साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकाको चासो आवश्यक छ !

उमेरदार र किशोरकिशोरीले पाका मान्छेबाट सिक्ने कुराबाहेक घृणा, होच्याइँ र वैमनस्यता केही पाउँदैनन्, यस्तो सङ्लो मूल छाडेर अराजकताको धमिले व्यक्तिवादी कुवा रोज्नु राम्रो हो र ?

Nepal Telecom ad

प्रा.डा. मुकेशकुमार चालिसे :

हिजोआज कतिपय घरपरिवारमा आखिर कुरा त राम्रै गर्नुहुन्छ नि भन्दै पाका मान्छेको मर्यादा बढ्दै छ । अचेल अचम्म मान्दै भए पनि पाका मान्छेका कुरा सुन्ने, अनौठा परिकार खान बनाउन सघाउने र गुन तिर्न विकसित ठाउँमा घुम्न लैजाने चलन बढ्दै छ । हिजोसम्म केहि हजारिया र अल्पसङ्ख्यक लखपतिका फुरफुर अचेल मुद्रास्फितीले घरघरै लखपतिको उपस्थिति भएर शहरबजारका आन्तरिक पर्यटकीय क्षेत्र बिदाका दिन त घुइँचोले बाटो छिचोल्नै गाह्रो भइरहेछ । हरेक नगरहरू मोटर बाटोले दूरदराजसम्म जोडिने शाखा मार्गले गर्दा बजारमा गाउँले पाका मान्छे पनि बाक्लै देखिन थालेका छन् । त्यसैले नेपालका शहरहरू रमणीय फूलबारी जस्तै देखिन थालेका छन् । शहरतिर यातायातका साधनमा दुई सिट चाहिँ छुट्ट्याएको पाइन्छ, कुल मतदातामा पाका मान्छे एकतिहाई रहे पनि सहुलियत पाउनेमा कतै एकतिहाई सुबिधा देखिएको छैन ।

एकडेढ दशक अघिसम्म पाका मान्छेका प्रशङ्ग आदरसत्कार तथा मान्यजनको स्थानमा रहेकोमा अहिले नेपालमा सार्वजनिक ठाउँमा ‘अधिकार र कर्तव्यको’ रुपमा पनि उठ्न थालेका छन् । विद्यालय तहमा पठनपाठनका सामग्री बनेका छन् भने सभा र समारोहमा पाका मान्छेको हैसियत अलिअलि उक्लेको छ । सरकार भत्तालाई प्रमुखताले प्रचार गर्दै नीतिनियम बनाउने चर्चा गर्छ भने सार्वजनिक संस्थानहरू अझै सुन्या नसुनेकै अवस्थामा रही गाडधनबाट ब्याज कमाउन उत्साहित चाहिँ गर्दैछन् । जे होस् पाका मान्छे अब सामाजिक कुराका अभिन्न विषयवस्तुमा परेको अवस्था आएकै छ । हो, ढल्केको उमेर र कतिपयको जीर्ण शारीरिक अवस्था व्यहोर्नु पर्नेले गर्दा यशगानको समय पाका मान्छेको पक्षमा काम गर्नेको कम भएकाले बालबालिका र युवायुवतीको पक्षमा काम गर्नेहरूको जस्तो बृहत् देखिँदैन । मानव स्वभाव कृतघ्न र असामाजिक मात्र नभएकाले अनुभव, ज्ञान र सिपका धनी पाका मान्छे अँध्यारो र प्रगतिउन्मुख समाजका त जूनझैँ मार्गदर्शक उमेरसमुहनै हुन् नि ! हामी आफैँले आफ्नो प्रजातिका सबैभन्दा परिपक्व व्यक्तित्वहरूलाई नकार्न त किमार्थ मिल्दैन है !

गुनासोः
पाका मान्छेको सन्दर्भमा कुरा आउँदा धेरै ‘फेद कीरो लागेका, टुप्पा पलाएका, नवधनाढ्य ठस्सा देखाउन उत्सुक, दौरा नसुरुवालका खल्ती, एकल परिवारमा रमाउने आधुनिक’ जस्ता तथाकथितहरू भने अनावस्यक चासो राख्ने उमेरसमुहमा घच्याड्न खोज्छन् । उनीहरू पाका मान्छेलाई ‘घरका हरेक कुराकानीमा चासो राख्ने मात्र होइन हस्तक्षेपको स्तरमा जान्ने हुन खोज्ने र अबाञ्छित अर्तिदिने मनुवा’ भनि घोच्छन् । वास्तवमा, निखारमा भन्ने हो भने पाका मान्छे प्रतिको अरु उमेरसमुहको यस्तो पूर्वाग्रह उमेरजन्य उर्जाको अमिलो लिँडे तर्कमात्र हो । के हरेक समुहमा अगुवा चाहिन्न र ? समुहलाई निर्दिष्ट दिशामा बेरोकटोक सलल चलाउन र अभिष्ट प्राप्त गर्न ? परिवार सदस्य सबै आआफ्नै ढङ्गले मात्र हिँडेमा समन्वय कसले गर्ने र मानिसको विशिष्ट समुह उपलव्धिरहित फजुलमा दिन काट्ने मात्र त होइन नि ! परिवारको मियो नै पाका उमेरसमुह हो नि, पाएसम्म र सकेसम्म पाको इँटकै निर्माण बलियो हुन्छ नि काँचो इँट त एक झर पानीले लितिक्कै, होइन र ?

अल्पकालिन आर्जनले आफू पनि स्वतन्त्र बाँच्न सक्छौँ भनि देखाउन खोजेकाहरूको अस्थाई घमण्डको बुर्कुसी सुनाउने अलाप अरु पनि थुप्रै सुनिन्छ । ‘हजुरको पालामा यस्तो थिएन नि, च्याउ खावोस् न स्वाद पावोस्, जमाना कहाँबाट कहाँ पुगिसक्यो, सधैंको उही गनगन, डराउन नि हद हुन्छ नि, जे कुरामा पनि बिचार पुर्‍याउनु भन्या छ, कति नाकनिक गरेको भन्या, कति गुन बैगुन केलाउन सक्ने ?’ जस्ता मद्दिम र पेचिला शव्दबाण दैनिकी भएको हुनसक्छ । अलि निष्पक्ष जस्ता चाहिँ ‘हाम्लाई यस्तै मनपर्छ, तपाइँका कुरा सुनिदिउँला तर मन नपरे गरिन्न है, नरिसाउनु होला’ भनि मनखुसी गरेर एकल स्वभाव देखाउन सक्छन् । पाका मान्छे आफन्त र प्रियजनलाई आफ्नो अनुभव र ज्ञानबाट सुखैसुख होस् भनि निशुल्क सल्लाह दिन खोज्छन् र हरेक प्रशङ्गमा अघि पर्न खोज्छन्, त्यसैको फल हरेक कुराको खोजीनिति र सोधपुछ गर्छन्, कचकच होइन । केहीमात्र स्वभावैले अन्तरमुखी भए पनि धेरै पाका मान्छे आफन्तको ‘अति माया र अप्ठ्यारोमा नपरुन्’ भन्ने चित्त बनाएर हरेक गतिविधि र कुराकानीमा आफ्नो कुरा पसारो पार्न खोज्छन् । किशोरकिशोरी र वयस्कले पाकाले गरेका हरेक सुरक्षित र निर्धक्क बन्ने तहकिकातको चिन्तालाई किचकिच भन्ने गर्छन् । यो त सरासर अनादर र आफैँ सबै कुरामा जान्ने छौँ भनि गरिएको घमण्ड भएन र ? छ दशक अनुभवी कुरालाई हावामा उडाउन मिल्ला र ?

पाका मान्छेको सरसल्लाह कैयौँ हण्डरठक्कर र लामो विविध अनुभवबाट आर्जित ज्ञान र सिपका आधारमा प्रियजनहरू अप्ठ्यारोमा नपरुन् भनि सतर्क गराउन गरिएको प्रयास हो । सामान्यतया पाकाको कुरा सुन्ने, गुन्ने र मान्ने स्वभाव नभएका परिवार र आफन्तमा सम्मानसहित रहनुपर्ने अग्रजहरूका व्यवस्थित, सचेत र नरम संस्कारलाई ‘परम्परागत, बुढ्यौली र पुराना’ भनि नाक खुम्च्याउँछन् । हरेक कुरामा सिक्नलाई आफैँ हण्डर खानै पर्ने हो र ? मानव समाजले ज्ञानको पुस्तान्तरणबाट द्रूतगतिमा विकास र समृद्धिको कदम चाल्नुपर्ने होइन र ? मानव सभ्यताको इतिहास हेर्दा त ऐतिहासिक सबल र दुर्बल पक्षको समीक्षा गर्दै सबल पक्षको जगेर्ना गर्ने समुदायनै अघि बढेको देखिन्छ ! आमुल राज्य परिवर्तन गरेर विकासमा अघिलम्केका राज्यव्यवस्थामा पनि त्यसैले पाका मान्छेलाई नयाँ पुस्ताको जानकारीकोलागि खटाएको देखिन्छ । चिन जापानमा पुराना दरबार र सालिक अतिरिक्त आयआर्जनका लागि पर्यटन विकासका गन्तव्य ठहर गरी जोगाइएको छ । पाका मान्छेलाई विभिन्न शैक्षिक प्रतिष्ठानमा युवापुस्तालाई सजीव इतिहास र पुराना कुरालाई प्रष्ट्याउन निम्ता गरिन्छ भने कैयौँ देशमा पाका मान्छेको समुह निर्माणमा सरकार नै अघि बढेको छ । अरु उमेरसमुहले आफैँ अप्ठ्यारोमा नपरी नचेत्ने बानी नगरेकै राम्रो, मायाले पाएको निशुल्क मार्गनिर्देश पाउने सरल उपाय नपन्छाउनु भनेकै आफैँलाई फाइदा होइन र ?

पाकाको गुनः
पाका मान्छे बिहान ओछ्यान छोडनुअघि सिनित्त मिलाउन भन्छन् भने घर बस्दा र बाहिर निक्लँदा फरक पहिरनका लागि भन्छन् । बिहानीको नियमित कर्म दिसाशौच, दाँत माझनु र कुल्ला साथै दीर्घ वा लघुस्नान सबै व्यक्तिगत काम सकेर परिवारले औँल्याएको काममा लाग्न थाल्छन् । अरु पनि ढाडमा घाम पर्नुअघि उठुन् र कामकाममा लागुन् भन्नेले विद्यालय जानेको सस्वर बाचनले घर घन्केको सुन्न मन पराउँछन् । परिवारको स्वास्थअनुसार पकाउने सिप भएकाले भान्छा जिम्मा लिएकोमा औधी रमाउने पाका मान्छे बाहिरफेरको काम गर्न नसके बालबालिका हेरबिचारमा बिहान सघाउँछन् । काममा गएकाहरू बास्नाले आँगनबाटै अड्कलेर हातगोडा धोई तयारीमा रहन अरुलाई फकाउन जान्दछन् । पाका मान्छे भएका घरमा जहान परिवार बेलामा खाना, खाजा र आरामी गर्ने समय तालिकाअनुसार गर्न निर्धक्क हुन सक्छन् ।

पाका मान्छे हरेक काम कुरोमा नहडबडाईकन ‘मतापले’ भन्ने गर्छन् । खाना पकाउँदा ‘भर्सिन दिनुपर्छ अनि पाक पुग्छ र स्वाद आउँछ’ भनि खाना खानलाई धर्य गर्न सिकाउँछन् । खाना खाँदा सफा लुगामा आसन अगाडि पानी लिई बसेर ‘हाँप र झाँप नगरी, खसमले खाएझैँ’ भनि आरामले पुग्दोगरी चपाई-चपाई खान भन्छन् । खाना चपाउँदा बेढङ्गले चपाएमा र चाहिने बढी समय लगाएमा ‘बस्तुले खोले खाएझैँ गरेको ? के उग्राएको ?’ भनि खाद्यवस्तु अनुसार गर्न सिकाउँछन् । किटाणुको असर हुने सम्भावना हटाउन खानाको रहलपहल हात र मुख वरपर नरहोस् भनि सिनित्त चुठ्ने र कुल्ला गरेर सफा भई भान्छा छोड्न भन्छन् । दैनिक तालिका अनुसार गर्न रुचाउने पाका मान्छे अघिल्लो साँझनै ‘कसले के गर्ने ? कता जाने ?’ भनि टुङ्गो लागेका कुरामा अडिन्छन् । अठोटेकोभन्दा फरक एक्कासी नयाँ गतिविधि परिवारको देखे ‘किन, कसरी ?’ भनि उदेक मान्दै सोधिहाल्छन् । जहान धेरैहुँदा छुट्नसक्ने निर्धा, कमजोर र अन्तरमुखी कोही पनि खान लाउन र सञ्चोसुबिस्ताका सेवाबाट बञ्चित हुँदैनन् । पाका मान्छे कसले खायो खाएन, किन खाएन, कहाँ छ र कहाँ गयो सबै हेक्का राख्छन् । अड्कलेको समयमा भए नभएको काम र परिवार सदस्य कतै जाने वा घर आउने समयमा तलमाथि भए निर्धक्क सोधपुछ गरिहाल्छन् । शारीरिक रुपले धेरै नसके पनि मानसिक रुपले परिवारको सुरक्षा र हितमा सकृय भएकै प्रमाण हो यो ।

दिनभरि को कता काममा निस्कने सबै हेक्का भएका पाका मान्छे मध्यान्ह भएपछि घरमा हुने परिवारको लागि खाजाको जोहो र बेलुकाको तनुखामा पृथक व्यवस्था गर्न लाग्छन् । हरेक काम बडो सोचविचार र कसैलाई अप्ठ्यारो नपर्ने हिसाबले पाका मान्छे बिहानको खाना, दिउँसोको खाजा र काम हेरेर बेलुकीको खानपिनको सोचाई बनाउँछन् । बेलुका आरामी पुग्ने र भोलिको असजिलो हेरेर पाका मान्छे दैनिकी पूर्वानुमान गर्दै योजनाबद्ध तालिका बनाउन निपूर्ण हुन्छन् । त्यसैले त पाका मान्छे भएका घरमा ‘बिहान आलुप्याज र बेलुका प्याजआलु’ कहिल्यै हुन्न, भए पनि अनेक छोपले जीनिसनै अर्कै भएको स्वाद आउँछ नि ! सधैं गाजरको सलाद खाने एक घरमा त्यसैले कहिले चाना परेको गाजर, कोरेसोले कोरेर कहिले नुन कागती मिसाएको, कहिले चिनी हाली कागती निचोरेर विचित्रको स्वादमा ख्वाएको गजबै लाग्छ । अचेल चलेको पेयमा चिया त कहिले सक्खर, कहिले मिश्री र कहिले चिनीमा पकाएर कहिले मरिच, कहिले दालचिनी र कहिले सुकुमेलले फरक स्वादमा पिएको मज्जा लिन्छन् । घरमा परिवारको आनन्दका लागि मरिहत्ते गर्ने पाका मान्छे भएमा यस्ता विविधता सम्भव हुँदोरहेछ ।

चाडबाड र विशेष मितिका लागि पाका मान्छे भएको घरमा बेलैमा आवश्यक चिजविजको जोरजामको रन्को चलेको हुन्छ । हुने दिन ‘ज्या यस्तो चाहिने बिर्सेछ, छुटेछ, कस्तो खल्लो भयो ?’ भन्ने पर्दै पर्दैन, लुसुलुसु बिभिन्न बस्तु भँडारबाट निस्कन्छ । अझै पनि त्यस्ता घरमा जाडो, गर्मी, वर्षात र शरदका लागि चाहिने बस्तु र सामान अजगसँग व्यवस्था गर्ने गरिन्छ । जतिखेर चाहियो त्यतिखेर कता पाइन्छ भनि ‘रुमाले’ चरित्र पाका मान्छे भएको परिवारमा कम पाइन्छ । त्यस्तो परिवारमा दुईचार जना पाहुना ‘नभनि आइपुग्दा पनि’ खाजा, खाना र बस्नलाई कसैले चिटचिट पसिना काढ्न नपर्ने हुन्छ । मानिस हेरीहेरी परिकारको स्वाद आफूले पनि चाख्न पाएकोमा बयस्क र केटाकेटी छक्क पर्ने अवस्था आउँछ । यो सबै पाका मान्छेको व्यवस्थापन चासो र सामुहिकताको उपज हो र परिवारलेनै सामाजिक गर्व गर्ने परिस्थिति हो । त्यसैले त पाका मान्छे भएका घरका केटाकेटी अध्ययन गर्न नछोड्ने, इमानी र कुलतमा परेका हुँदैनन् भन्ने गरिन्छ नि ! पाका मान्छेको रेखदेखकै कारण त्यस्ता घरका बालबालिकामा आज्ञाकारिता र सामुहिकता प्रचुर हुन्छ र पछि तिनै समाजका नमुना बनेका पाइन्छन् ।

पाका मान्छेको चासो पाको हुन थालेर विभिन्न सेवा व्यवशायबाट निवृत्त हुनेताका अलि बढि हुन्छ भने अतिपाको हुँदै गएपछि कम हुँदै जान्छ । घरपरिवारको भरणपोषणको जिम्मा र कमाईधमाईको केन्द्रबिन्दु भएकाले झण्डै शासकजस्तो मानसिकता नगएकाले सुरुमा सबैको हाइँफूइँ हुन्छनै । पाका मान्छेको नियमित र पटके आयस्रोत, सामाजिक हैसियत, आफन्तसँग सम्बन्ध, शारीरिक र मानसिक अवस्था अनुसार पनि सेवानिवृत्त उमेरमा स्तर निर्धारणमा प्रभाव पारिरहेको हुन्छ । रहँदाबस्दा आफ्नै सन्तानको कमाई र मिहेनतले उस्का सन्तानसहित घर चलाउने मुख्य स्रोत हुन लागेको हुन्छ । यस स्थितिमा हस्तक्षेप स्तरको चासो बेवास्ता हुन थालेपछि पाका सकेको गर्ने र चुपलाग्नेमानै चित्त बुझाउँछन् । तैपनि पारिवारिक मायाले बेलाबेला सोधखोज र सम्भव भए सल्लाह दिन किन चुक्थे र ? वयस्क र केटाकेटीले अनुभवी पाका मान्छे र तिनका ज्ञान निशुल्क पाउँदा के बेफाइदा हुन्छ र ? सकेको लिनुनै राम्रो हुन्छ नि !

अन्त्यमा,
परिवारमा सबैभन्दा उमेर खाएका, अनुभवले पुरिएका सकेको ज्ञान आर्जन गरेका पाका मान्छे सबै किसिमले परिवारका पुज्य हुन्छन् । धेरैले आफ्नै आँखाले समाज र देशको इतिहास र भूगोलको परिवर्तन देखेका छन् भने कतिले परिवर्तनमा भाग लिएका छन् । मिश्रित अनुभवको कारण पूणर् ज्ञान नभए पनि धेरै विषयमा चर्चा गर्न र कुरा कोट्याउन सक्षम हुन्छन् । आफ्नो बेलामा शारीरिक श्रम प्रमुख जीविकोपार्जन भएकाले आधुनिक भनाउँदाजस्ता पैसा तिरेर जीमखानानै जाने गर्दैनन् बरु घरायसी काममा रमाउँछन् । अहिलेका कम उमेरसमुह र व्यक्तिवादमा अल्झेकालाई लाग्ने अनावश्यक चासो उहाँहरूको सामुहिकता र बहुजनहितायको अभिव्यक्ति हो । ‘रामनाम जप्न छाडेर बुढेशकालको जथाभावी चोसो घुसारेको’ होइन पाका मान्छेको चासो, यो त परिवार र अरुको कामप्रतिको उत्सुकता र रेखदेखको सकृयता हो ! उमेरदार र किशोरकिशोरीले पाका मान्छेबाट सिक्ने कुराबाहेक घृणा, होच्याइँ र वैमनस्यता केही पाउँदैनन्, यस्तो सङ्लो मूल छाडेर अराजकताको धमिले व्यक्तिवादी कुवा रोज्नु राम्रो हो र ?

०००
साउन २६, २०८०
चालिसेडाँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x