साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी ज्ञान, सिप र अनुभवका भण्डार हौँ

हाम्रो सकृय बिगतलेनै आजको मानव सभ्यताको झलमल होइन र ? हिजो हामीले कोरेका गोरोटोनै आजको राजमार्ग होइन र ? हाम्ले आवाद गरेका निर्जन भूभाग आजका नगर, बजार सहर र बस्ती होइनन् र ?

Nepal Telecom ad

प्रा.डा. मुकेशकुमार चालिसे :

नेपालको २०७९को जनगणनामा जम्मा २,९१,६४,५७८ आङ्कलन भएकोमा पुरुष १,४२,५३,५५१ (४८.५%) र महिला १,४९,११,०२७ (५१.५%) छन् । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सम्भाव्य ६८ वर्ष वा सो भन्दा माथिका जनसङ्ख्या ५.२३ प्रतिशत रहेका छन् । अहिलेको आँकडामा २० वर्षसम्मका उमेरसमुहमा मात्र पुरुषहरू बढि प्रतिशतमा देखिन्छन् भने त्यसमाथिको हरेक उमेरसमुहमा महिला प्रतिशतनै बढि छन । यसैगरी दश वर्ष भन्दा बढी उमेरका जम्माजम्मी ४.५ प्रतिशत व्यक्ति विधुर÷विधवा रहेको, ०.२ प्रतिशतको पारपाचुके भएको र ०.४ प्रतिशत छुट्टिएर बसेका छन् । विधवा महिलाहरूको सङ्ख्या ८ लाख २६ हजार १४७ अर्थात दश वर्ष माथिका कुल महिलाको ६.६ प्रतिशत रहेको पाइएको छ । अझ दीर्घजीवनको आँकडामा अर्थात् ९५ वर्ष माथिका पुरुष ६८१० हुँदा महिला १०,४२४ भेटिएका छन । चुनावको सन्दर्भमा भन्ने हो भने नेपालबाट विदेशिने शैक्षिक र श्रम कामदार अनौपचारिक आँकडामा एक करोडको आसपास भएको मान्दा मतदाताको एकतिहाई माथि पाका मान्छेरहेको मानिन्छ । बिगत चुनावमा बिदेशिएका युवाको आग्रहमा पाका मान्छेको उत्साहजनक उपस्थिति त्यसैको परिणाम हो । अहिले ६० वर्षदेखि माथिका कतिपय संस्थाबाट सेवानिवृत्त र उन्मुखसमेत कुल २९,७७,३१८ (१०.२१%) अर्थात पछिल्लो गणनामा २५% बृद्धि भएको छ भने आउँदो दशक जनचेतनाको प्रभाव र स्वास्थ्यसेवाको व्यापकताले आधाआधी सङ्ख्यामा पाका हुन के बेर ?

हार्वाड, यल, जापान, चिन, भारतका मेडिकल स्कुल र पाका शास्त्रका विभागले उमेरिएकाहरूमा अनुसन्धान गरेर प्रतिवेदन छाप्छन् । उनीहरू सबैको उद्येश्य कसरी ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गर्ने भन्नेनै छ । त्यस्तै ६० वर्षको जीवनको सार र करिब ३५ वर्षको पेशागत अनुभव समाजले अपनत्व कायम गरेमा आउँदो मानवसमाज झन विकसित, सुसंस्कृत र सुखमय काल बन्नेमा आशावादी पाइएको छ । नेपालमा पनि व्यक्तिगतरूपमा कृष्णमुरारी गौतम (चट्याङ्मास्टर), एजिङ नेपाल लगायत संस्थाले पाका मान्छेका उमेरिदा आइपर्ने समस्यामा समाधान निकाल्न र नीतिनियम बनाउन धेरै कोशिस गरेको सुनिन्छ, देखिन्छ । यसैको सिको गर्दै पाका मान्छेका सामाजिक अवस्था र उमेरिँदा आउने मनोविज्ञानमा आधारित किताब आजभोलि नेपाली बजारमा पनि देखिन थालेका छन् ।

