साहित्य सन्ध्यामा बुढ्यौली परिचर्चा र कविगोष्ठी सम्पन्न

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र प्रशान्त खरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा ज्येष्ठ नागरिक समाज नेपालका अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ उपस्थित हुनुहुन्थ्यो ।

विगत उनन्चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३६ औँ विशेष शृङ्खला माघ ७ गते रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरी ‘ज्येष्ठ नागरिकको वर्तमान अवस्था र हाम्रो दायित्व’ विषयमा परिचर्चाका साथ विशेष कविगोष्ठी गरी सम्पन्न भयो ।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र प्रशान्त खरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा ज्येष्ठ नागरिक समाज नेपालका अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथि एवम् टिप्पणीकारका रूपमा डा.विदुर चालिसे, अतिथिहरूमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, डा.राजेन्द्रप्रसाद अधिकारी, कणाद महर्षि, सुशीला प्रधानाङ्ग, बेनीबहादुर थापा, पोषरमण चापागाईँ, महेशराज खरेल, पोखराका स्रष्टा छवि सुवेदी ‘विजयी’, डम्बर पहाडी, खेमराज निरौला, सीताराम ढकाल फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल उपस्थित हुनुहुन्थ्यो ।

समारोहमा ‘नेपालमा ज्येष्ठ नागरिकको वर्तमान अवस्था र हाम्रो दायित्व’ विषयमा विशद चर्चा गर्नुहुँदै ज्येष्ठ नागरिक समाजका कृष्णमुरारी गौतम उर्फ चटयाङ मास्टरले साहित्य सन्ध्याजस्तो अलग्गै इतिहास निर्माण गरिसकेको संस्थाले आजको यो विशेष समारोहमा ‘ज्येष्ठ नागरिक, उनीहरूको वर्तमान अवस्था र हाम्रो दायित्व’ विषयमा चर्चा गर्दै यस्तो विचार प्रस्तुत गर्नु भएको थियो-्

कम्तीमा पनि साहित्य सन्ध्याले दायित्वबोध गरेको छ । बाँचुन्जेल बाबुआमालाई सम्झने दायित्वबोध पनि नगर्ने र मरेपछि गुणगान गर्ने प्रवृत्ति समाजमा मौलाइरहेको वर्तमानमा सरोकारवाला सबै पक्षलाई घचघच्याउने काम साहित्य सन्ध्याले गरेको छ । नेपालको जनसङ्ख्याको दश प्रतिशत र कुल मतदाताको ४०% ज्येष्ठ नागरिक अहिले हाम्रो देशमा रहेका छन् । अर्थात् कुल जनसङ्ख्याको तिस लाखको सङ्ख्यामा रहेका ज्येष्ठ नागरिकको मत निर्वाचनका लागि निणर्ायक मत रहेको छ । मुलुकमा देखिएको बेरोजगारीको वा अवसरको कमीको समस्याका कारण युवा पलायन भइरहेका, जनसङ्ख्याको वृद्धिदर कम हुँदै गइरहेको र औसत उमेर बढेको कारणले ज्येष्ठ नागरिकको सङ्ख्या लगातार वृद्धि भइरहेको छ । साठी वर्ष अगाडिसम्म ६० वर्षका नागरिक ५% रेहेको र सन १९५० सम्म नेपालीको औसत आयु ३० वर्ष रहेको अनि जन्मदर बढी भएकाले बालकको सङ्ख्या बढी रहेकोमा अहिले जन्मदर घटेको छ भने औसत आयु बढेर ७० वर्ष पुगेको छ । पहिले बालबालिकाको सङ्ख्या बढी थियो भने अहिले ज्येष्ठ नागरिकको सङ्ख्या बढी छ । ज्येष्ठ नागरिक बढेका छन्, उनीहरूका सेवासुविधामा राज्यसमेतले यथेष्ट ध्यान दिनसकिरहेको छैन, उनीहरू दुःखमा छन् तर उनीहरूभित्रको स्वाभिमानले मागेर हिँड्न दिएको छैन, हात पसार्न दिएको छैन ।

