सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जमाना टेन्सन र चिन्तनको : घाँटीमुनिको

“अहिलेको जमाना टेन्सन र चिन्तनको हो ।” यसमा दुई मत छैन । खालि घाँटीमुनिको टेन्सन र चिन्तन मात्र नहोस् घाँटीमाथिको टेन्सन चिन्तन पनि गरियोस् । किनभने, घाँटीमाथिको जिनिस ताज हो, श्रीपेच हो, त्यो विशेष रथी अतिरथी हो ।

Nepal Telecom ad

डा. सुकराज राई :

आजभोलि खुब टेन्सन छ । यता गयो टेन्सन, उता गयो टेन्सन । घरै बस्यो, त्यो पनि टेन्सन । फेरि एकलाई हो र ? हरेकलाई प्रत्येकलाई । जो जो टेन्सन भन्ने शब्द जान्दैनन्, उनीहरूलाई पनि टेन्सन । जागिरेलाई टेन्सन, व्यापारीलाई टेन्सन, उद्योगीलाई टेन्सन, ठेकेदारलाई ठेक्कापट्टाको टेन्सन, ठगी, झेली, चोरी गर्नेलाई तत्तत् विषयमा नै टेन्सन । किसानलाई किसानीको टेन्सन, प्रत्येकलाई टेन्सन । अरे सुरुमा भन्नु थियो नेतालाई ’नयाँ नेपाल’ बनाउने टेन्सन । अहा ! उनीहरूलाई त झन् कत्रो पो हो टेन्सन ! राष्ट्रको, राष्ट्रभरिको अनि जनताको, देशभरिकै जनताको पो है ! सानो छ र टेन्सन । टेन्सनै टेन्सन छ, संसारमा। संसारभरि नभए पनि नेपालभरि चाहिँ पक्का हो । हरेक नेपालीको मुखमा टेन्सन छ । टेन्सन मुखमा नझुन्डिने कोही छैन । भएर त झुन्डिएका होलान् । हरेक प्रत्येकका मुखमा टेन्सन । यसो भनौं ढुड्गा ढुङ्गा, माटा माटा टेन्सनमय छन् । टेन्सनले कसैलाई छोडेकै छैन, मान्छेलाई उसको छायाँले पच्छ्याए जस्तो गरी ।

बिहान जुरूक्क उठ्छु । मलाई पनि टेन्सन आज धेरै । अरु अरु बेला अलिक कम टेन्सन । बिहानको अफिस ६ बजेबाट छ हिजो त्यस्तै टेन्सन भएर जमियो साथीहरूसँग भट्टीमा । खै के केसम्म भयो ? कति टेन्सन फालियो थाहा भएन । उठेर, दौडेर बाथरुम जान्छु आजैको कुरा है बिहान पौने छतिर, छैन पानी, आची गर्नु थियो, धारो छामछुम गर्छु । यसो पानी हेर्छु, कतै भेट्टाउँदिनँ । एकातिर अफिसको हतारो छ, अर्कातिर आचीको चटारो छ, लौ सोच्नुहोस् मलाई कति टेन्सन । कुदेर किचेनमा पानी लिन आएर जान्छु त बाथरूम बाथरुमको ढोका बन्द । हतारो र चटारो भए पनि पर्खे केही बेर बाथरुमको ढोका खुल्दैन । छ बजिसक्यो, छैन खुलेको बाथरुमको ढोका । मेरो पालो खुब टेन्सनले युक्त भएर बाथरुमको ढोकामा सङ्केत गर्छु, ‘टक्टक, टक्टक’ । “को हो हँ ? बाथरुममा मान्छे पसेको था’ छैन ? म नुहाइरा’छु फेरि छोरी मान्छे म, कस्तो मान्छे ल हेर, कस्तो टेन्सन हौ, नुहाउनु पनि नपाउनू ।” भित्रबाट आवाज आउँछ । अनि मलाई खपिनसक्नु भयो । खुब टेन्सन भयो । बुझे, यहीँ घरमा बस्ने आमा चाहिँ नहुने भएकीले इनारबाट पानी झिकी बाथरुममा शुद्धीकरण हुन गएकी रहिछे ।

त्यसपछि ल सोच्नुहोस्, मलाई कस्तो टेन्सन भयो होला । अफिस जाने टेन्सन त छँदैछ, अर्को त्यत्रो मेरो टेन्सन, कसरी म बिसाऊँ । सम्झन्छु, अब जानुपर्छ अफिस । श्रीमती, केटाकेटी सब मस्त ओच्छ्यानमा लडिराख्या छन् । आफ उनीहरूको निद्रा भङ्ग होला भनी नीरवताको साथ आफ्नो अफिस जाने लुगा पहिरिन्छु । ब्याग झिक्छु टिपोट हेर्छु । मेरो सथ्राकसुथ्रुकले श्रीमती र केटाकेटी चलमलाउँछन्, उनीहरू उठे भने कत्रो टेन्सन फेरि उनीहरूलाई पनि । किनभने, म टेन्सन बिसाउन हिजो साथीहरूसँग भट्टीमा जमेर १२ बजे डेरा फिर्दा पनि श्रीमती र केटाकेटी मजाले झुमिरहेका थिए टेलिसिरियलमा । म आएर भात न पानी डङ्ग्रङ्ग ओच्छ्यानमा पल्टेको केही घण्टा तिनेकमा तिनीहरू ओच्छ्यानमा ढलेका हुन् कि जस्तो लाग्छ ।

हेर्नुहोस् ! अनिद्राका मान्छेहरूले मार्छन् पो, निद्रामा परेसानी दिइयो भने त । म खुब परेको छु, त्यसमा पनि मेरी श्रीमती त यसको लागि ठूलो टेन्सनको विषय नै हो । संयोग, मेरो भाग्य त्यस्तो केही भएन, उठेनन्, श्रीमती र केटाकेटीहरू । तयार भएँ, गएँ, पुगेँ । म कलेजका जागिरे । बिहानी सिफ्ट प्राध्यापन गर्ने प्राध्यापक । कलेज पुग्दा २०/२५ मिनेट समय गइसकेको थियो । विद्यार्थीहरू मेरो आगमनलाई प्रतीक्षा गरिरहेका थिए । मलाई चाहिँ बाथरूमको साँचोको पहिलो खाँचो थियो । यताउता बाथरुमको साँचो खोज्छु पाउँदिनँ । आफूलाई हेर्नुहोस् । अब कत्रो टेन्सन भइसक्यो । पेट फुट्न लाग्यो, झर्नै लाग्यो, कसेर हिँड्न पनि हुन छोड्यो, म रुन रुन लागे । म कुप्रो कुप्रो हुँदै “ए तिलमान ! ए तिलमान ! बाथरुमको साँचो खोइ । हँ, तुरुन्त ले’रा !” भन्छु ।

तिलमान न सिलमान केही आवाज छैन, साँचो लिने पाले, त्यो साले तिलमान साँचो लिई गायब । लौ भएन त झन् टेन्सन मलाई । धैर्यताको पनि सीमा हुन्छ । एउटी छात्रा म छेउमा आएर “मर्निङ्ग सर ! आज त पहिलो घन्टी सिद्धिन आँट्यो । पहिलो घन्टी हजुरको हो, आज क्लास हुन्न सर ?” भन्छे । “अरे कसले भन्या ? क्लास हुन्न, हुन्छ, किन हुन्न ? जानुहोस्, क्लासमा गएर बस्नोस् म आइहालेँ ।” छात्रा गाएब, तिलमान निन्याउरो मुख लगाउँदै उपस्थित भई “नमस्कार, सा’प !” हत्तपत्त तिलमानको नमस्कार नलिई म ऊसँग भएको साँचोतिर दृष्टि दिन्छु, रित्तो पानीविहीन । अब फेरि तुरुन्त टेन्सन बढ्छ । धन्न रुमाल रहेछ, खल्तीमा त्यही प्रयोग गर्छु, उठ्छु बाथरूमको सीसा चियाउँछु । म त मुख धुन, दाँत ब्रस गर्न, सुत्दा असरल्ल भएको केशरासी मिलाउन नै छुटेर अफिस आएको रहेछु । आफूले आफूलाई नै झन्डै चिन्दिनँ । हेर्नुहोस् । मलाई कस्तो र कत्रो टेन्सन । जे होस् टेन्सन नै टेन्सन त्यस्तै भो उस्तै भो । हिजो भट्टीमा टेन्सन बिसाउन बसेका हामी साथीभाइहरू । निकै सिद्धिएछ खजना । त्यसैले गर्दा झन् टेन्सन खल्ती छाम्दा ।

