सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कार्यकर्ता जागिर

तालुमा आलु फल्यो भने पद/पोष्ट अनुसारको सबै तलब आफ्नै खातामा । आलु नफलेर पिँडालु फल्यो भने पनि एउटाको तलब दुइटाको भागमा ।

Nepal Telecom ad

समकक्षी युवा वर्गहरू युवा भन्नाले युवतीलाई पनि मानिनेछ । उमेरमा सोह्र वर्ष माथि र नेपालीहरूको औषत आयु भन्दा मुनिका सबैलाई यो रोजगारीमा युवा नै भनिनेछ । शाब्दिक अर्थमा तलमाथि पर्दा केही हुनेछैन । व्यवहारिकतामा सबैले गरेकै कुरा हो । सबैले भोगेकै कुरा हो । यो रोजगार कुनै दुईचार महिनाको लागि मात्र होइन । यसमा नियुक्ति भएपछि आफ्नो इच्छा अनुसार आजीवन नै काम गर्न पाइन्छ । नाम कमालको छ, काम कमालको छ । दामको त कुरै नगरौं ।

पाठक महाशय अचम्म लाग्ला यो कस्तो पदको रोजगार रहेछ भन्ने कुरामा । अचम्म मान्नुपर्ने कुरा केही छैन । तपाइँ हामी थाहा नपाइकन सधैँ गरिरहने जागिर नै हो यो । मात्र आज मैले मसिनो रुपमा कुरा उठान गर्न मात्र खोजेको हुुँ । आफूले पनि मौका मिल्दा र अवसर मिल्दा यसमा हाजिर त कति भइयो कति । भनीसाध्य छैन हजुर गनीसाध्य छैन । अरु जागिरमा जस्तो अन्ठाउन्न वर्ष भएपछि, साठी वर्ष भएपछि, पैसठ्ठी वर्ष भएपछि पेन्सन पाकिहाल्ने जागिर होइन यो । पेन्सन पकाउने उमेर अवधिको सीमा नै निर्धारण गरिएको छैन यसमा । कसैको दुई चार महिनामा पाकिहाल्न सक्छ त कसैको आजीवन गर्दा पनि नपाक्न सक्छ । पेन्सन पाकेपछि अरु जागिरको घरमा बसी-बसी पेन्सन आउँछ तर यसमा भने पेन्सन बुझ्न जाने झन्जट गरिरहनु पर्दैन ।

तपाइँहरूलाई लागेको होला निजामती सेवामा, प्राइभेटमती सेवामा वा अन्य संस्थानमती सेवामा जागिर खुलेछ । अँ हँ त्यसो पटक्कै होइन । सरकारी सेवामा खुल्ने यस्ता प्रकृतिका जागिरले धेरैको मागलाई धान्नै सक्दैन । यो अहिले खुलेको जागिरले त सबै नेपाली बेरोजगारी भएर बसेकाहरूलाई रोजगारी दिन सक्छ । जसले जस्तो ठाउँमा भन्छ त्यही फटाफट । जुन छिटो आउँछ उसैलाई सटासट । हाकाहाकी, आलाङ्ढिलाङ् गर्ने कुरा नै भएन ।

निकै मजाको छ जागिर । सबै जागिरेहरूलाई जित्न सक्ने, सबै जागिरेहरूलाई पिट्न सक्ने, सबै जागिरेहरूलाई थिच्न सक्ने । सबैभन्दा सत्ता, शक्ति र भक्तिले भरिपूर्ण छ यो जागिर । मेरै निकै मन मिल्ने साथी सनासेको जीवन निकै फष्टाएको छ यही जागिरले । बच्चै हुँदा ‘पेरुमा रातो झण्डा फरफराउँदै छ’ भन्थ्यो । रक्तिम हो कि के जातीको गीत गाउँदै शोषक, जाली, फटाहाहरूको खेदो खन्दा-खन्दा घाँटी सुकाउँथ्यो ।

अलि युवा हुँदै गएपछि, चार तारा चारै सिट… देखिस्… कस्को जीत ? भन्दै दुई हात माथि उफ्रदै-जय नेपालको साराले भन्दै गीत गाउँथ्यो । युवाबाट यसो माथितिर के उकालो लाग्न थालेको थियो, सिद्धान्त, मन, तन र धन ठ्याक्कै मिलेर अर्को पार्टीमा पोइला गयो रे । फेरि ने.क.पा.को नाराले, हाँस्न पाउँछ साराले भन्दै हिँड्छ बा भएन त गजब । हामी अरु आउरे बाउरेमा जागिर खानेहरूलाई एउटा पेन्सन पकाउन त कम्तीमा बीस वर्ष जागिर खानुपर्छ । उनीहरूजस्तालाई त हाइसन्चो । पेन्सन त कति पाक्ने कति । ताल पर्‍यो भने बीस वर्ष जागिर गर्दा दश ओटा पार्टीको कार्यकर्ताको लाइसेन्स लिन पाउने । पार्टीकै लाइसेन्स लिइसकेपछि आउने कुराहरूको त यहाँ बेलीविस्तार नगर्दा नै राम्रो होला कसो ?

हाम्रा आफ्नै महाशयहरू, कुरो त बुझ्नुपर्ने जति बुझ्नु भो नि ? कार्यकर्तामा पनि डन हुन सकियो भने त अझ अरु के-के हुन पाइन्छ । कसैले देख्दै नदेखेको, कसैले सोच्दै नसोचेको । कत्रा-कत्रा डाक्टर पढेकोले त आफ्नो नामको पछाडि डन लेख्न पाउँदैन । यसमा त तपाइँहरूले चिन्नुभएकै होला डन नै डनको हालीमोहाली । चरो डन, घैंटो डन, मिलन डन, विछोड डन्… धेरै भनीनसक्नुका डन । थामिनसक्नुका डन । तपाइँ हामी पनि डन हुने प्रतिस्पर्धामा खरो रुपमा उत्रन सक्नुपर्छ । त्यति सानो घैंटो र चरो त डन भए भने हामी त झन् बन्दुके डन, बम डन, बन्चरो डन लगायत आजभोलिको समय सुहाउँदो साइबर डन र फाइबर डन बनेर नाम कमाउन सक्नुपर्छ । सारा सुरक्षाकर्मीले हामीलाई होइन, हामीले सुरक्षाकर्मीलाई समाउनुपर्छ । यति गर्न सके आधुनिक डन, प्राविधिक डनमा कसो नपरिएला र ?

कम्ती पावर हुन्छ डनमा । सुरक्षाकर्मीले एक गोली पड्काउँदा डन कर्मीलाई दुई गोली पड्काउने आदेश प्राप्त हुन्छ उनीहरूको माथिल्लो हाकिमबाट । महामहिमलाई सेक्युरिटी चाहिने भनेको देखाउनलाई हो नि नदेखाइकन लुकाएरै राख्ने, छिपाएर राख्ने असली सुरक्षाकर्मी भनेको त हामी पो हौँ त । अँ साँच्ची कुरो के भने नि देखाउने सेक्युरिटीले होलाई हो भन्छन् होइनलाई होइन भन्छन् । हामीहरूले त फल्नो माननीयले फल्नो नामको सोमरस लिएर फल्नो/फल्नीलाई भेट्न गएको साँच्चै हो र भनेर कसैले सोधे भनै साँच्चै नै होइन भनिदिन्छौँ । सबैको चश्मा उस्तै हुन्छन् त्यो फुटेको चश्मा पनि सोही माननीयको त होइन भनिदिन्छौं । अनि त झन् मालामाल, हाम्रो पद/पोष्ट पनि डनबाट महाडनतिरै उकालो लाग्छ बाबै ।

आफ्ना-आफ्ना माननीय, पूजनीय, ढोगनीय, गफनीयहरूको पछाडि-पछाडि दौडाहा टोलीमा फस्र्ट हुन सक्नुका साथै समय परिस्थितिले टाईको गाँठो पार्न, बुट टल्काउन लगायत अन्य यी र यस्तै महान कामहरू गरेर चाप्लुसी भन्ने महङ्गो औषधी प्रयोग गर्न सकियो भने त अझ मन्त्रीज्यूहरूको स्वकीय नै पड्काइन्छ हजुर । तालुमा आलु फल्यो भने पद/पोष्ट अनुसारको सबै तलब आफ्नै खातामा । आलु नफलेर पिँडालु फल्यो भने पनि एउटाको तलब दुइटाको भागमा । त्यति हुँदा पनि एउटा आफ्नो भागमा अर्को सालोकै भागमा हो चित्त किन दुखाउनुपर्‍योे ?

निजामती र अन्य विभिन्न सेवाका ठूला-ठूला पदाधिकारीलाई थर्काउने, उचाल्ने-पछार्ने भनेको पनि त्यही बेलामा हो । अरुले चिनून् किन नचिनून् आफै अगाडि सरेर भनिहाल्नुपर्छ म त फल्नाको स्वकीय सचिव, म फल्नाको स्वकीय अधिकृत… कहिलेकाहीँ त हतार हतार गरेर भन्दा आफ्नै मन्त्रीको पनि नाम नजानिने गाँठे, यो आडम्बर भन्ने पनि अनौठोको हुन्छ ।

खाजाको कुरा गर्नुहुन्छ भने पनि अरु सरकारी कर्मचारीले जस्तो आफ्नै पैसो तिरेर तिहुन्को झोल र चिउरा मुसेर खाने होइन नि हामीलाई त डेली वर्ड फ्लूको खुट्टोको रोष्टका साथमा अन्य भेराइटी, थपी-थपी, दिनदिनै थरीथरी । वा ! क्या मज्जाको छ जागिर, पुर्पुरोमा मन्त्रीज्यूको स्वकीय बन्ने भाग्य रहेछ भनेर कम्ती खुशी लाग्दैन मलाई । धन्न बेलामा कार्यकर्ताको जागीर खाको थिएँ र पो, अहिले प्रमोशन भएर यहाँ पुगेँ भनेर मेरो छाती आनन्दले मन टन भन्दा हलुङ्गो र क्विन्टल भन्दा गह्रौँ हुन्छ ।

आज नेपालमा यत्रतत्र सर्वत्र कार्यकर्ताको जागिर फस्टाउने अवस्थामा छ । जताततै सरकार नै सरकार । तल पनि सरकार, माथि पनि सरकार, बीचमा पनि सरकार । ती सरकारलाई तलमाथि गराउने, माथि तल गराउने, दायाँबायाँ गराउने, बाँयादायाँ गराउने, उठाउने, बसाउने, हिँडाउने, दौडाउने… सबै काम गर्ने कामदारको केन्द्रविन्दुमा छन् कार्यकर्ताका जागिरे । यिनीहरू चलायमान नभएसम्म सरकारलाई भोक पनि लाग्दैन र पिसाप पनि आउँदैन । दाजुभाइ भनेका ‘मर्दाका जन्ती र ज्यूदाका मलामी’ हुन् भने जस्तै कार्यकर्ता भनेका नेताका लागि ‘चुनाव जित्दाका जन्ती र हार्दाका मलामी’ नै हुन् भन्दा कसैले दुई मत नबनाउनुभएकै वेस हुन्छ ।

अहिले त मुलुक सरकारमय भएको छ । सरकारमय हुनु भनेको कार्यकर्तामय हुनु हो । केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार । स्थानीय सरकार अन्तर्गत पनि अध्यक्ष सरकार, मेयर सरकार, उप-मेयर सरकार, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य सहित सरकार नै सरकार । माथितिर त झन् कुरै नगरौं । राष्ट्रपति सरकार, प्रधानमन्त्री सरकार, मन्त्री सरकार, प्रदेश मन्त्री सरकार र गनेरै नसकिने धेरै माननीय सांसद सरकार ।

हामी कार्यकर्ताहरू जागीर खान इच्छुकहरू विभिन्न रुप, गुण, विशेषताले भरीपूणर् भएको खण्डमा कुनै दिनमा होइन, कुनै छिन पनि खाली बस्नु पर्दैन । सरकार जति सबैलाई सवैभन्दा बढी चाहिने भनेकै कार्यकर्ता पदमा जागिरे हो । कार्यकर्ता मध्येका बाठा, आउरे-बाउरेमा परियो भने त अझ ठेक्कापट्टाका सबै वर्गका लाइसेन्स लिन पाइन्छ । कसै भएन भने पनि सबैभन्दा कमजोर वर्ग म वर्ग त कसैको होइन । म मात्रको लाइसेन्स पायो भने पनि उपभोक्ताहरूलाई एकजुट बनाएर, नेताको भन्दा राम्रा-मसिना भाषण छाँट्न सकियो भने त ठेक्कापट्टामा आउने जाने कुरा सबै आफ्नो । आखिर विदेशीले त नेपाललाई प्रयोगशाला बनाए भने नेपालीले नेपाललाई प्रयोगशाला किन नबनाउनु ?

