
‘तँ अब बुढो भइस्’ पढेपछि
वृद्धावस्थाबारे रवीन्द्रनाथ ठाकुर भन्छन्, ‘जुन देशमा मानिस अल्पायुमै मर्छन्, त्यो देश पाको उमेरको अभिज्ञताको संपदबाट वञ्चित रहन्छ । तारुण्य त घोडा हो र प्रावीण्य हो त्यसको सारथी सारथी नभएको घोडाले यदि राष्ट्रको रथलाई तान्छ भने, अकल्पनीय विघ्न आउन सक्छ ।’

मुकुन्द आचार्य :
माथिको यो भनाइ पिंडालु पण्डित (वासुदेव गुरागाईं) को कृतिहरूमध्यको कान्छो चैँ पर्यो । यसको कान्छोपन सधैँ रहिरहन्छ भन्न खोजिएको हैन । त्यसो भने त पिंडालु पण्डितको पुरुषत्वलाई जिस्काए जस्तो हुनेछ । हामी त चाहन्छौँ पिंडालु सदैव सुलभ, स्वादु, स्वस्थकर तथा सदावहार रहोस् । यस्तो चाहनुको पनि कारण छ । अरु तरकारी छोइसक्नु छैन अनि के गर्नु !
तर म चैँ पिंडालुको भक्त हूँ । राम्रोसँग पाकेको पिंडालु आनन्दका साथ खाँदा शुद्ध घिउकै डल्ला खाए जस्तो अनुभूति हुन्छ, मलाई त । म लाटो बुङ्गो भएर धेरैकाल विमर्शमा कलमघोटुवा भएर बसेको थिएँ । लाटो बुङ्गो भएपछि पिंडालु पनि घिउसरह मानेर क्वाप्प पार्नै पर्यो । शुद्ध घिउको डल्लो, पिंडालुसामू खल्लो !
प्रस्तुत खण्डकाव्यलाई मैले निकै चाखका साथ पढेँ । सम्भवतः यसरी कम्मर कसेर पढेको कृति विगत केही वर्षमा यो पहिलो हो । कृतिकारलाई धन्यवाद त भन्नै पर्छ । बुढेसकाल अभिशाप होइन, वरदान हो । जीवनको सार के हो त ? यो प्रश्नको उत्तर दिन यो काव्य तम्सिएको छ । धेरैले यसमा आफ्नो अनुहार हेर्न भ्याउँछन् । ‘लौ हेर, पिंडालुको डल्लोले त मेरै टाउको ताकेछ’ भन्न पनि बेर लाउँदैनन् कृतिले त कृतिकारकै स्वानुभाव माइकमा बोलेको हो कि ? त्यो पनि सम्भव छ । मलाई त लाग्छ, ईश्वर नै सर्वश्रेष्ठ हास्यव्यङ्ग्यकार हुन् । अनौठो विश्व रच्ने ।
बुढ्यौलीतिर अग्रसर भएकाहरूलाई राम्रैसँग बुढिएका लागि, ‘म त कहिल्यै बुटो हुन्न’ भन्ने मुढमतिका लागि यो पुस्तकले ‘गीता’को काम गर्नेछ । जवानीको अहंकारी, उद्दण्डता, मपाईंपनलाई मुखभरि पिंडालु कोचिएर ‘पण्डित’ शब्दलाई सार्थकता दिन समर्थ हुनु भा’छ हाम्रा प्यारा पिंडालु पण्डित । पाठकले धेरै ठाउँमा समाजका अनेक अनुहार सजीव भएर आँखाका सामू उभिएका छन् कि जस्तो अनुभूति प्राप्त गर्न सक्छन् ।
बुढेसकाललाई स्वभाविक रूपमा लिनुपर्छ भन्ने सन्देश पनि यस खण्डकाव्यमा पाइन्छ भने जीवनका अनेक पक्ष पनि यसमा खुलेका छन् ।
वृद्धावस्थाबारे रवीन्द्रनाथ ठाकुर भन्छन्, ‘जुन देशमा मानिस अल्पायुमै मर्छन्, त्यो देश पाको उमेरको अभिज्ञताको संपदबाट वञ्चित रहन्छ । तारुण्य त घोडा हो र प्रावीण्य हो त्यसको सारथी । सारथी नभएको घोडाले यदि राष्ट्रको रथलाई तान्छ भने, अकल्पनीय विघ्न आउन सक्छ ।’ तसर्थ मलाई त भन्न मन लाग्यो :- ‘पुज्यन्तु सकले जने ।’ अर्थात समस्त प्राणी सबैका प्रति मित्रभाव राखून् । आजका युवा प्रौढ नै भोलि बुढा हुन्छन् । बाँचेछन् भने…. !
०००
काठमाडौं ।