सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाका मान्छेलाई पत्याउँ !

उमेरिँदै गएका पाका मान्छेलाई उहाँहरूका गतिविधिमा हौसला दिऔँ, उहाँहरू जति र जे गर्दै हुनुहुन्छ त्यो एउटा मानिसले सरल तरिकाले सहज जीवनयापन गर्ने कला हो ।

Nepal Telecom ad

डा. मुकेशकुमार चालिसे :

एकै प्रकारका कुरामा सिकाईको विविधता, पारिवारिक पृष्ठभूमि, प्राप्त साधनस्रोत, परम्परागत धारणा, वातावरणको प्रभाव र व्यक्तिगत स्वास्थ्य स्थिति तथा क्षमताका आधारमा फरकफरक मान्यता विकसित भएको हुन सक्छन् । विभिन्न उमेरसमूहमा मानिसका स्वभाव फरक हुनको पछाडि त्यस्तै विविध सामाजिक र मानसिक छापले काम गरेका हुन्छन् । मानिस जन्मेपछिको केही वर्षको हुर्काईले मस्तिष्क विकासमा धेरै भूमिका खेलेको हुन्छ भने पछि सिकिने र प्रभाव पार्ने परिस्थितिले पनि विचार बनाउन मद्दत गर्दछ । केही प्रभाव हुर्कदै गर्दा र एकसरो काममा लाग्ने वयस्क उमेरसम्ममा व्यक्तिको सङ्गतले पनि असर गरेको हुनेहुनाले त ‘सङ्गले रङ्ग सर्छ’ भन्ने उखान प्रचलित भएको हो ।

हरेक उमेरसमूहको ज्ञान र अभिव्यक्ति आ-आफ्नै प्रकारको हुन्छ । केटाकेटीमा मस्तिष्क विकसित हुने क्रममा मानव समाजका धेरै कुरामा अनुभव र सिकाईको कमीकै कारण नबुझ्ने हुन्छ । उमेरिँदै जाँदा अनुकूलतासँगै परिस्थितिजन्य अनुभव र सिकाई आफ्नैमा मात्र सिमित नभई आफ्नो समाज, देश, पृथ्वी र ब्रह्माण्डको ज्ञानसमेत हुन्छ । यस्तै परिप्रेक्ष्यको कारणले एकै प्रजातिका मानिस सातैै महादेश र छिन्नभिन्न टापुदेशहरूमा छरिएका भए पनि हरेक समुदायको आ-आफ्नै स्तरबाट ज्ञानयुक्त भएका देखिन्छन् । फलस्वरूप एउटै उमेरसमूहका विभिन्न ठाउँका मानिसका चेतना, ज्ञान र भोगाईमा मात्र होइन अनुभूतिमा समेत विविधता पाइन्छ । त्यसैले त सामान्य प्राकृतिक प्रकृया- पानी पर्दा वा गड्याङगुडुङ गर्दा संसारभरीका हरेक मानव समूहको आ-आफ्नै प्रकारको अभिव्यक्ति पाइन्छ । हरेक उमेरसमूहसँगै आउने त्यस्तो विविधतामा पाका मान्छेका अभिव्यक्ति पनि फरक फरकनै रहेको हुन्छ । फरक जस्तोसुकै भए पनि पाका मान्छेका भोगाईको अभिव्यक्ति भने तथ्य र वास्तविकताको निकै नजिक हुन्छ । पाका मान्छेले त्यसो गर्नसक्नुमा उहाँहरू आफूजस्तै र अरू कम उमेरकालाई ढाँट्न र छक्याउन मन गर्नुहुन्न भन्ने बुझ्नुपर्छ । आफ्ना दशकौँका ज्ञानले आर्जित अनुभव उहाँहरू जस्ताको त्यस्तै भन्न, सुनाउन र अरू उमेरसमूहले विशेषगरी आफन्तले गर्न खोजून् भन्ने चाहनु हुन्छ ।

खानपिनः
केटाकेटीदेखि पाको उमेर पुग्ने क्रममा कतिपय खानपिनका स्वाद, फाइदा-बेफाइदा र प्राप्यताबारे पर्याप्त जानकारी पाका मान्छेलाई भइसकेको हुन्छ । त्यसमा आधारित भएर उहाँहरू आफ्नो फापअफाप अनुभवको पूर्वाग्रहसमेत थपेर ठिकबेठिक भन्नुहुन्छ । आफू केटाकेटी हुँदा के मन परेको थियो ? कुन कुरा मन परेर पनि पाइएको थिएन ? सकेमा अहिले ती कुरा नाति पुस्ताका केटाकेटीलाई पुर्‍याउन खोज्ने देखिन्छ । कतिपय प्रसङ्गमा घरका वयस्क पुस्तालाई मन नपरेमा अनि मतान्तर र उस्तैपरे ‘किन हस्तक्षेप गरेको होला ? जुगजमाना कहाँ पुगिसक्यो, खाली पहिलेका कुरा’ भनि क्वारक्वार शुरू हुन सक्छ । त्यतिखेर पाका मान्छे द्वन्द्व कम गर्न चुपलाग्ने र आफूलाई फाप्ने कुरामा अडिग हुनुपर्छ भने ‘ढुङ्गो बोल्ला तर आफू नबोल्ने’ नै कल्याणकारी बाटो अपनाउँछन् ।

प्रायः पाका मान्छेलाई शारीरिक कमजोरी, आवश्यकता र सहज पाचनका लागि चपाउन कम पर्ने नरम, मिठो मानिएका कुरा तथा पहिले तागतिला भनिएका कुरा मनपर्छ । अरूले पनि त्यस्तै खानपिन गरून् भनि आग्रह गर्न सक्छन्, अझ बजारिया र घरमै बनाएकोमा घरको खानेकुरा मन पराउने गर्छन् । अहिलेको बजारवाद र बेलामा घरेलु सिप सिक्न पाउने वातावरणको अभावमा वयस्क र केटाकेटी बाजारू कुरामा लोभिएकोमा ‘नाक खुम्च्याउँछन्’ । नौनीको फाउ बनाएर चामलको पिठोमा सक्खर मिलाई बनाएको घरेलु सेलरोटी र माल्पुवा पाए, दाँत नभए ङ्याच्याङ् ङ्याच्याङ पारेर भए पनि सन्तुष्ठ बन्छन् । एक छाक फुस्रा रोटी दैनिकी बनेका पाका मान्छे बजार मैदा सङ्क्रमणले आक्रान्त भएको पिरलोले शुद्ध गहुँको पिठो पाए त हुरूक्कै हुन्छन् । त्यसैले त अचेल पाका र रोगब्याधको खुराकीको रूपमा बजारको चलाखीले ‘गहुँका चिउरा, आँटा र मकैका पिठो, च्याँख्ला, दरियाको’ व्यापार फस्टाएको छ नि !

पाका मान्छेको लोभ्याउने कथन र शहरियाको स्वाद फेर्ने भनि अचेल ‘लोकल कुखुरा, पहाडी आलु, फापर र कोदोको ढिँडो अनि लट्टे र काल्तोरीको साग, रासायनिक मलमुक्त तरकारी’ले शहरबजारका भोजनालय गुल्जार हुँदैछन् । बेलाबेला पानरोटी र खिच्रोको चर्चामात्र चलेमा पाका मान्छे फर्सीका मुन्टा, भिँडेखुर्सानी र मिल्दो गेडागुडीको जोहो गरी पकवान पकाउन अग्रसर हुन्छन् भने तात्तातो खाई कोखा चर्काउने सपना बुन्न थालिहाल्छन् । त्यस्तो खानाको प्रशंसा मनमिल्दा जोरीपारी र आफन्तसँग पक्किने बिटोनै बन्छ केहिदिन त । मतापको आँचमा पाकेको, हरेक कुराको पाक पुगेको, भर्सेको खानाको वणर्न नै कतिकति ? त्यसैले अचेलको ‘दुईटा पाउराटीका ब्रेकफास्ट र औषधिले बढाएर बेचिएको दुधचिया’ वाला बिहानीको खानामा पाका मान्छेले मन नदिएका हुन् । खाजामा पनि सक्नेले मकैभटमास वा दहिचिउरा र तिलको छोपमा रमाउने पाका मान्छे ‘दोटा समोसा, एक कचौरा तयारी चाउचाउ र पिज्जाको एक चोइलोमा’ अपरान्ह काट्न बेखुशी देखिन्छन् । दिउँसो दुई ओटा फुस्रा रोटी र आलुको झोल अनि साँझमा बरू रूगरूगे जाउलो ‘पेट फुलेको पनि समन हुन्छ’ भनि आश गर्छन् ।

गर्मी महिनाबाहेक मनतातो पानी पिउन पाउँदा ‘भोक मरेको र वायु हटाको’ अनुभूत गर्ने पाका मान्छे चटपटे खानेकुराभन्दा लयालु र छिपछिपे मन पराउँछन् । धेरै अमिलो, पिरो, तितो, तेल चुहिने खानेकुरा, रसको पित्कै नभएको तरकारीभन्दा हरेक चिज ठिक्क स्वादको र अली झोलिलो पाक राम्रो मान्छन् । हरेक कुरामा ‘ठिक्क’ भन्न र खान रूचाउने पाका मान्छे दशकौँको अनुभव आफूलाई लागु गर्छन् र अरूले मानिदिउन् भन्ने सोच्छन् । त्यसैले ‘हाम्लाई त हुन्छ, तपाईंहरूलाई के को कचपच ? पाएको बेलामा कोचेर खानु नि !’ भनाई सरासर बेठिक हो । पाका मान्छे कति खाने र कहिले खाने भन्ने आफ्नै अनुभवले थाहा पाएका उमेरसमूह हुन् । उनीहरूका खानाको सिफारिसले कसैलाई नोक्सान हुँदैन ।

लुगाफाटोः
चाँडै नमैलिने र चहकिलो भन्दा शान्त रङ्गका कपडा मन पराउने पाका मान्छे किन्दानै ‘कपडा जोगाउँदो, बिस हिउँद चल्दो’ भन्दै घोटघाट गरेर किन्छन्, रोज्छन् । प्रायः कपडा ‘बाक्लो र नघष्टिने’ रोजाई पाका मान्छेमा पाइन्छ भने सिलाउँदा खुल्ला र अलि ठूलै आकारमा सिलाउने बानी नै हुन्छ । अहिलेको जस्तो टिमिक्क वा घुँडो, छाती, ढाड देखिने त ‘सिनेमामा हेर्न पो ठिक्क’ भन्ने पाका मान्छे अङ्ग देखिने, बाहिरी-भित्री खल्ती नभएका, पेटमा हावा पस्ने त लाउननै मान्दैनन् । त्यसैले त जमघटमा पाका मान्छे नेपाली ‘मूलाको बोक्राजस्तो बाक्ला’ दौरासुरूवाल, कोट वा ज्वारीकोट, चौबन्दी चोलो र बाहिरी सारी लगाउन मन गर्छन् । कोटभित्र टिसर्ट, पेटका लुँदा देखिने तुन्दु्रङ्गे तुना बाँधेको कोखा देखिने चोलो र नितम्बको हाड देखिने सारी लाउने पाका मान्छे बिरलै देखिएलान् ! बाक्ला र शरीर बचाउने लुगालाई ‘एक झर पानी र टण्टलापुर घामबाट जोगाउने’ भनि तन्नेरीका हँस्यौलीलाई पाका मान्छेले सिन्को बराबर पनि भाउ नदिएको पाइन्छ ।

कुर्कुच्चे, पाइताला भन्दा लामा, औँला देखिने बजारमा चलेका सर्प जेलिएका जस्ता तुनेभन्दा खुट्टो हुल्ने, तुना नभएका र च्याप्प हुने नरम जुत्ता लगाउन पाका मान्छे मन पराउँछन् । ‘हिँड्न सजिलो हुने पो जुत्ता, बेआकारको मागेकोजस्तो’ भन्ने त पाका मान्छेको मुखमै हुन्छ । छालाकै लगाउँदा पनि कानेजुत्ता टिलिक्क काली लगाएको रूचाउने पाका मान्छे कपडाका नरम तलुवा भएका जुत्तामा हिजोआज लहसिएको पनि देखिन्छ । जेभए पनि शरीरलाई बाधा नपर्ने, धेरै चमक नभएको आरामी खालका चिजबिज रूचाउने देखेमा पाका मान्छे भन्न सकिन्छ । बरू पाएसम्म पिँडौला च्याप्ने मोजा लगाउन पछि हट्दैनन् ।

पाका मान्छेका ओच्छ्यान रोजाईमा ‘पल्टँदा भैँसी बस्दा स्वाँ भएजस्तो ठस्याकठुसुक’ गर्ने नभएर लपक्क परेको नै हुन्छ । तकिया मुण्टो अड्याउन फाप्ने आकारको हुन्छ भने बस्दा अढेस लाग्न सजिलो सँगै बालिष्ट भनिने अलि भुक्के गद्दा रहन्छ । कोही भेट्न आउँदा बसेर कुरा गर्न मनगर्ने पाका मान्छे केहिबेरमा कम्मर र ढाड दुख्दा वालिष्टमा टेको लगाएर गफ्फिएका हुन्छन् । ओढ्ने बाक्लो तर हलुको सिरक एक कुनामा रहेको देखिन्छ भने जुनसुकै मौसममा कामलाग्ने पातलो ओढ्ने सँगै हुन्छ । प्रायः ओच्छ्यानमा सुतीका अवयव बढी हुन्छन् भने पुग्ने ठाउँमै हातेरूमाल र पुछ्ने टाला भेटिन्छ । औषधिमूलो र पानीका भाँडा त सिरान छेउ व्यवस्थित राखिएको हुन्छ । अझ दैनिक झुक्किन नहुने औषधिको पातोमा शुरू र अन्त्यको गतेसम्म लेखिएको देखिने ठाउँमानै हुन्छ ।

पढ्न ईच्छा गर्नेका त त्यतै ओरपर नियमित पढ्ने र नयाँ पुस्तकका चाङ देखिनु फोहर हैन है । ओच्छ्यानबाट उठ्नासाथ खाट छ भने खाटमुनि नभए ओच्छ्यानको गोडा पसार्नेतिर सानो पुछुवा टालो रहेको पाइन्छ । यसले ओच्छ्यानबाट उठि यताउती गरी फर्कँदा सफा राख्न मद्दत गर्दछ । सुतेर पनि देखिने झुण्ड्याउने पात्रो, त्यसमा छोड्न र बिर्सन नहुने गतेबारको चिन्हो, आफ्ना मान्यजनका चित्र, भए भित्तेघडी तथा रात बिरात सजिलो हुने उज्यालोको प्रबन्ध हुन्छ । घरभित्र र बाहिर लाउने लुगा केहि झुण्डिएका र विशेष बेलाबेला प्रयोग गर्ने चाहिँ अजगमा मिलाएर थन्क्याएको पाइन्छ । घरभित्र घिसार्ने चप्पल वा जुत्ताको आफ्नै ठाउँ अठोटेको होला भने बाहिर हिँड्दा लाउने एकजोर टाँडमा वा प्लाष्टिकले मोरेर बाहिर निस्कने ढोका छेउछाउ कसैलाई बाधा नपर्नेगरी जतन गरिएको होला ।

बोलीचालीः
पाका मान्छे आफ्नै उमेरसमूह र चित्त मिलेकासँग बाहेक गिल्लिने, ईतरिने र गफ्फिने कम गर्छन् । छ दशक नाघेका मान्छे, जीवनका हण्डरठक्कर खाएर कपाल फुलाएर पाका मान्छे भएका हुन् । उहाँहरूका अनुभवसहितका कुरा अरू उमेरसमूहसँग मसक्कै कुनै पोयोनै मिल्दैन, छेउकुना मिले पनि । हो आदरभावसहित पाकालाई माया गर्ने परम्परा बसेका परिवारमा हुर्केकाको चाहिँ कुरै अर्कै । त्यस्तोमा त पाका मान्छेका साथी अरू उमेरसमूहका मनग्य बन्न सक्छन् । यस लेखकले एउटा त्यस्तै घर देखेको थियो जहाँ बाआमालाई भेट्न आउने पाका मान्छे बिस्तारै कुराकानीको क्रममा छोराका साथी बनेका थिए । पछिपछि बाआमाले भेट्न आए भनि स्वागतको तयारीमा सटरपटर गर्दागर्दै भेट्न आउने छोराबुहारीको कोठातिर जान्थे र घरका पाका मान्छे जिल्ल पर्थे । रहँदाबस्दा त ‘हामीलई भेट्न आएका होइनन् उनीहरू, तिमीहरूसँग कुरा मिल्छन्, त्यसैले ल्याइदिएको यतै’ भनि बाआमा भन्नुहुन्थ्यो र आउनासाथ पाहुना ल्याइदिनु हुन्थ्यो । त्यस्तै, यस लेखकले पनि हजुरबा हजुरआमाको भनाई मन पराई झ्याम्मिने क्रममा स्वभाव अनुकुल भएछ क्यार, अचेल दैनिक कुराकानी र विचार आदान-प्रदान गर्न आफूभन्दा जेठा र अझ बिस वर्ष नाघेका पाका मान्छेको अमूल्य सङ्गत पाएको छ ।

उमेरकै कारण र अनुभवको बिटा प्रशस्त भएका पाका मान्छे कसैलाई झुक्याउने, ढाँट्ने, छल्ने र दुःख दिने काम गर्दैनन् । साँचो कुरा सुन्नु परे, त्यसैले पाका मान्छेका कुरा सुन्दा र मान्दा कुनै उमेरसमूहलाई अप्ठ्यारो पर्दैन । पाका मान्छे आफ्ना अनुभव र ज्ञानले निर्देशित भई कसैलाई नोक्सान नपर्ने विचार अघि सार्छन् । जीवनमा ओरालो लागेका उहाँहरू ‘ठगेर, ढाँटेर र अरूलाई बिग्रने कुरा गरेर किन दुर्नाम कमाउनु मर्ने बेला ?’ भनि जीवनभरी छँट्ट्याई गरे पनि पाको हुँदा गम्भीर र सत्यवादीनै भएका हुन्छन् । ‘अब त सकेको नाम राख्ने र सबैको हाईहाई भएर जाने’ भन्ने मूलमन्त्र सबै पाका मान्छेले जपेकै हुन्छन् । त्यसैले उमेरदारको नानाभाँतीका चर्तिकलामा ‘लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ’ अनि पाका मान्छेको गुणगानमा ‘कुरा सुन्नु पाकाको’ भन्ने उखान चलेको होला !

हिँड्डुलः
पाका मान्छे हरेक कुरा मतापले कष्ट र चिन्ता आई नपर्नेगरी गरेका देखिन्छन् । शारीरिक शिथिलताले हुने सुस्तगति एउटा समस्या हो, तर पाको उमेरमा कसैले पनि हारहार र हुरहुर अनि आफैं लटपटिने हतारो गरेको पाइन्न । घरबाट निस्कनु पर्ने भएमा योजना अघिबाटै गरेर, जानैपर्ने र नगए पनि हुने खुट्ट्याई र निकै सोचविचार गरेरमात्र निणर्य गर्छन् । कुनै पनि नौलो कामकुरो निकैबेर गमेर अघि बढ्न खोज्छन् भने ठूलो बडो निणर्य ‘एक रात सोचौँ’ भनि विचार मन्थन र विषयवस्तु पाकोसँग बुझ्न समय राख्छन् । त्यसो गर्नमा उहाँहरू अल्छी, अशक्त, अरूको कुरा बेवास्ता गरेको वा ढाँटेको पटक्कै होइन । कतै जाँदा पनि पूर्वयोजनाको म्याद राखेर निणर्य गर्छन् र बाटो लागेपछि निरन्तर मन्दगतिमा लागिरहन्छन् । सवारीसाधन प्रयोग गर्दा आफूलाई र साधनलाई गाफिल पर्नेगरी गर्दैनन्, चढ्दा, बस्दा र ओर्लँदा पनि होसगरी गर्छन् । विशेष ठाउँमा विशेष काममा जाँदा पाका मान्छेसँग सल्लाह गरी जाने चलन भएको त्यसैले होला ! चाडपर्व र उत्सवमा खास सूचना र चिजविज हुलमुलमा नबिर्सियोस् भनि पाका मान्छेकै जिम्मा लगाउने गरिन्छ । त्यसैले त पाका मान्छेसँग हिँड्दा बाटोमा र मुख्य कामको लागि चाहिने सामान ‘ज्या ! चाहिने कुराचाहिँ बिर्सेछ’ भन्ने कहिल्यै पर्दैन ।

पाका मान्छे हिँड्डुलको अवधि र दूरी विचार गरेर जतिसुकै बजारको चहलपहल भए पनि थरक मार्ने ठाउँ, त्यहाँ खाइने खाजा र बास बस्दा चाहिने सामानको कुम्लो बोक्न तयारीमा हुन्छन । थोरै समयलाई बाहिर निस्किँदा पनि नियमित औषधि र आवश्यक सामान बोकेकै हुन्छन् । कतै जाँदा हिँड्डुलको दूरी र समय विचारेरमात्र हिँड्छन् भने आइपर्ने समस्याको लागि तयारी चिजबिजको व्यवस्था पनि गरेकै हुन्छन् । मौसम र ठाउँबारेमा मनग्य जानकारी बटुलेका पाका मान्छे ‘पानीले चुट्यो’ वा ‘घामले सेक्यो’ वा ‘मोटर छुटी गयो नि’ भन्नेमा कहिल्यै पर्दैनन् । हिँड्दा मतापदेखि लम्कन तयार पाका मान्छे ‘काम फत्ते नभएसम्म स्वाँस्वाँ फ्वाँफ्वाँ नगरी’ एकोहोरो लाग्न सक्छन् । हो, धनु बलियो भएकाको हिँड्डुलको र भेटघाटको अवधि बढी हुनसक्छ । अनुभवले खारिएकैले गर्दा हरेक गतिविधि मतापले गर्ने भएकाले ‘जर्‍याकजुरूक, उफ्रिपाफ्री’ जस्ता काम पाका मान्छेले गर्दैनन् । ‘खरायो र कछुवाको दौडमाझैँ’ पाका मान्छेका हिँडाई काम सकेर सफल हुनेमा हुन्छ । बिनसित्तीँको ‘व्याई कुकुर्नीको लखरलखर’ नहुने धेरैलाई थाह छ ।

अन्त्यमा,
पाका मान्छे जे भोग्छन्, अरूलाई अप्ठ्यारो नपर्नेगरी अभिव्यक्त गर्छन् । उहाँहरू जहिल्यै नचाहिने, अड्को थाप्ने, निहुँ खोज्ने र ढल्केको उमेरमा झूठाकुरा गरेर बाँकी बचेको आफ्नो उमेरमा व्यवधान निम्त्याउन चाहना गर्नुहुन्न । उमेरिँदै गएका पाका मान्छेलाई उहाँहरूका गतिविधिमा हौसला दिऔँ, उहाँहरू जति र जे गर्दै हुनुहुन्छ त्यो एउटा मानिसले सरल तरिकाले सहज जीवनयापन गर्ने कला हो । शारीरिक दुर्बलताले ल्याउने मन्दगति बेग्लै कुरा हो, त्यसको उपचार बेलैमा मायागरी अरूले गर्ने हुनुपर्छ । उहाँहरू कसैलाई ठग्न र अनावश्यक सहानुभूति पाउन सुस्त भएको होइन, त्यो त दशकौँको अनुभवले खारिएर धेरै वर्ष अझै बाँच्ने आशाले गरिएको सत्यानुभूति हो । शारीरिक हरेक श्रमले आन्तरिक उर्जा खपत हुने हुनाले जति धेरै गतिविधि उतिधेरै शक्तिको आपूर्ति शरीरको माग हुन्छ । त्यसैले त भर्खर शल्यक्रिया भएका वा सिकिस्त बिरामीलाई चिकित्सकले पल्टिरहन र कम कुरा गर्न भन्छन् नि ! अलि तङ्ग्रिन थालेपछि शरीरलाई व्यायाम पुगोस् र जैविक प्रक्रिया सामान्य होस् भनेर सहयोगीको भरमा भए पनि हिँडाउन खोज्छन् ।

पाका मान्छेले गर्ने व्यवहार वयस्क छँदै सिकेमा आयु लामो र स्वस्थ्य हुने कुरामा दुईमत होला र ? चनमते हुनु तत्काल राम्रो होला तर जीवनको लम्बाई घटाएको हेक्का किन नराखेको होला ? सदा चञ्चल र खाना पनि हतारमा बुत्याउने मृगभन्दा सन्त गाई कहिलेकाहीँमात्र मल्याकमुलुक गर्ने हुनाले बढी बाँच्छ । हरेक कुरामा धैर्यसाथ अघि बढ्ने हात्ती त्यो भन्दा बढी बाँच्छ भने जीवनको प्रारम्भिक कालदेखिनै मतापले हरेक काम गर्ने कछुवा कति धेरै वर्ष बाँच्छ ? सबैलाई थाहै छ । पाका मान्छे अनुभवले निर्देशित भई शरीरले सकेको कसरी गर्ने होला भन्ने जान्दछन् । त्यसैअनुसार शारीरिक गतिविधि गर्नुपर्छ भनि पाका मान्छे हरेक काम मन्द गतिमा गरेका हुन् । सकेको काम गर्न कहिल्यै पछि नपर्ने पाका मान्छे ‘लुकुवा गाईले दुध लुकाएझैँ’ गर्दैनन् बरू सक्ने काममा लागिहाल्छन् । उहाँहरूले भएका कुरा मात्र भन्ने र गर्ने भएकाले अरू उमेरसमूहकाले आदर र माया गर्दै पत्याउनु र आफ्नो भविष्य पनि उज्यालो बनाउन लागु गर्नु आवश्यक छ ।

०००
भरखरै प्रकाशित ‘डाँडाका उज्याला जून’ (२०८०) बाट

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पीडापोखरी-हाँसोपोखरी

पीडापोखरी-हाँसोपोखरी

वासुदेव गुरागाईं
उमेरिएका पाकाले आफैँलाई दया गरौँ !

उमेरिएका पाकाले आफैँलाई दया...

डा. मुकेशकुमार चालिसे
अवैतनिक अध्यापक बुढापाका

अवैतनिक अध्यापक बुढापाका

वासुदेव गुरागाईं
कानूनमा जेष्ठ नागरिक

कानूनमा जेष्ठ नागरिक

मञ्जुकुमारी पाैडेल
0
Would love your thoughts, please comment.x
()
x