सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विष्णु नवीनको चिन्तन र उनका रचनाको प्राप्ति

यस कृतिमा समावेश भएका २०२१ देखि २०३७ सम्मका रचना समाहित हुन् भने उनको सर्जक जीवनको आरम्भदेखि उर्वर र अवरोह चरणसम्मको प्राप्तिलाई सूचित गर्ने रचनाको समायोजन हुनु पनि हो ।

Nepal Telecom ad

राजेन्द्र सुवेदी :

विषय प्रवेश :
नेपाली साहित्यको इतिहासमा विष्णु नवीन (१९९५-२०४०) नामबाट परिचित विष्णुबहादुर बुढाथोकी सृजनात्मक साहित्यका स्रष्टा र पत्रकारका रूपमा स्थापित व्यक्तित्व मानिन्छन् । किशोर वयदेखि नै साहित्य तथा पत्रकारिताको क्षेत्रमा लागेका नवीन हास्यव्यङ्ग्य प्रधान निबन्ध तथा समिक्षात्मक सामयिक टिप्पणी र आख्यानात्मक निबन्धका सृजनकर्ताका तहमा समर्पित साधक प्रतिभा हुन् । २०२० र २०३० को दशकभरि नै सृजनकार्यलाई आफ्नो धर्म बनाएका व्यक्तिका रूपमा परिचित रहेका छन् । समाज र संस्कृतिका विकासलाई पखाल्ने आसय लिएर सृजना तथा लेखन क्षेत्रमा प्रवृत्त बनेका नवीनले आफूलाई आख्यानात्मक निबन्धका सन्दर्भमा स्थापित गरेका छन् । प्रवेशिका परीक्षा पास गरेपछि सरकारी सेवामा प्रवेश गरेका नवीनको सृजनयात्रा २०१४ ‘एक पैसा’ शीर्षकको कथाबाट आरम्भ भएको हो । सरकारी स्तरबाट प्रकाशित मेची पत्रिकाको सम्पादन कार्यमा जुटेका नवीनको सृजनाचेत २०१८ सालपछि लेखन तथा पत्रिका सम्पादनमा एकसाथ क्रियाशील बन्दै आएको छ ।

नवीनको सृजनयात्रा कथाबाट आरम्भ भएर निबन्ध, कविता तथा खण्डकाव्यको तहसम्म पनि वितरित बनेको देखिन्छ । यस दृष्टिले उनको सृजनात्मक चिन्तन प्रबल र द्रष्टा अर्थात् समीक्षा चिन्तन चाहि २०१८ पछि तीव्र गतिमा बढ्दै गएको सन्दर्भ उनका कृतिका प्रकाशनले साक्ष्य गरेको देखिन्छ । उनका पुस्तकाकार कृतिको प्रकाशनको क्रम यस प्रकार रहेको छ :

श्रीमतीसित एक दिन (२०२२ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) छातीमा नअाँटेका कुरा (२०२९, हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह), कविता काव्यका कृतिहरूमा उनको स्मृतिमा (२०२४ खण्डकाव्य) प्रकाशित कृति हुन् । उनको एक मात्र कथा सङ्ग्रह लोग्ने स्वास्नी (कथासङ्ग्रह २०३८) पनि प्रकाशनमा आइसकेको छ । यिनका अतिरिक्त उनका रचनाहरू सङ्कलन, सम्पादन र प्रकाशनमा आउन बाँकी रहेका कारण तिनको सङ्कलन र प्रकाशनको जमर्को चाहिँ भइरहेका स्थितिमा भूमिकाको यो लेखन कार्य भइरहेको छ ।

