निर्वाचन प्रचार सामाग्री

यो हप्ताको फित्कौली वार्ता हास्यव्यङ्ग्यकार कृष्ण प्रधानसँग

लेखेर जति पठाए पनि मेरा व्यङ्ग्यरचना नछापिदिएको झोंकमा मैले आफैं हास्यव्ययङ्ग्य पत्रिका ‘कानेखुसी’ निकालेर डङ्का पिट्न थालेको हुँ । अन्य सम्पादकले नछापिदिएका व्यङ्ग्य आफ्नै पत्रिकामा भटाभट छाप्न थालेँ । - कृष्ण प्रधान

सिलिगुडी, भारत निवासी कृष्ण प्रधान भारतीय नेपाली हास्यव्यङ्ग्यका अत्यन्त सक्रिय स्रष्टा हुनुहुन्छ । फुच्चे उमेरमै १९७५ मा ‘कानेखुसी’ हास्यव्यङ्ग्य पत्रिका प्रकाशन गरी यसको फुच्चे सम्पादकमा आफ्नो नाम दर्ज गर्ने प्रधानले यसका २७ अङ्कसम्म निकालेर विश्राम लिनु भयो । रोजगारमा भौतारिदैँ केही वर्ष शिक्षण कार्यमासमेत संलग्न उहाँले कानेखुसीको पुनरप्रकाशन आरम्भ गर्नु भएको छ । समीक्षा, समालोचना, नाटक र कथा लेखनमा समेत सरिक प्रधानका दर्जनौँ कृति प्रकाशित छन् । हास्यव्यङ्ग्य लेखन प्रधानको पर्याय बनेको छ । नेपाल, भारत, अमेरिका लगायतका विभिन्न ठाउँबाट पोष्ट हुने वा प्रकाशित हुने विभिन्न पत्रपत्रिकामा दिनहुँ जसो उहाँका हास्यव्यङ्ग्य सिर्जना पढ्न पाइन्छ । फित्कौली डटकममा त उहाँका हास्यव्यङ्ग्य सिर्जना नियमित प्रकाशित भैआएका छन् ।

बाल्य उमेरदेखि नै हास्यलेखन, प्रकाशन र अभिनय शिल्पी समेत रहनुभएका कृष्ण प्रधान हास्यव्यङ्ग्य पत्रिका कानेखुसीका सम्पादक, प्रकाशक र सक्रिय हास्यव्यङ्ग्य लेखक हुनुहुन्छ । हास्यव्यङ्ग्यलाई औषधिको क्याप्सुल भन्न रूचाउने प्रधानसँग फित्कौलीले उहाँको हास्यव्यङ्ग्य लेखनयात्रासँग सम्बन्धित भएर वार्ता गरेको छ । यो हप्ता प्रस्तुत छ- कृष्ण प्रधानसँगको फित्कौली वार्ता :

दिनचर्या कसरी बित्दै छ नि ?
०० कुकुरको काम पनि छैन फुर्सद पनि छैन भन्याजस्तो दिनचर्या मिठाइलो पाराले नै बित्दैछ । न काम छ, न फुर्सद नै । पहिले मामको खोजीमा भुस्याहाझैं भौंतारिहिँड़्थे, अहिले त्यो खोज्न पर्‍या छैन । उबेला लुटी ल्यायो भुटी खायो भन्ने माखेसाङ्लोमा जकड़िएको थिएँ । अहिले नाम, दाम मनग्गे पाएकोले यो ज्यान टेसिलो पाराले बितिरहेछ ।

कृष्ण प्रधानको विचारमा हास्यव्यङ्ग्य के हो ?
०० हास्यव्य़ङ्ग्य भनेको क्यापसुल हो । क्यापसुलको बाहिर कोटिङ गरेको खोल हास्य हो भने व्यङ्ग्य चाहिँ क्यापसुलभित्रको धूलो खास औषधि । बिरामी निको पार्नलाई क्यापसुल सेवन गरिन्छ । क्यापसुलको कोटिङभित्र पसेर घोलिएपछि त्यसभित्रबाट निस्किने धूलो औषधिले बिसेक पारेजस्तै हास्यले बाहिर हँसाउँछ मात्रै तर व्यङ्ग्यले पछिबाट गतिलो पाराले चिमोट्छ ।

हास्यव्यङ्ग्य लेखनमा तपाइँ कसरी प्रवेश गर्नु भयो ?
०० म स्कूलको विद्यार्थी छँदा स्कूलमा हुने प्रत्येक कार्यक्रममा मैले हास्य नाटक लेखेर सरलाई देखाउनु पर्ने अनि मञ्चन गरिने । नेपाली साहित्यका प्रखर साहित्यकार रामलाल अधिकारी स्वयम् पनि हास्यव्यङ्ग्य लेख्थे । उनैको लाखेस आदेशमा मैले स्कूलमा हास्य नाटक लेख्नुपर्ने हुनाले भनौं स्कूलबाटै मैले हास्यव्यङ्ग्य लेख्न थालेको हुँ । पछि लेख्दा लेख्दा थेत्तर हुँदै गएँ, आज आएर फित्कौलीको नियमित हास्यव्यङ्ग्य लेख्ने लेखनदास पो भएको छु ।

तपाइँको पहिलो हास्यव्यङ्य सिर्जना कुन हो, केमा कहिले छापिएको ?
०० यो सन् १९७४ (२०२१ साल)। यसैसमयमा प्रथम मैद्वारा सम्पादित ‘कानेखुसी’ मा मेरो पहिलो व्यङ्ग्य ‘ओभर इज गेबर’ प्रकाशित भयो । त्यसपछि माधव बूढ़ाथोकीको सम्पादनमा गोपालधारा चिया कमानबाट प्रकाशित ‘बिरुवा’- मा ‘स्टेज म प्रथम पल्ट’ व्यङ्ग्य निबन्ध छापिएको छ । यसैले ‘कानेखुसी’मै पहिले छापिएको हो ।

तपाइँ पहिले हास्यव्यङ्ग्य सम्पादक कि हास्यव्यङ्ग्य लेखक ?
०० म पहिले सम्पादक नि । पहिल्यै ठूला मान्छे । सम्पादक नभए ता नाथे झुसेमुसे लेखकलाई अन्य सम्पादकले कहाँ पत्याउँदा रहेछन् ता अनि । सम्पादक नहुञ्जेल कति कति रचना प्रकाशनार्थ पठाइयो… छापिदिए ता के… सम्पादक भएपछि ता कति छापिन थाले कति । भनुँ भने लेखेर जति पठाए पनि मेरा व्यङ्ग्यरचना नछापिदिएको झोंकमा मैले आफैं हास्यव्ययङ्ग्य पत्रिका ‘कानेखुसी’ निकालेर डङ्का पिट्न थालेको हुँ ।

केटौले उमेरमै ‘कानेखुसी’ निकालेर हास्यव्यङ्ग्यमा तहल्का पिट्ने मुड चाहिँ कसरी आयो ?
०० नवौं श्रेणी पढ़्दादेखि नै हास्यव्यङग्य लेख्न थालेँ । उबेला यता दार्जिलिङ जिल्लाबाट झरीका च्याउजस्तै हास्यव्यङ्ग्य पत्रिका छापिन्थे । ती पत्रिका सबै किन्थेँ….पढ़्थेँ । तुरुन्नै हास्य सामग्री पठाउँथे । तर उबेला कुनै पत्रिकाका सम्पादक महोदयले मेरो हास्यव्यङ्ग्य सामग्री छापेनन्, छापिदिएनन् । अब मलाई सम्पादक बन्ने झोंंक चल्यो । नभन्दै सन् १९७४ देखि ‘कानेखुसी’ हास्यव्यङ्ग्य पत्रिका निकाली सम्पादक भएँ । अन्य सम्पादकले नछापिदिएका व्यङ्ग्य आफ्नै पत्रिकामा भटाभट छाप्न थालेँ । यतिबेलासम्म छोटो अवधिमै ‘कानेखुसी’ले बजार पिटिसकेको थियो । यो सम्पादकलाई पनि सबैले चिन्न थालेका थिए । सम्पादक भएपछि ता पछि फर्केर हेर्नु परेन । भटाभट दार्जिलिङ जिल्लाबाट प्रकाशित हुने हास्य पत्रिकामा मेरा व्यङ्ग्यहरू छापिदिन थाले । बस, यसरी नै ‘कानेखुसी’ निकाल्ने मुड आएको हो भन्छु म ता ।

‘कानेखुसी’ प्रकाशन आरम्भ ताकाका केही अविस्मरणीय घटनाको स्मरण गर्नुस् न ?
०० उबेला बेरोजगार । जोशले कानेखुसी ता निकालियो । बिक्री त्यति नहुने । पठाइएका पत्रिकाको पैसा ऩउठ्ने । प्रेसमा बाँकी हुन्थ्यो । समयमा पैसा नतिर्दा प्रेसको मालिकबाट जोगिएर हिँड़्नुपर्ने अवस्था । एकपल्ट लुकी लुकी हिँड़्दा पनि बाटामा अचानक एकजना भुँड़े कैयाँले पछिल्तिरबाट मेरो घुच्चुकमा समात्यो । पछि फर्केर हेरेँ । आमामा… काले स्वाँठ प्रेसको मालिक रहेछ । कानेखुसीको पैसा निकै दिनसम्म नतिरेकोमा उनले बाँकी असुल्न मलाई पछिल्तिरबाट दाउ छोपेर घुच्चुक समातेर पैसा असुल्ने दाउमा त्यसो गरेका रहेछन् । पछि फर्केर हेर्दा काले भुँड़े कैयाँ देख्ने बित्तिक्कै बेहोश भएको बहना गरी भुइँमा ढलेर आँखा तन्काउँदै थरथरी काम्न थालेँ । मान्छेको भीड़ लाग्यो । कोही त मलाई हम्किन पनि थाले । म अविराम आँखा तन्काउँदै कामिरहेको छु । कसैले पानीले छम्के…कसैले भीड नलगाउनुहोस् …हावा आउनु दिनुहोस् भनेको सुन्दैछु । पब्लिकको म प्रतिको दया देखेर काठमाडौंको भूइँचालोको रेक्टर स्केलभन्दा पनि डबल-ट्रिपल रेक्टर स्केलमा काम्नु थालेँ ।

त्यहाँ भीड़बाट एकजनाले भन्दैछन्- इस आदमी नै ये लड़्काका कलर पकड़ा…। सबै भुँड़े कैयाँमाथि खनिए । झपार्नुसम्म झपारे । कसैले भने- इस लड़का को पहचानता है ? ये सिपाहीजीका बेटा है । (उबेला प्रहरी भनेपछि सबै थुरथुर हुन्थे ।) कसैले भने, इस बच्चेका पिताका खबर दो । त्यो कैयाँले हाथ जोड़्दै भनेको आजसम्म पनि याद छ । नही सिपाहीजीको मत बुलाइये । इस लड़काका जो खरच लगेगा मै दूँगा । भीड़बाट एकजना बङ्गाली गर्जे, तुमी एर गाये हात केनो दिएछो ? ए छेलेर किछु होइगेले तोमार कि होबे जानो ? (तिमीले यो ठिटोको जीउमा किन हात लगायौ ? यिनलाई केही भयो भने तिम्रो गति के हुन्छ जान्दछौ ?) । अर्का बोले- के होबे…एटा सोझा एटेम्ट टु मर्डर । पुलिस डाको पुलिस डाको । (के हुन्छ र ? एटेम्ट टु मर्डर । पहरी बोलाऊ… प्रहरी बोलाऊ) । थाना-प्रहरी भनेपछि कैयाँहरू थुरथुर हुन्थे उबेला । सबैबाट गोहार र स्नेह पाएको सुनेर मेरो एक्टिङमा झन् ज्यान आयो… । एकजना कैयाँनी आइमाई मान्छे गर्जिन- भाया… क्यो ताकिरियो है । इस लड़के को उठाकर प्रेसमें लेजाइयो । और क्या करना है किजिये । अरुहरू पनि कराए, इस बच्चेको हस्पिटल लेजाओ ।

भुँड़े कैयाँले मलाई सकी नसकी बोकेर प्रेस पुर्‍याए । लाग्यो बनझाँक्रीले मलाई बोकिरहेछ । प्रेसमा पुर्‍याएर लामो बेञ्चीमा ढल्काए । मेरो कम्पन जारी मात्र आँखा पल्टने शैली जारी छ । भीड़ अझ थुप्रियो । त्यहाँ मलाई हम्किनेहरूको कम्ति थिएन । कोही गाला मुसारिदिन्थे ।

