साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरव र वासुदेवको ‘कौवा प्रकाशन’लाई स्मरण गर्दै…

हास्यव्यङ्ग्यको ऐतिहासिक एक कालखण्डमा भैरव अर्याल र वासुदेव लुइँटेलको सक्रियता मार्फत स्थापित ‘कौवा प्रकाशन’लाई स्मरण गर्दै हास्यव्यङ्ग्य कृतिहरूको व्यवस्थित प्रकाशनतर्फ पनि फित्कौली रूचि राख्दैछ ।

Nepal Telecom ad

नरनाथ लुइँटेल :

नेपाली हास्यव्यङ्ग्यका पाका-पुराना स्रष्टाहरूप्रति श्रद्धा-सम्मान र नवागतहरूलाई उत्प्रेरणा प्रदान गर्दै आएको फित्कौली डटकम हास्यव्यङ्ग्यको समग्र अभ्युत्थान र प्रवद्र्धनमा क्रियाशील छ । प्रविधि र विज्ञानले प्रदत्त परिवर्तित परिस्थितिलाई आत्मसात गर्दै, छपाईबाट आरम्भ भएको फित्कौली अहिले अनलाइन पत्रिकामा आइपुगेको हो । छोटो अवधिमै यसले प्रबुद्ध स्रष्टा, द्रष्टा, पाठक सवैको ध्यान आकर्षित गर्दैछ भने हास्यव्यङ्ग्य लेखनमा नवस्रष्टाहरू सिर्जना गर्दै उनीहरूलाई समेत प्लेटफर्म प्रदान गरिरहेको छ । अनलाइन पत्रिकामा प्रवेश गरेको डेढ वर्षमै डेढ दर्जन भन्दा बढी स्रष्टा फित्कौलीको प्लेटफर्मबाट हास्यव्यङ्ग्य लेखनमा उतारु भैरहेको यथार्थले हामीलाई थप हौसला प्राप्त भएको छ ।

हास्यव्यङ्ग्यको ऐतिहासिक एक कालखण्डमा भैरव अर्याल र वासुदेव लुइँटेलको सक्रियता मार्फत स्थापित ‘कौवा प्रकाशन’लाई स्मरण गर्दै हास्यव्यङ्ग्य कृतिहरूको व्यवस्थित प्रकाशनतर्फ पनि फित्कौली रूचि राख्दैछ । यही रुचिको परिणाम स्वरुप यही भदौ ९ गते फित्कौलीको खित्कौली सभा-२ आयोजन गर्दै एकैपटक ५ वटा कृति लोकार्पण गर्‍यौँ । यी ५ वटा कृति मध्ये २ वटा कृति स्थापित स्रष्टाहरूका छन् भने तीन वटा चाहिँ सर्वथा नयाँ स्रष्टाका पहिलो पटक प्रकाशित कृतिहरू रहेका छन् । फित्कौलीको यो हास्यव्यङ्ग्यीय अभियानप्रति विश्वास र भरोशा गर्दै आफ्ना हास्यव्यङ्ग्य कृतिहरू प्रकाशनको अवसर प्रदान गर्नुहुने प्रिय स्रष्टाहरू नरेन्द्रराज पौडेल (भ्यागुताको श्वेतपत्र), डा. मुकेश चालिसे (डाँडाका उज्याला जून), राजेन्द्र कार्की (खाइराइड), सुभाषचन्द्र देवकोटा (ग्रहणतन्त्र) र ठाकुरप्रसाद अधिकारी (बेसारे घुर्की) प्रति फित्कौली नतमस्तक छ ।

हास्यव्यङ्ग्य लेखनमा उल्लेख्य योगदान पुर्‍याउँदै आउनु भएकाहरूलाई सादर सम्मान र पछिल्ला पुस्ताका सक्रिय स्रष्टाहरूलाई प्रोत्साहित र प्रेरित गर्ने फित्कौलीको घोषित अभीष्ट हो । यही अभीष्टबाट अभिप्रेरित भएर गत वर्ष २०७९ को माघ १४ गते अक्षयकोष स्थापनाको घोषणा गरिएको थियो । अक्षयकोषबाट एक वर्ष पनि नपुग्दै पुरस्कार प्रदान गर्ने अवस्थामा हामी आइपुगेका छौँ । यो अवस्था सिर्जना हुनुमा कोषमा सहभागिता जनाएर गच्छेअनुसारको रकम प्रदान गर्नु हुने उदारमना मित्रहरू डा.मुकेश चालिसे-जनक चालिसे, चट्याङ मास्टर, एलआरआइ स्कूल, सिस्नुपानी नेपाल, विश्व शाक्य, तीर्थराज अधिकारी, गोविन्द-विजया गजुरेलका छोरा आभास, छोरी एरिका, ठाकुरप्रसाद अधिकारी, पिँडालु पण्डित, होम सुवेदी, लक्ष्मण नेवटिया, एल.सुब्बाहरू, शेषराज भटटराई, शिवप्रसाद जैशी, माणिकरत्न शाक्य र दुर्गा अधिकारी भमरकाेटे सबैप्रति फित्कौलीका तर्फबाट म हार्दिक नमन व्यक्त गर्दछु । अहिलेसम्म कोषमा रु. ८ लाख जम्मा भैसकेको छ र थपिने क्रम पनि जारी छ ।

वार्षिक रूपमा समर्पण गर्ने सम्मान र पुरस्कार यसपटककका लागि निकै छोटो अवधिको अन्तरालमै हामीले पुरस्कृत स्रष्टा छनोटको प्रक्रिया पूरा गर्‍यौँ । यस प्रकृयामा साथ दिनुहुने मित्रहरू चटयाङ मास्टर, डा. मुकेश चालिसे र सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेप्रति फित्कौली अगाध कृतज्ञता व्यक्त गर्दछ । सम्मान र पुरस्कारका निम्ति छनोट हुनुभएका हास्यव्यङ्ग्य स्रष्टाहरूमा तीसको दशकदेखि अनवरत क्रियाशील हास्यव्यङ्ग्य स्रष्टा चोलेश्वर शर्मालाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान अर्पण गर्न पाउँदा फित्कौली आफै गौरवान्वित भएको महसुस गर्दैछ । स्याङ्जाबाट हास्यव्यङ्ग्य सिर्जनामा सक्रिय गायत्री परिरोशनीका आरम्भकालका रचना फित्कौली मासिक पत्रिका हुँदैदेखि प्रकाशित भएर आएका छन् । उहाँका आधा दर्जन हास्यव्यङ्ग्य कृति प्रकाशित भइसकेका छन् । गायत्रीलाई हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कारले सम्मानित गर्न पाउँदा हामीलाई सुखद अनुभूति भैरहेको छ ।

त्यसै गरी फित्कौलीमा गत एक वर्षभरि प्रकाशित कविताका स्रष्टाहरूमध्ये झापाका खगेन्द्र नेउपानेका व्यङ्ग्य कविताहरूलाई छनोट समितिले उत्कृष्ट ठहर्‍याएको छ भने व्यङ्ग्य निबन्ध तर्फ गुल्मीका नेत्रहीन स्रष्टा काशीनाथ मिश्रितका व्यङ्ग्य निबन्धहरूलाई उत्कृष्ट ठहर्‍याउँदै पुरस्कृत गरिएको छ । अत्यन्त सक्रियतापूर्वक छन्दमा पाका मान्छेका विषयमा कविता रचना गर्नुहुने भक्तपुरका कवि रामशरण न्यापाने र कार्टुनिस्ट राजेश मानन्धरलाई समेत हामीले नगद पुरस्कारसहित सम्मानित गरेका छौँ । हास्यव्यङ्ग्य सिर्जनाका लागि सम्मान र प्रोत्साहनको यो उपक्रम फित्कौलीको थालनी हो ।

यहाँहरूको सद्भाव, सहयोग र सहभागिता नै फित्कौलीको सम्वल हो । हाम्रो आमन्त्रणलाई स्वीकारेर पुरस्कृत स्रष्टाहरू यो भदौरे झरीमा पनि रुझ्दै भिज्दै आइदिनु भएको छ यो गुनलाई फित्कौलीले कहिल्यै बिर्सने छैन । हाम्रो आमन्त्रणमा समादरणीय जेष्ठ विशिष्ट व्यक्तित्वरू भैरव रिसाल, शान्तदास मानन्धर, रोचक घिमिरे, डा. गोविन्दराज भट्टराई, र चट्याङ मास्टरहरू समुपस्थित भएर फित्कौलीको खित्कौली सभालाई गुरुत्व बढाइ दिनुभएकामा हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

विभिन्न क्षेत्रबाट अत्यन्त उत्साहका साथ कार्यक्रममा अपार सहभागिता जनाएर र आफ्ना रोचक घोचक कार्टुनहरूको प्रदर्शन गरी कार्यक्रमलाई ऐतिहासिक स्वरुप प्रदान गर्नमा यथेष्ट सहयोग पुर्‍याउने कार्टुनिस्ट राजेश मानन्धर र हास्यव्यङ्ग्यप्रेमी सबै महानुभावहरूमा हार्दिक हार्दिक कृतज्ञता जाहेर गर्दछौँ । सभामा समुस्थित सबैलाई आतिथ्यतापूर्वक जलपान समेतको व्यवस्था गरिदिने बागमती बोर्डिङ स्कुल तथा कलेज परिवार र खास गरी कविहृदयले आप्लावित आदरणीय सुरेन्द्र सिटौलाप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।

नेपाली हास्यव्यङ्ग्य प्रवर्द्धन  र अभ्युत्थानमा समर्पित फित्कौली अभियानलाई साथ सहयोग र प्रत्यक्ष अप्रत्यक्ष सबै प्रकारको सहभागिताका लागि समस्त हास्यव्यङ्ग्यप्रेमी मित्रहरूमा सादर आग्रह एवम् आव्हान गर्दछौँ ।

अन्तमा, गाईजात्रा २०८० काे अवसरमा समस्त हास्यव्यङ्ग्य लेखक स्रष्टा, द्रष्टा, पाठक, शुभचिन्तक एवम् शुभेच्छुहरूमा फित्काैलीकाे खित्काैलीमय शुभमकामना ।

०००
फित्कौली डटकम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x