नेपाली साहित्यको इतिहासको आधुनिक कालका आरम्भमा निबन्धात्मक आख्यानमा हास्यव्यङ्ग्यगत चिन्तन शिल्प र सामाजिक, सांस्कृतिक तथा राजनीतिक विकारमा जमेर बसेका दुर्गन्धहरू पन्छाउने ध्येयले साहित्यलाई उपकरण बनाउने परम्परामा वेदनिधि शर्मा, प्रेमराज शर्मा (१९६०-२०२८), कृष्णप्रसाद चापागाई, (१९७१-२०५५), हृदयचन्द्र सिंह प्रधान (१०७२–२०१६), लक्ष्मीप्रसाद देवकोटा (१९६६ – २०१६) वासुदेव लुईटेल (१९७४-२०६३) आदिले तय गरेका मार्गमा सृजनयात्रा गर्ने प्रतिभाका परिचित साधकहरूका बिचमा नवीनको पहिचान कायम भएको छ । यस प्रकारको लेखनका अग्रज स्रष्टा अच्छा राई रसिक (१९८५-२००९), सूर्यबहादुर पिवा, (१९८४-२०६३), श्रीधर खनाल, (१९८८) चूडामणि रेग्मी (१९९३), वल्लभमणि दहाल (१९९१-२०६०) भैरव अर्याल (१९९३-२०३३), मोहनराज शर्मा (१९९४-२०७५), श्याम गोतामे (१९९६-२०५५), बालमुकुन्द खरेल (१९९३-२०५९), रामकुमार पाँडे (२००३) आदि लेखकको पङ्क्तिका सहसाधक बनेर नवीनको आगमन भएको छ । यसरी लेखनमा जुटेका स्रष्टा नवीनको उपस्थिति स्पस्टै देखिएको छ । यस समयका हास्यव्यङ्ग्यको आधारभूमिमा टेकेर साहित्य सृजना गर्ने नवीनलाई साहित्य क्षेत्रको परिवेशले राम्ररी नै सहयोग गरेको देखिन्छ ।

नवीनको उपस्थिति र सृजनयात्रा :
अरुण प्रस्रवण क्षेत्रबाट काबेली, तमोर, कनका अर्थात् कनकाई प्रसवण क्षेत्रको प्राकृतिक ऊर्जाको प्रभाव ग्रहण गर्न आइपुगेका र यहाँको प्रकृतिबाट निर्मित नवीनको स्रष्टा चेतनालाई इलामको धर्तीले अत्यन्त सहज तथा ऊर्जस्वी शक्ति प्राप्त भएको सन्दर्भ यहाँ स्मरणीय विषय बनेको छ । अञ्चलको भूमिलाई सेचन गरेर वहने काबेली, तमोर, कनकाई र मेचीको प्रवाहमा निर्मित प्रतिभाहरूमा डिल्लीराम तिमसिना (१९८०-२०४९) यस मेची यल शर्मा (१९९४-२०६०) पासाङ गोपर्मा (१९९०-२०७५), जयप्रसाद ढकाल (१९९०-२०७६), भानुभक्त पोखरेल (१९९३-२०७०), वैरागी काइला (१९९६), अमर नेम्बाङ (१९९८- २०७३), तारानाथ शर्मा (१९९१), खगेन्द्रनाथ शर्मा (१९९१), माधवप्रसाद भण्डारी (१९९३), चूडामणि रेग्मी (१९९३), पुरुषोत्तम सिग्देल (१९९९), रुद्र खरेल । २००२-२०६३), (लागायका प्रतिभाको निर्माण गर्ने यस धर्तीमा विष्णु नवीनको उपस्थिति निकै प्रखर र प्रबल बनेर आविर्भाव भएको छ । यस प्रकारको चिन्तन तथा शिल्पको कलागत सन्दर्भमा नवीनको स्वभाव र संवेदना आफ्नै विशेषता आर्जन गर्दै विकसित बन्दै गएको छ ।

नवीनका रचानहरू यस सङ्ग्रहमा आरम्भदेखि उनको जीवनकालभरि जसोकै प्रतिनिधित्व गर्ने हिसाबले समावेश भएका छन् । यस कृतिमा समावेश भएका उनका सृजनाहरूको क्रम निम्नानुसार रहेको छ । २०२१ देखि २०३७ सम्मका जम्मा १६ वर्षका समयावधिमा रचित निबन्धहरू आख्यानात्मक सरचना योजनामा सृजना भएका छन्। तिनमा विषयको परिधि निकै फराकिलो बनेको देखिन्छ । यसरी नै रचनाका माध्यमबाट विषय क्षेत्रमा देखिएका विभिन्न समस्या र तिनका प्रकार तथा समस्याहरूलाई समाधानात्मक निष्कर्ष प्रदान गर्ने दिशाको सङ्केत गर्ने काम एव समीक्षात्मक र प्रतिवेदनात्मक टिप्पणीका आधारमा निष्कर्ष दिने हिसाबले गरेका सृजन कार्यहरू नवीनको रचानात्मक प्राप्ति बनेका स्थितिमा देखिएका छन्। समाजका विधिविधानका आधारमा नचलेर तिनलाई विसङ्गतिमा धकेल्ने सामाजिक तथा सांस्कृतिक विकृति र वितण्डालाई समीक्षा र संवेदनाका असङ्गतिका स्थिति मानेर आलोचना गर्ने र तिनको समाधानका सन्देशहरू अप्रत्यक्ष रूपमा निर्देश गर्ने। काम पनि उनका रचनाले गरेको देखिन्छ । सहज र सरल भाषिक शिल्पमा ध्वन्यात्मक अभिव्यक्ति प्रक्षेपित गर्ने स्रष्टा नवीनका रचनाहरूका सङ्ग्रह निम्नानुसार प्रकाशनमा आएको सन्दर्भ माथि पनि चर्चा भइसकेका छन् ।

नवीनको सृजनयात्राका साक्ष्य र यस सङ्ग्रहका रचनाहरू :
किशोर वयबाटै सृजनात्मक लेखनमा प्रवृत्त बनेका नवीनको सृजनयात्राका क्रमलाई गति दिने रचनाको उपक्रम यस सङ्ग्रहमा रहेका रचनाको व्यवस्थापन गर्ने कार्यले सङ्केत गरेको छ । समयसमयमा सृजना भएका सामग्रीहरू श्रीमतीसित एक दिन (२०२२ हास्यव्यङ्ग्य आख्यानात्मक निबन्ध सङ्ग्रह) छातीमा नअटेका करा (२०२९, हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह), कविता काव्यका कृतिमा उनको स्मृतिमा । २०२४ खण्डकाव्य), लोग्ने स्वास्नी (कथासङ्ग्रह २०३८) प्रकाशमा आएका छन् । प्रबन्धाख्यान शिल्पमा रचित रचनाहरूमा कतै लोकोक्तिको प्रयोग र कतै कवितात्मक गद्यको छनक पनि नवीनको व्यवस्थित देखिएको छ । त्यसो त नेपाली समाजमा सामाजिक र राजनीतिक तथा त्यसरी नै रचनाको उपस्थान गर्ने काम यस प्रकारका रचनाबाट भएको स्थिति देखिएको छ । नेपाली साहित्यको आधुनिक कालको स्वच्छन्दतावादी तथा शास्त्रीयतावादी धाराको समापन हुन लागेको र प्रयोगशील चिन्तनको आयामिक तथा राल्फाली आन्दोलनको आरम्भिक क्षणमा साहित्य लेखनमा प्रवृत्त बनेका नवीनका सृजनामा प्रयोगवादी चिन्तनको आभास मिल्दछ । त्यसरी नै जीवन र जगत्‌का विसङ्गत चिन्तनको साक्ष्यका रूपमा देखिएका राल्फाली आन्दोलन, अस्वीकृति जमात तथा विस्थापित र अमलेख अभियानको पनि प्रभाव वहन गरिरहेका नवीनमा प्रयोगवादी कालखण्डका रचनाले सबैजसो प्रवृत्तिको प्रभाव व्यापक रूपमा समेटिएको छ । यिनै विशेषताको अपरिपक्व प्रभावको स्थितिमा उनको सृजनयात्रा आरम्भ भएको देखिन्छ तर क्रमशः उनको आफ्नै निजी वैशिष्ट्य पनि विकसित बन्दै गएको पाइन्छ ।

यस प्रकारका अवस्थालाई समावेश आत्मसात् गरेका उनका रचनाको उपस्थिति निम्नानुसार रहेको छ । यसमा रहेका रचनालाई कालक्रमिक रूपमा व्यवस्थापन गरेर तिनको प्रकाशन गरे गुन लगाउने पत्रपत्रिकाको सूचीसहित निम्न क्रममा समावेश गर्नु सान्दर्भिक ठानिएको छ : (१) (कोप्चे लाइन’, (२), ‘श्रीमतीले पान खाँदा’, (३) ‘एउटा विलौना’, (४) ‘क र श’, (५) ‘दसैंको पखालों’, (६) ‘नानीकी आमा’, (७) ‘ठाँडा पैसा’, (८) ‘स्यालमा राल काढ्दा’, (९) ‘एक एक घ्याम्पा धन्यवाद’, (१०) ‘भानुभक्तको जुघा’, (११) ‘मान्छे बन्ने डोजहरू’, (१२) ‘विज्ञापन’, (१३) ‘चिनी र नेता’, (१४) ‘भुँडी कम्पनी’, (१५) ‘मेरा साथीहरू : रङ्गविरङ्गका’, (१६) ‘ट्वाँट एन्ड म’, (१७) ‘रक्सी बेच्ने तरिका’ (१८) ‘फागुमा भाङ खाँदा’, (१९) ‘भाषामा पिङ खेल्दा’, (२०) ‘जागीर : मास्टरी’, (२१) ‘दसैँ एउटा तमासा’, (२२) ‘कुरा मथ्दा निस्केको तीतो नौनी’, (२३) ‘मान्छे भए यस्ता’, (२४) ‘रोगलाई सम्झदा, (२५) ‘मनको वह’, (२६) ‘कोनि कस्तो गन्थन’ लगायतका २६ वटा रचना यस कृतिमा समावेश भएका छन् ।

नवीनका रचनामा आजको विश्वजीवनका जल्दाबल्दा समस्या एकातर्फ छन् भने अर्कातर्फ नेपाली दैनिक तथा पारवारिक जीवनका सामाजिक तथा आर्थिक सांस्कृतिक जीवनका समस्या अर्कातर्फ रहेका छन् । तिनमा कतै पतिपत्नीका बिचका समस्या, कतै घरेलु प्रकारका समस्या, कतै इष्टमित्र र छर्छिमेकका समस्या र कतै सांस्कृतिक राजनीतिक तथा आर्थिक जीवनका समस्याहरूले विषय व्यवस्थापन खाँचो औल्याइरहेका बेला विश्वासिलो र दर्बिलो समाधान खोजेका छन् । यस प्रकारका समस्याले पिरोलेका समयमा यी समस्याका असरल्ल बग्रेल्तिएका संवेदनाले स्रष्टाको हृदयमा चोट पुर्याइरहेका छन् । यस सङ्ग्रहमा समाहित रचनाहरूमा सामाजिक तथा सांस्कृतिक महत्त्वको अभिलक्षण भएका र भाषिक तथा साहित्यिक अभिलक्षण भएका रचना र राजनीतिक तथा प्रशासनिक जीवनका सन्दर्भलाई केन्द्र बनाएका स्थितिलाई रचनाको बीज विषयमा आधारित रचनाहरू जम्माजम्मी चार कित्तामा राखेर विवेचना गर्नु सान्दर्भिक ठानिन्छ । (१) पहिलो कित्तामा नारी संवेदनाका समस्याहरू, (२) साहित्य र संस्कृतिका संवेदनामा बल्झिएका समस्याहरू, (३) सामाजिक तथा सांस्कृति संवेदनाका समस्याहरू, (४) मानवीय कमजोरीकाका संवेदनाका समस्याहरू ।

(१) पहिलो कित्तामा नारी संवेदनाका समस्याहरू :
यस पहिलो समूहमा पर्ने रचनाहरूको क्रम यस प्रकार रहेको छ: ‘कोप्चे लाइन’ २०२१, ‘श्रीमतीले पान खांदा’, २०२३, ‘एउटा बिलौना’ (२०२३), ‘नानीको आमा’ (२०२५), ‘रक्सी बेच्ने तरिका’ (२०३२), ‘जागिर र मास्टरी (२०३३), ‘मनको वह’ (२०३७), । स्थान र परिवेश, त्यस परिवेशमा अभिन्न जीवनशैली बनेर विकसित बनेका विकृत संवेदनाको सहभागी परिवेश, पेसा, व्यवसाय र आचार व्यवहारले स्थानीयताको अर्थात् आञ्चलिकताको रङ्ग प्राप्त गरेका हुन्छन् । यी रचनामा जानिनजानी तथा मौन तर व्यङ्ग्यात्मक उद्घोषका रूपमा नारीसमस्या र नारीकै अस्तित्व माथिको सङ्कट नै रचनाको बीज बनेर आएको स्थिति प्रकटमा आएको छ । यिनले नारी संवेदनाका मूल्यलाई विशिष्ट संवेदना रूपमा प्रक्षेपण गर्ने काम गरेका छन् । यस समूहका सन्दर्भमा नारीमूल्यप्रतिका प्रश्नहरू जीवन्त बनेर प्रकट भएका छन् ।

(२) साहित्य र संस्कृतिका संवेदनामा बल्झिएका समस्याहरू :
भाषा तथा साहित्य र संस्कृतिका समस्यामा सन्दर्भमा केन्द्रित रचनाहरू पनि यहाँ समावेश भएका छन् । विभिन्न समयखण्डमा सृजना भएका तर प्रकाशित सङ्ग्रहमा सङ्कलित नभएका रचनाहरूको क्रम निम्नानुसार रहेको छ । यस प्रकारका रचनामा भाषाको महिमा र साहित्यले जीवनमा पार्ने प्रभावको अवस्थालाई पनि यस्ता रचनाले विषय बनाएका छन् । त्यस्ता रचनाहरूको क्रम यस प्रकार छ: भाषा साहित्यका सन्दर्भमा केन्द्रित रचनाको क्रम चाहि यस प्रकार रहेको छ ‘भानुभक्तको जुँघा’ (२०२८), ‘भाषामा पिङ खेल्दा’ (२०३२), ‘कुरा मध्दा निस्केको तीतो नौनी’ (२०३६), ‘कोनि कस्तो गन्थन’ (२०३७), ‘के सोच्दा के लेखियो’ (२०३७) जस्ता रचनामा विषय, भाव तथा भाषा र साहित्यिक संवेदनाका तहलाई व्यङ्ग्यात्मक शिल्पमा अनावृत्त गरिएको छ । भाव, विचारको सन्तुलन पहिल्याउन प्रयत्न गर्ने र विसङ्गतिप्रति व्यङ्ग्य, विकृतिप्रति हास्य र भाषिक प्रस्तुतिप्रति परिहासात्मक संवेदना अवलम्बन भएको संरचना र शिल्प यहां विशेषताका तहमा प्रकटमा आएका छन् । यिनले स्रष्टालाई भाषा, साहित्यप्रति दृष्टाचेत पनि भएको प्रतिभाका तहमा स्थापित गरेका छन् ।

(३) सामाजिक तथा सांस्कृति संवेदनाका समस्याहरू :
सामाजिक तथा सांस्कृतिक विकृतिले जन्माएका आर्थिक समस्यामा केन्द्रित रचनाहरू पनि निकै कटाक्ष गर्ने प्रकारका छन् । मानवीय संवेदनामा जोडिएको सांस्कृतिक, राजनीतिक र आर्थिक सङ्कटको सञ्जालमा जेलिएका मानवीय समस्यालाई विडम्बनाको रूपमा व्यङ्ग्यात्मक संवेदना र सामाजिक जीवनमा आएका विकृति र विसङ्गतिलाई तीव्र व्यङ्ग्य प्रक्षेपण गर्ने काम तलका निबन्धबाट भएको छ ‘क रश’ (२०२४) ‘दसैँको पखालो’ (२०२५), ‘ठाँडा पैसा’ (२०२५), ‘एक एक घ्याम्पा धन्यवाद’ (२०२६), ‘भुडी कम्पनी’ (२०३०), ‘चिनी र नेता’ (२०३०) ‘दसैँ एउटा तमासा’ (२०३५), ‘रोगलाई सम्झदा’ (२०३७) लगायतका सृजनाले सामाजिक जीवनमा मौलाउदै आएका र सकभर समूल नष्ट गरिनु पर्ने विकारहरूप्रति प्रहार गरिएको स्थिति देखिन्छ । सामाजिक, आर्थिक तथा राजनीतिक आचरणमा आएका नकारात्मकताका विम्बहरू पनि नवीनका सृजनाचेतमा ज्वलन्त बनेर प्रकट भएका छन् । मानवमा नकारात्मकता नैसर्गिक रूपमै विकसित बन्दै जाने विकृति हो र यसको निराकारण गर्ने प्रयत्नमा स्रष्टा तथा लेखक सधैं समर्पित रहनु पर्ने अपेक्षा रहन्छ । यस प्रकारको अपेक्षा सधै र सबै सन्दर्भमा परिपूर्ति नहुन पनि सक्छ भन्ने कुरा नवीनका यस कित्ताका रचनाले प्रकट गरेका छन् ।

(४) मानवीय कमजोरीकाका संवेदनाका समस्याहरूः
मान्छेमा व्यक्तिगत कमजोरीले पनि नकारात्मकताहरू जन्माएको हुन्छ । यस प्रकारका नकारात्मकताहरू खानपान तथा रहनसहन, बोलीचाली अनि आचार व्यवहारका आधारमा पनि प्रकटमा आउँछन्। यहाँ खनापानका विषयले जन्माएका कुलत विषयक समस्याहरू र व्यक्तिका आत्मकमजोरी विषयका रूपमा उपस्थित भएका छन् । नराम्रो भनेर जान्दाजान्दै पनि त्यस कुलतबाट मुक्त हुनै गाह्रो पर्छ- मान्छेलाई । मुक्त हुन प्रयत्न गर्दागर्दै पनि मान्छे स्वयम् नै त्यस प्रकारका नकारात्मक आचरणबाट मुक्त हुन कठिन छ भन्ने कुरा पनि उनका निबन्धले प्रकट गरेका छन् । स्रष्टा नवीनको वैयक्तिक आचरणसँग पनि जोडिन आएको कुलतजन्य संवेग रचनागर्भ बनेर प्रकटमा आएको स्थितिलाई उनका रचनाले साक्ष्य गरेका छन् । त्यस्ता रचनाहरूमा ‘स्थालमा राल काढदा’ (२०२६), ‘विज्ञापन’ (२०२९), ‘मेरा साथीहरू : रङ्गविङ्गका (२०३०), ‘मान्छे बन्ने डोजहरू’ (२०३१), ‘वॉट एन्ड म’ (२०३१), ‘फागुमा भाङ खांदा’ (२०३२), ‘मान्छे भए यस्ता’ (२०३७) जस्ता रचनाहरू स्रष्टा नवीनका द्रष्टा चेतना प्रक्षेपण गर्ने रचनाहरू हुन् ।

निष्कर्ष :
नेपाली साहित्यको इतिहासमा प्रयोगशील सृजनधर्मले स्थान लिन लागेका समयमा लेखनमा प्रवृत्त बनेका नवीन सम्पादक, पत्रकार, कवि, कथाकार तथा निबन्धकार व्यक्तित्वका रूपमा स्थापित बन्दै गएका छन् । सत्ताको अनुग्रहपूर्ण दृष्टि नपुग्नेसम्मको दूरी, प्रकाशन, प्रसारण र चर्चा, विमर्शको पर्यावरणभन्दा धेरै टाढाको स्थानमा एकलव्य साधक बनेका नवीनको सृजना र योगदान सापेक्षित रूपमा मूल्याङ्कन नगर्ने हो भने उनीमाथि अन्याय हुने ठहर्छ। आजको समयमा यस कृतिमा समाहित रचनाको सङ्कलन र सम्पादन तथा भूमिका लेखन कार्य गरिरहँदा २०२०-०३० को दशकको मोफसल हाम्रा आँखामा जिउँदो र जाग्दो बनेर आउने गर्दछ । यस कृतिमा समावेश भएका २०२१ देखि २०३७ सम्मका रचना समाहित हुन् भने उनको सर्जक जीवनको आरम्भदेखि उर्वर र अवरोह चरणसम्मको प्राप्तिलाई सूचित गर्ने रचनाको समायोजन हुनु पनि हो । यस कृतिले नवीनको लेखन यात्राको आरम्भ, विकास र उत्कर्षसम्मको स्थितिलाई सम्बोधन गर्ने काम गरेको स्थिति प्रकटमा आउँछ । उनका प्रकाशित अन्य ग्रन्थहरू पनि यसै कृतिको समयातनका कुनै न कुनै कालखण्ड र प्रवृत्तिका साक्ष्य बनेर प्रकटमा आएका छन् । यस कृतिले उनको समग्रतालाई समाहित गर्ने सूचना प्रतिपादन भएको स्थिति हातलागी हुन्छ ।

अन्तमा एक दिवंगत बनिसकेका प्रतिभाको विषयमा चर्चा गरिरहँदा उसको जोडघट, गुणाभागा आदि हरहिसाबको समग्र मूल्यको पनि आकलन गर्न सकिन्छ । तर यस लेखनलाई केवल कृतिको भूमिका लेखनका तहमा मात्र सीमित गरेर विराम लिनु सान्दर्भिक हुने देखिन्छ । थप के चाहिँ भन्नै पर्छ भने यस कृतिको प्रकाशनको वातावरण तयार गरिदिने नगरपालिकको निर्णय, प्रकाशनको जिम्मा लिने निकाय, रचना प्रकाशित गर्ने र तिनको संरक्षण पनि गर्ने पत्रपत्रिका र त्यसका संरक्षक, सङ्कलक, प्रकाशक र सम्पादक पनि धन्यवादका पात्र छन् । यस प्रकारको ग्रन्थ प्रकाशनमा अर्थ, श्रम, सिप र शक्ति पनि लगाउने तथा सबै भाषा, साहित्य र संस्कृतिका साधक सेवकहरू स्वयम् बधाईका पात्र बनेका छन् । ती सबैप्रति यथायोग्य सलाम !

०००
विष्णु नवीनको हास्यव्यङ्ग्य निबन्ध ‘सोझा नवीनका बाङ्गा निबन्ध’  (२०७८) बाट ।

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो पुच्छर

मेरो पुच्छर

राजेन्द्र सुवेदी
हाइड्रो प्राज्ञ

हाइड्रो प्राज्ञ

राजेन्द्र सुवेदी
उत्तरआधुनिक दशैँं

उत्तरआधुनिक दशैँं

रामप्रसाद पन्थी
ङिच्चपुराण

ङिच्चपुराण

रमेश समर्थन
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
0
Would love your thoughts, please comment.x
()
x