प्रेसको म्यानेजरले एक गिलास तातो दूध र एउटा ठूलो बनरोटी ल्याएर ढल्काइ ढल्काइ खुवाउन थाले । म परेँ दोधारमा । अब काम्नु र आँखा पल्टाउनु छोड़ुँ भने यो कैयाँले पैसा माग्छ कि भन्ने डर, नकामुँ र आँखा नपल्टाउँ भने बाँच्न नसकिने डर… खैराते पाराले काम्दा काम्दा र आँखा पल्टाउँदा पल्टाउँदा हत्तु भैसकेको थिएँ । बिस्तारो होस आको जस्तो गरेँ । कैयाँले लामो श्वास फेरेर मेरो निधार गाला मुसार्नु थाले र भने- अभी कैसै हो बेटा ? बोलिनँ म…। देखो ऐसा करो तुम्हारा कानेखुसीका जितना पैसा बाँकी है न…वो छोड़्दो ।

आफैलाई धन्य ठानेँ । मनमनै भनेँ, वाह मेरो एक्टिङ । त्यो कैयाँले त्यस दिनदेखि कानेखुसीको बाँकी माग्न छोड़े । त्यसपछि ता म कैयाँको प्रेसको बाटो धक फुकाएर हिँड़्न थालेको थिएँ । पछिसम्म ती कैयाँले मलाई देखे कि… बेटा अभी ठिक है तो ? भनी सोधिरहन्थे । यसरी चोरको डङ्का ठूलो गरेर पनि उबेला बेरोजगारीको अवस्थामा कानेखुसी निकाली सम्पादक भइटोपलेँ ।

१९७५ बाट निस्कन थालेर २७ अङ्क पुगेपछि रोकिएको ‘कानेखुसी’ फेरि प्रकाशन गर्न के कुराले प्रेरित गर्‍यो नि ?
०० उ बेला भनुम् नै भने, कानेखुसीले बजार पिटेको थियो । भारतमात्र होइन भूटान र नेपालतिर समेत कानेखुसी छप्छप्ती थियो । जोशमा कानेखुसी निकालियो। तर पछि काम, माम र घरजमको होहोरीमा कानेखुसी नियमति गर्न सकिएन। तर आजसम्म कानेखुसीबारे चर्चा भएको र धेरैले कानेखुसी फेरि शुरु गर्नुपर्छ भन्ने लिँड़ेढिपी गरेकाले कानेखुसी फेरि निकाल्न प्रेरित भएको हुँ । मलाई आजसम्म पनि प्रेरित गर्ने सबै-सबैलाई यसै फित्कौली मार्फत् हार्दिक अभिनन्दन व्यक्त गर्दछु ।

तपाइँ विद्यालय शिक्षक पनि हुनुहुन्थ्यो । एकजना शिक्षक व्यक्तित्व हास्यव्यङ्ग्यमा रमाउने परिस्थिति कसरी निर्माण भयो ?
०० ठिटौले उमेरदेखि म हड्बड़े, एक क्षण चूपो लागी नबस्ने, सबैलाई हँसाइरहने रसिक स्वभावको मान्छे । विद्यार्थीकालदेखि नै जोक्स भनी सबैलाई मक्ख र पक्ख पर्ने मान्छे म । आजसम्म पनि मेरो स्वाभाव उही छ…कुनै परिवर्तन आएको छ..बरु धेर नै हड़बड़े भएको हुँला । यसैले पढ़ाउँदा विद्यार्थीहरूलाई हँसाएर भुतुक् भुतुक् पार्थे… अहिले पनि त्यसो गर्छु । तर एउटा कुरा नानीहरूलाई यसरी हँसाएर पढ़ाउँदा उनीहरूले गुरुले पढ़ाएका कुरा छिटो ग्रहण गर्दारहेछन् । क्लासमा अल्छी नमान्दा रहेछन् । मेरो क्लासमा मैले नेपाली साहित्य पढ़ाउँदा विद्यार्थीहरू दिक्क मानेका झुलेका कोही देखिनँ । हास्यव्यङ्ग्यमा रमाउने परिस्थिति ता मैले आमाको गर्भबाटै लिएर आएको छु जस्तो लाग्छ । आजको दिनसम्म पनि कुनै साहित्यिक सम्भाषणमा म हँसाएरै दर्शक श्रोतालाई भुतुक् भुतुक् पार्छु ।

