सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चखाउनै पर्ने ‘चड्कनच्युरा’

शहरले अझ भनौ राजधानीले प्रदर्शन गर्ने गरेका मर्निङवाक, जुलुस, वार्ता, वहस, बैठकदेखि दोहोरी साँझकी कालीसम्मलाई अनिलले अछुतो छाडेका छैनन् । पर्यावरणमा पोखिको विसङ्गत स्थितिलाई सूक्ष्म ढङ्गले देख्ने दृष्टिकोण नभई व्यङ्ग्य बजार्न नै कहाँ सकिन्छ र !

Nepal Telecom ad

नरनाथ लुइँटेल :

सामान्य साहित्यिक रचनामा भन्दा अलि जटिलखालको शैली अँगालेर लेखिने हास्यव्यङ्ग्य साहित्यमा पछिल्लो पुस्ता पनि आकर्षित भएको छ । यी निकै राम्रो पक्ष हो । छयालिसको दशकपछि हास्यव्यङ्ग्य लेखनमा सक्रिय स्रष्टाहरूको एउटा ठूलो डफ्फा नै निर्माण भएको छ । यो अवधिको विधागत सक्रियतालाई हेर्दा पनि कोही हास्यव्यङ्ग्य कविता सिर्जनामा, कोही हास्यव्यङ्ग्य निबन्धमा, कोही कार्टुनकलामा, कोही हास्यव्यङ्ग्य अभिनयमा त कोही प्रहसनात्मक रचना सिर्जनामा क्रियाशील रहेका देखिन्छन् । हास्यव्यङ्ग्य अभिव्यक्तिमा केही नवीनतम् शैलीहरूको प्रयोग पनि यो अवधिमा देखा परेको छ ।

अरू कतिपय रचना सिर्जनाभन्दा हास्यव्यङ्ग्य सामग्री बढी लोकप्रिय रहेको यथार्थलाई यहाँ दोहोर्‍याइरहनु पर्दैन । तर यही लोकप्रियताको बुइ चढेर टेलिभिजन प्रविधिमार्फत अहिले प्रशारण भइरहेका केही हास्य टेलिश्रृङ्खलाले हास्यव्यङ्ग्यको मान्यता एवम् शिष्टता भङ्ग गरेका दृश्यहरू हेर्न हामी बाध्य भएका छौं । हास्यव्यङ्ग्यका नाममा शिष्ट मान्यता र शौम्यता गुमाएपछि त्यो गालीगलौज वा अश्लील एवम् भद्धा अभिव्यक्तिमा फेरिन्छ । हास्यव्यङ्ग्य कला प्रस्तुत गर्ने कलाकार दर्शकलाई हँसाउनका निम्ति कट्टुमात्रै लगाएर टेलिस्किन वा मञ्चमा देखापर्छ भने त्यो हास्यव्यङ्ग्यको ‘ह’ पनि नवुझ्ने पटमूर्ख हो । हामी धेरैजसो टेलिश्रृङ्खलाहरूमा यस्तै पटमूर्खहरूको मूर्ख्याइँपूणर् उपद्रव हेरेर रुनु न हाँस्नु वन्ने गरेका छौं । त्यही उपद्रवी कुरा हास्यव्यङ्ग्य लेखनमा पनि यदाकदा देखापर्दै आएको छ ।

हास्यव्यङ्ग्यका नाउँमा देखिएका यस्ता फोहर उपद्रवीदेखि टाढा रहेरे शिष्ट अभिव्यक्तिलाई आत्मसात गर्ने गम्भीर व्यङ्ग्य लेखनमा क्रियाशील नवव्यङ्ग्यकार हुन् अनिल कोइराला । कविता र निबन्ध दुवै विधामा सक्रिय अनिल कोइरालाको यो दोस्रो हास्यव्यङ्ग्य कृति हो । २६ वटा हास्यव्यङ्ग्य निबन्धहरूको यो सङ्ग्रहमा सङ्कलित सबै रचना यसपूर्व विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।

