
हामी ज्ञान, सिप र अनुभवका भण्डार हौँ
हाम्रो सकृय बिगतलेनै आजको मानव सभ्यताको झलमल होइन र ? हिजो हामीले कोरेका गोरोटोनै आजको राजमार्ग होइन र ? हाम्ले आवाद गरेका निर्जन भूभाग आजका नगर, बजार सहर र बस्ती होइनन् र ?

प्रा.डा. मुकेशकुमार चालिसे :
नेपालको २०७९को जनगणनामा जम्मा २,९१,६४,५७८ आङ्कलन भएकोमा पुरुष १,४२,५३,५५१ (४८.५%) र महिला १,४९,११,०२७ (५१.५%) छन् । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सम्भाव्य ६८ वर्ष वा सो भन्दा माथिका जनसङ्ख्या ५.२३ प्रतिशत रहेका छन् । अहिलेको आँकडामा २० वर्षसम्मका उमेरसमुहमा मात्र पुरुषहरू बढि प्रतिशतमा देखिन्छन् भने त्यसमाथिको हरेक उमेरसमुहमा महिला प्रतिशतनै बढि छन । यसैगरी दश वर्ष भन्दा बढी उमेरका जम्माजम्मी ४.५ प्रतिशत व्यक्ति विधुर÷विधवा रहेको, ०.२ प्रतिशतको पारपाचुके भएको र ०.४ प्रतिशत छुट्टिएर बसेका छन् । विधवा महिलाहरूको सङ्ख्या ८ लाख २६ हजार १४७ अर्थात दश वर्ष माथिका कुल महिलाको ६.६ प्रतिशत रहेको पाइएको छ । अझ दीर्घजीवनको आँकडामा अर्थात् ९५ वर्ष माथिका पुरुष ६८१० हुँदा महिला १०,४२४ भेटिएका छन । चुनावको सन्दर्भमा भन्ने हो भने नेपालबाट विदेशिने शैक्षिक र श्रम कामदार अनौपचारिक आँकडामा एक करोडको आसपास भएको मान्दा मतदाताको एकतिहाई माथि पाका मान्छेरहेको मानिन्छ । बिगत चुनावमा बिदेशिएका युवाको आग्रहमा पाका मान्छेको उत्साहजनक उपस्थिति त्यसैको परिणाम हो । अहिले ६० वर्षदेखि माथिका कतिपय संस्थाबाट सेवानिवृत्त र उन्मुखसमेत कुल २९,७७,३१८ (१०.२१%) अर्थात पछिल्लो गणनामा २५% बृद्धि भएको छ भने आउँदो दशक जनचेतनाको प्रभाव र स्वास्थ्यसेवाको व्यापकताले आधाआधी सङ्ख्यामा पाका हुन के बेर ?
हार्वाड, यल, जापान, चिन, भारतका मेडिकल स्कुल र पाका शास्त्रका विभागले उमेरिएकाहरूमा अनुसन्धान गरेर प्रतिवेदन छाप्छन् । उनीहरू सबैको उद्येश्य कसरी ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गर्ने भन्नेनै छ । त्यस्तै ६० वर्षको जीवनको सार र करिब ३५ वर्षको पेशागत अनुभव समाजले अपनत्व कायम गरेमा आउँदो मानवसमाज झन विकसित, सुसंस्कृत र सुखमय काल बन्नेमा आशावादी पाइएको छ । नेपालमा पनि व्यक्तिगतरूपमा कृष्णमुरारी गौतम (चट्याङ्मास्टर), एजिङ नेपाल लगायत संस्थाले पाका मान्छेका उमेरिदा आइपर्ने समस्यामा समाधान निकाल्न र नीतिनियम बनाउन धेरै कोशिस गरेको सुनिन्छ, देखिन्छ । यसैको सिको गर्दै पाका मान्छेका सामाजिक अवस्था र उमेरिँदा आउने मनोविज्ञानमा आधारित किताब आजभोलि नेपाली बजारमा पनि देखिन थालेका छन् ।
पाका मान्छेका कुरा आउँदा हामी बूढाबूढी, बाह्यसेवा उमेर नाघेका अर्थमा अङ्ग्रेजीको सिनियर सिटिजनको उल्था जस्तै ज्येष्ठनागरिक सम्झन्छौँ । हो, साँच्चै ज्ञान, सिप र अनुभवको भण्डार भएकाले हामी आदरसाथ पाका मान्छे भन्छौँ, धेरै त्यस्तै आदरणीय हुन्छन् र समाजलाई बाटो देआउनसक्ने उज्याला जूनजस्तै हुन् । घरबाहिर सेवा व्यवसाय गर्नेमात्र होइन घरकाजमै रहेका सबै पाका मान्छे यस्तैनै हुन्छन् भने कोहीकोही अल्पसङ्ख्यामा उही उमेरसमुहमा पनि अडबाङ्गा र नमिल्दा हुनसक्छन् । मोटामोटी पाका मान्छे शारीरिक र मानसिक श्रम गर्ने हिसाबले सक्षम, कमसक्षम र अक्षम भन्न सकिन्छ । सामाजिक परिवेश र सिकाईको लामो अन्तरालमा पाका मान्छे अनुभवका झम्ट्याइृले अन्तरमुखी र बाचाल हुनसक्छन् भने विज्ञानसम्मत र परम्परागत पनि । धेरै हण्डरठक्कर खाएर पहिरोले खसालेको ठूलो खस्रो चट्टानका टुक्रा साना गेग्रीन र बाटुला गुज्जाजस्तै र चिल्ला शालिग्राम बनेका पनि हुनसक्छन् ।
सकृय बयस्कताको कारणले धेरै पाका मान्छे आर्थिक, सामाजिक र शारीरिक सक्षम हुनसक्छन् भने पुस्तैनी वा आफ्नै कारण वा भवितव्यले उच्च, मध्यम, ठिक्क र न्युन अवस्थामा रहेका पनि हुन सक्छन् । पाको उमेरमा जेजस्तो परिस्थिति बन्छ त्यसमा सबैभन्दा मूलकुरा सहिष्णु र स्वनियन्त्रणमा सोच्नु, बोल्नु र रहनुनै सुखी रहने उपाय भएको बिर्सनु हुन्न । हँसमुख र मिलनसार तपाइँको चरित्रनै रमाइला दिन र जुनेली रातको शुभारम्भ हो । यस उमेरमा तपाइँ परिवार र हेरालुको अगाडि गनगने, असन्तोषी, जिद्दीवाल, रिसाउने, मुखाले, घमण्डी, एकलकाँटे, अर्काको कुरा नसुन्ने, हरेक कुरामा छनौटे हुनु भनेको दिउँसै कालरात्री सुरु गर्न खोजेकोनै ठहर्छ । हिजोका कतिपय तुजुक अब कायम राख्न गाह्रो हुन्छ, खोकिलामा राख्नोस्, सहन र आफूलाई नियन्त्रण गर्न गाह्रो हुन्छ, तर बिस्तारै सकिन्छ । अति आवश्यक हुँदा बोल्नोस् नत्र अरुलाई बाधा नपर्ने गरेर सकेको सघाउनोस्, मनखुशी गर्नोस्, बरु नबोलेर त्यसैमा रमाइलो मान्नोस् ।
उमेरिन थालेपछि हिजोका चुरीफुरीसाथ पछिलाग्ने साथीभाइ बिस्तारै चौबाटोमा यात्री छरिएझैँ छुटछन्, एकातिर जाने मात्र सँगै होलान् । समान उमेरसमुह र बिचारकासँग भेटघाट बढाउनोस्, त्यहाँ पनि घरमाजस्तै व्यवहार गरेर फेरिफेरि बोलाउने निम्तालुमा नछुट्नेमा पर्नोस् अब तपाइँको आनन्दको संसार त्यहिँ छ । त्यहाँ तपाइँका रमाइला र घतलाग्दा अनुभव आदानप्रदान गर्नोस्, रमाइलो माने थप्नोस् नभए ठाउँको ठाउँ रोक्नोस् । त्यहाँ तपाइँको अंश हात पार्न, पहिलेको व्यक्तिगत पदप्रतिष्ठाको ठस्सा भोग्न र बिलौना सुन्न कोही आएका हुन्नन् है, हेक्का गर्नोस् । सकिन्छ बहुजन हितायको कुरा गर्नोस् नसके राम्रो श्रोता बन्नोस् र सहयोगी मिजास बनाउनु होस् । उमेरमा अजङ्गको रिसाहा नरभक्षी बाघ र मत्ता हात्तीजस्तो मिचाहा स्वभाव भए पनि अहिले पदप्रतिष्ठा, बल, बर्कत र सामाजिक स्तर खस्केको, सबैको सहयोग र माया पाउन आवश्यक प्राणी भएको स्विकार गर्नोस् ।
गणितीय हिसाबले धेरै उमेर भएको र बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएको सामाजिक मनुवा पाका मान्छेनै हुन् । हिजोको फूर्ति नभए पनि तपाइँ अझै धेरै काम गर्न सक्नुहुन्छ, बसिबसी खाने दिन आए भनि हरेश खाने, निश्कृय बस्ने काम नगर्नोस् । कसैका सन्तानले अति माया गरेर एकैठाउँ बसेर खानोस् भनेको तपाइँको मानसिक, शारीरिक स्वास्थ्यको लागि फाइदा नहुने कुरा हो । आफैँ हिँड्डुल कम गर्न सके बसीबसी काम गर्नोस् तपाइँ केटाकेटी छँदा तपाइँका हजुरबा र आमाले दीर्घउमेरमा पनि केहि नसके गाई चराउने, दुहुने, पूजा गर्ने र बत्तीकात्ने काम त गर्नुहुन्थ्यो नि होइन र ? दैनिक जीउ तन्काउने र व्यायामलाई नबिर्सनोस्, सकेको हिँडनुहोस्, सक्नेभए दशहजार पाइला त पु¥याउनोस्, आफूले गरेका उपलब्धिको स्मरण गर्नु र मन प्रशन्न पार्ने कुरा सुन्ने, पढ्ने गर्नु यो उमेरमा राम्रो हो । आफूले पार लगाउन नसक्ने समस्याबारे चिन्ता र घोत्लिन बन्द गर्नुहोस् । संसारका सबै चिज नास भएर जान्छन्, हरेक जीव उत्पत्ति पछि एक समय मर्छ शाश्वत मृत्युको आतङ्क किन ? हरेक असल पक्षको उपस्थिति मेटिएपछि पनि गुणगान सदियौँ रहन्छ र मानिसका सुकीर्ति र अशल काम अमर हुन्छन् ।
हामी पाका मान्छे हिर्दोक, अप्ठ्यारा, जिद्दीवाल होइन बरु नसकेको भन्ने, सहज परिस्थिति चाहिने, अनुभवको कसीमा विश्वास गर्ने उमेरसमुहका प्राणी हौँ । हाम्रा कुरा नसुने र बेवास्ता गर्ने संस्कार रोपण गरे आउँदो पुस्ता झन् एक्लो निराशापूर्ण जीउनु पर्नेछ । अहिलेका वयस्कले बेलैमा हेक्का राखेर आफ्ना बालबालिकालाई पाका मान्छेलाई आदरमात्र होइन माया गर्न र अघि सरेर सहयोगी बन्न सिकाऔँ । हामीले गर्ने काम कुरा अनुभवले खारिएको निस्कर्ष हो, हामी सैयौँ फूल सुँघ्नु भन्दा एक थोपा अत्तरले वातावरण सुगन्धित बनाउन खोज्छौँ । हामी स्थुल आकारमा होइन गुणमा विश्वास गर्छौ र त्यसैको पाइनमा आफ्ना कुरा राख्छौँ, त्यो गनगन पनि होइन म्याद खुस्केको बिचार पनि होइन । हाम्रो सकृय बिगतलेनै आजको मानव सभ्यताको झलमल होइन र ? हिजो हामीले कोरेका गोरोटोनै आजको राजमार्ग होइन र ? हाम्ले आवाद गरेका निर्जन भूभाग आजका नगर, बजार सहर र बस्ती होइनन् र ? हामी हस्तक्षेप गर्दैनौ, आरिस गर्दैनौँ, हाम्रा बिचारको प्रशंसा नभए, नसुन तर खिसिटिउरी गर्न कसले हक दियो उरन्ठेउला र ठेट्नालाई ? हामी पनि सतहको चालरहित नदीझैँ अझै बग्न सक्छौँ र मानव सभ्यतामा मतापले सहयोग गर्नसक्छौँ । तपाइँहामी सके विश्वका लागि, देशका लागि, आफ्नो समाजका लागि केहि नसके आफ्नै परिवारको जाज्वल्यमान दिशानिर्देश गर्ने ज्योति बन्न केले रोक्छ हँ ?
०००
साउन १९, २०८०
चालिसे डाँडा