पाका मान्छेका कुरा आउँदा हामी बूढाबूढी, बाह्यसेवा उमेर नाघेका अर्थमा अङ्ग्रेजीको सिनियर सिटिजनको उल्था जस्तै ज्येष्ठनागरिक सम्झन्छौँ । हो, साँच्चै ज्ञान, सिप र अनुभवको भण्डार भएकाले हामी आदरसाथ पाका मान्छे भन्छौँ, धेरै त्यस्तै आदरणीय हुन्छन् र समाजलाई बाटो देआउनसक्ने उज्याला जूनजस्तै हुन् । घरबाहिर सेवा व्यवसाय गर्नेमात्र होइन घरकाजमै रहेका सबै पाका मान्छे यस्तैनै हुन्छन् भने कोहीकोही अल्पसङ्ख्यामा उही उमेरसमुहमा पनि अडबाङ्गा र नमिल्दा हुनसक्छन् । मोटामोटी पाका मान्छे शारीरिक र मानसिक श्रम गर्ने हिसाबले सक्षम, कमसक्षम र अक्षम भन्न सकिन्छ । सामाजिक परिवेश र सिकाईको लामो अन्तरालमा पाका मान्छे अनुभवका झम्ट्याइृले अन्तरमुखी र बाचाल हुनसक्छन् भने विज्ञानसम्मत र परम्परागत पनि । धेरै हण्डरठक्कर खाएर पहिरोले खसालेको ठूलो खस्रो चट्टानका टुक्रा साना गेग्रीन र बाटुला गुज्जाजस्तै र चिल्ला शालिग्राम बनेका पनि हुनसक्छन् ।

सकृय बयस्कताको कारणले धेरै पाका मान्छे आर्थिक, सामाजिक र शारीरिक सक्षम हुनसक्छन् भने पुस्तैनी वा आफ्नै कारण वा भवितव्यले उच्च, मध्यम, ठिक्क र न्युन अवस्थामा रहेका पनि हुन सक्छन् । पाको उमेरमा जेजस्तो परिस्थिति बन्छ त्यसमा सबैभन्दा मूलकुरा सहिष्णु र स्वनियन्त्रणमा सोच्नु, बोल्नु र रहनुनै सुखी रहने उपाय भएको बिर्सनु हुन्न । हँसमुख र मिलनसार तपाइँको चरित्रनै रमाइला दिन र जुनेली रातको शुभारम्भ हो । यस उमेरमा तपाइँ परिवार र हेरालुको अगाडि गनगने, असन्तोषी, जिद्दीवाल, रिसाउने, मुखाले, घमण्डी, एकलकाँटे, अर्काको कुरा नसुन्ने, हरेक कुरामा छनौटे हुनु भनेको दिउँसै कालरात्री सुरु गर्न खोजेकोनै ठहर्छ । हिजोका कतिपय तुजुक अब कायम राख्न गाह्रो हुन्छ, खोकिलामा राख्नोस्, सहन र आफूलाई नियन्त्रण गर्न गाह्रो हुन्छ, तर बिस्तारै सकिन्छ । अति आवश्यक हुँदा बोल्नोस् नत्र अरुलाई बाधा नपर्ने गरेर सकेको सघाउनोस्, मनखुशी गर्नोस्, बरु नबोलेर त्यसैमा रमाइलो मान्नोस् ।

उमेरिन थालेपछि हिजोका चुरीफुरीसाथ पछिलाग्ने साथीभाइ बिस्तारै चौबाटोमा यात्री छरिएझैँ छुटछन्, एकातिर जाने मात्र सँगै होलान् । समान उमेरसमुह र बिचारकासँग भेटघाट बढाउनोस्, त्यहाँ पनि घरमाजस्तै व्यवहार गरेर फेरिफेरि बोलाउने निम्तालुमा नछुट्नेमा पर्नोस् अब तपाइँको आनन्दको संसार त्यहिँ छ । त्यहाँ तपाइँका रमाइला र घतलाग्दा अनुभव आदानप्रदान गर्नोस्, रमाइलो माने थप्नोस् नभए ठाउँको ठाउँ रोक्नोस् । त्यहाँ तपाइँको अंश हात पार्न, पहिलेको व्यक्तिगत पदप्रतिष्ठाको ठस्सा भोग्न र बिलौना सुन्न कोही आएका हुन्नन् है, हेक्का गर्नोस् । सकिन्छ बहुजन हितायको कुरा गर्नोस् नसके राम्रो श्रोता बन्नोस् र सहयोगी मिजास बनाउनु होस् । उमेरमा अजङ्गको रिसाहा नरभक्षी बाघ र मत्ता हात्तीजस्तो मिचाहा स्वभाव भए पनि अहिले पदप्रतिष्ठा, बल, बर्कत र सामाजिक स्तर खस्केको, सबैको सहयोग र माया पाउन आवश्यक प्राणी भएको स्विकार गर्नोस् ।