‘चकनच्युरा’ भित्रका निबन्धहरूले हाम्रो सामाजिक-राजनैतिक विसङ्गतिका गालामा राम्रैसँग चड्कन हानेका छन् । खासगरी पचासको दशकपछिको हाम्रो राजनैतिक-सामाजिक पर्यावरणलाई अनिलले आफ्ना निबन्धहरूको मूख्य विषयवस्तु बनाएका छन् । विरोधका निम्ति विरोध गर्ने राजनीतिक संस्कार हुर्केकोमा अनिल चिन्ता जाहेर गर्छन् । भित्र गुदी केही नभए पनि बोक्रे धाक लाउने प्रवृत्तिले अनिललाई दिक्क लगाएको छ । युवाजमातमा पन्पिएको पश्चिमी सभ्यता र संस्कारको कुप्रभावप्रति गम्भीर असहमति छ अनिलको । आजभोलि गाउँतिर हुर्किन थालेका विकृत चालढालमाथि पनि अनिलका निबन्धले चड्कन हानेका छन् । शहरले अझ भनौ राजधानीले प्रदर्शन गर्ने गरेका मर्निङवाक, जुलुस, वार्ता, वहस, बैठकदेखि दोहोरी साँझकी कालीसम्मलाई अनिलले अछुतो छाडेका छैनन् । पर्यावरणमा पोखिको विसङ्गत स्थितिलाई सूक्ष्म ढङ्गले देख्ने दृष्टिकोण नभई व्यङ्ग्य बजार्न नै कहाँ सकिन्छ र !

सुन्दरी प्रतियोगिता, एफएम विकृति र यसले हाम्रो भाषामाथि गर्दै गरेको भाँडभैलो, बोर्डिङ स्कुलमार्फत बटारिएको हाम्रो शैक्षिक स्तर आदित्यादि समस्यालाई समेत हास्यव्यङ्ग्यात्मक आवरण दिँदै चड्कनच्युरा चखाउन अनिलको कलम निकै जाँगरिलो देखिएको छ । भाषाको सरलता, मसिना कुरावाट विषयको उठान र बेथितिमाथि गम्भीर प्रहार अनिलका व्यङ्ग्य निबन्धको वैशिष्ट्य देखिन्छ । अनिलका निबन्धमा अनुप्रासको राम्रो प्रयोग भएको छ भने यथास्थानमा प्रयुक्त उखानटुक्काले प्रसङ्गबाटै व्यङ्ग्यार्थबोध गराउन पर्याप्त मद्दत पुर्‍याएको प्रष्ट हुन्छ ।

समसामयिक स्थितिमा चड्कनच्युरा चखाउनुपर्ने विषयक्षेत्र अझ विस्तारित हुँदै गएको छ । यसले नेपाली हास्यव्यङ्ग्यकारहरूलाई अझ सक्रिय रहन आव्हान गरिरहेको छ । हास्य अभिनेतामा फेरिएका नेता, कर्मचारी, ब्रम्हचारी र साहित्यका नाममा चाकरी लेख्ने स्वयम् लेखकलाई हास्यको हलुवा ख्वाउँदै व्यङ्ग्यको वन्दुक पड्काउन र चड्कन चखाउन अनिल जस्ता युवा हास्यकर्मीहरूको जोश र जाँगर अझ बढ्दै जाओस् । खासगरी अनिल कोइराला चड्कनच्युरा चखाउने यो कुशल कर्ममा सक्रिय रहिरहून्, म हृदयदेखि शुभकामना व्यक्त गर्दछु ।

०००
२०६४ असोज
कलङ्की, काठमाडौँ
नरनाथ लुइँटेल सम्पादक ‘फित्कौली’ मासिक
अनिल कोइरालाको ‘चड्कनच्युरा’ हास्यव्यङ्ग्य सङ्ग्रह- (२०६४)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad