
सहकारी खेती
सबैको सहकारी खेती रह्यो भने अझ के-के पलाउने हो ? चिन्ता नलिनोस् जे-जे पलाए पनि भारतसँगको खुला सिमाना, स्वीस बैंक सम्मको हाम्रो पहुँच भएपछि निकै अप्ठ्यारो पर्यो भने विश्व भ्रमणमा निक्लौँला कसो ?

गायत्री परिराेशनी :
वर्तमान नेपालको जल्दोबल्दो, फल्दोफुल्दो उन्नत प्रकृतिको खेती । यसको परिभाषा नयाँ छ, विशेषता नयाँ छ , गुण नयाँ छ । त्यसैले त सबैले अन्य खेती छोडेर यही खेती गर्न हानिएका छन् । सबै व्यवसाय छोडेर यही खेती गर्न तानिएका छन् । अन्य खेतीलाई जस्तो जग्गा, जमिन, मेशिनरी औजारहरूको आवश्यकता नै पर्दैन यसलाई । न त कुलो, सिँचाई, रासायनिक मल । जुनसुकै मौसममा हलक्कै मल्किन्छ । जस-जसले तन, मन र धन दिन्छ उतै-उतै सल्किन्छ । अन्य खेती र सहकारी खेतीमा मात्र एउटा कुराको फरक छ । त्यो भनेको के हो भने अन्य खेतीमा त्यो फलेर, त्यसलाई बिक्री-वितरण गरेपछि मात्र पैसा प्राप्त हुन्छ । हाम्रो सहकारी खेतीमा त्यस्तो झन्झट केही गर्नुपर्दैन । खेती सुुरु गर्नासाथ झ्याप्पै पैसा फलिहाल्छ । सहकारी खेतीको उन्नत नारा “टोल-टोलमा सहकारी- लुट्न सक्नेको घरमा पैसाको भकारी” निकै लोकप्रिय बनेको छ ।
कुनै पनि खेती गर्नु अगाडि यसका विशेषताहरू बारेमा जानकारी हासिल गर्नु उत्तम हुन्छ । तपाइँ-हामी पनि यसका विशेषताहरूका बारेमा जानकारी गरिराखौँ । यो आफैँमा अत्याधुनिक विशेषताले छताछुल्ल छ । यसको बीऊ-पूँजी संकलन सबै मिलेर गर्नुपर्दछ । अन्य खेती गर्नलाई कुनै विनियमको त्यति आवश्यकता पर्दैन तर सहकारी खेती गर्न निकै दामी र नामी विनियम चाहिन्छ । अब यहाँ विनियम भित्रका खाटी कुरालाई नढाँटी पस्कदैछु । यसका न्यूनतम मापदण्डलाई जानिराखौँ ।
१.सहकारी सबै मिलेर गरिने खेती हो । लगानी सबैको परे तापनि प्रतिफल धेरैलाई नआउने मात्र होइन, लगानी नै डुब्न सक्छ, यसैमा चित्त बुझाउनू ।
२.मौकामा चौका हान्न जान्नेहरूले सबै पैसा बोकेर टाप कस्न पाइन्छ । यसको लागि पूर्वतयारी गरेर मात्र यस खेती गर्नु लाभदायक हुन्छ ।
३.अरुलाई देखाउनको लागि, सबैको विश्वास जित्नको लागि हरेक पसलबाट, घरबाट, व्यक्तिबाट दैनिक बचत योजना सञ्चालन गर्नुपर्दछ ।
४.सहकारी खेतीबाट उत्पादन हुने पैसालाई संस्थाका दुई/चार जना ठूला व्यक्तिको हितमा प्रयोग गर्ने सुविधा सधैँका लागि उपलब्ध हुनेछ ।
५. अप्रत्यासित धनको उत्पादनलाई कसरी भरपूर सदुपयोग गर्ने भन्ने बारेमा बेलैमा सोच्नु सावधानी हुनेछ ।
६.कालो धनलाई सेतो मात्र होइन, पहँेलो बनाउन पनि सजिलै पाइन्छ । यसको लागि घरमा हुने वैध श्रीमान् वा श्रीमती कालो/काली, गोरो/गोरी जस्तो भए पनि हुन्छ तर सहकारी खेतीको पैसा पचाउने अवैध श्रीमान्/श्रीमती चाहिँ गोरो/गोरी नै राख्नुपर्नेछ ।