गणितीय हिसाबले धेरै उमेर भएको र बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएको सामाजिक मनुवा पाका मान्छेनै हुन् । हिजोको फूर्ति नभए पनि तपाइँ अझै धेरै काम गर्न सक्नुहुन्छ, बसिबसी खाने दिन आए भनि हरेश खाने, निश्कृय बस्ने काम नगर्नोस् । कसैका सन्तानले अति माया गरेर एकैठाउँ बसेर खानोस् भनेको तपाइँको मानसिक, शारीरिक स्वास्थ्यको लागि फाइदा नहुने कुरा हो । आफैँ हिँड्डुल कम गर्न सके बसीबसी काम गर्नोस् तपाइँ केटाकेटी छँदा तपाइँका हजुरबा र आमाले दीर्घउमेरमा पनि केहि नसके गाई चराउने, दुहुने, पूजा गर्ने र बत्तीकात्ने काम त गर्नुहुन्थ्यो नि होइन र ? दैनिक जीउ तन्काउने र व्यायामलाई नबिर्सनोस्, सकेको हिँडनुहोस्, सक्नेभए दशहजार पाइला त पु¥याउनोस्, आफूले गरेका उपलब्धिको स्मरण गर्नु र मन प्रशन्न पार्ने कुरा सुन्ने, पढ्ने गर्नु यो उमेरमा राम्रो हो । आफूले पार लगाउन नसक्ने समस्याबारे चिन्ता र घोत्लिन बन्द गर्नुहोस् । संसारका सबै चिज नास भएर जान्छन्, हरेक जीव उत्पत्ति पछि एक समय मर्छ शाश्वत मृत्युको आतङ्क किन ? हरेक असल पक्षको उपस्थिति मेटिएपछि पनि गुणगान सदियौँ रहन्छ र मानिसका सुकीर्ति र अशल काम अमर हुन्छन् ।

हामी पाका मान्छे हिर्दोक, अप्ठ्यारा, जिद्दीवाल होइन बरु नसकेको भन्ने, सहज परिस्थिति चाहिने, अनुभवको कसीमा विश्वास गर्ने उमेरसमुहका प्राणी हौँ । हाम्रा कुरा नसुने र बेवास्ता गर्ने संस्कार रोपण गरे आउँदो पुस्ता झन् एक्लो निराशापूर्ण जीउनु पर्नेछ । अहिलेका वयस्कले बेलैमा हेक्का राखेर आफ्ना बालबालिकालाई पाका मान्छेलाई आदरमात्र होइन माया गर्न र अघि सरेर सहयोगी बन्न सिकाऔँ । हामीले गर्ने काम कुरा अनुभवले खारिएको निस्कर्ष हो, हामी सैयौँ फूल सुँघ्नु भन्दा एक थोपा अत्तरले वातावरण सुगन्धित बनाउन खोज्छौँ । हामी स्थुल आकारमा होइन गुणमा विश्वास गर्छौ र त्यसैको पाइनमा आफ्ना कुरा राख्छौँ, त्यो गनगन पनि होइन म्याद खुस्केको बिचार पनि होइन । हाम्रो सकृय बिगतलेनै आजको मानव सभ्यताको झलमल होइन र ? हिजो हामीले कोरेका गोरोटोनै आजको राजमार्ग होइन र ? हाम्ले आवाद गरेका निर्जन भूभाग आजका नगर, बजार सहर र बस्ती होइनन् र ? हामी हस्तक्षेप गर्दैनौ, आरिस गर्दैनौँ, हाम्रा बिचारको प्रशंसा नभए, नसुन तर खिसिटिउरी गर्न कसले हक दियो उरन्ठेउला र ठेट्नालाई ? हामी पनि सतहको चालरहित नदीझैँ अझै बग्न सक्छौँ र मानव सभ्यतामा मतापले सहयोग गर्नसक्छौँ । तपाइँहामी सके विश्वका लागि, देशका लागि, आफ्नो समाजका लागि केहि नसके आफ्नै परिवारको जाज्वल्यमान दिशानिर्देश गर्ने ज्योति बन्न केले रोक्छ हँ ?

०००
साउन १९, २०८०
चालिसे डाँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x