
मनोमिटर
मस्तिस्कभित्र अनाचार, दुराचार र व्यभिचारको मात्रा केकति बसेको छ भन्ने कुरा रक्तपरीक्षण बिनै, एक्सरे बिनै, डाइग्नोसिस नगरी पत्ता लगाउनु चानचुने कुरा होइन ।

कसैलाई केको जरूरत परेको छ त, कसैलाई केको ! मानिसलाई जतिसुकै पुगीसरी आए पनि केही न केही नपुगेकै छ । के के नपुगेर प्रत्येक ६/६ महिनाभित्रै मुलुकमा सरकार-परिवर्तन हुन्थ्यो, एक हूल जवाँमर्दहरू सत्ताबाट ओर्लन्थे र अर्को हूल सत्तामाथि उक्लन्थे । यसरी हूलका हूल सत्तारोहण र अवतरण प्रक्रिया चलिरहे पनि धेरैलाई कुर्सीको भाग पुगेको हुँदैदनथ्यो । यो क्रमले निरन्तरता पाइरहे पनि अझै कसैलाई पालो पुगेको छैन र कठालो समातेर तान्दा पनि तल ओर्लन नमान्ने स्थिति छ । भन्नोस् त, कसलाई के कुराको आवश्यकता परेको छैन ? डाक्टर भन्छन्- बिरामीलाई जुस दिनोस्, तर कर्मचारी भने मुख बाएर घूस खोजिरहेका छन् । कसैलाई चाहिँ नेपाली युवालाई विदेश लैजाने पर्मिसन चाहिएको छ कसैलाई चाहिँ ठेक्कापट्टा कुम्ल्याउन कमिसन नभई भएको छैन ।
पढ्नमा जीरो भए पनि आजकलका हिरो विद्यार्थीहरू जाँचमा धेरै नम्बर नदिने मास्टर बाबुको ‘कम्मर भाँच आन्दोलन’मा सरिक हुन्छन् । यत्तिसम्मको कुरालाई त्यति अस्वाभाविक नमाने पनि फरक नपर्ला । यहाँ त कतिलाई सर्टिफिकेट नै नचोरी भा’छैन । साह्रै सस्तो र सरल मूल्यमै किन्न पाइने भए पनि यसरी चोरी नै गर्न आवश्यक थिएन नि ! तपाईले खै कुरा बुझेको ? चोरीका जालेमाले सर्टिफिकेटकै भरमा जागिर जोड्ने र तोड्नेहरूको सङ्ख्या पनि यहाँ कम छैन । हिजोआज गाउँगाउँबाट छोरी-चेलीहरू चोरिएका चोरियै छन् । चोरीकै भरमा कसैले गज्जब-गज्जवका घरबारी जोडिरहेका छन् । कथकदाचित् कोही पक्राउ परिहाल्यो भने हतार हतार सत्ताधारी दलको झन्डा ओढेपछि पुलिसको डन्डाबाट जोगिन कुनै गाह्रो पर्दैन । तपाईं दिमाग ठन्डा पारेर सोच्नोस् त हो कि हैन ? यो सबै आवश्यकताको खेल हो ।
आवश्यकता महसुस भएपछि मानिसले वस्तु खोज्दछ । कोही नुनको जोहो गर्नमा लोगका छन् त कोही सुनको जोगाडमा जुटेका छन् । कसैले ताली खोज्दछ त कसैले अपुताली खोज्दछ । कोही चाहिने कुरा खोज्न थाल्छ, कोही नचाहिने कुरा खोज्नमै व्यस्त रहन्छ । ताल न बेतालसँग निहुँ खोज्ने निहुँ खोजाहाहरू पनि यत्रतत्र भेटिने गरेका छन् । वर्तमान नेपालको राजनीतिमा निहुँ खोज्नु भनेको कुर्सी खोज्नु पनि हो । कुर्सी खोज्नु भनेको दह्रो गाँठ खोज्नु पनि हो । गाँठ भनेको के हो, आ-आफ्नो नाम सम्झेर मम भन्दिए भैगो !
केही समययता आएर म चाहिँ एउटा यन्त्रको खोजीमा छु । कसैलाई केको धन्दा, कसैलाई केको धन्धा, घरज्वाइँलाई कुन्नि केको धन्दा भने झैं मलाई भने यस्तो एउटा यन्त्रको आवश्यकता परेको छ, जसले मानिसभित्रको बेइमानी, बदमासी, दुर्गुण, धोकाधडीको ठीकठीक मापन गरिदेओस् । त्यो यन्त्रको एक छेउ मानिसको शरीरको कुनै एक भागमा छुबाइदिनासाथ उसले गरेका गैरकानुनी, अनैतिक, अनुशासनहीन एवं गैरजिम्मेवार क्रियाकलापहरू भिडियो स्क्रिनमा देखिने दृश्यचित्र जस्तै फटाफट देख्न सकियोस् । यस्तो यन्त्रलाई मनोमिटर या हर्टभिजन जे भनिदिए पनि हुन्छ । कसैसँग कुनै आचारविचारको आदानप्रदान गर्ने बेलामा होस् या कुनै सानो या ठूलो लेनदेनको कारोवार गर्ने बेलामा होस्, आफूसँग भएको हर्टभिजनको एक छेउ शरीरको एक भागमा छुवाइदिनासाथ उसको सक्कली तस्विर हाम्रो सामुमा प्रकट भइहाल्नेछ । अनि थाहा हुन्छ, उसँग सदव्यवहार गर्नुपर्ने हो या दुव्र्यवहार ।
कुरो दुव्र्यवहार र सदव्यवहारको मात्र होइन, यस्तो यन्त्र सर्वसुलभ ढङ्गले उपलब्ध हुने हो भने अड्डा अदालततिर घुस लिन्या र घुस दिन्या दुवै थरीलाई सजिलो पनि हुने थियो । चुनाउ-सुनाउतिर भोट दिने र लिनेलाई पनि सजिलो हुने थियो । इमान बेच्ने र इमान किन्नेलाई पनि असाध्य सजिलो हुने थियो ।
मान्छे साँच्चै मान्छेको आवरणमा त छ, तर ऊभित्र मान्छे छ कि पशु, यो कुरा छुट्टयाउन साह्रै गाह्रो पर्न थालिसक्यो । मान्छे राष्ट्रवाद र जनप्रेमका बारेमा घन्टौँ भाषण गरिरहेको हुन्छ तर उसको मनमस्तिष्कमा कति अराष्ट्रवादी र जनद्रोही विचार मडारिइरहेको छ भन्ने कुराको पत्तो पाउन अत्यन्त कठिन छ । यस्तै जटिल र कठिन बेलामा उक्त यन्त्र अत्यन्त उपयोगी सिद्ध हुनेछ । कसले, कहिले, कसको, कति नुन खायों या एयरपोर्टमा कहाँको कति सुन कसले पचायो, कसले कसको कुर्सी हत्याउन केकति गाँठ गुमायो या ककसको कति भाटगिरी गर्यो आदित्यादि कुरामा दूधको दूध पानीको पानी जस्ताको तस्तै देखाउन सक्ने मनोमिटर भन्नुहोस् या अन्तरभिजन साँच्चै बहुउपयोगी हुनेछ । तपाईं-हाम्रा लागि ।
तपाईंको सामुन्ने उभिएको मान्छेको रगतभित्र कमिसनको मात्रा केकति अन्तर्घुलित छ, पेटभित्र विकास निर्माणको बजेटको मात्रा केकति पसेको छ, मस्तिस्कभित्र अनाचार, दुराचार र व्यभिचारको मात्रा केकति बसेको छ भन्ने कुरा रक्तपरीक्षण बिनै, एक्सरे बिनै, डाइग्नोसिस नगरी पत्ता लगाउनु चानचुने कुरा होइन । जुन मैले खोजिरहेको यन्त्रले छुस्स छुवाउनासाथ छर्लङ्ग देख्न सकिनेछ । देखेको लेख्नु र लेखेको देख्नु सुन्दा उस्तै लागे पनि यी दुवै सर्वथा भिन्न कुरा हुन् । मुण्डमुण्ड बुद्धि कुण्डकुण्ड पानी ।
जे होस्, मनोमिटरको वारेमा यति जानकारी पाएपछि भने तपाईंलाई समेत यसको आवश्यकताबोध भएकै हुनुपर्छ । धेरैलाई आवश्यकताबोध हुन थालेपछि माग बढ्नु मार्केट इकोनमीको चरित्र हो । वर्तमान विधि विज्ञान मन्त्रालय र विज्ञान तथा प्रविधि प्रतिष्ठानले घाम तापेर दिन बिताइरहेका नेपाली वैज्ञानिकहरूलाई मनोमिटर तथा अन्तरभिजनको निर्माण र विकास गर्नेतर्फ लगाइहाल्नु जरूरी छ । सबैभन्दा चर्को जरूरी मैले महसुस गरेको हुँदा, यथाशीघ्र उक्त यन्त्र उपलब्ध गराइदिनुहुन विनम्र आग्रह गर्दछु भन्दै लेखिएको यो निवेदन पेस गरेको छु । ए हजुर ! यो बाङ्गो बोली पटक्कै होइन, सीधासीधा भनेको, लौ न छिट्टै त्यो मनोमिटर उपलब्ध गराइदिनुपर्यो ।
०००
‘केन्द्रबिन्दु’ साप्ताहिक, ०५४ मङ्सिर
Subscribe
Login
0 Comments
Oldest