ठूलो हुने सूत्र

ठूलो हुने सूत्र

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
ज्युनार गोष्ठी !

ज्युनार गोष्ठी !

गायत्री परिरोशनी
कुरा काट्नुको मज्जा !

कुरा काट्नुको मज्जा !

गायत्री परिरोशनी
सहकारी खेती

सहकारी खेती

गायत्री परिरोशनी
सिंहदरबार माने बाघदरबार

सिंहदरबार माने बाघदरबार

गायत्री परिरोशनी