बागमती प्रदेश सञ्चार कार्यालय लामो

घटाउनै गाह्रो भो !

आफ्नो पेटको मात्रै त त्यत्रो विकास गर्नेले अन्य अझ के के विकास गर्छ होला ? देख्दै मरनच्याँसे मान्छेलाई कसले पो गन्छन् र ?

हैन सबै कुरा घटाउन त निकै फटाफट हुन्छ । सटासट हुन्छ । जोड्न, माथि उकालो उक्लन पो गाह्रो हुने हो । यो शीर्षक नै सरासर गलत हो भन्न पनि पछि नपर्नुहोला । हो तपाइँहरुलाई जस्तै मलाई पनि धेरै कुरा थाहा छ । इज्जत घटाउन पर्‍यो भने एक मिनेट नै काफी हुन्छ । कुनै सार्वजनिक स्थलमा केही नराम्रो व्यवहार गरे भैगो । सम्पत्ति घटाउन छ भने एक साँझ साथीभाइहरु जम्मा गरेर कतै रमाइलो गरे भैगो ।

परिवारका सदस्य घटाउन छ भने वैदेशिक रोजगारमा पठाइदिए भो । देशको जनसंख्या नै घटाउन छ भने पनि विवाह गर्नुभन्दा पहिला नै परिवार नियोजनको स्थायी उपाय अपनाए हुन्छ । नेता र नेत्रीहरुको संख्या घटाउनु पर्दा मुलुकमा एकदलीय निरंकुश शासन चलाए हुन्छ । कलाकार र साहित्यकारहरुको जमात घटाउनु पर्दा उनीहरुको कला र गलालाई वास्ता नगर्ने, कसैले कसैको रचना नछाप्ने, नसुन्ने अनि कार्यक्रमहरुका कसैलाई नबोलाए भो ।

बल्ल-बल्ल अलिअलि हुन लागेको सिङ्गो मुलुकको विकास घटाउन चाहने हो भने अहिलेको अवस्था जस्तै सबै मिलेर केही काम नगर्ने अल्छी जागिरमा पेन्सन पकाएर अलि अलि गर्न खोज्नेहरुको खुट्टा तान्ने र तथानाम गाली गरे भैहाल्छ । जलस्रोतको दोस्रो धनी राष्ट्र भनेर पीर लागेको छ भने पनि केही टेन्सन लिनुछैन । पहिले जस्तै अहिले पनि बाँकी रहेका दुई/चार वटा ठूला नदी छिमेकी मुलुकलाई उपहार दिए भैगो ।

हो साँच्ची निकै कुराहरु घटाउन ज्यादै सजिलो हुन्छ । पढ्ने रहरलाई घटाउन पर्दा अहिले जस्तै पढेकालाई कुनै मान्यता नदिने अनि बेरोजगारीको दर बढाइदिए हुन्छ । महिलाको जनसंख्या घटाउन परे तीन महिनामा नै भ्रुण एक्स.एक्स थाहा भएपछि एबर्सन गरे भो । त्यस्तै पुरुषको संख्या घटाउन पर्दा पनि तीन महिनामा नै भ्रुँण एक्स वाई थाहा हुनासाथ एवर्सन गरे भो । कति सजिलो छ है सबै कुरा घटाउनलाई । केही बेरमा नै आमूल परिवर्तनको लागि अथाह शक्तिलाई हटाउनको लागि ।

म अनुमान लगाउँछु । यसरी एकैछिनमा, एकै दिनमा फटाफट, सजिलै घटाउन र हटाउन मिल्ने कुराहरुको बारेमा म भन्दा निकै गुणा बढी हजुरहरु नै पोख्त हुनुहुन्छ । अब भने मैले यहाँ यस्तो चिज जुन घटाउन भने तपाइँ हामी मात्र होइन, सिङ्गो मुलुक मात्र पनि होइन, सिङ्गो विश्व नै लाग्दा पनि अँ हँ पटक्कै सफल हुन सकेको छैन । निरन्तर प्रयास जारी छ तर ठ्याक्कै सबैलाई मेलखाने सूत्र, औषधी भने फेलापरेको छैन ।

त्यस्तो घटाउन निकै गाह्रो हुने कुरो अरुबाट भन्दा आफ्नै नै गर्दा मनासिब होला । त्यो कुरो म सोर्‍ह वर्षको हुँदा चालीस किलो थियो । त्यही कुरो म बत्तीस वर्षको हुँदा असी किलो पुग्यो । अब मैले सजिलै अनुमान लगाएको छु कि अब म चालीस वर्ष पुग्दा त पक्कै एक क्विन्टल नाघ्नसक्छ । अचम्मको छ क्या यसको बढाइ । न त अंकगणितिय अनुपातमा मिल्छ न त ज्यामितीय अनुपातमा नै ।

मेरो मात्र होइन अनि तपाइँहरुको मात्र पनि हैन । सारा विश्वका मानव जातिहरुको यो कुरै मेरो जस्तै बढेको हुन्छ । कसैको मेरै अनुपातमा बढेको हुन्छ त कसैको केही घटीबढी पनि हुनसक्छ । जब जब मानिसले मेहनत गर्न छोड्छ । अध्ययन, चिन्तन, मनन गर्न छोड्छ । त्यो समयमा घट्ने कुराहरु धेरै हुन्छ । बुद्धि घट्छ । जब बुद्धि नै घट्छ त्यो बेला व्यक्तिको इज्जत, मान सम्मान, प्रतिष्ठा, पूँजी लगायतका धेरै कुराहरु सजिलै निकै छिटो घट्छ । उल्लिखित सबै कुरा एकै पटक खट्दा पनि त्यो मैले भन्न खोजेका घटाउन गाह्रो हुने कुरो भने झ्याप्पै बढ्छ । पचास केजीको भए सत्तरी केजी, अनि सत्तरी केजीको भए एक क्विन्टल, झ्याप्पै बढ्छ क्या । नेप्सेको उकालो भन्दा पनि बढी ठाडो गरी ।

सबैमा यो घटाउन गार्‍हो हुने कुरो बढेको निकै फाइदाजनक हुन्छ । पशुपंछीहरुको तौल बढाउन विभिन्न भिटामिन लगायत अन्य गतिविधि प्रयोग गरिन्छ । किनकि उनीहरुको जति बढि केजी तौल हुन्छ उती नै बढी पैसा पर्छ । त्यस्तै तरकारी, बोटविरुवा लगायतमा पनि यो नियम लागू हुन्छ । जति बढी तौल भयो उति नै बढी महत्व हुन्छ । उती नै बढी आम्दानी हुन्छ । कसले कति केजी बढाउने, कसले कति केजी फलाउने भन्नेबारे प्रतिस्पर्धा नै हुन्छ । आफूले बढाएको, आफूले फलाएको बढी तौल भएको चीजको विज्ञापन गर्न बेला बेलामा प्रदर्शनी नै आयोजना गर्ने गरेका छन् ।

अचम्म त यो कुरो मानिसकै सवालमा देखापर्‍यो । जब थाहा नपाइकन, नचाहँदा नचाहँदै पनि झ्याप्पै बढ्न थाल्छ अनि यसले मानिस भित्रका भएका राम्रा कुरा जति घटाउन र नराम्रा कुरा सबै बढाउन थाल्दछ । उदारहणको लागि मानिस मोटाउन थालेपछि बुद्धि घट्छ, विवेक शुन्य हुन्छ, जाँगर र फुर्ति घट्छ, आयु घट्छ … यस्तै यस्तै धेरै कुराहरु घट्दछ । त्यस्तै बढ्ने कुराहरुमा पेट बढ्छ, रोग बढ्छ, भोक बढ्छ, शोक बढ्छ….आदि आदि धेरै कुरा बढ्छ । यत्तिमात्र कहाँ हो र हजुर दिनदिनै जोइपोईको काममा सरिक हुँदा पनि एक अर्कामाथि भार बढ्छ ।

यो घटाउन गाह्रो हुने कुरो घटाउनको लागि सबैले निकै प्रयास गरिरहेका छन् । स्वदेश, विदेश यत्रतत्र सर्वत्र यही बारेमा अनुसन्धान भैरहेको छ, प्रयोग भैरहेको छ अनि आविष्कार पनि गरेको गर्‍यै छन् । कुनै देशले कपडाको उद्योग नै खोलेका छन् । हामीले सुनिरहेका छौ, हामीले किनिरहेका छौ स्लिम बेल्ट, चिलिम बेल्ट । यसको नाम त स्लिम बेल्ट नै हो तर स्लिम हुन भनेर ऋण खोजेर बल्ल बल्ल बेल्ट किन्यो तर के को स्लिम हुनु नि त्यसैले चिलिम बेल्ट भन्दिएको ।

कुनै देशले विभिन्न औषधीहरु बनाइरहेका छन् । मानिसहरु खाना खाने पैसा भन्दा बढी त्यही मासु घटाउन भनेर उत्पादन भएका कुराहरु किन्नमा खर्च गरिरहेका छन् । मलाई नै सोध्नुभयो भने पनि बाबुको जेथाको एउटा घर थियो बजारमा । मापदण्ड अनुसारको उचाइ र मोटाइ मिलाउने चाहनामा उत्पादन भएका जति सबै चिजको प्रयोग गर्दा गर्दै त्यो घर बेचेर सकियो ।

मेरो मात्र होइन हजुर मेरी उनीले त झन् हामीले सुनिरहेका सिक्स प्याक मात्र होइन, हन्ड्रेड भन्दा बढी प्याक किनिसकिन् । स्लिम र ब्यूटिफुल हुने भन्दा अन्य तिनको कुनै धन्दा नै छैन । एकाबिहानै देखि साँझसम्म जम्मा पचासवटा त स्लिम बेल्टको प्रयोग गर्छिन । दाइजो ल्याएको र मसँग कमिसन खाएको करिब पचास लाख भन्दा बढीको ब्याङ्क ब्यालेन्स थियो शुरुमा । अहिले त पचार हजारमा झर्‍यो बूढो भन्दै थिइन् आज बिहानै ।

तपाइँहरु आफै भन्नुहोस् न । हामीहरुले के नै पो गर्न बाँकी छ र यो शरीरमा लाएको मासु घटाउनलाई । विहानै उठेर आँखा मिच्दै मनिङ वाक पनि गएकै छौँ । दाल, भात खाँदा बोसो लाग्छ भनेर सकिनसकी मिठा मिठा कुराहरु थोरै थोरै खाएकै छौँ । नामै नजानिने के के खानामा हो कुन्नि पनि धाएकै छौँ । कुटेर बनाएका भस्म जटिबुटिदेखि लिएर राम्रा सुगन्धीत लोसनसमेत घसेकै छौँ । जानेका, भनेका र सुनेका सबै औषधी, विधि र पद्दतिको प्रयोग गर्दा गर्दा अरु सबै कुरा घटिसक्यो तर यो मासु भन्ने कुरो झन् बढेको बढ्यै छ ।

जति धेरै मासु बढ्यो उति धेरै सुख पाइने रहेछ । बुढापाकाले भन्ने गर्थे ‘बूढेशकालमा त आफ्नै आगन परदेश लाग्छ’ बाबै । के को बूढेसकाल कुर्नु नि आफूलाई त युवेसकालमा नै परदेश लाग्न थालिसक्यो । घरमा पनि गार्‍हो, बाहिर हिड्दा झन् गार्‍हो । आफ्नो त जोईपोईले नै क्विनटल हान्न थालिसकियो । घरमा डबल बेडको एउटा पलङ मात्र छ । महिलालाई पहिलो प्राथमिकतामा राख्दा उनी नै सुत्छिन् । आफूलाई त उल्टोपाल्टो फेरि फेरि सुत्नुपर्छ त्यसैले बैठक रुमको भुँई नै काफी छ । बाहिर बजारमा डुल्न मनलाग्छ । आफ्नो गाडी छैन । भाडाको गाडीमा म मात्र सिङ्गल हिड्दा पनि सधँै भाडा डबल माग्छ । तजाततै फाइदा नै फाइदा हुन्छ बाबै मोटो मान्छेलाई । नेता, कर्मचारी, व्यापारी लगायत नगरिखाने मान्छेलाई पनि मोटो भएपछि निकै गतिलो छ भन्ने गर्छन् । यो मान्छे निकै ठूलो मान्छे हो भन्दछन् । सानो मान्छे भएको भए कसरी तेत्रो पेट बनाउन सक्थ्यो । आफ्नो पेटको मात्रै त त्यत्रो विकास गर्नेले अन्य अझ के के विकास गर्छ होला ? देख्दै मरनच्याँसे मान्छेलाई कसले पो गन्छन् र ?

शरीर नै मोटोघाटो भएपछि परिवारमा पनि सबैले माया गर्दा रहेछन् । छोराबुहारी, छोरीज्वाइँले मिठो मिठो भोजन खाइरहन्छन् तर हामीलाई भने सोध्दै सौध्दैनन् । आफैले भोक लाग्यो भन्दा पनि धेरै नखाइस्यो यो भन्दा मोटो हुनु झन् नराम्रो हुन्छ भन्छन् । सधँैभरि एक अर्कामा माया गर्ने जोईपोईमा पनि दुवैमा यो मासु बढी भयो भने त झन् माया ह्वात्तै बढ्दोरहेछ । उमेरकै हुँदा, संयोगले सँगै बस्दा दिन दिनै नसकिए तापनि दुई दिन बिराएर रातीमा जोईपोइको खेल खेलिन्थ्यो । आजभोलि त जोईलाई पोइको पेट ठूलो लागेर म माथि भन्छिन् त्यस्तै पोइले पनि मेरो भन्दा तिम्रो पेट नै ठूलो छ म नै माथि भनेर मायाको मिलन उमेरमै छोडिएला जस्तो छ । भएन त फसाद, यस्ता कुरा लिएर अदालत जानु राम्रो भएन ।

हजुरहरु जति सुकै आधुनिक भए पनि आफ्नो मासु सजिलै घटाउँछु भनेर फुर्ति नछाड्नुभए हुन्छ । उहिलेको पालादेखि अहिलेको पालासम्म त यसको उपचार हुन सकेको छैन भने अहिलेको आधुनिकले केही लखरपाटो लाउँदैन । नपत्याए आफ्नै छोराछोरीको तुलना गर्नुभए हुन्छ । हाम्रा भाइबैनीहरु धूलो र ढुङ्गेमाटो खेल्दा लुरा-मसिना थिए । देख्दै माखा टिपेर खालान् जस्ता । अहिलेका हाम्रा इमेल र इन्टरनेटका आधुनिक खेल खेल्दा त बार्‍ह वर्षमै पचास केजीका हुन थालेका छन् । खै कुन्नि आजभोलिका खानेकुराहरुमा त्यस्तो मलिलो कुरा के के हालेका छन् ? लौ त हजुर ‘रात रहे अग्राख पलाउँछ’ भन्छन् । समय क्रममा त्यस्ता मासु घटाउने कुराहरु आउलान् । तपाइँहरुले थाहा पाउनासाथ मलाई तुरुन्त खबर गर्नुहोला ।

स्याङ्जा, हाल काठमाडौं

बागमती प्रदेश सञ्चार कार्यालय लामो
धन्न चुनाव हारियो !

धन्न चुनाव हारियो !

गायत्री परिरोशनी
नेपाल खरानी दलको घोषणा पत्र

नेपाल खरानी दलको घोषणा...

गायत्री परिरोशनी
कार्यकर्ता जागिर

कार्यकर्ता जागिर

गायत्री परिरोशनी
महान चाड चुनाव

महान चाड चुनाव

गायत्री परिरोशनी
छानबिन आयोग

छानबिन आयोग

गायत्री परिरोशनी
ज्याकको नालीबेली

ज्याकको नालीबेली

गायत्री परिरोशनी
धन्न चुनाव हारियो !

धन्न चुनाव हारियो !

गायत्री परिरोशनी
कार्यकर्ता जागिर

कार्यकर्ता जागिर

गायत्री परिरोशनी
महान चाड चुनाव

महान चाड चुनाव

गायत्री परिरोशनी
छानबिन आयोग

छानबिन आयोग

गायत्री परिरोशनी
ज्याकको नालीबेली

ज्याकको नालीबेली

गायत्री परिरोशनी
कमाइ खाने धन्दा

कमाइ खाने धन्दा

गायत्री परिरोशनी