नेपाल मुक्तक प्रतिष्ठानद्वारा दुई पुरस्कारको घोषणा

मुक्तककार यादव खरेललाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ रु. ५१,०००/- (एकाउन्न हजार रुपैयाँ) तथा मुक्तककार रुद्र ज्ञवालीलाई ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ रु. ३१,०००/- (एकतीस हजार रुपैयाँ) राशिसहित प्रदान गर्ने निर्णय ।

काठमाडौँ, २०७९ माघ १० । नेपाली मुक्तक साहित्यमा योगदान दिने दुई स्रष्टाहरूलाई नेपाल मुक्तक प्रतिष्ठानले पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको कार्यसमितिको बैठकको निणर्यअनुसार व्यक्तित्व चयन समितिद्वारा सिफारिस गरिएका मुक्तक स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्न लागेको हो ।

प्रतिष्ठानले लामो समयदेखि मुक्तक साहित्यमा योगदान गर्नुभएका मुक्तककार यादव खरेललाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ रु. ५१,०००/- (एकाउन्न हजार रुपैयाँ) तथा मुक्तककार रुद्र ज्ञवालीलाई ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ रु. ३१,०००/- (एकतीस हजार रुपैयाँ) राशिसहित प्रदान गर्ने निर्णय गरेको छ ।

यादव खरेलको २०३० सालमा यादव ‘खरेलका मुक्तकहरू’ मुक्तकसङ्ग्रहलगायत विभिन्न विधाका आठ कृति प्रकाशित छन् । उहाँ यसअघि हिरण्यकुमारी कार्की पुरस्कार, रत्नश्री स्वणर् पदक, छिन्नलता गीत पुरस्कार, सर्वश्रेष्ठ चलचित्र निर्देशक राष्ट्रिय पुरस्कारलगायतका विभिन्न पुरस्कारहरूबाट पुरस्कृत हुनुहुन्छ ।

यसैगरी रुद्र ज्ञवालीका ‘उन्मुक्त आकाश’ (२०६६) र ‘रुझेर अग्निवर्षामा’ (२०७५) मुक्तकसङ्ग्रहहरूलगायत विभिन्न विधाका सात कृतिहरू प्रकाशित छन् । उहाँ यसअघि छविलाल सिर्जनशील पुरस्कार, सिद्धार्थ साहित्य पुरस्कार, भानु साहित्य पुरस्कार, प्रलेस प्रतिभा पुरस्कार, लुम्बिनी साहित्य पुरस्कार, टेकध्वज खाती-लक्ष्मीदेवी खाती साहित्यसेवा पुरस्कारलगायतका पुरस्कारहरूबाट पुरस्कृत प्रतिभा हुनुहुन्छ ।

नेपाली आधुनिक मुक्तक लेखनका आरम्भकर्ता भीमदर्शन रोकाको सम्मानमा ‘भीमदर्शन मुक्तक पुरस्कार’ र अग्रज मुक्तककारहरू कृष्णप्रसाद पराजुली, रत्नशमसेर थापा र चेतन कार्कीको सम्झना र सम्मानमा ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ स्थापना गरिएका हुन् ।

नेपाल मुक्तक प्रतिष्ठानद्वारा वार्षिकोत्सव तथा मुक्तक दिवसको अवसर पारेर हरेक वर्ष प्रदान गरिने यी पुरस्कार नेपाल मुक्तक प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष रामकाजी कोनेले स्थापना गर्नुभएको हो । दुवै पुरस्कार आगामी माघ १८ गते प्रतिष्ठानको दसौँ वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा काठमाडौँमा एक समारोहको आयोजना गरी अर्पण गरिने छन् । सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित स्मारिकाको लोकार्पणसमेत गरिने छ ।

०००

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो