रामशरण न्याैपानेदुखायौ आमाको मन
फिरेका छन् छोरा कतिपय हरे सभ्य जनका गुणीग्राही ज्यादा सपुतसरि नै शान्त मनका भुल्यौ भारा तिर्नै दुध र खुनको थोर अरनि दुखायौ आमाको मन बहुत नै निष्ठुर बनी ॥

रामशरण न्यौपाने :
बुढ्यौलीले गाँज्यो नयन पनि ती नाजुक भए
झरे मोतीजस्ता अति चहकिला दाँत नि गए
बनेकीछिन् आमा प्रति दिन प्रतीक्षारत अनि
दुखायौ आमाको मन बहुत नै निष्ठुर बनी ॥१
विदेशी धर्तीमा सुखसयलको मोज छ त्यहाँ
बनेको नेपाली घरजम महान् व्यर्थ छ यहाँ
बन्यौ आज्ञाकारी पर मुलुककै नोकरी अनि
दुखायौ आमाको मन बहुत नै निष्ठुर बनी ॥२
बसेका छौ भन्छन् परमुलुकमा नै घर गरी
ढलेकी छिन् आमा असक बहुतै ताडन परी
चितामा आगो पो कुन मनुजले लाउँछ भनी
दुखायौ आमाको मन बहुत नै निष्ठुर बनी ॥३
फिरेका छन् छोरा कतिपय हरे सभ्य जनका
गुणीग्राही ज्यादा सपुतसरि नै शान्त मनका
भुल्यौ भारा तिर्नै दुध र खुनको थोर अरनि
दुखायौ आमाको मन बहुत नै निष्ठुर बनी ॥४
अहो ! मान्छेमा नै किन मनुजता छैन अहिले
गुमेको पुर्खौली गुण सबल त्यो फिर्छ कहिले
प्रतीक्षा गर्दैछिन् अझ सपुत हो आउँछ भनी
दुखायौ आमाको मन बहुत नै निष्ठुर बनी ॥५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































