सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भातभान्सामा सघाइपघाइको मज्जा

एउटा ठुलो पल्टिएर मुढो लडेझैँ लडिरहने अर्को काममा खटिएको खटियै गर्ने स्थितिले आपसी समझदारीमा न्यूनता आउने मात्र हैन, यस स्थितिमा पति वा पत्नी हिंसाको स्थिति पनि अग्लिएर जाने अवस्था हुन्छ ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

तपाईंले जीवन गुजारा गर्ने क्रममा कुनै पनि किसिमको जागिर खानुभयो ? यदि खानुभएको थियो भने कानुनले अनुमति दिएको उमेरबाट शुरु गरेर त्यसैले बन्देज लगाएको उमेरसम्म बहाल रहनुभयो । यसमा तपाईंले शारीरिक रूपमा खट्ने निश्चित अवधि कानुनले नै निर्धारण गरिदियो । कानुनले बन्देज लगाएको उमेरबाट तपाईं अवकाश हुनुभयो । अर्थात्, प्रचलित कानुनको भाषामा तपाईं काम गर्नका लागि उमेरका हिसाबले अशक्त/अयोग्य/अनुपयुक्त हुनुभयो ।

यही विषय राजनीतिमा अलिक फरक छ । राजनीतिमा प्रवेशको उमेर हद हुन्छ अवकाशको हुँदैन । नअस्ताउन्जेल उनीहरू सधैँ मध्याह्नको घाम । व्यापार व्यवसायमा न उमेरको तल्लो हद हुन्छ न अवकाशका लागि माथिल्लो हद । दुवै हुँदैन । ज्याला मजदुरीमा पनि ज्यानले सकेदेखि शुरु भएर ज्यानले सकुन्जेलसम्म काम गर्न पाइन्छ । तर नेपालकै सन्दर्भमा कुरा गर्दा सरकारले बेरोजगारलाई काम दिन्छु भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम फलाक्दा भने अठार वर्षदेखि अन्ठाउन्न वर्ष उमेरसम्मकालाई मात्र काम दिन्छु भनेर बन्देजयुक्त विज्ञापन गर्छ । काम दिन्छ दिँदैन थाहा छैन । यस्तो विज्ञापनलाई मान्ने हो भने बालबालिका र बृद्धवृद्धालाई काममा लगाउन पाइन्न । त्यस्ता व्यक्तिलाई काममा लगाउन नपाउने कानुन हुँदा हुँदै पनि मुख र पेट तिनका पनि हुने भएकाले सहाराविहीन अवस्थामा कानुनकै अगाडि ती निर्धक्कले काम गरिरहेका हुन्छन् । कानुन कालो चस्मा लगाएर देखेको नदेख्यै गर्छ ।

विषय प्रवेश गर्नुअघि प्रसङ्ग जोड्नका लागि सन्दर्भवश यी कुरालाई अगाडि तेर्स्याइयो । किनकि, यहाँ बुढ्यौली जीवनको कुरो छ । उमेरको कुरो छ । भातभान्साको कुरो छ । जहानको कुरो छ । सघाइपघाइको कुरो छ । कुनै पनि मान्छे जीवित भएसम्म उसलाई खानाको आवश्यकता पर्छ । जुनसुकै उमेर समूहका व्यक्तिका लागि पनि खाना आवश्यक छ । जुटाउनै पर्छ । खानाको प्रकृति फरक होला । बनाइतुल्याइको प्रकृति र ढाँचा फरक होला । तर सबैका लागि खाना चाहिन्छ नै । त्यसलाई खानयोग्य बनाउनु पनि पर्छ । तर कसले गर्ने यी सबै कुरा ?

विशेषतः म यहाँ जागिरदार व्यक्तिका सन्दर्भमा कुरा उठाउँदै छु । किनकि, उनीहरू जुनसुकै तह वा जुनसुकै प्रकृतिको जागिर खाए पनि आफूलाई महान् ठान्छन् । जागिरबाट हटेपछि यस्ता व्यक्तिहरू आफूलाई सरकारले ‘बसी खा’ भनेर फुर्सद दिएको, अवकाश दिएको भनेर गजक्क पर्छन् । बाँचुन्जेल आफूले केही काम गर्नुहुन्न जस्तो गर्छन् । आफूलाई खान मन लागेका कुरा सबै आफ्नै श्रीमतीले तयार गरिदिनुपर्छ भन्ने सोच राख्छन् । गफले गुड्डी हाँक्छन्, कामले सिन्को भाँच्दैनन् । अझ यिनै ठुला पल्टेर के के न महान काम गरेँ जस्तो गरी म त आफैँ पकाएर खान पर्‍यो भने बरु भोकै सुतिदिन्छु, पकाउन सक्तिनँ भनिरहेका हुन्छन् । कोही मैले अहिलेसम्म एक कप चियासम्म पनि पकाएर खाएको छैन । पकाउन पर्‍यो भने त मलाई मरेजस्तो लाग्छ भन्दै अरूका अगाडि फुर्ती देखाइरहेका हुन्छन् । भातभान्साका काममा श्रीमती वा अरू जो कोही महिलालाई सघायो भने त लोग्नेमान्छेको जातै जान्छजस्तो जस्तो ठानिरहेका हुन्छन् तिनले ।

यस्तो भनाइ र गराइ समतामूलक पारिवारिक संरचनाका लागि घातक कुरा हो । महिला हिंसालाई बढावा दिने कुरा हो । महिलाको त जीवन नै होइन भनेजस्तो धारणाजनित कुरा हो । जागिर वा अन्य कुनै रोजगारमा लागेका बाहेक अन्य महिलाको सारा जीवन घरायसी काम धन्दामै बितिरहेको हुन्छ । बिहान उठेर घरको सरसफाइ गर्नेदेखि घरपरिवारका सदस्यलाई चिया/खाजा, बालबच्चाको रेखदेख, जुत्ता-मोजा-किताबदेखि विद्यालय आउनेजाने सम्पूणर् कुराको व्यवस्थापन, कपडा धोइपखाली, भातभान्साको काम, भाँडाकुँडा धोइपखाली, काखे नानीलाई छाती चुसाउनेदेखि आची धुनेलगायत गन्ती गर्न नसकिने घरका सबै काम तिनकै जिम्मामा हुन्छ । तिनले आज टाउको दुख्यो भन्न पाउनुछैन, गाह्रो भएको छ भन्न पाउनुछैन, मेरो पनि त ज्यान हो भन्न पाउनुछैन, एकछिन आराम गर्छु नि त भन्न पाउनु छैन । न बिहान, न साँझ । बिउँझेदेखि ननिदाउँदासम्म हात खाली हुन्न । आज के के काम भयो त भनेर कसैले सोधिहाले भने त्यस्तो अवस्थामा यो यो काम गरेँ भनेर दश औँलामा पुर्‍याउन गाह्रो पर्छ तर कामले एकछिन फुर्सद पाएका हुँदैनन् । यस्तो छ अधिकांश नेपाली महिलाहरूको दैनन्दिनी ।

उमेर छउन्जेल यस्ता कुराको मतलब हुँदैन । जब उमेर ढल्कँदै जान्छ अनि हरकुराले समस्या पार्दै ल्याउँछ । जागिरदार अवकाश भएजस्तो अवकाश हुने उमेर हद हुँदैन उनीहरूको । वृद्धावस्थामा पुगेपछि यस्ता कुरामा पुरुषले बहुतै ध्यान दिनुपर्छ । यसो भनेर युवा उमेरमा महिलालाई घरका काममा सघाउनै हुँदैन भनेर भन्न खोजिएको हैन । समय हुँदा र सक्दा घरका सबै काममा महिला पुरुष दुवैले यो उसको काम, यो मेरो काम भनेर छुट्ट्याइरहनुपर्दैन । अगाडि परिआएका काम दुवैले आफ्नै सम्झेर गर्नुपर्छ । यो काम दुवैको साझा हो भनेर फत्ते गर्न अघि सर्नुपर्छ ।

निश्चित उमेर हदपछि वृद्धावस्थामा अवकाशित जीवन बिताउने लोग्नेमान्छेका श्रीमती पनि अवश्य नै वृद्धा हुन्छन् । यो स्थिति भनेको दुवैको समान अवस्था हो । यतिखेर घरायसी काममा सहकार्यको आवश्यकता पर्छ । जो कसैको पनि बुढो अवकाश हुने बुढी अवकाश नहुने भन्ने अवस्था हुन्न । दुवै अवकाश भएपछि भातभान्साको काम कसले गर्ने भन्ने कुरा पनि होइन । यस्तो अवस्थामा भान्साको व्यवस्थापन दुवैको काँधमा आउँछ । कमाएर ल्याउने म, बनाउने तुल्याउने र खुवाउने जिम्मा तिम्रो भनेर श्रीमतीका काँधमा सबै काम जिम्मा लगाउनु भनेको सभ्य समाजका लागि साहै्र नै अशोभनीय काम हो ।

तरकारी केलाउने काम लोग्नेमान्छेले गर्नुहुन्छ । पखालपुखुल गर्नुहुन्छ । पकाइतुल्याइ गर्नुहुन्छ । ल, आज भातभान्साको सबै काम म गर्छु, तिमी आराम गर भन्दा तिनका श्रीमती कति खुसी होलान् ! अहो ! मैले पनि फुर्सद पाएँ भनेर कति दङ्गिन्छ होला तिनको मन । यस्ता कुरामा लोग्नेमान्छेहरूले ध्यान दिनैपर्छ । टिभी हेर्ने, मोबाइल खेलाउने, जुवा तास खेल्ने, क्रिकेट वा अन्य यस्तै हेराइमा आफूलाई अल्मल्याउने बाहेकका लेखापढी वा यस्तै अरू काम छन् भने त्यस्तो काम चटक्क् छोड्नुपर्छ भन्ने सल्लाह होइन । विनाकाममा उपरखुट्टी लगाएर, चिया पसलमा र टोलछिमेकमा कतै गएर गफिएर समयको बर्बादी गर्नुभन्दा घरायसी काममा सघाउनुपर्छ भन्ने सल्लाह हो यो । यसले बुढाबुढीबिचमा आपसी सौहार्दता बढाउँछ । मेलमिलापलाई निरन्तरता दिन्छ । जिउलाई व्यायाम गराउँछ । घरका जुनसुकै काममा दक्षताको अभिवृद्धि हुन्छ । जाँगरको बढोत्तरी हुन्छ । अल्छीपन हराउँछ । दशतिर मन डुलाइरहनु पर्दैन । मन एकाग्र हुन्छ । भातभान्साको काममा हो भने कहिले कसले कहिले कसले पकाउँदा खानाको स्वादमा फरकपन महसुस गर्न पाइन्छ । श्रीमती वा श्रीमान् विरामी परेका अवस्थामा भोकभोकै बस्नुपर्दैन । यी सबै अवस्था भनेको मानसिक तथा शारीरिक सुशान्तिको अवस्था हो ।

म (यहाँ प्रयुक्त ‘म’ पङ्क्तिकार नभएर समाजको एक प्रतिनिधि पात्र मात्र हो) फुर्सदका समयमा घरका हरकाममा श्रीमतीलाई सहयोग गर्छु । उनले पर्दैन भनेका अवस्थामा पनि म अुसीसाथ उनको सहयोगका लागि हात अघि बढाउँछु । सकेसम्म श्रीमान्लाई दुःख नदिऊँ भन्ने सोच प्रायः सबै महिला दिदी बहिनीमा हुन्छ । त्यसमाथि वृद्धावस्थाका जीवनका सहयात्रीलाई आफैँ अघि सरेर सघाइदिँदा उनीहरूको मन सहजै जित्न सकिन्छ र त्यो तपाईं हामी सबैको कर्तव्य पनि हो । यसले दुवैको आपसी मर्यादामा अभिवृद्धि गर्छ, एउटाको मात्र होइन । काम कुनै सानो वा ठुलो हुँदैन । प्रकृति प्रदत्त काम बाहेक लैङ्गिक हिसाबले यो काम यसले गर्ने र ऊ काम उसले गर्ने भन्ने पनि हुँदैन । हामी भातभान्साका कुरा गरिरहेकाले अझ यो त अत्यन्त महत्वपूर्ण साझा विषय हो । यसमा दुवै पक्षको सक्रिय सहभागिता जरुरी छ ।

पछिल्लो समय क्रममा विविध कारणले बुढाबुढी मात्र घरमा हुने अवस्था सिर्जना हुँदै गइरहेको छ । यस्तो अवस्थामा त अझैँ भातभान्सादेखि घरका सबै काममा बुढाबुढी दुवैको सक्रिय सहभागिता हुनु अपरिहार्य छ । एउटा ठुलो पल्टिएर मुढो लडेझैँ लडिरहने अर्को काममा खटिएको खटियै गर्ने स्थितिले आपसी समझदारीमा न्यूनता आउने मात्र हैन, यस स्थितिमा पति वा पत्नी हिंसाको स्थिति पनि अग्लिएर जाने अवस्था हुन्छ । यसैले समझदार बुढाबुढीहरू स्वअग्रसरतामा भातभान्साको काममा एकले अर्कालाई सघाइपघाइ गरेर अवकाशित जीवनको मज्जा लुटिरहेका हुन्छन् । यस्तो मज्जा लुट्ने काममा हामी कसैले पनि चुक्नु हुँदैन, अहिलेको परिस्थितिले सबैलाई त्यही भन्छ । महिला पुरुष सबैको जय होस् ।

०००
नुवाकोट, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा पिनासका समस्या !

पाका मान्छेमा पिनासका समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिदा नातागतको पिर र सतर्कता !

उमेरिदा नातागतको पिर र...

डा. मुकेशकुमार चालिसे
पाकाको गोडा, जुत्ता र व्यायाम !

पाकाको गोडा, जुत्ता र...

डा. मुकेशकुमार चालिसे
उमेरिदा भोग्ने निधनका पीडाहरू !

उमेरिदा भोग्ने निधनका पीडाहरू...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x