अहिले पनि बजारमा बालबालिकाका लागि खेल्ने, खाने, घुम्ने, रमाउने, पढ्ने, लगाउने विभिन्न सुविधा प्राप्त छन्, विज्ञापन हुन्छन् । बालक्लब, बालसङ्गठन, बाल अस्पताल, बाल मन्त्रालय आदि खुलेका छन् तर ज्येष्ठ नागरिकका लागि यस्ता सेवा सुविधा प्राप्त छैनन् । सन २०२२ लाई बालबालिका घटेका र ज्येष्ठ नागरिक बढेको वर्षको रूपमा मूल्याङ्कन गरिएको छ । अहिले आएर ज्येष्ठ नागरिक साहित्यको सिर्जना हुनथालेको छ । अहिले ज्येष्ठ नागरिकका लागि चाहिने सामानको बजारीकरण केही हदसम्म सुरु भएको छ । दश प्रतिशत ज्येष्ठ नागरिकमध्ये आधा महिला छन् र उनीहरूमध्ये ९०% निरक्षर छन्, प्रविधि प्रयोग गर्न जान्दैनन् । प्रौढ शिक्षा पनि पचास वर्षमुनिका लागि मात्रै दिने प्रावधान रहेको छ । तिस लाख ज्येष्ठ नागरिकका लागि आज पनि मुलुकमा छुट्टै अस्पताल छैन । छजना विशेषज्ञ डाक्टरहरू रहेको तथ्याङ्क छ तर उनीहरूका लागि दरबन्दी व्यवस्थापन भएको छैन !

ज्येष्ठ नागरिकलाई उमेरजन्य अशक्तताका कारण स्याहारको खाँचो छ र त्यसरी स्याहार गर्न तालिमप्राप्त सुसारेको अभाव छ । ज्येष्ठ नागरिक शारीरिक रूपमै अशक्त हुने हुँदा उनीहरूलाई पोषणको आवश्यकता हुन्छ । त्यसैले राज्यका तहबाट सुसारेलाई तालिम दिनुपर्दछ र पोषणयुक्त खानाको व्यवस्थापन सबै सरोकारवालाका पक्षबाट गरिनु आवश्यक छ । स्रष्टा समाजको भोक्ता भएको हुँदा ज्येष्ठ नागरिकका समस्यालाई नजिकबाट अनुभूत गरेको हुन्छ त्यसैले ज्येष्ठ नागरिकका समस्यालाई साहित्यमा समेटिनुपर्दछ । साहित्यले जति छिटो जनचेतना जगाउन सक्तछ त्यति छिटो अन्य क्षेत्रले गर्नसक्तैन । ज्येष्ठ नागरिक धेरै हुनु भनेको खर्च बढी र आम्दानी कम हुनु हो । थोरै सङ्ख्याका कमाउनेले धेरै नकमाउनेलाई पाल्नुपर्ने हुन्छ । राज्यका शिक्षा, व्यवहार, नीति, नियम ज्येष्ठ नागरिकमैत्री छैनन् बनाइँनुपर्दछ । ज्येष्ठ नागरिक भनेका हेलाँ र तिरस्कारका होइनन् श्रद्धाका पात्र हुन्, अनुभवका शिखर हुन् त्यसैले स्रष्टाका तहबाट बुढ्यौली साहित्य लेखिनुपर्दछ र राज्यका तहबाट ज्येष्ठ नागरिकका सेवा, सुविधा र स्याहारमा यथेष्ठ ध्यान पुर्याउने खालका व्यवस्थाका माध्यमबाट उनीहरूको सम्मान गरिनुपर्दछ ।

गोष्ठीमा मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, महेशराज खरेल, भावना न्यौपाने, विन्दु अधिकारी ढकाल, भोलानाथ सुवेदी, कुमार नेपाल, डम्बर पहाडी, डा.फणीन्द्रराज निरौला, रामबहादुर पहाडी, वासुदेव अधिकारी, नन्दु उप्रेती, खेमराज निरौला, नमुना शर्मा, सुशीला प्रधानाङ्ग, रामचन्द्र दाहाल, कात्यायन, छवि सुवेदी ‘विजयी’, कणाद महर्षि, बेनीबहादुर थापा, चट्याङ मास्टर र रमेश पोखरेलले आआफ्ना कविता, गीत, मुक्तक वाचन गर्नुभएको थियो ।

