
अभिनवको २५९ औं काव्यशृङ्खला सम्पन्न
भैरव स्मृति भवन जोरपाटीमा दिउँसो १ बजे आरम्भ भएर ४.३० बजे सम्पन्न भएको यो कार्यक्रमको अध्यक्षता अभिनवका उपाध्यक्ष विमल अर्यालले गर्नुभयो । प्रमुख आमन्त्रित खोलाघरे साहिँलो रहनुभएको कार्यक्रममा स्वागत- मेनका पोख्रेलले गर्नुभयो ।

काठमाडौं, ०८० भदौ ३० । अभिनव साहित्य समाजको मासिक नियमित कार्यक्रमअन्तर्गत मोतीजयन्ती, तीजविशेष, पुस्तक विमोचन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ ।
भैरव स्मृति भवन जोरपाटीमा दिउँसो १ बजे आरम्भ भएर ४.३० बजे सम्पन्न भएको यो कार्यक्रमको अध्यक्षता अभिनवका उपाध्यक्ष विमल अर्यालले गर्नुभयो । प्रमुख आमन्त्रित खोलाघरे साहिँलो रहनुभएको कार्यक्रममा स्वागत- मेनका पोख्रेलले गर्नुभयो ।
विशेष आमन्त्रितमा चार वेदका अनुवादक तिलकप्रसाद लुइँटल र वरिष्ठ गायक रामबहादुर पहाडी हुनुहुन्थ्यो । कीर्तिशेष साहित्यकार मोतीराम भट्ट, भैरव अर्याल र वासुदेव लुइँटेलहरूका तस्वीरमा सामुहिक माल्यार्पण गरेर आरम्भ गरिएको यस कार्यक्रममा रचनावाचनतर्फ १)ओमप्रसाद कोइराला- कविता, तोटकमा, २) रामचन्द्र दाहाल- कविता ‘पचाउने पाचक’ मुक्त लयमा व्यङ्ग्यात्मक भाव, ३) ठाकुरप्रसाद- ‘मेरो अनुभवमा’- उपजातिमा, ४) बद्रीप्रसाद सुवेदी-..‘हरहर महादेव’ लोकलयमा, ५) नारायण नेपाल- गजल- बाघ, नाग, काग, माग आदि काफियामा, ६) बाजुराम पौडेल- कविता- शार्दूलविक्रीडितमा- तीज सन्दर्भ, विकृतिप्रति लक्षित, ७) बुद्धिसागर पौडेल- बुबाको महत्त्व सम्बन्धी गद्यकविता, ८) राजेशमान केसी- ‘मानवता’ गद्यकविता ।
यसपछि पुस्तक विमोचन- खोलाघरे साहिँलाको ‘पत्तासाफ’ गजलसंग्रहको सामुहिक विमोचन र विमोचित पुस्तकमाथि विशेष आमन्त्रित तिलकप्रसाद लुइँटेलबाट संक्षिप्त चर्चा गरियो ।
प्रमुख आमन्त्रितको मन्तव्यमा खोलाघरे साहिँलोबाट संक्षिप्त मन्तव्य र विमोचित सङ्ग्रहबाट एउटा गजल वाचन गरियो भने रामबहादुर पहाडीले लोकगीत- ‘लाऊँ पिरती धागोझैं जेलेर, पानीमुनि माछीझैं खेलेर’. प्रस्तुत गर्नुभयो ।
गोविन्द घिमिरे वेदमणिले मोतीराम, भैरव अर्याल र वासुदेव लुइँटेलहरूमा हार्दिक श्रद्धाञ्जलि दिँदै, तीजको शुभकामना र एक श्लोक ‘लाज आफैं लजायो’ सुनाउनु भयो ।
थप सिर्जना सुनाउनेहरूमा तृष्णा श्रेष्ठ- कविता ‘तीज’ , मनास्लु स्कूलका छात्राहरूबाट सामुहिक तीज गीत- ‘तीज आयो रमाइलो चाड चेलीको, रमाइलो गरेर नाच सँगी हो…’, गीता बराल- तीज गीत- ‘दुई मैन्हा अघिदेखि तीज शुरु भएको…’, यदुनाथ वसन्तपुरे- सीता भट्टराईको चार हरफ कविता अनुष्टुप्मा र तीजे गीत ‘हाम्रो तीज’ जानुका भट्टराई- कविता ‘चेलीको वेदना’, सुरेशचन्द्र घिमिरे- तीजे गीत. र.तीजको शुभकामना,सुमित्रा श्रेष्ठ- गीत, (सामुहिक नृत्य), घनश्याम प्रसाईं- सँगिनी गीत- ‘छोरीको जन्म नि हारेको कर्म दिजान्छन् अर्कैलाई…’(सामुहिक नृत्य), सीताराम पोख्रेल- ‘माइतीघर छाडेर जाँदा’ रहे ।
यी प्रस्तुतिवाहेक धेरैवटा तीजगीतहरूमा सामुहिक नृत्य गरिएको थियो । सामुहिक दरसमेत खाने रमाइलो कार्यक्रमको सधन्यवाद समापन कार्यक्रमका अध्यक्ष विमल अर्यालले गर्नुभयो ।
कार्यक्रममा कविगण पर्शुराम पराशर, सुमन पुडासैनी, शान्ति रिसाल, घमा भट्टराई खनाल, अप्सरा ढकाल, बीपी इलामे, राजेशमान केसी, पवन संग्रौला, भावना न्यौपाने लगायत चार कोरीजतिको उपस्थिति रहेको थियोे । कार्यक्रमको सञ्चालन अभिनवका सहसचिव शारदा पराजुलीले गर्नुभएको थियो ।
०००
– खोलाघरे साहिँलोको टिपोटमा रेहित सैजू- फित्कौली डेस्क