
पाती टिप्नुभन्दा अघि
वास्तवमा हास्य र व्यङ्ग्य साहित्यको अभिन्न अंग हो । अब यो भाव प्रकाशनको माध्यम भएर शैलीमा परिणत भइसक्यो । यसको अभावमा साहित्य ने खल्लो र न्यास्रो लाग्न थाल्छ । अथवा त्यो एउटा संजाप हो, जसले वर्णन गरिने वस्तुमा सौन्दर्य थपेर त्यसलाई प्रेय र श्रेयले ग्राह्य तुल्याउँछ ।

कृष्णचन्द्रसिंह प्रधान :
‘भूत छैन’ ले भूतको भिनाजुलाई जन्मायो । म उसलाई चिन्दिनथें । तर भुतको भिनाजु ! पक्कै डरलाग्दो मान्छे हुनुपर्छ – अड्कल काटें । (उतिबेला उपनाम पनि राखिन्छ भन्ने मेरो बच्चा बुद्धिले ठम्याइसकेको थिएन । ) पछि त्यो भूतसित साक्षात्कार भयो । ऊ भूत रहेछ तपार्इं हामी जस्तै मान्छे – अर्थात् वासुदेव शर्मा लुइँटेल ।
भूतको हाउ गयो ।
मैले ठम्याएँ मान्छे भूत हुन सक्तोरहेछ, होइन, भूत भइदिँदो- रहेछ मान्छे भूत अर्थात् हाउ । यो हाउ कति (अपराधी वा कमजोर ? ) मानिसहरूको मनमा गडेर भूतै भई अङ्कित भएको होता ! हो, यही अङ्कित हुनसक्ने हाउ हो भूतको भिनाजु । त्यसैले उनका बोलीहरू भूतको आवाज जस्तै लागेर कसैलाई तर्साउने बन्न सक्छन् । अथवा उसका शब्दहरू बुलेट जस्तै लाग्ने र कांडा जस्तै बिकने भइदिन सक्छन् । अथवा होइन, यो केटाकेटी तर्साउने भूत होइन । अर्को क्यै हो – कसो बुझिदिँदैनन् ! त्यसैले उसका गोत्रहरूमा ताल मिलाउने र भाउमा अर्थ खोज्ने गर्छन् र सबैको संयोगमा (बुझेर हुनुपर्छ) रस लिई आनन्दित हुन्छन् !
साँचो कुरा केभने मान्छे मै कुनै कमजोरी नभई मान्छे आफै डराउँदैन । यी कमजोरीहरू नै हुन् भूतको भिनाजुको सामग्री तथा उसको कुकुरडाइने लट्ठी ।
भूतको डर र त्रासले आतंकित भएर यदि नडराउनको लागि उसबाट आफ्ना दोषहरू र कमजोरीहरू हटाउन कोही प्रेरित हुन्छ- भने त्यो भुतले प्रत्येकको मुटु समाओस् ! कसैलाई आनन्द र सन्तोष दिन्छभने यो उसको वैयक्तिक नभएर सामाजिक हुन जान्छ ।
तसर्थ भूत क्यै होइन, भूत उभ्याइन्छ- आफैँले आफैमा विभिन्न कमजोरी जन्माएर । भूतको भिनाजुले त्यसलाई टिपे, त्यसलाई गाँसे, यही ‘भीमसेनपाती’ मा सजाएर ।
‘भीमसेनपाती’ कविताहरूको संगालो हो । यो कविता नयाँ होइन, त्यसकारण पुरानो पनि भन्न मिल्दैन । यो कविता हो- त्यति नै प्रशस्त छैन र ? हैन भनिदिएर पुग्ने होभने दुवै हो नयाँ पनि पुरानो पनि । किन कंजुसी गर्नु ? किनभने यसले कविताको धर्म छाडेको छैन । हरेकले आफ्नो क्षेत्रभित्र बसेर त्यस धर्मको पालन राम्ररी गर्न सकेको छभने त्यस नाउँको हकदार स्वयं त्यो हुन्छ ।
