बागमती प्रदेश सञ्चार कार्यालय लामो

महान चाड चुनाव

साम, दाम, दण्ड, भेद जुन नीतिले जता हान्दा दुवै हातमा लड्डु हुन्छ । क्या कमालको छ चाड चुनाव ।

दिनभरको काम सकी लखतरान परेर डेराको पक्की घरको गेटभित्र मात्र यसो के छिर्न भ्याएको थिएँ, सानो छोरोले मलाई देखेर चिच्चाउँदै बाहिर आयो । ड्याड आयो, हँ के भन्छ यो ? मैले उसको कुरो बुझिन । उसले आयो भनेको डाको सुनेर उसकी आमा महिनौ दिन पानी नआएको धारो चेक गर्न दौडिइन् । अर्धबैंशे मेरा बा रित्तो ग्याँसको सिलिन्डर बोकेर ग्याँस पसलतिर गए । मेरी आमा चानचुन पैसा मुठीभरि बोकेर तरकारी बोकेर ठेलागाडा आउँदै होला भनी बाटोतिर निक्लिइन् ।

मैले पटक्कै कुरो बुझिन,उसको हात समाउँदै सोधे, के आयो भनेको केटा । ऊ झन् हाँस्न थाल्यो, ड्याडलाई त्यति पनि थाहा छैन अझै, मेरो मुखमा हेर्दै मुस्कुरायो ऊ । मैले सम्भावित उत्तर सुनाउन थाले उसलाई ।

भुकम्पको झड्का आयो ? फेरि-होइन, हावा-हुरी आयो-होइन, पेट्रोल-डिजल आयो-होइन, वाग्मती मिसिएको हावा आयो-होइन, चक्काजाम, बन्द, हड्ताल, आन्दोलन आयो-होइन, निकै सस्तो पाइने डेट अफ भाका ताजा तरकारी आयो -होइन, तेरो स्कुल फीको, टेलिफोनको, पानीको, बिजुलीको विल आएको हो-होइन, जे भने पनि हैन-हैन भन्दै मलाई नै गिज्याउन लागेपछि मेरो पनि पारो तात्न थाल्यो । त्यसो भए तेरो बाउको टाउको आएको हो मैले हकार्दै भनँे, मेरो चर्को स्वर सुनेपछि बल्ल उसले लाडे भएर भन्यो, चुनाव आयो भनेको के ड्याड ।

अँ साँच्ची केटोले चाहिँ राम्रै कुरो पो गरेको रहेछ । मैले त हेक्कै नगरेको । मेरा साथीहरू भन्ने गर्थे भोक धेरै लाग्यो भने दशैँको कुरो गर्नुपर्छ, अनि केही नखाए पनि अघाइन्छ । मलाई पनि चुनाव आयो भनेपछि विकासले पुगीसरि भयो ।

एकछिनलाई भए पनि धारोमा पानी आउँछ, तर्‍याङ्तुर्लुङ तारमा बिजुलीको करेन्ट आउँछ, सबैको घरघरमा ग्याँसको भकारी हुन्छ,सबैको मुखमा सुलुलु मेट्रो आउछ, दुई आना जग्गामा बनेको दश तले घर भए पनि करेसाबारीका ताजा-ताजा तरकारी आउँछ, विचार राम्रो आउँछ, भावना राम्रो आउँछ, सिद्धान्त राम्रो आउँछ, नीति राम्रो आउँछ, बिना मौसममा विकासको मूल फुट्दछ वा एउटा-एउटा भोट पट्याउन अरबौँ र खरबौँका भाषण गर्छन् नेताहरू । केहीबेरमा नै नेपाललाई विश्वकै एक नम्बरको सबल कन्ट्री बनाउँदछन् । घोषणा पत्र पढ्दा त मनको पेरिस टावरमा शैर गर्दाको तात्ततो अनुभव प्राप्त हुन्छ सबैलाई ।

मनको विकास र मन्कै निकासमा रमाउँदै थिएँ म त्यति बेला नै घरभेटी बाले छतबाटै चिच्चाए-ए बतासे बाबु, आज महिनाको पाँच दिन बितिसक्यो, भाडा कहिले दिने हो ? मैले हाँस्दै भने घरभेटी बा चुनाव आयो नि हजुरलाई थाहा छैन ? मुलुकमा सबैको राष्ट्रिय चाड चुनाव आउँदैछ तपाइँ खालि घरभाडा भन्दा अर्थोक कुरा गर्नुहुन्न । मेरो कुरा उनले कति बुझे कुन्नि जेहोस् चुपचाप बसिरहे ।