७. सहकारी खेतीमा रोजगारी सिर्जना गर्दा भरसक, कमजोर आर्थिक अवस्था भएकालाई भन्दा धनी घरकै, एउटै परिवारका मिलेसम्म उही संस्थाका अध्यक्ष लगायत अन्य ठूलाबडाका छोराछोरी, सालासाली, भाइ/भतिजालाई राख्न पाइन्छ ।
८.अलिअलि ऋण स्वरुप पैसा बाँड्दा हजुरबाबाको पालादेखि चल्दै आएको “ठेकी ” (आफूलाई पाँच/दस प्रतिशत राखिहाल्ने) प्रचलनलाई संरक्षण गर्नपाइन्छ । यसका ब्याजलााई पुँजीकृत गर्न नपाइने भए पनि हर्जनाको नाममा साँवाभन्दा धेरै रकम जोडेर धितो राखिएका अमूल्य जमिन कौडीको भाउमा हडप्न पाइन्छ ।
९. प्रतिस्पर्धी क्षमतामा व्यापक बृद्धि गर्नलाई सहकारी अफिसको लेआउट निकै आधुनिक राख्नुपर्छ । हाम्रा नाङ्गा आँखाले सबै छर्लङ्ग देखिने गरी तर नचाहिने सी.सी. केमरा भने नराखेको नै जाती हुन्छ । सी.सी. केमरा नराखेपछि कहिलेकाहीँ आवश्यकता परेको बेलामा सि.सि. केमरा काट्ने मुसाहरूलाई पनि कारवाही गर्ने झन्झट हुँदैन । यस्ता कुराहरू सबैले बेलैमा जानेको राम्रो ।
१०. जुनसुकै खेतीमा जमाना प्रर्तिस्पर्धाको छ । त्यसैले यस खेतीमा पनि सोलाई पूणर् प्रयोग गर्नको लागि अन्य सहकारीहरू ठग हुन्, चोर हुन्, लुटेरा हुन् । हामी मात्र गतिला छौँ भन्नुपर्छ ।
यसको विनियमकोे बारेमा काम चलाउ ज्ञान हासिल गरिसकेपछि अब हामी यसका विशेषता तिर रमाउन थालौँ । यसको प्रमुख विशेषता भनेको आफूले एक सयका दरले जम्मा गरेको रकमको निक्षेप हजारमा भए लाखमा , लाखमा भए करोडमा, करोडमा भए अरबमा पछि यसो मेसो मिलाएर झ्वाम्म लुट्न पाइन्छ । यहीँ बसेर सजिलै अरबमा पैसा कमाएपछि किन जानु अरब ? किन जानु वैदेशिक रोजगारमा ? सरकारले पनि आफूलाई केही गरेन भन्छ कि भनेर यसो दुई/चार दिन सोधपुछको लागि मामाको घरमा लैजान्छ । तैपनि आत्तिनु पर्दैन । यही खेतीबाट उत्पादन भएको दुई/चार करोड रुपैयाँ खुसुक्क दिएपछि सुटुक्क छुट्न पाइन्छ । यत्ति मात्र होइन हजुर आफू छुटेपछि त आफूले पैसा लिएको सुराकी दिनेलाई मरुन्जेल पिट्न पाइन्छ ।
सहकारीका विभिन्न किसिमहरू र नामहरू भए तापनि सबैको काम भनेको सेम माने उस्तै हो । कृषि सहकारी भने पनि फल्ने भनेको पैसा नै हो । अनार, जुनार, माछा, पशु, दुग्ध, बचत तथा ऋण लगायत जतिथरि जे-जे नाम भए तापनि काम भनेको केही फरक छैन । बहुउद्वेश्यीय भनेको फरक हो भन्नुहोला । अँ हँ पटक्कै होइन । त्यहाँ आफूले ठगेको पैसालाई धेरै ठाउँमा प्रयोग गर्नुपर्छ भन्ने अर्थ हो यसको । जति धेरै सेवामूलक भन्छन् त्यति धेरै नाफामूलक हुन्छन् भनेर बुझ्दा राम्रो हुन्छ । अनि नि सहकारीका सेयर सदस्य यति जना भने पनि त्यो संख्या भनेको लगानी गर्नेहरूको हो । जति धेरै भए पनि त्यसमा आत्तिनुपर्ने केही छैन । त्यसको साम र ब्याज झरप्प खान पाउने भनेको त दुई/चार जनाले नै हो । लगानी गर्न भन्दा पहिला नै हिम्मत जुटाएर आउनुहोस् । दुई/चार जनाभित्र पर्न सक्नुपर्छ ।
यस खेतीको अर्को प्रमुख विशेषता भनेको यसमा प्रवेश गर्दा आफ्नो मन र मुटुलाई बाहिर नै राखेर पस्नुपर्छ । यस्तो कठोर बन्नुपर्छ कि यदि तपाइँले आफ्नो घर बेचेर लगानी गर्नुभएको छ भने पनि त्यसबाट नाफा त परकै कुरा भयो, लगानीसमेत डुब्न सक्छ । तपाइँ जस्तै हजारौँको लगानी डुबेर एक दुई जनाले भएभरको पैसा बोकेर हिड्दा पनि तपाइँ हामीले सहकारीको जयजयकार गर्दै ताली पिट्न सक्नुपर्छ । यी त भए लगानी गर्नेका कुरा । त्यस्तै फाइदा लुट्नेको मन पनि ढुङ्गाकै जस्तो बनाउनुपर्छ । आफूले लुटेको पैसो कहाँ कसरी राख्ने भन्ने टेन्सनको चटारो भएको बेला लगानी डुबेर आत्महत्याको खबर सुन्दा स्याबास्-स्याबास् भन्न सक्नुपर्छ । आफू यमराज भएर अरुको मृत्यु किन्न सक्नुलाई धन्यवाद दिनुपर्दछ ।
सहकारीका ठूलाबडा प्यारा सज्जनवृन्द । सहकारीले देशको जी.डी.पी. मा के योगदान गर्यो भनेर केही चिन्ता नलिनुस् । आफ्नो घरबार विचल्ली भएर बेवारिसे हुनेहरूलाई पनि बेवास्ता गर्नुहोस् । चिन्ता त यो मानेमा लिनुस् कि सहकारीको आम्दानीले आफू र आफ्ना सात पुस्ताको एक डेढ सय वर्ष पछाडिसम्मको जी.डी.पि.मा गरिबी निवारण गर्न सक्यो कि सकेन, हिसाब निकाल्नुस् । यदि नतिजा नकारात्मक आयो भने पुनः सहकारीको खेती शुरु गरिहाल्नुहोस् । यसो गर्नाले तपाइँको पुस्तौँ पुस्ता पछाडिसम्मको गरिबी निवारण भै आर्थिक विकासमा टेवा पुग्नेछ ।
अहिले जस्तो एकतीस हजार मात्र होइन धेरै खोल्नुपर्छ सहकारी । यस खेतीको उत्पादन पैसा भन्ने कुरो घरकै भकारीमा राखेपछि अनुगमनका बाउ अड्डाहरूसँग पनि डराउनु पर्दैन । समस्याग्रस्त भनोस् कि फाइदाग्रस्त केही मानेमा हराउनु पर्दैन । महादेवको त्रिनेत्र अगाडि राखेपछि भगवान्का त आँखा लाग्छ भने सरकारको किन नलाग्नु ? बरु बेलैमा होस् गर्नोस है , जे-जसरी हुन्छ आफ्नो भकारी भर्नु नै सबैभन्दा उत्तम हुन्छ । हिजो मात्रै त हो नि आजभोलिका बजारका पण्डित बाजेले समेत सहकारीको नाम साहूकारी, खाऊकारी, माऊकारी, जाऊकारी, कमाऊकारी राख्दा कसो होला भन्नुभएको थियो । मलाई पनि हो जस्तो पो लाग्यो त । जमाना आधुनिक भएर त होला, नीति नियम आधुनिक, काम आधुनिक, दाम आधुनिक, माम आधुनिक ….सबै कुरा आधुनिक भएपछि सहकारीलाई किन पुरानो नामले पुकार्ने ?
हामी बेरोजगारहरूको रहरले यो मुलुकको उन्नति, प्रगति भनेको सहकारीमा मात्र गर्नुपर्दछ भन्ने ठहर गरेको छ । देशमा दिनमा दुई गुणा र रातमा चौगुणा विकास गर्नको लागि सहकारीको उचित व्यवस्थापन गर्न जरुरी छ । यसको लागि भएका सबै सहकारीहरूलाई उनीहरूले जे जस्तो गरे तापनि सम्मान गर्ने परिपाटीको शुरुवात गरौँ । शुरुवात गर्नु नै आधा उपलब्धी हो भन्छन् त्यसमा पनि सहकारीको शुरुवात गरे पछि त पूरा उपलब्धीमा नै राख्न पनि त पाइएला । अन्य खेतीको उत्पादनलाई निर्यात गर्न निकै गार्हो छ । सहकारीको उत्पादनलाई भने सजिलो छ ।सहकारीको बेमौसमी उत्पादन पनि निकै दु्रत गतिमा हुने गरेको छ । त्यसैले यसको उत्पादनलाई केही मात्रामा जग्गामा प्रयोग गरेर नामी “जग्गा कारोबारी” बन्नुहोस् । लोकप्रिय दले बन्नु चानेचुने उपलब्धी होइन, ठूलै उपलब्धी हो । धेरै पैसा खाँदा- खाँदा अपच भएर पचाउनको लागि कहिलेकाहीँ पन्ध्र/बीस दिनको एक/दुई मुठी सुगरको औषधी खानुलाई त्यति नराम्रो मान्नुपर्दैन ।
आफूलाई फाइदा आउँछ भने कोरीको पनि पाऊ मोल्नु भन्छन् । आफूले खरबमा उत्पादन गरेको सहकारी छ भने यसो एक – दुई वर्षको जेल बसाइलाई राम्रै मान्नुहोस् । त्यहाँ बस्ता पनि काम नगरीकन मिठो-मिठो खाना, मान सम्मानका साथ खान पाइन्छ । अनि आफूसँग भएको अलिकति दुई चार करोड बुझाएपछि पूmलमाला लाएर बाहिर जानपाइन्छ । यति गर्दा समेत कालो पैसो सेतो बनाउन अझै बाँकी छ भने आफ्ना भएभरका बैध श्रीमान्/श्रीमतीलाई मात्र होइन, अबैध श्रीमान्/श्रीमतीलाई समेत डिभोर्स गर्ने योजना बनाउनुहोस् । त्यसपछि त सेतो पैसोले नपुगेर पुनः कालो पैसो उत्पादन गर्न पुनः सहकारी खेती गर्न थाल्नुपर्दछ । “रात रहे त अग्राख पलाउँछ” भन्छन्, सबैको सहकारी खेती रह्यो भने अझ के-के पलाउने हो ? चिन्ता नलिनोस् जे-जे पलाए पनि भारतसँगको खुला सिमाना, स्वीस बैंक सम्मको हाम्रो पहुँच भएपछि निकै अप्ठ्यारो पर्यो भने विश्व भ्रमणमा निक्लौँला कसो ?
जुनसुकै उमेर समूहकालाई मनपर्छ सहकारी खेती । जन्मदेखि-मृत्युसम्म सबैलाई चाहिने महत्वपूणर् वस्तु भनेको यसकै उत्पादन त हो नि । आजभोलि त यसको उत्पादनको निकै जरा पलाएको छ । यसको मूल जरो कता जान्छ कसैले फेला पार्न सक्दैन । मूल जरो खोज्दाखोज्दै अन्य सहायक जराहरू समेत मूल जरा भन्दा बलिया बनिसक्छन् । फलिया बनिसक्छन् । जस-जसका, जे-जे पावर लागे पनि डेग चल्दैनन् । यस्तो बलियो कसैले चलाउन नसक्ने सहकारी खेती छोडेर हामीले किन अरु खेती गर्ने ? आउनुहोस् मौकामा चौका हान्नुपर्छ भन्छन् । हामी सबैले अब उन्नत तरिकाले सहकारी खेतीलाई समृद्ध बनाऔँ ।
०००
स्याङ्जा