सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हेल्मेट जात्रा

यो सडकको त ट्राफिक दाइ नै सरकार हो । धन्य, प्रभु धन्य ! प्रभुको जय होस् । ओ ट्राफिक दाइ ? ट्राफिक दाइ, सबै नेपाली नागरिकलाई हेलमेट अनिवार्य गराऊ न है ! नत्र त मेरो हेलमेट घरको न घाटको पो हुने भयो त वाई !

Nepal Telecom ad

“नेपालको कानुन दैवले जानुन्” भन्ने भनाई अहिले आएर प्रमाणित भयो । नत्र यत्रो दस वर्ष अगाडि दर्ता भएको कानुन अहिले आएर किन लागु हुनुपथ्र्यो त ! खै दशा लागेर हो कि किन हो ! दस वर्षपछि आएर दनक दिएरै छोड्यो यो पापी कानुनले ।

सधैं झै त्यो दिन पनि बिहान सखारै उठें र साग ओल्स्याएर भात खाएँ । के के न बिते झैं, गन्धे गल्लीको बाटो हुँदै हतार हतार हुइँकिएर पुगें सडक छेउ । अहिलेसम्म सार्वजनिक गाडीमा चढिहाल्ने बानी परिहालेको छैन । डिजेल र पेट्रोलको टन्टा पनि बेहोर्ने गरेको छैन । सितिमिति इज्जतै खती हुनेगरी खचाखच गाडीमा कोचाकोच हुने त झन कुरै भएन ।

सधैं त आधा घण्टा अगाडि निस्किएर बिस्तारै हिंड्दैगर्दा कोही न कोही मुर्ख अनाडी यही बाटो भटभटे भुटुटुटु पार्दै मुन्टिन्थ्यो । मायालु मुस्कान मिसाउँदै हात उठाएर जादुमय स्वरमा कला भर्दै “प्लीज” भनेपछि खुशी भएर पछाडि राखेर हुँइक्याउँथ्यो । गन्तव्यमा पुर्‍याएर यत्तिकै छोड्नुपर्दा “हिस्स बूढी हरिया दाँत” भनेझै हुन्थ्यो होला बरा ! कतिचोटी । कतै त्यही कुकर्मको कमाई त हात लागेको होइन ? ए बाबा ! आज त अचाक्ली नै भयो । जति आउँछन् उति मेरो कलात्मक अनुरोधको वास्तै नगरी “सरी ल वाई“ भन्दै हात हल्लाउँदै हिंड्छन् वाई !

हैन आज के चाल पर्‍यो र यो हाल भयो भनेर पुसको ठण्डीमा मथिङ्गल सुन्निन्जेल सोचें । बल्ल बल्ल कारणको कसिलो बिर्को खुल्यो । मोटर साइकलमा सवार हुने दुबैजनालाई हेल्मेट अनिवार्य गरेको दिन पो परेछ है पड्के त… ! हुन त रेडियो र टिभीले कानका जाली फुट्नेगरी घन्टौंसम्म महिनौंदेखि हेल्मेट अनिवार्य भन्दै भट्याउँदैथ्यो । ‘तात्तो न पिरो हात लाग्यो जिरो’ भनेझैं मैले नेपालको कानुनलाई पटक्कै पत्याईन । पत्याउनु पनि कसरी ? कत्ति कानुन त कानुन बनेको कयौ वर्षसम्म लागु नै हुँदैनन् । कति त काम न काजका कानुन बन्छन् लागु हुनै नपाई फिर्ता हुन्छन् ।

निकैबेर चक्कर चलेपछि मेरो यो अक्कलमा एउटा अकाट्य जुक्ति जुर्‍यो । जब जुक्ति जुर्‍यो, ‘कहाँ जालिस् मछ्ली मेरै ढडिया’ भने झै भैहाल्यो । म गएँ सिधै अटोपार्टसको दोकानतिर । दोकानेले दाउ छोपेर भाउ बढाउन खोज्दैथियो । “पुरानो सामानको भाउ बढायो भने त कानुन लाग्छ नि साहुजी” खै कुरो बुझेको ? भन्दै पुरानै दाममा हात पारेर हेल्मेट हल्लाउँदै निस्किएँ फेरि रोडतिरै । अब भने कार्वाहीको बहाना बनाएर उम्कनेलाई चुइँक्याउने भयो मेरो हेल्मेटले भन्दै मुस्कुराएँ.. !

हातमा नयाँ रातो हेल्मेट बोकेर, यस्सो आफैंलाई नियालेर हेरें, झन् झन् राम्री चिटिक्कै परेकी पो देखिएँ वाई …। एकमन त लाग्यो आफ्नै नयाँ बाइक हुँइक्याउन पाए क्या गज्जब हुन्थ्यो । फेरि संझिएँ, यसरी कुनै टेन्सन र इन्धन बिना ड्राइभर फेरिफेरि पछाडि बसेर चियाखाजा खाँदै हिंड्दाको मज्जा कहाँ पाउनु ? यत्तिकैमा यस्सो घडी हेरें बाह्र बजेछ । पुसको दिन फास्फुस जानलाग्यो । हातमा हेल्मेट बोकेर आँखा नचाउँदै, तीन घन्टासम्म ठिंगिदा पनि कोही मुडदार मुन्टिएन जाउँ भन्ने ? ‘लाटो लड्छ एक बल्ड्याङ्ग बाठो लड्छ सात बल्ड्याङ्ग’ भनेको यही रहेछ । बठ्याईं गर्दा गर्दै गहिरो खाडलमा ननिस्कनेगरी भासिएँ म !

हे फसाद ! दुईमैना गाडी भाडा तिर्न पुग्ने पैसा पनि एउटा हेल्मेट किन्दा सिनित्तै भयो । यत्तिका बेर भैसक्यो यहाँ उभिएको, यी वरिपरिका मान्छेले पनि के भनेहोला ? अब त अति भो भन्दै म लागें लुसुक्क हनुमान ढोकातिर । मनमनै सोच्दैथिएँ मैले चिनेको मान्छे कोही कतै नभेटियोस् । तर कहाँ हुन्थ्यो र भनेजस्तो । ‘म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ भने झै भैहाल्यो । क्याम्पसमा दुई वर्षसम्म लभ गरेको लुखुरीकान्त पो लमकलमक गर्दै आउँदै रहेछ मैतिर । हे दैव ! यसलाई पनि यत्ति नै बेला यतै ल्याउनु परेको ! तै पनि नदेखे त हुन्थ्यो नि, भन्दै तर्किन खोज्दैथिएँ । ऊ त परैबाट हत्तनपत्त “हेल्लो लुरीमाया कताबाट हो यता ?” पो भन्छ है मोरो त ..! मलाई निक्कै झ्वाँक चल्याथ्यो तर छोडिसक्या ब्वाईफ्रेण्डलाई किन जिस्क्याउनु भनेर, भन्दिएँ यस्सो फुर्सदमा घुम्न निस्केको ।

लुखुरीकान्त लुर नभए पनि छेड हान्न चाहिँ खप्पिस छ । पड्केले प्याच्चै भन्यो । बधाई छ यार, नयाँ बाइक किनिएछ । कमाई निक्कै राम्रै छ क्यार ! तर यत्रो सडकमा हेल्मेट मात्र हल्लाउँदै हिंडेको त सुहाएन नि लुरी ? भन्दै हलल्ल हाँस्यो लुखुरीकान्त । यसै त निराशाले निबुवा निचोरे जस्तो मेरा अनुहार लुखुरीकान्तका शव्दबाणले लज्जावती झार झै लल्याकलुलुक भएँ ।

हे दैव ! यो के घाँडो आइलाग्यो । फालौं भने यत्तिका पैसा परेको छ कसरी फालौं ? ओडौं भने जाडोको टोपी होइन के भनेर ओडौं ? लुकाउँ भने सानु छैन खप्पर कहाँ लुकाउँ ? हेल्मेट बोकेर ट्याम्पो चढौं भने कसरी चढौं ? आ होस् है लुरुलुरु हिंडेर जान्छु भनौ भने थोरै छैन बाटो ! इन्द्रचोक, असन, रत्नपार्क, बागबजार, पुतलीसडक पनि पार गरेर न्युप्लाजा पुग्नुपर्छ । तैपनि कसैको रतिभर डर नमानी रात परेपछि निर्धक्क लागें खुरुखुरु आफ्नै बाटो ।

हत्तुहैरान भएर डेरामा पुगें र हेल्मेटको बारेमा सोच्नथालें । यसको के गरी सदुपयोग गरौं ? मोटरसाइकल किनेर ओडौं न त भनौं भने महिनैपिछे घरबेटीलाई थाहै नदिइ सुटुक्क डेरा सर्ने स्वाभिमानी परें । मोटरसाइकल किन्ने कुरै भएन । तरकारी ल्याउने गरौं न त यसैमा भन्दा आलु न साग केही अट्दैन । किलामा झुण्ड्याएर मसला राख्ने भाँडो बनाउँ भन्दा ताल न सुरको कुभिण्डोजस्तो छ, उभिन्डियो भने सबै स्वाहा ! केही उपाय नलागेपछि परमेश्वरसँग एक चित्तले प्रार्थना गरें । हे प्रभु ! यो अड्को फुकाई देऊ ! त्यसपछि एक्कासि अन्तरआत्माबाट आकाशवाणी भयो- थुइक्क ! नाथे त्यति पनि बुद्धि छैन ? जा ट्राफिक प्रहरीलाई भनेर साइकलमा पनि हेलमेट अनिवार्य गरा । साइकल किन्न नसके पैदलयात्रीलाई पनि हेलमेट अनिवार्य गरा । एक मनले भन्यो यो त सरकारको दरकार हैन ? फेरि अर्को मनले भन्यो हैन हैन, यो सडकको त ट्राफिक दाइ नै सरकार हो । धन्य, प्रभु धन्य ! प्रभुको जय होस् ।

ओ ट्राफिक दाइ ? ट्राफिक दाइ, सबै नेपाली नागरिकलाई हेलमेट अनिवार्य गराऊ न है ! नत्र त मेरो हेलमेट घरको न घाटको पो हुने भयो त वाई !

०००
‘गोर्खेलौरी’ (२०६४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
ट्रम्पकाे टरटर

ट्रम्पकाे टरटर

शेषराज भट्टराई
कुर्सीरसायन

कुर्सीरसायन

इन्दिरा चापागाईं
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
आधा सत्य आधा भ्रम- १५

आधा सत्य आधा भ्रम-...

अर्जुन दाहाल (क)
वीभत्स भाष्य

वीभत्स भाष्य

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x