पाठक महाशय हजुरहरूलाई थाहा नै छ, सबैलाई सबैको भन्दा महान् चाड चुनाव नै हो । किन ? भन्नुहुन्छ भने हिन्दुहरूको महान् दशैँ, इस्लामको इद, क्रिश्चियनको क्रिस्मस एवं रीतले धर्म,जात अनुसार आ-आफ्ना महान् चाड हुन्छन् तर चुनाव यस्तो चाड हो, जहाँ सबै जातजाति, धर्म संस्कृति, भेषभुषा, रहनसहन फरक-फरक मान्ने भए तापनि यस चुनावरुपी महामहान चाड सबैले बडो धूमधामपूणर् मनाउँछन् । तन, मन र धनले फुकाएर रमाउँछन् । साम, दाम, दण्ड, भेद जुन नीतिले जता हान्दा दुवै हातमा लड्डु हुन्छ । क्या कमालको छ चाड चुनाव ।

आफ्ना-आफ्ना महान् चाडमा पनि भित्रिन नसकेको लत्ताकपडा चुनाव चाडमा त छताछुल्ल हुन्छ । तल्लो घरकी गोरे कान्छाकी श्रीमती पुतली मैयाँले पनि भनेकी थिइन्-उसको एकमात्र अमूल्य भोटको लागि भाले पार्टीले एउटा जापनीज फरिया दियो रे, पोथी पार्टीले एक क्विन्टल चामल, झारे पार्टीले एउटा तिलहरी, पाले पार्टीले एक बोरा तरकारी , हारे पार्टीले बोइलर कुखुराको एक किलो मासु । भोट कसलाई दिउँ भनेर मलाई सोध्दै थिइन् । न्यायको तराजुलाई सम्झेर मैले भने मागे जति सबैलाई देऊ ।

भोट अमूल्य हुन्छ भन्थे हो रहेछ, नत्र भने एक भोट दिएको भरमा भनाँै वा एक भोट पट्याउनको लागि कसैले जागिर पाउँछन्, कसैले श्रीमती पाउँछन्, कसैले श्रीमान् पाउँछन् यी त झिनामसिना कुरा भए खाटी कुरो गर्दा चुनाव आउनभन्दा साठी दिन अघिदेखि दुई खुट्टे र चारखुट्टेको झोल चौटासँग चिउरा र भात मुछेर खान त कति पाउँछन् कति ।

यस चाडका मूलभुत सिद्धान्त भनाैँ कि विशेषता जे भए तापनि मिल्ने मिलाउने, पिउने पिलाउने, छिर्ने-छिराउने, तिर्ने-तिराउने, गिर्ने-गिराउने, फिर्ने-फिराउने, भिर्ने-भिराउने, फोर्ने-फोराउने, लर्ने-लराउने, हर्ने-हराउने, भर्ने-भराउने, तर्ने-तराउने, छर्ने-छराउने, झर्ने-झराउने, सर्ने-सराउने, यत्रतत्र सर्वत्र सबै पार्टीका साझा सिद्धान्त र विशेषता हुन् ।

यस चाडको विशेष निकास भनाँै वा विकास जे भने पनि घोषणा पत्र नै हो । आ-आफ्नो हित र धित मिल्ने पार्टीका घोषणापत्र पढेर अघाउने र रमाउने बानीको विकास गर्न सकिएन भने आफू छाडी आफ्ना सात पुस्तासम्मकाले पनि निकास पाउँदैनन् । नपत्याए सोच्नुहोस् त हाम्रा सात पुस्ता अगाडिका जिजुबाले नेपाललाई सगरमाथाको देश, बुद्धको देश भन्नुहुन्थ्यो, आज हामीले पनि विकासको नाममा पाएको नेपालको सगरमाथा र नेपालको बुद्ध मात्रै त हो नि ।

यस महान चाड मनाउन हामी कसैलाई कुनै आचारसंहिताले बन्देज लाग्दैन, कोरा कागजका आचारसंहिता व्यावहारिकतामा पानीका फोकाजस्तै आफै फुटिहाल्छन् । आ-आफ्नो स्वार्थको भकारी भर्न मिल्ने दाउ देखेमा त कहीँ नभाको शान्ति नेपालमा भनेजस्तै कुकुर र बिराला पनि मिल्छन्, बाघ र खरायो पनि मिल्छन्, गाई र गधा मिल्छन्, लामखुट्टे र हात्ती मिल्छन्, सागर र ताल मिल्छन्, काले र लाल मिल्छन् , वा क्या महान छ चाड ।

प्रगति र उन्नतिले फड्को मार्दै जाँदा यस चाड मनाउने शैली र तौरतरिका फेरिएका छन् । यस भन्दा अगाडि एउटा सिङ्गो मुलुकमा एकैदिनमा यस चाडलाई मनाउने गरिन्थ्यो । अबका दिनदेखि यसमा आमूल परिवर्तन हुन थालेको छ । जिल्ला पिच्छे फरक मिति,क्षेत्र पिच्छे फरक मिति, आउँदा दिनहरूमा अझ यसमा महा आमूल परिवर्तन हुँदै निश्चित गाउँ पिच्छे फरक मिति, ठाउँ पिच्छे फरक मितिमा मनाइनेछ । तीन सय पैसट्ठी दिनभरि नै चुनाव नै चुनाव । यस्तो भएको खण्डमा मात्र सबैले यस्तो महान चाड चुनावलाई धीत मरुन्जेल मनाउन पाउनेछन् ।

यत्तिमात्र हैन यस चाडको प्रमुख निकास भोट हाल्ने र गन्ने पद्धतिमा पनि निकै आधुनिकता छाएको छ । एक जनाले आफ्नो मत माग्ने जतिलाई दिन पुरापुर बीस मिनेट, अनि उसले दिएको भोट गन्नलाई पुरापुर चालीस मिनेट । एउटा भोटको टाइम भ्यालु जम्मा एक घण्टा । मलाई चिन्ता त यो मानेमा परेको छ , काठमाडौंको लोड सेडिङ झ्याप्प घटेझैं यो भोट हाल्न र गन्न लाग्ने समय पनि झ्याप्पै घट्ने त होइन । अनि एक पटक गन्दा एउटा पार्टीको जीत अनि पुनः त्यही भोट अर्को पटक गन्दा अर्को पार्टीको जीत अहिलेको जस्तो पनि नहुने त होइन ।
कलि युगमा मात्र नभएर छली युगमा पनि ख्याति कमाउन सफल यस महान् चाड चुनावको महत्व हजार वटा जिब्रा भएको शेषनागले त बताउन सक्दैन भने म एउटा मात्र जिब्रो भएको सामान्य मनुवाले के सकुँला ? जे होस् विशेष बेला, साइत र लगन जुराएर आउने यस चाडमा सबै सहभागी हुनुपर्छ ,सबैले आफ्नो अमूल्य भोट माग्ने जति सबैलाई दिन सक्नुपर्छ ।

भोटको इन्गेजमेन्ट गर्दा सबै पार्टीसँग हैसियत अनुसारको उपहार लिन सक्नुपर्छ । सबैले खाको र लाको आफ्नो हो भन्छन्, हामी हँसिया जस्ता सिधा नागरिकहरू यस मानेमा अलिक चनाखो हुनु जरुरी छ । सत्ता र सरकारसँग के को आश गर्नु ? के-को भरोशा गर्नु ? त्यो भन्दा ठूलो आश त भोट माग्न आउने नेता ज्यूहरूसँग गर्दा हुन्छ । यसमा नै सबैको जय हुन्छ । हामी पनि सबै अब यही महान चाड मनाउन आ-आफ्नो क्षेत्रमा गए हुन्छ ।

स्याङ्जा, हाल काठमाडौं

बागमती प्रदेश सञ्चार कार्यालय लामो
धन्न चुनाव हारियो !

धन्न चुनाव हारियो !

गायत्री परिरोशनी
नेपाल खरानी दलको घोषणा पत्र

नेपाल खरानी दलको घोषणा...

गायत्री परिरोशनी
घटाउनै गाह्रो भो !

घटाउनै गाह्रो भो !

गायत्री परिरोशनी
कार्यकर्ता जागिर

कार्यकर्ता जागिर

गायत्री परिरोशनी
छानबिन आयोग

छानबिन आयोग

गायत्री परिरोशनी
ज्याकको नालीबेली

ज्याकको नालीबेली

गायत्री परिरोशनी
धन्न चुनाव हारियो !

धन्न चुनाव हारियो !

गायत्री परिरोशनी
घटाउनै गाह्रो भो !

घटाउनै गाह्रो भो !

गायत्री परिरोशनी
कार्यकर्ता जागिर

कार्यकर्ता जागिर

गायत्री परिरोशनी
छानबिन आयोग

छानबिन आयोग

गायत्री परिरोशनी
ज्याकको नालीबेली

ज्याकको नालीबेली

गायत्री परिरोशनी
कमाइ खाने धन्दा

कमाइ खाने धन्दा

गायत्री परिरोशनी