कविराज घिमिरेमेरी आमा
आफैँ नुहाइधुवाई गर्छिन् पाठपूजा, ध्यान गर्छिन् । लौरो टेक्नु किन पर्थ्यो उनी नै हाम्रो टेवा बनेकी छिन् उनी हाम्री सहारा हाम्रो लौरो बनेकी छिन् आफ्नो जीवनदेखी अति नै खुसी छिन् मेरी आमा !!

कविराज घमिरे :
एकजना मेरो साथी छ ।
ऊ स्वदेशी पहाडको
पल्लो छेउमा बस्छ ।
मेरो विषयमा नानाथरी
सोध्ने काम गरिरहन्छ ।
कहिले खाइस् भन्छ ।
कहिले आइस् भन्छ ।
आमा असी वर्ष पुग्नु भएछ ।
मैले जन्मदिनको शुभकामना
मुहार पुस्तिकामा हालेको देखेर होला
आज ऊ आमाको बारेमा सोध्छ ।
आमा, मेरी पनि आमा ।
असी वर्ष पुगेकी !
ढाड कुप्रो होला
लौरो टेक्ती होलिन्
कपाल सेतै फुलेर
टाउकोमा तुसारोले छोपेको होला ।
दाँत फुक्लेर गाला पसे होलान्
बोली तोते होला
आँखामा कालो बादल लागेर
आँसुका वर्षा होलान्
कान नसुनेर झर्को लाउँदी हुन्
छाला चाउरी परेर सुके होलान्
हाडमात्र देखिई हातखुट्टा
चुच्चे ढुङ्गाजस्ता भए होलान्
जीवनदेखि अघाएकी होलिन्
भन् त साथी आमाको के छ खबर ?
यत्रा प्रश्न देखेर म धन्य ठान्छु ।
किनकि, उसले समाजमा जे देखेको छ
त्यही आँखाले यता पनि अनुमान गर्छ ।
अनि मैले सोधेको जबाफ दिनैपर्ने हुन्छ
र म जबाफ लेख्छु ।
साथी !!
हो मेरी आमा असी पुगिन्
म सहरमा छु ।
गाउँमा पनि मेरो खेती छ ।
कहिले यता हुन्छौँ
कहिले उता हुन्छौँ
जहाँ गएपनि आमा सँगै हुन्छु ।
तर मेरी आमा
प्रकृति सँग डराउँदिनन्
जीवन जीवन हो
यसलाई अनुकूल बनाउन
उनी जान्दछिन् ।
उनको कपाल कालो छ
मुखभरि टम्म दाँत लगाएकी छन्
आँखामा टलक्क चस्मा छ
कानमा ध्वनि प्रसारण यन्त्र छ ।
साथी !!
उनी बिहानै उठ्छिन्
हल्का व्यायाम गर्छिन्
योगमा भुलिन्छिन्
आफैँ नुहाइधुवाई गर्छिन्
पाठपूजा, ध्यान गर्छिन् ।
लौरो टेक्नु किन पर्थ्यो
उनी नै हाम्रो टेवा बनेकी छिन्
उनी हाम्री सहारा
हाम्रो लौरो बनेकी छिन्
आफ्नो जीवनदेखी
अति नै खुसी छिन्
मेरी आमा !!
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































