बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

विदेशमा तड्पिएको बुढ्यौली मन

विदेशमा तड्पिरहेको यो बुढ्यौली मनभित्र कसरी शान्तिको बीज अङ्कुरण गराउने ? यसरी तड्पिएका यी बुढ्यौली मनलाई कसरी स्वदेशीकरण गर्ने ? यी चाहिँ यतिखेरका अहम् प्रश्न हुन् ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

हिन्दुहरूको महान चाड बडादसैँ । को सुखमा छन् को दुःखमा छन् कुनै चासो छैन यसलाई । त्यसैले प्रत्येक वर्षको सुन्दर शरद् ऋृतुमा घुमिफिरी कुनै वर्ष पनि नबिराईकन नित्य निरन्तर आइरहेकै हुन्छ यो चाड प्रत्येक हिन्दुहरूका घर आँगनमा । सबै लिङ्गका बालकदेखि वृद्धसम्म सबैको प्यारो र चासोको विषय बनेर आउँछ यो बडादसैँ चाड । यो समय कोही खानपानमा रमाउने कोही लवाइमा । कोही भेटघाट र सुख/दुःख साटासाटमा रमाउने, कोही खेलबाड र टीकाटालामा । कोही पारिवारिक गन्थन र बिलौनामा । उमेर, सामाजिक संस्कार, रीतिरिवाज, संस्कृति र आआफ्नो आर्थिक हैसियतअनुसार आआफ्नै तरिकाले विविध रूपमा मनाउने र रमाउने चाड बडादसैँ ।

नेपाली पञ्चाङ्गमा पनि बडादसैँका दिनलाई विशेष महत्व दिइएको छ । आश्विन शुक्लपक्ष परेवा तिथिदेखि सोही पक्षको पूर्णिमा (कोजाग्रत पूर्णिमा) तिथिसम्म बडादसैँको रमझम हुन्छ । यसलाई नेपाली पञ्चाङ्गले दुर्गापक्ष भनेर विशेष सम्मान र स्थान दिएको छ । परेवा तिथिको घटस्थापनादेखि विजया दशमीसम्मको दिनलाई नवरात्र भनेर पनि सम्बोधन गरिएको छ । यी दिनहरूमा विशेषतः देवी दुर्गाको आराधना हुन्छ । तिनैको मानसम्मान र सम्झना गरिन्छ ।

टीकाराम र दुर्गा (दुवै कल्पित) का दुई छोरा र दुई छोरी सबै विदेशमा छन् । कक्षा बाह्रसम्म नेपालमै पढेका उनीहरूले बाँकी पढाइ उतै पूरा गरे, उतै रोजगारी गरे र अहिले एक हिसाबको स्थायी बसोबास पनि उतै छ उनीहरू सबैको । दुई जना अमेरिकामा छन्, दुई जना युरोपमा । टीकाराम र दुर्गा उमेरका हिसाबले दुवै असीको हाराहारीमा छन् । सात वर्ष भयो उनीहरू पनि छोराछोरीका साथमा विदेसिएको । आफ्नो जन्मथलो नेपाल उनीहरूलाई निकै प्यारो लाग्छ, निकै रमाइलो लाग्छ । सानैदेखि बोली आएको भाषा बोल्न पाइन्छ । मनका कुरा अनेक हिसाबबाट अरूलाई बुझाउन पाइन्छ, बुझ्न पाइन्छ । गुन्द्रुकको झोलदेखि मकै आँटोसम्म जिभ्रामा झुन्डिएको छ । तब त मन नेपालमा छ, तन विदेशमा । आफूले गर्न सक्नु केही छैन । सबै अर्काकै भर । बाध्यताको बसाइ छ उनीहरूको । बाध्यता यस अर्थमा कि उनीहरू नेपाल बसेर पनि केही गर्न सक्न्तैनन् । कसै न कसैको सहारा चाहिन्छ अबको जीवन डोर्‍याउन । बिस पच्चिस किलो सामान दूर बजारबाट सजिलैसँग हातमा झुन्ड्याएर घर भित्र्याउने उनीहरू अहिले आफ्नो शरीरलाई पनि अरूको सहारामा हिँडाउन बाध्य छन् । समयको खेल हो यो सबैको । यो ऊ नभनीकन सबैले वृद्धिनुपर्छ एक दिन । तर यस किसिमको शाश्वत सत्य पनि वृद्धावस्थामा नपुगी कसैले अनुभूत गर्न सत्तैmन बुढ्यौलीको यो साझा दुर्दशा, जतिखेर समय घर्किसकेको हुन्छ । अनि पछुताउनु बाहेक अरू विकल्प रहन्न यतिखेरको यस कठिन घडीमा ।

बाध्यताको बसाइ भएर पनि उपाय केही नभएपछि विदेशी माटोमा रमाउनुको कुनै विकल्प छैन यी बुढाबुढीसँग । सन्तान सुखदेखि खान, लाउन र घुमघाम आदि सबै कुरामा नपुग्दो केही छैन । तैपनि उनीहरूका मनमा चैन छैन । देह सुखले मात्र मानिस सुखी हुँदो रहेनछ । मानसिक सुख र सन्तुष्टि सुखका लागि अपरिहार्य हुँदोरहेछ । मानसिक सुख र सन्तुष्टिमै मन रमाउँदो रहेछ । यही स्थिति छ अहिले यी टीकाराम र दुर्गाको । देह सुख पर्याप्त छ तर मानसिक सुख र सन्तुष्टि पटक्कै छैन । त्यसमाथि अहिले सबै हिन्दुका घर आँगनमा नाचिरहेको महान चाड बडादसैँ । प्रत्येक वर्ष उनीहरू अघिपछि त्यतिविधि नतड्पिए पनि बडादसैँका बेलामा भने दिलैदेखि औधी तड्पिन्छन् ।

टीकाराम कुनै बेला विविध कामका सिलसिलामा काठमाडौँमा पनि निकै बसे । उनले बडादसैँका समयमा तुलजा भवानी, शोभा भगवती, सङ्कटा, नक्साल भगवती, दक्षिणकाली, रक्तकाली, म्हेपी, वज्रयोगिनी, टुँडालदेवी आदि शक्तिपीठहरूमा अर्धाङ्गिनी दुर्गालाई समेत साथ लिएर घुमेको सम्झना गरे । घरको पूजाआजा र चण्डीपाठ आदिको काम सकेपछि भोकभोकै यी दुवै बुढाबुढी मनमा दुर्गा मातालाई सम्झेर कुनै न कुनै क्षण यी शक्तिपीठहरूमा पुगेकै हुन्थे । सबैका सामु देखिने गरी भौतिक रूपमा कुनै प्राप्ति नभए पनि मन शान्त हुन्थ्यो ती शक्तिपीठहरूको दर्शनपछि । धार्मिक हिसाबमा मन सन्तुष्ट हुन्थ्यो । कुनै न कुनै रूपमा आँट बढ्थ्यो देवीका कृपाले । निकै उत्साहका साथ प्रफुल्लिन्थे उनीहरू । विदेशी भूमिका बसिरहँदा पनि मन भने नेपालकै शक्तिपीठहरूमा छ टीकारामको । समयको सम्झना । अघिपछि त्यतिविधि सम्झनामा नआइरहे पनि यस चाडका समयमा भने उनी औधी छटपटिन्छन् यिनै सम्झनाले । ‘अरूको लाख आमाको काख’ नेपाली उखान बराबर सम्झिन्छन् उनी यतिखेर । तर भनेका समयमा चाडबाड मनाउनै भनेर खुत्रुक्क जन्मभूमि ओर्लने औकात र अवसर दुवै छैन उनीहरूसँग यतिखेर ।

टीकारामले कामका सिलसिलामा पूर्वमा ताप्लेजुङदेखि पश्चिममा दार्चुलासम्मको भूमि टेकेका छन् । यतिखेरै उनलाई ती स्थानको पनि सम्झना आउँछ मज्जैसँग । पूर्वमा ताप्लेजुङ्की पाथीभरादेखि पश्चिममा बैतडीकी त्रिपुरासुन्दरीसम्मको सम्झना गर्छन् उनी । बैतडीकै निङ्गलाशैनी भगवतीदेखि डडेलधुराकी उग्रतारासम्मको याद ताजै छ उनका मनमा । डोटीकी शैलेश्वरी हुन् कि बाँकेकी वागेश्वरी सबैमा उत्तिकै आस्था र विश्वास जमेको छ उनीभित्र । गोर्खामा अवस्थित माता भगवती मनकामना जाँदाको केबुलकार यात्रादेखि काभ्रे बनेपाकी चण्डेश्वरी र खरेलथोककी पलाञ्चोक भगवतीसम्म सबैले उनलाई आशीर्वाद दिइरहेको सम्झन्छन् यतिखेरै । सुर्खेतकी द्यौतीमातादेखि पोखराकी विन्ध्यवासिनी सबै उत्रिन्छन् यतिखेर उनका मनभरि सम्झनाको पीडामाथि पीडा थपेर । नुवाकोटकी जाल्पादेवी हुन् कि भैरवी, बाराकी गढीमाई हुन् कि धादिङ्की त्रिपुरासुन्दरी, सप्तरीकी राजदेवी हुन् कि छिन्नकस्ता, धनकुटाकी छिन्ताङ भगवती हुन् कि विरगन्जकी माइस्थान, धनुषाकी जानकी हुन् कि हेटौँडाकी भुटनदेवी सबैका सबैमा उनको मन दौडिरहेको हुन्छ । बाग्लुङ्की बाग्लुङ कालिकादेखि नवलपरासीकी मौलाकालिकासम्म एकपछि अर्को गरी सबै विचरण गरिरहेका हुन्छन् उनका मनमा यस बडादसैँको चाडकै समयमा ।

जिन्दगी सग्लो र सक्षम हुँदा जहाँ जहाँ उनी पुगेका छन् ती स्थानका शक्तिपीठहरूको याद टीकारामका मनमा यही बडादसैँका समयमा भदौरे बाढी जस्तै भएर उर्लिरहेका हुन्छन् । यस वर्षको यो महान बडादसैँमा पनि उनको मन त्यसरी नै तड्पिरहेको छ जसरी विदेशी भूमिमै रहेका समयमा विगतका वर्षहरूमा पनि तड्पिरहन्थ्यो । उसो त यस चाडबाडका समयमा नेपाली बुढा/बुढीहरूको मात्र नभएर नेपालमा हुर्कीबढी विदेसिएका अरू आम युवाका मनमा पनि यो याद आइरहन्छ । मुखले यहाँ सुख छ भने पनि आत्माले भनेजस्तो सुख त्यहाँ अनुभूत गरिरहेको हुँदैन । उतै जन्मेहुर्केकाको हकमा यो कुरा लागु नभए पनि नेपाली माटोमै जन्मेहुर्केकाका हकमा भने यस किसिमको अनुभूति बेलाबखत उनीहरूलाई गिज्याउन आइरहेकै हुन्छ । विभिन्न परिस्थितिजन्य कारणले ती कुरा व्यक्त गर्नु/नगर्नु आप्mनो ठाउँमा होला तर सम्झनाले भने तिनलाई पनि तड्पाइरहेकै हुन्छ । यस किसिमको तड्पाइ तरुण वयमा रहेकाको भन्दा वृद्ध वयमा रहेपुगेकामा बढी हुन्छ, जुन स्वाभाविक हो । तरुणहरू पढाइ र रोजगारीका विभिन्न लहरामा अलमलिइरहनुपर्ने कारणले उनीहरूमा सम्झनाको यो झकझाहट केही कमी हुनु अस्वाभाविक होइन तर बुढाहरूमा अलमलिने अन्य अवसर र अवस्था नहुँदा यस्तो सम्झनाले सताइरहनु स्वाभाविक हो ।

टीकाराम र दुर्गा दिनभर नातिनातिना खेलाएर बसिरहेका छन् यतिखेर । छोरा, छोरी, बुहारी सबै काममा गएका छन् । छलछामको जिन्दगी छैन उनीहरूसँग । दसनङ्ग्री खियाएर मात्र हात मुख जोड्ने अवसर जुर्छ । हातमुख जोडाइको निरन्तरको यही धन्दामा उनीहरू रातदिन खटिएका छन् । गर्जो टार्ने धुनमा त्यसै त्यसै अलमलिएका छन् । हप्तामा एक दिन पनि सबै परिवार एकैचोटि भेला हुन धौ धौ पर्छ । यस्तो जिन्दगी के जिन्दगी ! जस्तो पनि लाग्छ उनीहरूलाई कतिखेर । तर बाध्यता छ जिउनका लागि यही कष्टकर जीवन बोक्न । काम गर्छु भन्दा पनि काम गर्न नपाइने अवस्थाबाट गुज्रिएका उनीहरू काम गर्छु र बाँच्छु भन्ने माटोमा छन् । विदेशी भूमि भनेर के गर्नू ! हात घोटेर खाने अवसर त्यसैले दिएको छ ।

टीकाराम र दुर्गा जस्ता धेरै वृद्धवृद्धा यतिखेर नेपाली महान चाड ‘बडादसैँ’ सम्झेर यसरी नै तड्पिरहेका छन् विदेशी माटोमा । ‘हिजो उहाँ पुगेँ र आज यहाँ पुगेँ’ मा उनीहरूको मन रमाउन सकिरहेको छैन । त्यसमाथि बुढ्यौली वयमा यो कताकताको कसै गर्दा पनि सुगन्ध छर्न नसक्ने नौलो माटोले उनीहरूको मुटुमा आनन्दको अङ्कुरण त अझ कता हो कता, बीज रोपणसम्म पनि गर्न सकिरहेको छैन । टीकाराम र दुर्गा जस्ता अरू थुप्रै वृद्धवृद्धाको बुढ्यौली मन नचाहँदा नचाहँदै पनि यसरी नै तड्पिरहेको छ विदेशी माटोमा । स्वदेश उनीहरूको चाहना हुँदाहुँदै पनि विदेश बाध्यता छ ती सबैको । विदेशमा तड्पिरहेको यो बुढ्यौली मनभित्र कसरी शान्तिको बीज अङ्कुरण गराउने ? यसरी तड्पिएका यी बुढ्यौली मनलाई कसरी स्वदेशीकरण गर्ने ? यी चाहिँ यतिखेरका अहम् प्रश्न हुन् ।

०००
२०८०/६/३०
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad