भाग्दाभाग्दै
क्यानडामा रहनु भएका राजेन्द्र कार्कीको पहिलो हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘खाइराइड’ आगामी भदौ ९ गते लोकार्पण हुँदैछ । फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशनमा आएको ‘खाइराइड’ सङ्ग्रह भित्रको एउटा निबन्ध यहाँ प्रस्तुत गरिएको छ ।
राजेन्द्र कार्की :
बाउलाई घाउ नलाई चुपचाप बसिरहेको थिएँ । कसरी भागेँ, त्यो थाहा भएन । तर भाग्दाभाग्दै आमाको गर्भमा पुगेँ । त्यहाँबाट कता भाग्नु ! चुपचाप बसेँ । नौ महीना जति बसेपछि त्यहाँबाट भागे । भाग्दाभाग्दै धर्तीमा आएँ ।
धर्तीमा आएपछि अर्तीको खाँचो नहुने रहेछ । अर्तीको भर्ती हुँदाहुँदै बाल्यकाल आधा काल भएर बित्यो । अर्ती भन्थ्यो- पढ्नु पर्छ, ठूलो मान्छे हुनु पर्छ । तर आफूलाई स्कूल जान मनै नलाग्ने । हरेक दिन कक्षा छोडेर स्कूलबाट भाग्दै हिँड्यो । दौडी-दौडी खोलामा गएर पौडी खेल्यो । चौरीमा खेल्यो । कहिले धानको बाला जेल्यो । “पढि गुनी के काम, हलो जोती खायो माम” भन्ने सुनेको मान्छेलाई पढ्न पनि के मन लागोस् ।
खोलामा भलबाढी आउँदा पनि पौडी खेल्न नडराउने मान्छे म । झन् पौडी खेल्ने दह नजिकैको चिउरी भीरमा भोर्लाको लहरामा झुण्डिएर सुरेली खेल्दै तलमाथि गरेर रमिता देखाउथेँ । लडेर मर्ने भो भनेर रमिते डराउँथे, तर म डराउँदिनथेँ । नडराउने हुँदा पिखुवा खोलाको भूमरीमा परेर झण्डै परमधाम पुगेको थिएँ । तर अरू गोठाला साथीहरूले देखेछन् । परमधाम जान दिएनन्, नत्र जिन्दगीले यसरी भाग्दै हिँड्न कहाँ पाउँथ्यो र !
स्कूलबाट भाग्दा पनि म मास्टरसँग डराउँदिनथेँ । मास्टरले कुट्दा छडी भाँचिन्थ्यो, तर म भाँचिन्नथे । कन्सिरी तान्दा कपाल मास्टरको हातभरि हुन्थ्यो । कान तान्दा मास्टरलाई पोलिखान पुग्ने कानै मास्टरका हातमा हुन्थ्यो । तर पनि म पटक्कै डराउँदैनथेँ । जति गर्दा पनि मेरो पढाइ राम्रो भएन, तर सढाइमा चाहिँ म फस्ट थिएँ ।
केही नलागेपछि गाउँको स्कूलबाट निकालेर सदरमुकामको स्कूलमा कायमुकायम दश कक्षामा भर्ना भएँ । बाको बोलवाला नभएको भए मैले कायमुकायम पाउने सम्भावना नै थिएन । सधैं तीन विषय लागेर पास हुने मान्छेलाई कसले पूणर् कक्षामा विराजमान गराउने ? विराजमान गराउने कुरै भएन । भनाइको मतलव प्रोभिजनल । एसएलसी पास हुने हविगतै थिएन । तर कुन कागतालीले हो- लटरी पर्यो ।
लटरी परेको मान्छे भोजपुर दावा तमनाबाट रमाना लिएर भाग्दाभाग्दै विराटनगर पुगेँ । विराटनगरको तातो गर्मीमा टिक्न नसकेपछि फेरि भागेर काठमाडौं पुगेँ र त्यहीँ तीस वर्ष डुबेँ । तीस वर्षको डुबाईमा बल्ल थाहा पाएँ कि काठमाडौं भगौडाहरूको शहर रहेछ ।
तालीम पूरा गर्न नसक्ने पुलिसलाई मात्र भगौडा भनेको सुन्थेँ । तर मान्छेको जातै भगौडा रहेछ । थरिथरीका भगौडा छन् यो दुनियाँमा । गाँस र बासको आसमा गाउँबाट भागेर शहरको रहर गर्ने पनि भगौडा । सानो शहरबाट ठूलो शहर भाग्ने भगौडा । देशबाट विदेशमा भाग्ने भगौडा ।
म पनि भागेको भाग्यै छु । भागेको भाग्यै गर्ने साह्रै डरपोक रहिछस् भन्नु होला । शुरूमा डरपोक थिइनँ । जुन दिन काठमाडौंं आएँ, त्यही दिनदेखि मेरो मनमा डरले घर गरेको हो । काठमाडौंं डरैडरको शहर हो कि के हो ? यदि डरको शहर हुन्थेन भने मल्ल राजाहरू किन चार भन्ज्याङ कटेर बाहिर जान सकेनन् ? बाहिर गएर नेपालको एकीकरण गरेको भए पृथ्वीनारायण शाहको सालिक पनि भत्काउनु पर्ने थिएन । आजसम्म मल्ल राजाका सन्तान श्री ५ महाराजाधिराज हुने थिए । गणतन्त्रको तन्त्र मन्त्र फुक्नु पर्ने पनि थिएन ।
जयप्रकाश मल्लले काठमाडौंंमा डरको घर छाडेर गएछन् । त्यही भएकोले काठमाडौंंका मान्छे डरछेरुवा भएका हुन् कि जस्तो लाग्छ । म पनि काठमाडौंं नआउन्जेल डरपोक थिइनँ । डरको घर कहिले सिंहदरबार बन्छ त कहिले राजदरबार बन्छ । तर गणतन्त्रमा म्युजियम बनेको राजदरबारलाई कसले गन्छ ? गन्दैन । अहिले सबैको गन्नेमान्ने त सिंहदरबार हो । सिंहदरबारको अधिकारको तरबार बालुवाटारबाट चल्न थालेपछि बालुवाटार डरको घर बनेको छ । चन्द्र शमसेरको पालामा पो डरको घर एउटा सिंहदरबार थियो । अब देशभरि धेरै सिंहदरबार भइसके । गाउँदेखि ठूला शहरसम्म थरिथरीका पिर्के बिर्के चन्द्र शमसेरहरू छन् । अब डरको डिग्री काठमाडौंंबाट देशभरी छरिएको छ ।
फेरि हामी होइन, तँ पो काफर भन्नु होला । फापर खाएको मान्छे काफरै हुन्छ । स्कच र रोस्ट टोस्ट गर्ने मान्छे पो महसुर हुन्छन् । जनवादको सपनामा शहीद हुन डराउने काँतरहरू गाउँबाट भाग्दै शहर पसे । त्यो शहरको पनि भर नभएपछि परदेश भर भएको छ । परदेश भाग्ने अब त संस्कार भइ सक्यो ।
भगौडाको लहर चलाउनमा मेरा गुरू श्याम तमोटको हात छ कि भन्ने शंका लाग्न थालेको छ । “गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देश बनाउन” भनेर उनले नभनेको भए कोही पनि गाउँबाट बस्तीबाट उठ्ने थिएनन् । “गाउँ गाउँबाट लुट, बस्ती बस्तीबाट लुट यो देश लुट” भनेको भए सबै गाउँमै लुट्ने थिए । कोही पनि उठ्ने थिएनन् । भाग्ने थिएनन् । त्यहीँ बसेको बस्यै हुने थिए भन्नेमा शंका छैन ।
श्याम तमोटले भन्नु भन्दा अगाडि गाउँबाट उठ्ने कुरो कसैले सुनेकै थिएन । जानेकै थिएन । देश बनाउन उठ्दा देश त शेष पो भयो । अब शेष भएको देशमा को बस्ने भनेर युवाहरू परदेशतिर भाग्दैछन् । नपत्याए हेर्न जानुहोस् एअरपोर्टमा । हातमा पासपोर्ट बोकेका कति युवा हरेक दिन भाग्दैछन् । भाग्न बाँकी भएका पनि भाग्ने तयारीमा छन् । पुरूष मात्र होइन, महिला पनि भाग्दैछन् । महिला भगाउनमा जेवी टुहुरेको हात छ कि जस्तो लाग्छ ।
आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर ।
आफ्नै पौरख खान्छन् आफ्नै सिपमा बाँच्छन्
दुःख कष्ट सहेर सृष्टि यिनले थाम्छन् ।
टुहुरेको यो लोकप्रिय गीतले आमा दिदी बहिनीमा ठुलो जागरण ल्यायो । सुखको प्यास मेट्न आमा दिदी बहिनी युरोप, अमेरिका र खाडी मात्र होइन, अफ्रिकाका विभिन्न मुलुक पुगेका छन् । त्यहाँ दुःखकष्ट सहेर आफ्नै पौरख खाँदैछन् । आफ्नै सिपमा बाँच्दैछन् । घरपरिवारको सृष्टि धान्न कोही अफ्रिकाका डान्सबारमा सुखको नाच नाँच्दै छन्, कोही कतार र साउदीको उखरमाउलो गर्मीमा सुख खोज्दै शरीर सेकाउँदैछन् ।
वर्तमानमा मात्र मान्छे भागेका चाहिँ अवश्य होइनन् । झण्डै छब्बिस सय वर्ष अगाडि जन्मिएका बु्द्ध भारत भागे । उनी आफू मात्र भारत भागेको भए त हुन्थ्यो । तर अशान्ति छोडेर शान्ति पनि लिएर भागेछन् । फेरि अरनिको पनि चीन भागे । चीनलाई कलामा समृद्ध बनाउन जीवन उतै बिताए ।
एडमण्ड हिलारीसँगै तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथा चढेर कीर्तिमान कायम राखे । चम्क है चम्क नेपाली भनेर नेपालीहरू मख्ख पर्दा नपर्दै उनी पनि कीर्तिमानको मानलाई सान लाउँदै भारत भागे । देशका विभूतिहरू नै भागेपछि भोको पेटको आगो निभाउन भाग्नेको के कुरा भो र !
भाग्दाभाग्दै परदेश पुग्ने कोही एक्लो छैन । हरेक ठाउँमा भगौडाको ठुलो सङ्ख्या छ । दशैँ तिहार, चाड पर्व र विवाह व्रतबन्धमा प्रशस्तै नेपाली भेटिन्छ । मानौं त्यो नै नेपाल हो । फेरि भाग्ने कुनै एउटा गाउँ र देशबाट मात्र छैनन् । दुनियाँमा भाग्ने संस्कृति भईसक्यो । तर सुख खोजेर भाग्दाभाग्दै भागेर मान्छे कहाँ पुग्ने हुन् । त्यो भाग्नेलाई नै थाहा छैन । आखिर जहाँ जति भागे पनि यमराजको द्वारमा पुगेपछि त्यहाँबाट पनि भाग्ने कुनै अर्को द्वार होला त ?
०००
भ्याङ्कुभर, क्यानडा
Subscribe
Login
0 Comments
Oldest