प्रियजन । यो त एउटा सानो टेन्सनको सूक्ष्म नमुना हो । यति धेरै ठूलो धर्तीमा करोडौं करोडौं मानिसहरूका टेन्सन कति होलान् । सायद, सबैको टेन्सन जम्मा गर्ने हो भने आकाशगङ्गा जत्रो चाहिँ होलान् कि ! यो मेरो फगत कल्पना हो, यो मैसँग टासिएको सीमित कुरा हो या बृहत् पक्ष हो । र त भन्छन्- “जमाना टेन्सनको जताततै टेन्सन !” हुन पनि हो जमाना टेन्सनकै ।

जमाना टेन्सनको मात्रै कहाँ हो र ? चिन्तनको पनि हो । को मान्छेसँग चिन्तन छैन ? आजकालका मान्छेमा मैले चिन्तन भएको नै पाएको छु । चिन्तनको उचाइ, आकार, रङ्ग रोकन र प्रकृति भने पृथक् पाएको छु । मुण्डमुण्डको बुद्धि भने झैँ । गाउँका घाँसे दाउँरेको चिन्तन देखेको छुइनँ कि गाउँका ठूला ठालुका । सहरका ठिटीको चिन्तन देखेको छुइनँ कि सहरका ठिटाहरूको । मैले बुजुक भएर भनेको होइन, सबैको चिन्तन मैले बुझेको छु, सुरुमा अरुलाई किन औँल्याऊँ, अनि मेरै जस्ता जागिरेहरूका, कर्मचारीहरूका, डाक्टरहरूका, नर्सहरूका, समाजसेवीहरूका, शिक्षकहरूका, नेताजीहरूका आदि आदि धेरै आदिहरूका । त्यसमा पनि सांसज्यूहरूका त बुझ्नै पर्यो ।

ती सांसद्हरूका चिन्तन कसैको अमेरिका र भारतलाई हेर्ने दृष्टिकोणदेखि लिएर “लौ । खोटाङको सदरमुकाम दिक्तेलदेखि पूर्व छेपेखोलामा पुल हालिनुपर्‍यो । नत्र म आज अहिले यति नै वेला अनसन यही सुरु गरेँ” भन्ने पनि नबुझेको होइन, संसद् भवनभित्र नै । आजको जमाना चिन्तनको हो । सबैमा चिन्तन छ । चिन्तनविहीन मान्छे कतै भेटाउनु भयो भने मलाई बुझाइदिनोस् । म तपाईंलाई उपहार याने पुरस्कार दिनेछु म झूटो बोल्दिनँ । आजकाल झुटो बोल्नेको पनि खैरांत छैन ।

यति धेरै कैरन ल्याएँ, जमाना टेन्सन र चिन्तनको । एउटा कुरा मैले खुलासा गर्नुपर्ने छ । यदि त्यो खुलासा गरिनँ भने मलाई पाप लाग्ने छ, म पापी हुनेछु । सायद, पहिलेपहिले … ए कुरो सुन्नोस्, मैले कुनै जातको कुरो उक्काउन लागेँ । तर जातीय कुरो गर्न लागेको हुइनँ । सन्दर्भले आएको मात्र हो । घोच्न गएछ भने ‘सरि ल’ पहिले नै । अँ, पहिले पहिले बाहुनले प्याज खाँदैन थिए अरे । अहिले चाहिँ बाहुनलाई प्याज नभइ हुँदैन । ल खोज्नुहोस्, सोध्नुहोस् हैन, शोध अनुसन्धान नै गर्नुहोस् । बाहुन आज प्याज खान्छन् खाँदैनन् ? प्याज नखाने बाहुन पाउनु भनेको त्यो के हो आफैँ विचार्नुहोस् ।

खुलासा गर्नुपर्ने कुरो टेन्सन र चिन्तनसँगैको । याने धेरै मान्छेमा यति टेन्सन, यति धेरै मान्छेमा यति धेरै चिन्तन । हेर्नुहोस्, त्यो टेन्सन चिन्तन कहिल्यै घाँटीभन्दा माथिको रहन सकेन । त्यो टेन्सन होस् कि चिन्तन खालि घाँटीदेखि मुनिको रह्यो । त्यसमा पनि घाँटीदेखि मुनि र नाइटादेखि माथिको टेन्सन चिन्तन आजका हरेक वर्ग, तह, क्षेत्र, सम्प्रदायका हामी मान्छेहरूका लागि परेका छन् । त्यहीँ घाँटीमुनि र नाइटामाथिको टेन्सन चिन्तनले अतिग्रस्त मुलुक मध्येको मुलुक एक नेपाल र ग्रसित नेपाली । यही टेन्सन, यही चिन्तन घाँटीमुनि र नाइटामाथिको जसले गर्दा आज छोराले कुलधर्म मानेनन्, छोरीले दाजु बाबु, बाजेका नाकमा मोसो दलिदिइन् । हरेक वर्ग, तह, क्षेत्र, सम्प्रदायका मान्छेहरूले धर्म छाडे, काग बाठो भएर गुहुँ खाएजस्तै अनि स्याल बहुलाएर शहर पसेजस्तै भयो । भएको खालि टेन्सन र चिन्तनले ।

घाँटीदेखि मुनि र नाइटोदेखि माथिको टेन्सन र चिन्तनमा लागेका मान्छेहरू छन् आफ्नै ढङ्गका, आफ्नै रङ्गका, आफ्नै तौरतरिका र रूप स्वरूपका । टेन्सन लिनु चिन्तन गर्नु राम्रै कुरो हो। असल नै हो । नराम्रो भन्न सकिन्न । तर, धितधरान, कुल संस्कार, इज्जत इमान, राष्ट्र राष्ट्रियतालाई बन्धक राखेर आफूचिन्ते टेन्सन र चिन्तनमा लाग्ने मान्छेहरू मर्छन् कि मर्दैनन्, मर्नुपर्छ कि पर्दैन ? मरेर भोलि गए पनि स्वर्गको गेट पास मिल्ला ? नरकको बास कति कष्टप्रद हुन्छ होला ? कल्पना गरौँ न । ठीक छ, यो घाँटीमुनि नाइटामाथिको टेन्सन र चिन्तन एक ढङ्गले । तर, यो घाँटीमुनि भन्दा अझ नाइटामुनिको टेन्सन चिन्तनले संसारलाई नै गाँजेको छ, खप्लक्कै खाएको छ, खान पनि यति विघ्न हो र ? यसको टेन्सन र चिन्तन सर्वव्यापी छ । यसको कुरा गरी साध्यै छैन । यो टेन्सन चिन्तन सङ्क्रमित रोगभन्दा पनि बढी खतरा छ, रातविरात, साँझबिहान नाइटामुनिको टेन्सन र चिन्तनमा मान्छेहरू व्यस्त छन् अनि बिजी । रै’त भन्दैछु जमाना टेन्सन र चिन्तनको ।

लिलिपुटका मान्छेदेखि अमेरिकी, युरोपेली, एसियाली सबै अनि नेपाली पनि घाँटीदेखि मुनिको टेन्सन चिन्तनमा व्यस्त छन् । हिजो मार्क्स, गान्धी, अब्राहम लिङ्कन अनि नेपालका बी पी कोइराला, मनमोहन, मदन भण्डारी पनि घाँटीदेखि मुनि र नाइटादेखि माथिकै टेन्सन चिन्तनमा व्यस्त भए, यसैमा धेरै समय खर्च गरे । भियनाका सिग्मण्ड फ्रायड र एड्लर, युङ, र जनिश त खालि नाइटामुनिका टेन्सन र चिन्तनमा नै जीवन बिताए भन्दा पनि हुन्छ । पूरै दोष अरुलाई नाइटामुनिको दोषरोपित गरे पनि हामी प्रयोक्ता/भोक्ता हौँ । हामी पनि दोषको साझेदारी हिस्सा बोक्ने व्यक्ति हौँ कि ?

“अहिलेको जमाना टेन्सन र चिन्तनको हो ।” यसमा दुई मत छैन । खालि घाँटीमुनिको टेन्सन र चिन्तन मात्र नहोस् घाँटीमाथिको टेन्सन चिन्तन पनि गरियोस् । किनभने, घाँटीमाथिको जिनिस ताज हो, श्रीपेच हो, त्यो विशेष रथी अतिरथी हो । त्यहाँ संसार हेर्ने, संसारलाई परिचालन गर्ने रिमोट कन्ट्रोलर छ ।

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x