सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रयास शाैरभ श्रेष्ठकाे सार्थक प्रयास

सानो छोराको जिज्ञासाबाट प्रारम्भ भई उसैको जिज्ञासा-जिज्ञासैमा निबन्ध सकिएको छ । यस्तो संवेदनशील विषयलाई पनि व्यङ्ग्यात्मक रागले कलात्मक बनाएको छ।

Nepal Telecom ad

नरनाथ लुइँटेल :

नेपाली हास्यव्यङ्ग्यको विकासमा वर्तमान समयले धेरै सकारात्मक सम्भावनाहरू प्रदान गरिरहेको छ । हाम्रो देशमा अहिले सामाजिक आर्थिक र राजनैतिक जटिलतासँगै इतिहासमा कहिल्यै नदेखिएका विकृतिहरू प्रकट भइरहेका छन् । समग्र परिस्थिति विसङ्गत छ । यो विसङ्गत वस्तुजगतलाई सुल्ट्याएर सङ्गति मिलाउने पुनित अभिलाषाका साथ कलमवाजहरू कलम चलाइरहेका छन् । हास्यव्यङ्ग्य शैलीलाई आ त्मसात गरेर सिर्जना गरिएका रचनाहरूको एक प्रकारले बाढी नै आए झै लाग्छ । यद्यपि गुणवत्ताको हिसाबले धेरैजसो हास्यव्यङ्ग्य रचना केही कमजोर, लुला र लङ्गडा देखिन्छन् ।

छयालीस सालपछि सञ्चारको क्षेत्रमा उपस्थित अभूतपूर्व फड्कोले पत्रपत्रिकाको प्रकाशनमा सकारात्मक प्रभाव पारेको छ । हास्यव्यङ्ग्यात्मक शैलीले धेरै पाठकहरूको ध्यान आकृष्ट गर्ने हुँदा अधिकांश पत्रपत्रिकामा हास्यव्यङ्ग्य स्तम्भ समावेश गरिँदै आएको छ । नयाँ पुराना हास्यव्यङ्ग्य लेखकहरू ती स्तम्भ लेखनमा संलग्न छन् । मूलतः पत्रपत्रिकामा दिनहुँ हास्यव्यङ्ग्यका नाउँमा प्रकाशित हुने दर्जनौँ रचनाहरूको हास्यव्यङ्ग्यात्मक स्तर भने कमजोर देखिन्छ । एक हप्ता मात्रै आयु भएका त्यस्ता रचनाले नेपाली हास्यव्यङ्ग्यको मूल मान्यतामाथि नै प्रश्नचिन्ह खडा गर्न थालेको महसुस तीव्र हुँदो छ । यो गम्भीर चिन्ताको विषय हो भन्ने मलाई लाग्छ ।

हास्यव्यङ्ग्य लेखन आफैमा एक किसिमको गम्भीर लेखन हो । हास्य मात्र वा व्यङ्ग्य मात्र हास्यव्यङ्ग्य होइन । हास्य विनाको व्यङ्ग्य वा व्यङ्ग्य बिनाको हास्यले हास्यव्यङ्ग्य रचनाको प्रतिनिधित्व गर्न सक्दैन र व्यङ्ग्यात्मक शैलीमा लेखिएको ‘साप्ताहिकी टिपोट’ हास्यव्यङ्ग्य रचना हुनै सक्दैन । हल्काफुल्का विषयवस्तुलाई तुकबन्दीले जोडजाड पारेर एकैछिनमा तयार गरिएको टिपोटलाई हास्यव्यङ्ग्यका रूपमा प्रस्तुत र प्रकाशन गर्ने प्रवृत्तिप्रति सहमत हुन सकिन्न । यता हुर्किएको यो प्रवृत्ति हास्यव्यङ्ग्य क्षेत्रकै विकृति हो भनेर किटान गर्न पनि हिचकिचाउनु पर्दैन । व्यक्ति केन्द्रित व्यङ्ग्य त गाली मात्रै हो । र, अहिले व्यङ्ग्य लेखनको नाम र निहुँमा गाली लेख्ने परम्पराले प्रश्रय पाउन थालेको छ । भैरव अर्यालले स्थापित गरेको हास्यव्यङ्ग्य कलाको आलोकमा वर्तमान नेपाली हास्यव्यङ्ग्य लेखन निकै फिका लाग्नुको मूलभूत कारण पनि यही हो । हास्यव्यङ्ग्य लेखनमा सक्रिय रहेको पछिल्लो पुस्ताले यसतर्फ समुचित ध्यान दिनु जरूरी छ ।