विद्यालयमा पठनपाठन र हास्यव्यङ्ग्य लेखन कुनमा बढी मजा ?
०० पठन-पाठनमा मजै मजा, हास्यव्यङ्ग्य लेखनमा ता झन् महामजा । कुकुरको आचीलाई ‘गुहू‘ भनिन्छ । तर म चाहिँ कुकुरको आचीलाई ‘महागुहू‘ भन्ने गर्दछु । मान्छेको आचीलाई खाएर उसले ‘गुहू‘ निकाल्छ यसकारण गुहू+गुहू = महागुहू । यसैकारण, पठन-पाठन मजा, हास्यव्यङ्ग्य लेखन महामजा ।

तपाइँले पढेका हास्यव्यङ्य कृतिहरू मध्ये सर्वाधिक मन परेका ३ वटा कृति कुन कुन हुन् ?
०० मैले पढ़ेका हास्यव्यङ्ग्य कृतिहरू मेरो निम्ति सबै उत्कृष्ट छन् । अब प्रश्न के छ भने, मलाई कसैले तपाईका शीरमा कतिवटा कपाल छन् भनेर सोधे यसको जवाब मसित छैन । आफ्नै शीरमा बोकेको कपाल मैले आजसम्म गनेको छैन, गन्न सकिने पनि होइन । यसकारण हास्यव्यङ्ग्य रचनाहरू मलाई सबै नै मन पर्छन् । सबै हास्यव्यङ्ग्य कृति मेरो निम्ति रमाइला, मिठाइला, बान्किला, टेसिला छन् ।

तपाइँका धेरै रचना गैरहास्यव्यङ्य पनि छन् । लेख्न सजिलो हास्यव्यङ्ग्य कि गैरहास्यव्यङ्ग्य ?
०० गैरहास्य ता लेख्नै पर्‍यो । तपाईंको उतातिर कस्तो छ को‘नि हाम्रो यतातिर हास्यव्यङ्ग्य लेख्नेहरूलाई उति कदरै गर्दैनन् । कोही कोही तथाकथित साहित्यका विद्वान्ले ता हास्यव्यङ्ग्य लेख्नेलाई चुटकिला लेखक पनि भन्ने गर्दछन् । हास्यव्यङ्य लेख्नेहरू पनि अध्ययनशील हुन्छन् । उनीहरूले साहित्यका बड़े-बड़े किताब खाएका हुन्छन् । तीमध्येमा म पनि एकजना हुँ । तर हाम्रो रसिकताको कारणले हाम्रो अध्ययनलाई छोपेको हुँदोरहेछ । हास्यव्यङ्ग्य बाहेक म पनि गैरहास्यव्यङ्ग्य (जस्तो समालोचना, भूमिका तथा नाटक, अन्तरवार्ता) रचना सिर्जना गर्न सक्छु भन्ने देखाउनलाई नै मैले गैरहास्यव्यङ्य सिर्जना गर्न थालेको हुँ । तर एउटा कुरा, मेरो हास्यव्यङ्ग्य सिर्जनालाई मेरो गैरहास्यव्यङ्ग्य लेखनले छोप्नु चाहिँ चाहन्नँ । मेरो जीवनको अन्तिम कालसम्मै हास्यव्यङ्ग्य लेखनलाई मुटुकै सिरानमा राखेर अविराम लेखिरहन्छु ।

तपाइँको हास्यव्यङ्ग्य लेखनलाई डोर्‍याउने मुख्य धरातल चाहिँ कुन हो ?
०० मेरो समाजमा मैले देखिरहेका सुनिरहेका उत्ताउलोपन, विश्रृङ्खलता, हानाहान-तानातान, लबीबाजी नै मेरो हास्यव्यङ्यको मूल धरातल हो । यसबाहेक अन्य ता केही छैन ।