मेरा अति आदरणीय, माननीय, पुजनीय, नमस्कारनीय पाठक महाशय । आज यसले के भन्यो भन्नुहोला ? यो केही नभएर मेरो भाषण गर्ने कला हो । अहिलेसम्म तपाइँहरूलाई पाठक महाशय मात्र भन्ने गरेकोमा आजको भाषणीय शैलीमा यस्तो हुन गएको हो । कुरो के भने नि स्थानीय कार्यकर्ताहरूले स्थानीय सरकारको मन जित्न सकियो भने कार्यकर्ताकै जागिर भित्र क्वालिफिकेसन केही नभए तापनि कम्प्युटर अपरेटर, कम्प्युटर अधिकृत, सिनियर इन्जिनियर, जुनियर इन्जिनियर, सल्लाहकार, फेसन डिजाइनर, सोसल मोभिलाइजर जस्तै-जस्तै नाम भएका पदहरूमा जागिर खान पाइन्छ है । योग्यता नभएका पर्नुभयो भने पनि कोही नआत्तिनु होला । हाम्रो देशमा काम गर्ने भनेको पदले हो, नामले हो, योग्यताले होइन, क्षमताले होइन ।

तपाइँहरूले कार्यकर्ता जागिरको महिमा धेरै बुझिसक्नुभयो । यो भन्दा बढी महिमा अझ यस जागिरभित्र प्रवेश गरेपछि थाहा पाउनुहुन्छ । तपाइँहरूका दाजुभाइहरू मरी-मरी पढेर नाम र काम केही नभएको जागिर खानलाई विदेशतिर हानिनुभएको छ । उनीहरूकै हल्काफुल्का सहयोगले हजुरहरू भने कार्यकर्ताकै जागिर खान तानिनुभएको छ । आफ्नै घरमा बस्यो । नब्बे काटेका बाबा आमालाई धक्कु लगाई लगाई खान पाइन्छ यो जागिर । एकै पटक छप्पड फाड्ने भयो भने त अझ सके उम्मेदवारी पाएर नै माननीय नत्र समानुपातिकको माननीय बन्ने अबसर आइहाल्छ । नखाउँ नखाउँ भन्दा पनि खाउँ खाउँ लागिहाल्छ ।

अब सबै कामकुरो एकातिर कुम्लो पारेर रोजगारीको नयाँ बाटोमा आजै हिँड्न तयार भैहाल्नोस् । आफू आफूलाई पायक पर्ने ठाउँमा, आफ्नो मनले खामेको पार्टी वा नेताको छत्रछायाँमा आजैदेखि कार्यकर्ताको जागिर खान प्रवेश गरिहाल्नु हुन विनम्र अनुरोध गर्दछु । रात रहे अरु धेरै कार्यकर्ता पलाउन सक्छन् त्यसैले दिनमा नै प्रवेश गर्नुहोला । सिट असीमित भए पनि समय सीमित छ । छिटो छिर्नेलाई विशेष कुराहरूको छुट र केही बम्पर पुरस्कारको समेत व्यवस्था गरिएको जानकारी गराइन्छ । कसैले सुनिन, बुझिन भन्न पाइनेछैन ।

स्याङ्जा, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हामी सबै खाओवादी !

हामी सबै खाओवादी !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
ज्युनार गोष्ठी !

ज्युनार गोष्ठी !

गायत्री परिरोशनी
ठूलो हुने सूत्र

ठूलो हुने सूत्र

गायत्री परिरोशनी
राष्ट्रिय पेशा-माग्ने !

राष्ट्रिय पेशा-माग्ने !

गायत्री परिरोशनी
ज्युनार गोष्ठी !

ज्युनार गोष्ठी !

गायत्री परिरोशनी
कुरा काट्नुको मज्जा !

कुरा काट्नुको मज्जा !

गायत्री परिरोशनी
सहकारी खेती

सहकारी खेती

गायत्री परिरोशनी
सिंहदरबार माने बाघदरबार

सिंहदरबार माने बाघदरबार

गायत्री परिरोशनी
स्वाहा !

स्वाहा !

गायत्री परिरोशनी