माथि मैले सङ्क्षिप्त रूपमा भूमिकाको भूमिका बाँधे, अब लागौँ मूल विषयतर्फ । छयालीस सालपछि हास्यव्यङ्ग्य सिर्जनामा क्रियाशील नवस्रष्टाको एउटै ठूलै पङ्क्ति तयार भएको छ । ‘अजब गजब’ हास्यव्यङ्ग्य निबन्धहरूको बिटो बोकेर यही पङ्क्तिमा उभिन आउनुभएको छ प्रयास सौरभ श्रेष्ठ । सौरभका सत्रवटा निबन्धहरूको पाण्डुलिपि अहिले मेरो हातमा छ । केही प्रकाशित भइसकेका र केही अप्रकाशित रहेका निबन्धहरूको यो पहिलो सङ्ग्रह हो श्रेष्ठको । विम्ब प्रतिविम्ब (लघु कथा सङ्ग्रह) – २०५८ द्वारा आफ्नो पहिचान स्थापित गरिसक्नु भएका सौरभलाई हास्यव्यङ्ग्यका फाँटमा पनि देख्न पाउँदा मलाई निकै खुशी लागेको छ ।

‘अजब गजब’ सङ्ग्रहभित्रका निबन्धहरूले हाम्रो वर्तमान समाजका केही विसङ्गत पक्षहरूलाई प्रकट गर्दै स्वस्थ सङ्गतिको आग्रह गरेका छन् । संरचना, शैली र प्रस्तुतिका हिसाबले अलि कमजोर जस्ता लागे पनि विषयवस्तुका हिसाबले निकै बलिया छन् यस सङ्ग्रहका निबन्धहरू । पहिलो निबन्ध ‘हात्ती बलियो कि हात्तीछाप बलियो’ मा नेपाली समाजको हिंसाजन्य परिस्थितिलाई प्रतीकात्मक ढङ्गले उतारिएको छ । सानो छोराको जिज्ञासाबाट प्रारम्भ भई उसैको जिज्ञासा-जिज्ञासैमा निबन्ध सकिएको छ । यस्तो संवेदनशील विषयलाई पनि व्यङ्ग्यात्मक रागले कलात्मक बनाएको छ।

दोस्रो निबन्ध ‘किन रून्छस् मङ्गले पजेरोको गन्धले’ मा प्रजातन्त्रको पुनर्स्थापनापछि सत्तामा पुगेका अगुवाहरूको अप्रजातान्त्रिक मानसिकतालाई उदाङ्गो पारिएको छ । तिनै स्वार्थी व्यक्तिका आडमा तलका तोरीलाहुरे कार्यकर्ता समेत भुइँसाँढे बनी डुक्रन पछि पर्दैनन् भन्ने यथार्थको अङ्कन सम्वादात्मक शैलीमा गरिएको छ । संसदभित्र हुने गैरसंसदीय भिडन्त र सांसदहरूको स्वार्थी मनोवृत्तिलाई व्यङ्ग्यात्मक थप्पड हानेको छ निमापत्ति ! नियमापत्ति !!’ शीर्षकको अर्को निबन्धले । संरचनाका हिसाबले यो निबन्ध आधा वर्णनात्र्नामक र आधा एकालाप किसिमको रहेको छ ।

‘टुप्पाबाट पलाउने मान्छे’ निबन्ध सामाजिक विसङ्गतिविरूद्ध लक्षित देखिन्छ । व्यक्ति मानसिकतालाई आधार बनाएर रचना गरिएको यो निबन्धमा ‘टुप्पाबाट पलाउने मानिसको आकृति मानवजस्तो भए पनि प्रकृति दानव जस्तो हुन्छ ।… यस्ताहरूको जन्मजात विशेषता अवसरवाद हो’ भन्ने निस्कर्ष दिन थुप्रै उदाहरणहरू सङ्कलित गरिएको छ । नेपाली समाजलाई पश्चिमी सभ्यता र संस्कारले नराम्रोसँग गाँजेको छ र हाम्रो आफ्नै संस्कार संस्कृतिबाट युवापुस्ता टाढा जाँदै छ भन्ने तीतो यथार्थतिर सङ्केत गरेको छ सङ्ग्रहको अर्को निबन्ध ‘पत्रमित्र सवाई’ ले । यस्तै ‘रीति-कुरीति’ निबन्धले साँस्कृतिक विकृतिप्रति व्यङ्ग्य गरेको छ । औकात र आयस्ता नभए पनि फजूल खर्च गरी चाडपर्व मान्नैपर्ने संस्कारलाई समेत निबन्धकारले कुरीतिमा दर्नुभएको छ यस निबन्धमा ।

अर्को निबन्ध ‘रामप्याराको पतर रामप्यारीलाई’ पत्रात्मक शैलीमा रचना गरिएको छ । कमाउने उद्देश्यले गाउँबाट शहर आएको रामप्यारा आफ्नी पत्नीलाई चिठ्ठी मार्फत शहरको (खासगरी राजधानीको) अव्यवस्था बारे रमाइलो पारामा वर्णन गर्दछ । ‘यहाँ त राम्रो पानी पनि पिउन पाइँदैन । यता आउने कोइ फेला पारे एक गाग्रो त्रिशुलीको सङ्लो पानी पठाइदिन नभुलेस् ।’ निबन्ध भित्रकाे पङ्क्तिले निकै सशक्त रूपमा व्यङ्ग्य बोलिरहेको महसुस हुन्छ ।