भारतीय नेपाली हास्यव्यङ्य लेखन र प्रकाशनको अवस्थाबारे सङ्क्षेपमा बताउनोस् न ?
०० हा…हा…हा…। खै के भन्ने र बताउने प्रमुख सम्पादक लुइँटेलज्यू । जहाँसम्म भारतीय नेपाली हास्यव्यङ्ग्य लेखनको प्रश्न छ, यो उति सन्तोषजनक छैन । लेख्नेहरू छन् नभएका होइनन् । जति हुनुपर्ने त्यति छैनन् । पुराना लेखकहरू पनि हास्यव्यङ्ग्य भनेपछि मुण्टो बटार्ने भइसकेका छन् । हास्यव्य़ङ्ग्यकारहरूको कमी ता छँदैछ ।

एउटा अन्तर्राष्ट्रिय पुरस्कार ग्रहण गर्न केही समयअघि तपाइँ नेपाल आउनु भएको थियो । यस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारहरू विवादास्पद पनि हुने गरेका छन् नि ! तपाइँ के भन्नुहुन्छ ?
०० तपाईको प्रश्न सोह्रै आना ठिक छ । हो, अचेल पुरस्कारको नाउँमा लबीबाजी, जुङ्गा हेरेर भाग लाउने ट्याक्टिक्स ता छँदैछ । तर मैले भर्खरै पाएको अन्तर्राष्ट्रिय पुरस्कार विशुद्ध पुरस्कार हो । यसमा लबीबाजीको नामोनिशान छैन । यद्यपि, यताका मेरा छिन्द्रान्वेषीहरूको विषनजरमा यो पुरस्कार त्यसले कसरी पायो हँ भनिरहेका कुरा मेरो कानमा परेको छ । तेस्रो व्यक्ति मार्फत् सो गाइँगुइँ आइरहेछ । सोझै मकहाँ आएर हाकाहाकी सोधेदेखि यसरी पाएँ भनेर सबै खोलेर देखाइदिन्थेँ । किनभने पुरस्कार भन्ने कुरोमा लबीबाजी चलेदेखि यो पुरस्कारलाई विवादास्पदको आँखा लागेको छ….लागिरहेको छ… लागिरहनेछ । पत्याउनु भएन भने लु एकपल्ट यो कृष्ण प्रधानलाई फित्कौलीबाट एक लाख पुरस्कार दिइहेरोस् ता… विवादले बुर्कुसी मार्न थालिहाल्छ ।

नेपाल आउँदाको साहित्यिक यात्रानुभूति बारे केही चर्चा गरिदिनोस् न ?
०० मिठाइलो टेसिलो यात्रा भो यो यात्रा । विशेष प्रज्ञाप्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, माया ठकुरी, गार्गी शर्मा, नरनाथ लुइँटेल, राधा दुलाल कार्की, राधेश्याम लेकाली, यी बाहेक नदी भट्टराई, शरद प्रधान, नन्दु उप्रेती, रोचक घिमिरे, विजय चालिसे, जीवन्त प्रधान आदिको हार्दिकता सुठी नै यादगारिलो अनि मिठाइलो थियो ।

तपाइँका अहिलेसम्म प्रकाशित हास्यव्यङ्ग्य कृति कुन कुन हुन् ?
०० उल्काभ्रामरीमा परेका मुक्तकहरू- मुक्तक, एक पाकिट जोक्स, आइमाईको रिस, डरको हाउगुजी, चारो, दार्जिलिङ कमेण्ट्री र फुटकर रचनाहरू ।

तपाइँ हास्यव्यङ्ग्य रचना नै किन लेख्नुहुन्छ ?
०० ठोक्नु मजा आउँछ र पो म हास्यव्यङ्ग्य लेख्छु ।

फित्कौलीले यो चाहिँ कुरो सोधि दिए हुन्थ्यो भन्ने लागेको कुनै प्रसङ्ग ?
०० अब तपाईलाई कुन पुरस्कारको लबी लबी गरिदिउँ…. कि फित्कौलीबाट पुरस्कृत गरुम् (?) लु सुटुक्कै भन्नोस् भनी फित्कौलीले सोधिदिए निकै ठुङमर्ने थियो…. हा…हा….हा…. ।

०००
-प्रस्तुति : फित्कौली डटकम

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
माला

माला

डा. टीकाराम पोखरेल
कुजात !!

कुजात !!

अप्सरा सुनार
साथी नामका केही पात्र

साथी नामका केही पात्र

ठाकुरप्रसाद अधिकारी
डरसँग नडराउँंदा

डरसँग नडराउँंदा

गाेपेन्द्रप्रसाद रिजाल