प्रस्तुत कविताको धर्म हो हास्य र व्यङ्ग्यको सृष्टि गर्नु । त्यस कारण हास्य र व्यङ्ग्य नै त्यस्ता कविताको मुटु हुनाले यो नै पहिलो आवश्यकता ठहरिन्छ । अनि प्रत्येक हाँसो तथा व्यंग्यले नयाँ वा पुराना विचारका मानिसलाई एकनासले छुन्छ भने यो त्यसको शाश्वत स्वरूप हो— कविता हुनुको ग्यारेण्टी । यही हकको हकदार यसका कवितालाई म ठान्छु ।
नेपालीमा हास्य वा व्यङ्ग्यको कविता लेखेर भूतको भिनाजुले निकै अघिदेखि यो खाँचो टार्ने जमर्को गर्दै आएका हुन् । र यो प्रयत्न अहिलेसम्म विद्यमान नरहेको भए हास्यव्यङ्ग्यसम्बन्धी प्रकाशनले कुनै योजनाको रूप लिन सक्तैनथ्यो । त्यस कारण प्रस्तुत सङ्ग्रहसितको भेट पनि हुन्नथ्यो ।
नेपालीमा हास्य र व्यङ्ग्य साहित्य अरूको दाँजोमा छँदैछैन होइन, तर धेरै पछि र धेरै अल्छी चालको छ । यसको विकास स्वयं कवि लेखकहरूमा निर्भर नभएर स्वतन्त्रतासित सम्बन्धित पक्ष पनि यो हुनाले सुहाउँदो परिस्थितिको खाँचो पर्छ । हास्यको सांस्कृतिक परम्परा रहे पनि साहित्यमा त्यसको शिष्ट जग बस्न सकेन र अनुदार व्यवस्थामा व्यङ्ग्य साहित्यले फस्टाउने मौका नै पाउँदैन ।
वास्तवमा हास्य र व्यङ्ग्य साहित्यको अभिन्न अंग हो । अब यो भाव प्रकाशनको माध्यम भएर शैलीमा परिणत भइसक्यो । यसको अभावमा साहित्य ने खल्लो र न्यास्रो लाग्न थाल्छ । अथवा त्यो एउटा संजाप हो, जसले वर्णन गरिने वस्तुमा सौन्दर्य थपेर त्यसलाई प्रेय र श्रेयले ग्राह्य तुल्याउँछ । अथवा रोचकता, धारिलोपन र चेतनताको तीव्र अनुभूतिको बोध गराउने सबभन्दा तीखो शैली हो । वर्तमान साहित्यमा व्यङ्ग्य त आत्मा जस्तै टाँसिन पुगिसक्यो । किनभने यो जीवन नै एउटा व्यङ्ग्य जस्तो लाग्छ – यो समाज, यो गतिविधि, यी व्यवहारहरू, यो मान्छे र यो सभ्यता सबै आफूमा एक – एकओटा व्यङ्ग्य बोकेका प्रतिमूर्ति जस्ता । त्यसैले आधुनिक अनुभूति मानिसको लाशमाथि बनेको सभ्यता होभने आधुनिक साहित्य सम्पूणर् मनुष्यप्रति गरिएको अवहेलनाहरूको व्यङ्ग्य-भण्डार हो ।
साथै छुट्टै पनि यसको आफ्नो अस्तित्व छ । जति हाँसो मा व्यङ्ग्यको तहमा सबै क्रियाकलापलाई हेर्ने र टिप्ने गरिन्छ त्यति बेलाको साहित्य निश्चय नै हास्य वा व्यङ्ग्यमा व्यक्त हुनेछ । ‘भीमसेनपाती’ यस्तै स्वतन्त्र अस्तित्व बोकेको त्यस क्षण र घडीको कविता हो, जहाँ जीवनका यथार्थहरू हाँसो र व्यङ्ग्यमा ओर्लेर कानेखुसी गर्छन् र एउटा सत्य उभ्याएर हामीलाई हामीसितै परिचय गराइदिन्छ ।
‘भीमसेनपाती’ ले यो अभाव पूरा गर्न खोजेकोमा वासुदेव लुइटेलज्यूलाई पेश्की धन्यवाद छ ।
०००
वासुदेव शर्मा लुइँटेलकाे ‘भीमसेनपाती’मा प्रधानकाे भूमिका