‘अजब गजब’ तुलनात्मक रूपले अलिक लामो आयतन भएको अर्काे निबन्ध हो । यसै निबन्धको शीर्षक टिपेर सङ्ग्रहको शीर्षक राखिएको छ । यस निबन्धमा गजब गजबका प्रसङ्गका मट्याङ्ग्रा मार्फत् आर्थिक, सामाजिक र राजनीतिक विकृतिहरूलाई पर्गेलिएको छ । विकृत, स्वार्थी र नैतिकहिन चरित्र भएका मानिसहरू राजनीतिमा संलग्न भएकै कारण यो देशको राजनीति दुर्गन्धित बनेको हो भन्ने व्यङ्ग्यात्मक निष्कर्ष प्रस्तुत गरिएको छ ’बतासे कान्छाको राजनीतिक यात्रा’मा। मुलुक लुटिरहेका अनेकन चिठ्ठा र उपहार कार्यक्रमको ठगी एवम् लुटाहा प्रवृत्ति र लुटिएकाहरूको दुर्दशामा केन्द्रित छ अर्को निबन्ध ‘कान्तिपुरको घरः बेखबर’ । यस निबन्धमा लुटिन विवश भएका सोझा, निर्धाहरूको सत्य-तथ्य प्रस्तुत गरिएको छ ।

व्यङ्ग्यात्मक प्रतीकका रूपमा भ्यागुतोलाई उभ्याएर भ्यागुते प्रवृत्तिमाथि दनक दिनुभएको छ निबन्धकारले अर्को निबन्ध ‘भ्यागुतो चमचम’ मा । त्यस्तै ‘नाकपुरदेखि कानपुरसम्म’ विषयवस्तु, संरचना र प्रस्तुतिका हिसाबले राम्रो निबन्ध हो भने पुरस्कारका नाममा भित्रिएको विकारलाई ‘… कारलाई पुरस्कार’ निबन्धले,प्रस्तुत गरेकाे छ ।  विकृतितिर उन्मुख युवा मानसिकतालाई ‘च्याँक बन्ने झ्वाँक’ निबन्धले, संस्कारजन्य सामाजिक विसङ्गतिलाई ‘आशीर्वादको खात’ र अन्य विविध विषयक्षेत्रका विसङ्गतिलाई अन्य निबन्धहरूले प्रस्तुत गरेका छन् ।

कालक्रममा हेर्ने हो भने यस सङ्ग्रहका निबन्धहरू २०४८ सालदेखि २०६० साल आरम्भसम्मको झण्डै १२ वर्षे अवधिमा रचना गरिएका छन् । नेपाली समाजमा कहिल्यै नदेखिएका विकृत प्रवृत्तिहरू यही कालावधिमा प्रकट भएका छन् । प्रस्तुत सङ्ग्रहका निबन्धहरूमा प्रकारान्तरले तिनै विकृतिहरूलाई विषयवस्तुको केन्द्रबिन्दु बनाएको पाइन्छ । यथाप्रसङ्गमा उखानटुक्काको प्रयोग, अनुप्रास र तुकबन्दीको सहज उपस्थिति आदिले निबन्धलाई रोचकता दिने प्रयत्न गरिएको छ ।

समग्र निबन्धहरूमा हास्यतत्त्वको कमी र व्यङ्ग्यतत्त्वको बाहुल्यता रहेको प्रष्टै देखिन्छ । कतिपय निबन्धहरूमा संरचना शैली र प्रस्तुतिलाई अझै माझ्नु पर्ने देखिन्छ । तर पनि प्रयासको यो सार्थक प्रयास हो भन्ने कुरामा म ढुक्क छु । सङ्ग्रहका निबन्धहरूले निबन्धकारसँग पनि अझ व्यापक अध्ययन र चिन्तनको माग गरिरहेका छन् । यद्यपि यस सङ्ग्रह मार्फत् सग्लो सम्भावना बोकेर यस फाँटमा ओर्लिनु भएका हास्यव्यङ्ग्यकार प्रयास सौरभ श्रेष्ठलाई हार्दिक स्वागत गर्दै बधाई ज्ञापन गर्दछु ।

मुलुकको वर्तमान जर्जर स्थिति हास्यव्यङ्ग्य सिर्जनाका निम्ति उर्वर माटो हुनपुग्छ । प्रयास सौरभको प्रयास कुशल हास्यव्यङ्ग्य शिल्पमा रूपान्तर हुँदै थप राम्रा कृतिहरू नेपाली हास्यव्यङ्ग्यले प्राप्त गर्न सकोस् भन्ने अपेक्षा गर्नु बेमानासिव हुँदैहुन्न ।

०००
१५ असार, २०६०
कलङ्की, काठमाडौं

भूमिका : ‘अजब गजब’ (२०६०)

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x