वाचित रचनामाथि टिप्पणी गर्दै डा.विदुर चालिसेले साहित्य सन्ध्याको आजको यो विशेष गोष्ठीमा सिद्धहस्त स्रष्टाहरूको उपस्थिति रहेको छ । अनेक आरोह-अवरोह र कालखण्ड पार गरेर ऐतिहासिक एवम् गौरवमय संस्थाको रूपमा स्थापित भएको साहित्य सन्ध्याले हजारौँ स्रष्टा उत्पादन गरेको छ, गहन विषयमा प्रशिक्षण दिने, बहस गर्ने गरेको छ । स्रष्टा आपूmले कुनै घटना वा भोगाइ वा दृश्यावलोकनपछि अनुभूत भएका विषयलाई सिर्जनामा प्रकटीकरण गर्दछ । सिर्जनामा विषयको विविधता हुन्छ र आजको गोष्ठीमा वाचित कवितामा पनि छ ।

गोष्ठीमा धेरै कविता गद्यमा आए, चार-पाँचओटा पद्यमा छन् र केही गीत पनि गाइएका छन् । गद्यकवितामा भाषिक विशिष्ट संरचना हुन्छ र अन्तरहृदयको झङ्कार अभिव्यक्त भएको हुन्छ । आजका सबैजसो कवितामा प्रगतिवादी सचेतनाको स्वर अभिव्यक्त भएको पाइन्छ । स्रष्टा समाजको भोक्ता भएको हुँदा उसले जीवनभोगाइलाई कुनै न कुनै रूपमा अभिव्यक्त गर्दछ र यहाँ वाचित कवितामा पनि त्यो प्रवृत्ति देखिएको छ । फरक स्वरूप, शैली, मूल्यमान्यताका हिसाबले सिर्जना आएका छन् तर स्रष्टाले निराशाको पक्षधरता भने लिनुहुँदैन । सचेत स्रष्टाले विषय ग्रहण गर्छ, विचारका माध्यमबाट अभिव्यक्त गर्छ र रूपान्तरणको पक्षधरता लिन्छ । आजको गोष्ठीका प्रायः सबै कविताले यही प्रवृत्तिलाई आत्मसात गरेका पाइएको हुँदा आजको गोष्ठी उपलब्धिमूलक रहेको छ भन्ने धारणा राख्नुभयो ।

गोष्ठीका अध्यक्ष राम विनयले आजको यो विशेष समारोहमा गुणस्तरीय उपस्थिति रहेको भन्नुभयो । प्रमुख अतिथिले आज गरिदिनुभएको ‘ज्येष्ठ नागरिकको वर्तमान अवस्था र हाम्रो दायित्व’ विषयक चर्चाले स्रष्टाले सिर्जना गर्दा निकै धेरै सावधानी आवश्यक हुन्छ भन्ने चेतना, सन्देश हामीलाई प्राप्त भएको छ । त्यसैगरी टिप्पणीकारले वाचित सिर्जनामा निकै मसिनो टिप्पणी गरी साधकले हेक्का राख्नुपर्ने पक्षमा औँल्याइदिने र हौसल्याइदिने कार्य गरिदिनुभएको छ । म दुबैजनाप्रति आभार व्यक्त गर्दछु । आफ्नो समयको व्यवस्थापन गरी हाम्रो निम्तालाई स्वीकार गरी उपस्थित भइदिने स्रष्टाहरूसमेतलाई हामी आभार व्यक्त गर्दछौँ । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । हामी मासिक शृङ्खलाका माध्यमबाट हरेक महिना भेटिन्छौँ नै । साहित्य सन्ध्या सदैव आफ्नो उद्देश्यप्राप्तिमा समर्पित भइ नै रहन्छ । हाम्रो यो अभियानमा निरन्तर जोडिइरहन यहाँहरूलाई फेरि अर्को महिनाको पहिलो शनिबार भौतिक उपस्थितिका लागि अनुरोध गर्ने नै छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

०००
-रमेश पोखरेल

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो