साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाग्दाभाग्दै

क्यानडामा रहनु भएका राजेन्द्र कार्कीको पहिलो हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘खाइराइड’ आगामी भदौ ९ गते लोकार्पण हुँदैछ । फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशनमा आएको ‘खाइराइड’ सङ्ग्रह भित्रको एउटा निबन्ध यहाँ प्रस्तुत गरिएको छ ।

Nepal Telecom ad

राजेन्द्र कार्की :

बाउलाई घाउ नलाई चुपचाप बसिरहेको थिएँ । कसरी भागेँ, त्यो थाहा भएन । तर भाग्दाभाग्दै आमाको गर्भमा पुगेँ । त्यहाँबाट कता भाग्नु ! चुपचाप बसेँ । नौ महीना जति बसेपछि त्यहाँबाट भागे । भाग्दाभाग्दै धर्तीमा आएँ ।

धर्तीमा आएपछि अर्तीको खाँचो नहुने रहेछ । अर्तीको भर्ती हुँदाहुँदै बाल्यकाल आधा काल भएर बित्यो । अर्ती भन्थ्यो- पढ्नु पर्छ, ठूलो मान्छे हुनु पर्छ । तर आफूलाई स्कूल जान मनै नलाग्ने । हरेक दिन कक्षा छोडेर स्कूलबाट भाग्दै हिँड्यो । दौडी-दौडी खोलामा गएर पौडी खेल्यो । चौरीमा खेल्यो । कहिले धानको बाला जेल्यो । “पढि गुनी के काम, हलो जोती खायो माम” भन्ने सुनेको मान्छेलाई पढ्न पनि के मन लागोस् ।

खोलामा भलबाढी आउँदा पनि पौडी खेल्न नडराउने मान्छे म । झन् पौडी खेल्ने दह नजिकैको चिउरी भीरमा भोर्लाको लहरामा झुण्डिएर सुरेली खेल्दै तलमाथि गरेर रमिता देखाउथेँ । लडेर मर्ने भो भनेर रमिते डराउँथे, तर म डराउँदिनथेँ । नडराउने हुँदा पिखुवा खोलाको भूमरीमा परेर झण्डै परमधाम पुगेको थिएँ । तर अरू गोठाला साथीहरूले देखेछन् । परमधाम जान दिएनन्, नत्र जिन्दगीले यसरी भाग्दै हिँड्न कहाँ पाउँथ्यो र !

स्कूलबाट भाग्दा पनि म मास्टरसँग डराउँदिनथेँ । मास्टरले कुट्दा छडी भाँचिन्थ्यो, तर म भाँचिन्नथे । कन्सिरी तान्दा कपाल मास्टरको हातभरि हुन्थ्यो । कान तान्दा मास्टरलाई पोलिखान पुग्ने कानै मास्टरका हातमा हुन्थ्यो । तर पनि म पटक्कै डराउँदैनथेँ । जति गर्दा पनि मेरो पढाइ राम्रो भएन, तर सढाइमा चाहिँ म फस्ट थिएँ ।

केही नलागेपछि गाउँको स्कूलबाट निकालेर सदरमुकामको स्कूलमा कायमुकायम दश कक्षामा भर्ना भएँ । बाको बोलवाला नभएको भए मैले कायमुकायम पाउने सम्भावना नै थिएन । सधैं तीन विषय लागेर पास हुने मान्छेलाई कसले पूणर् कक्षामा विराजमान गराउने ? विराजमान गराउने कुरै भएन । भनाइको मतलव प्रोभिजनल । एसएलसी पास हुने हविगतै थिएन । तर कुन कागतालीले हो- लटरी पर्‍यो ।

लटरी परेको मान्छे भोजपुर दावा तमनाबाट रमाना लिएर भाग्दाभाग्दै विराटनगर पुगेँ । विराटनगरको तातो गर्मीमा टिक्न नसकेपछि फेरि भागेर काठमाडौं पुगेँ र त्यहीँ तीस वर्ष डुबेँ । तीस वर्षको डुबाईमा बल्ल थाहा पाएँ कि काठमाडौं भगौडाहरूको शहर रहेछ ।

तालीम पूरा गर्न नसक्ने पुलिसलाई मात्र भगौडा भनेको सुन्थेँ । तर मान्छेको जातै भगौडा रहेछ । थरिथरीका भगौडा छन् यो दुनियाँमा । गाँस र बासको आसमा गाउँबाट भागेर शहरको रहर गर्ने पनि भगौडा । सानो शहरबाट ठूलो शहर भाग्ने भगौडा । देशबाट विदेशमा भाग्ने भगौडा ।

म पनि भागेको भाग्यै छु । भागेको भाग्यै गर्ने साह्रै डरपोक रहिछस् भन्नु होला । शुरूमा डरपोक थिइनँ । जुन दिन काठमाडौंं आएँ, त्यही दिनदेखि मेरो मनमा डरले घर गरेको हो । काठमाडौंं डरैडरको शहर हो कि के हो ? यदि डरको शहर हुन्थेन भने मल्ल राजाहरू किन चार भन्ज्याङ कटेर बाहिर जान सकेनन् ? बाहिर गएर नेपालको एकीकरण गरेको भए पृथ्वीनारायण शाहको सालिक पनि भत्काउनु पर्ने थिएन । आजसम्म मल्ल राजाका सन्तान श्री ५ महाराजाधिराज हुने थिए । गणतन्त्रको तन्त्र मन्त्र फुक्नु पर्ने पनि थिएन ।

जयप्रकाश मल्लले काठमाडौंंमा डरको घर छाडेर गएछन् । त्यही भएकोले काठमाडौंंका मान्छे डरछेरुवा भएका हुन् कि जस्तो लाग्छ । म पनि काठमाडौंं नआउन्जेल डरपोक थिइनँ । डरको घर कहिले सिंहदरबार बन्छ त कहिले राजदरबार बन्छ । तर गणतन्त्रमा म्युजियम बनेको राजदरबारलाई कसले गन्छ ? गन्दैन । अहिले सबैको गन्नेमान्ने त सिंहदरबार हो । सिंहदरबारको अधिकारको तरबार बालुवाटारबाट चल्न थालेपछि बालुवाटार डरको घर बनेको छ । चन्द्र शमसेरको पालामा पो डरको घर एउटा सिंहदरबार थियो । अब देशभरि धेरै सिंहदरबार भइसके । गाउँदेखि ठूला शहरसम्म थरिथरीका पिर्के बिर्के चन्द्र शमसेरहरू छन् । अब डरको डिग्री काठमाडौंंबाट देशभरी छरिएको छ ।

फेरि हामी होइन, तँ पो काफर भन्नु होला । फापर खाएको मान्छे काफरै हुन्छ । स्कच र रोस्ट टोस्ट गर्ने मान्छे पो महसुर हुन्छन् । जनवादको सपनामा शहीद हुन डराउने काँतरहरू गाउँबाट भाग्दै शहर पसे । त्यो शहरको पनि भर नभएपछि परदेश भर भएको छ । परदेश भाग्ने अब त संस्कार भइ सक्यो ।

भगौडाको लहर चलाउनमा मेरा गुरू श्याम तमोटको हात छ कि भन्ने शंका लाग्न थालेको छ । “गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देश बनाउन” भनेर उनले नभनेको भए कोही पनि गाउँबाट बस्तीबाट उठ्ने थिएनन् । “गाउँ गाउँबाट लुट, बस्ती बस्तीबाट लुट यो देश लुट” भनेको भए सबै गाउँमै लुट्ने थिए । कोही पनि उठ्ने थिएनन् । भाग्ने थिएनन् । त्यहीँ बसेको बस्यै हुने थिए भन्नेमा शंका छैन ।

श्याम तमोटले भन्नु भन्दा अगाडि गाउँबाट उठ्ने कुरो कसैले सुनेकै थिएन । जानेकै थिएन । देश बनाउन उठ्दा देश त शेष पो भयो । अब शेष भएको देशमा को बस्ने भनेर युवाहरू परदेशतिर भाग्दैछन् । नपत्याए हेर्न जानुहोस् एअरपोर्टमा । हातमा पासपोर्ट बोकेका कति युवा हरेक दिन भाग्दैछन् । भाग्न बाँकी भएका पनि भाग्ने तयारीमा छन् । पुरूष मात्र होइन, महिला पनि भाग्दैछन् । महिला भगाउनमा जेवी टुहुरेको हात छ कि जस्तो लाग्छ ।
आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर ।
आफ्नै पौरख खान्छन् आफ्नै सिपमा बाँच्छन्
दुःख कष्ट सहेर सृष्टि यिनले थाम्छन् ।

टुहुरेको यो लोकप्रिय गीतले आमा दिदी बहिनीमा ठुलो जागरण ल्यायो । सुखको प्यास मेट्न आमा दिदी बहिनी युरोप, अमेरिका र खाडी मात्र होइन, अफ्रिकाका विभिन्न मुलुक पुगेका छन् । त्यहाँ दुःखकष्ट सहेर आफ्नै पौरख खाँदैछन् । आफ्नै सिपमा बाँच्दैछन् । घरपरिवारको सृष्टि धान्न कोही अफ्रिकाका डान्सबारमा सुखको नाच नाँच्दै छन्, कोही कतार र साउदीको उखरमाउलो गर्मीमा सुख खोज्दै शरीर सेकाउँदैछन् ।

वर्तमानमा मात्र मान्छे भागेका चाहिँ अवश्य होइनन् । झण्डै छब्बिस सय वर्ष अगाडि जन्मिएका बु्द्ध भारत भागे । उनी आफू मात्र भारत भागेको भए त हुन्थ्यो । तर अशान्ति छोडेर शान्ति पनि लिएर भागेछन् । फेरि अरनिको पनि चीन भागे । चीनलाई कलामा समृद्ध बनाउन जीवन उतै बिताए ।

एडमण्ड हिलारीसँगै तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथा चढेर कीर्तिमान कायम राखे । चम्क है चम्क नेपाली भनेर नेपालीहरू मख्ख पर्दा नपर्दै उनी पनि कीर्तिमानको मानलाई सान लाउँदै भारत भागे । देशका विभूतिहरू नै भागेपछि भोको पेटको आगो निभाउन भाग्नेको के कुरा भो र !

भाग्दाभाग्दै परदेश पुग्ने कोही एक्लो छैन । हरेक ठाउँमा भगौडाको ठुलो सङ्ख्या छ । दशैँ तिहार, चाड पर्व र विवाह व्रतबन्धमा प्रशस्तै नेपाली भेटिन्छ । मानौं त्यो नै नेपाल हो । फेरि भाग्ने कुनै एउटा गाउँ र देशबाट मात्र छैनन् । दुनियाँमा भाग्ने संस्कृति भईसक्यो । तर सुख खोजेर भाग्दाभाग्दै भागेर मान्छे कहाँ पुग्ने हुन् । त्यो भाग्नेलाई नै थाहा छैन । आखिर जहाँ जति भागे पनि यमराजको द्वारमा पुगेपछि त्यहाँबाट पनि भाग्ने कुनै अर्को द्वार होला त ?

०००
भ्याङ्कुभर, क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दङ्ग जनावर

दङ्ग जनावर

राजेन्द्र कार्की
श्री ३ चटके

श्री ३ चटके

राजेन्द्र कार्की
म ट्वाँ परेँ

म ट्वाँ परेँ

राजेन्द्र कार्की
के को नयाँ वर्ष !

के को नयाँ वर्ष...

राजेन्द्र कार्की
तर खाइराइड लागेपछि…

तर खाइराइड लागेपछि…

राजेन्द्र कार्की
म लुते

म लुते

राजेन्द्र कार्की
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
0
Would love your thoughts, please comment.x
()
x