सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ङ माने ङिच्च

चाहे सदनमा पसौँ चाहे सडकमा, सर्वहारा समूहमा दर्ता भए पनि धनिक वर्गमा भए, आफूलाई बौद्धिक प्राज्ञिक समुदायको ठानेर घिरौँले नाक तुल्याए पनि, अशिक्षित तल्लो वर्गको मानेर मन खुम्च्याएर पनि बाँच्नका लागि बाँच्ने सामल ङ माने ङ्यार्र होइन, विकल्परहित ‘ङिच्च’ हो ।

Nepal Telecom ad

रमेश विकल :

संसारमा बाँच्ने तरिका धेरै छन् । तर तिनमध्ये मुख्य दुइटै छन् । एउटा ङ्यार्र गरेर र अर्को ङिच्च गरेर । ङ्यार्र गरेर बाँच्ने बाघ । बाघजातिको बिरालो हुन्छ । ऊ आफूमाथि आइलाग्नेलाई ङ्यार्र (अथवा बाघ ह्वाङ्ङ्ङ) गरेर झम्टन्छ । यसरी बाँच्छ ऊ ।

यसरी – ङ्यार्र गरेर बाँच्ने निकै कठिन छ । ङ्यार्र वा ह्वाङ्ङ गरेर बाँच्न बाघजाति जहिले पनि एक्लो, धेरै दुस्मनहरूबाट घोरिएर सधैँ ज्यान जोखिममा पारेर बाँचेको हुन्छ । बिरालो पनि एक्लो हुन्छ, उसलाई पनि त्यस्तै केही पश्चिममा मुलुकका सोखिन महिला-आइमाई केटाकेटीले बाहेक कसैले पनि मन पराउँदैन । हाम्रो जस्तो मुलुकमा त बिरालोलाई बोक्सी आइमाईले मात्र मनपराउँछन् भन्ने विश्वास छ । त्यसैले केटाकेटीहरू त्यसलाई ‘बोक्सीको बान’ (वाहान) भन्छन् ।

ह्वाङ्ङ गरेर बाँच्ने बाघ र ङ्यार्र गरेर बाँच्ने बिरालोलाई आफूलाई जोगाउन राख्न निकै कठिन पर्छ । बाघमाथि जङ्गल शिकारीका आँखाले सधैँ गडिरहेका हुन्छ । मौका पाउन साथ कुनै पनि बेला, कुनै पनि निहुँमा तातो गोलीले उसको बोली बन्द गरिदिन सक्छ । त्यस्तै ङ्यार्र गर्ने बिरालोलाई पनि गृहणीका आँखाले सधैँ पछ्याइरहेका हुन्छन् किनभने उनीहरूले बिरालोबाट दूधदहीलाई जोगाएर राख्नुपर्छ, अनि मौका पर्‍यो कि उनीहरूको ‘बेल्ना’ (रोटी बेल्ने काठको बर्तुलाकार उपकरण) ले उसको खप्पर फोर्न सक्छन् ।

ङ्यार्र वा ह्वाङ्ङ गरेर बाँच्न होशियारी मात्र होइन, हृष्टपुष्ट र शक्तिशाली पनि हुनुपर्छ । शक्तिशाली र हृष्टपुष्ट हुन ‘पुष्टकारी’ अर्थात् ताकतिलो खुराक दूध, दही, घ्यू खूब खानूपर्छ । सुनिएको र पढिएका पनि छ हाम्रा पुर्खाहरू खूब दूध, घ्यू खाएर हृष्टपुष्ट र शक्तिशाली थिए । त्यसैले उनीहरू ‘ह्वाङ्ङ’ वा (त्यसैको सानो संस्करण) ङ्यार्र गरेरै बाँचेथे रे – भारत खाने गोरा शिकारीहरूसँग पनि ङिच्च गरेर बाँचेनन् उनीहरू ।

उनीहरू ङ्यार्र वा ह्वाङ्ङ गरेर बाँच्न समर्थ पनि थिए । उनीहरू हृष्टपुष्ट र बलिया बाङ्गा थिए । हृष्टपुष्ट बलिया बाङ्गा हुन दूध दही घ्यू जस्ता पुष्टकारी खूब खानुपर्छ । त्यस्ता ‘पुष्टकारी’ शुद्ध खुराक उनीहरूसँग यथेष्ट हुन्थ्यो । किनभने उनीहरू आफ्नै खेतबारीका शुद्ध झारपात खाएका शुद्ध गाई-भैँसी आफ्नै गोठमा पाल्थे र तिनबाट शुद्ध दूध-दही घ्यू यथेष्ट मुछेर खान्थे । अनि सागपात – गेडागुडी पनि आफैँले तयार पारेको आफ्नै गाईभैँसीको शुद्ध मल (कम्पोस्ट मल) हालेर आफ्नै खेतबारीमा उब्जाएको शुद्ध तरकारी खान्थे त्यो तरकारी पनि आफ्नै तेलीले पेलेको शुद्ध फलाम वा कीटको कराई ताप्केमा पकाएर खान्थे । त्यही शुद्ध तोरीको तेल जीउमा घस्थे ।

तर आज हामी शुद्ध घाँस पिठो खाएको शुद्ध गाईको शुद्ध दूध-दही-घ्यू होइन ‘डेरी’ भन्ने गाईको पोके वा बोतल बन्द (अथवा बट्टा बन्द धुलो ) दूध अथवा फोहोरमतिको फोहोर लेदो पानी मिसिएको दूध नाउँको झोल खान्छौँ : दशथरी गरिष्ठ वस्तु जस्तै पिँडालु, आलु, भैँसीको बोसो इत्यादि मिसाएको घ्यू र त्यसैको भुटुन हालेको, विकासे मलले हल्काएका गिल्टी वा कवाड तहलाएर बनेको ताप्के (कुकर) मा पकाएको स्वादहीन सागपात खान्छौँ । त्यो पनि सबैले कहाँ पाउँछन् र ? अधिकांश हामी अङ्ग्रेजी मिसिएको ह्विस्की, बियर अथवा अन्न कुहाएर बनाएको गन्हाउने जाँडरक्सी खान्छौँ ।

आज हामी आफ्नै हिउँ पग्लेर वर्गको कोशी-कालीगण्डकीको आफ्नै धर्तीको मूलबाट फुटेको – इनार कुवा, धाराको शुद्ध-कञ्चन जल होइन ( त्यो त दक्षिणतिरका दाइले खान्छन्) ठाउँठाँको फोहोर मैला झोललाई फलामे अथवा पोलिथिन भन्ने अनौठो वस्तुको ढुङ्ग्रो (पाइप) मा कैद गरेर ल्याएको प्रदूषित पानी खान्छौँ – त्यो पनि गाग्रा गाग्री जेरीकेनहरू फुटाएर, टाउकोको फूटबल, जगल्टाको गुन्द्रुक केलाएर, पाँच दश लिटर पानीका लागि दिनभर बिताएर । हो- औद्योगिक निजीकरण, ठेक्कापट्टा, कमिशन र राजनीतिको सहुलियत पाएका धनी, नवधनिक र उनका आफन्तले भने देश विदेशबाट प्लास्टिकका बोतल जेरीकनहरूमा भरेर झिकाइएका सफा विदेशी पानी (मिनरल वाटर) खान्छन् । यस्तो स्थितिमा ङ्यार्र (स्वाभिमानको गर्जन गरेर) बाँच्न कसरी सक्छाँ ? हामी न आफ्ना पुर्खाले जसरी आफ्नै कुटो कोदालीले आफ्नै धर्तीमा आफ्नै अन्न बाली उब्जाएर, आफ्नै गाईभैँसीको दूध दही-घ्यू उब्जाएर खान सक्छौँ, न अन्तर्राष्ट्रिय औद्योगिक क्षेत्रमा पसेर ठूला-ठूला पौरख गरेर ख्वाउन सक्छौँ, हामी त अर्काका दयामा अर्कैले जुटाइएका अन्न – पानी र कमिशन – दलाली खाएर बाँच्ने अवस्थामा वेश्यावृत्तिमा बाँच्ने नगरबधू जस्तो अथवा देवस्थलको परिसरमा वा गृहस्थका ढोका ढोकामा कम्पारो (माग्ने गिल्टीको कचौरा वा ट्वाक) थाप्दै हिँड्ने मगन्ते जस्ता भइसकेका छौँ, जो एकदिन पनि कुनै ग्राहकले आफ्नो नाङ्गो शरीरको क्रय गरेन, अथवा गृहिणीले मानुमुठीको दयाले आफ्नो काम्टो भरिदिइनन् भने भोकभोकै मर्नुपर्छ त्यसैले हाम्रो बाच्नु आज पुर्खाको ङ्यार्र वा ह्वाङ्ङग्राड्ङ नभएर आजको ङिच्च भएको छ ।

‘ङिच्च’ बाँच्नु ‘ङ्यार्र’ बाँच्नुभन्दा धेरै सजिलो पनि छ । घरघर, गल्ली गल्लीका ढोकामा ‘ङिच्च’ दाह्रा देखाएर बाँच्ने लुते ‘खिचा’ लाई धेरैजसो लात मार्ने चलन भए पनि दयालु गृहणी अथवा उपयोगवादी गृहस्थले खयावस भएर वा घर कुरिदिने – सम्पत्ति रक्षा गरिदिने आशाले एकाध गाँस लत्याएर दिन्छ नै । यसरी हरेक घरमा ढोका कुरेर एक-एक गाँस बटुल्न पाए त्यस दिनको पेट भरिइहाल्छ, अनि भोलिपल्टको कुरा भोलिपल्टै हुन्छ । भोलि पनि त कुनै न कुनै दयालु गृहणी वा गर्जी परेको गृहस्थ त मिलिनै हाल्ने छन्, उनका घरका ढोका ढोकामा गएर ‘ङिच्च’ गरेर बसिदिएपछि लौ त तिनका पिताम चलोस् एकाध गाँस फ्याँकेर भए पनि नदिन ?

आजको विश्व भ्रातृत्वको यूगमा आफूभन्दा ठूला दाजु आदरणीय सम्पन्न गृहस्थ बन्धुहरूका ढोकामा गएर ‘ङिच्च’ विना आवाज हाँस्नु निर्वलता अथवा दयनीयताको प्रदर्शन पनि त होइन ठूलाबडा सामु आदर सम्मान देखाएर उनीहरूको अगाडि ङिच्चिनु सभ्यताको प्रदर्शन हो, संस्कारको पालना हो – विनम्रता हो । त्यति मात्र होइन, यो व्यावसायिकताभित्र माग्नेको पेशा पनि पर्छ र वेश्याको पनि । माग्ने र वेश्याको वृत्ति अँगाल्नेले लाज मान्नु हुन्न । ‘ङिच्च’ बाँच्नु यिनै पेशाअन्तर्गत निर्लज्ज र निरीहतारूपी अमोघ हतियार हो । यो हतियार ब्रह्मास्त्र (आजको क्षेप्यास्त्र वा जीवाणु अस्त्र) हो । यसको प्रयोग भएपछि जतिसुकै ठूलो ढुङ्गको छाती भएको दानव पनि धराशायी हुन्छ – पग्लिन्छ, दयालु हुन्छ ।

हामी आफूलाई सार्वभौम नागरिक भन्छौँ, स्वतन्त्र जनता भन्छौँ । हामीसँग सरकार छ, संविधान छ, विधि छ, विधिको शासन प्रणाली (प्रजातन्त्र) छ । सबै त छ । सबैभन्दा मुख्य कुरा राजनीति र राजनेता छन् उनीहरूको कहिल्यै नथाक्ने प्रतिबद्धता, कटिबद्धता र दृढता, अठोट छ सङ्कल्प छ । त्यसो भन्दैमा हामीले ठूलाबडाले – मित्रहरूले दिएको सहयोग (शरीर र रगत बेचेको, आत्मा इमान बेचेको मालै पनि नभनौँ, यसलाई ठाडै निज गरिबी र लाचारीलाई तेर्स्याएर निर्लज्जता र जाँगर बन्धक राखेर थापेको भीख पनि नभनूँ, बरू उपहार भनेर लिऊँ ? हामी विश्व भ्रातृ समूहका सबैभन्दा कान्छा भाइ त्यसैले हामीले दाजुहरूले लत्याएर, पत्याएर जे जसरी दिएको भए पनि दिएको चिचि पापा लिन पनि आत्मसम्मानलाई तगारो किन तुल्याउने ?

यहाँ पनि ‘ङ्यार्र वा ह्वाङ्ङग्राङ्ग’ गरेर आफैँलाई किन ठग्ने ? तस्करले तस्करी गरेर देवस् कि, श्रमिकले श्रमको पसिना बटुलेर । … आखिर दान त दानै हो नि पाडो पाए पनि पाडी पाए पनि भतुवालाई बिगौती ’यस्ता कुरामा पनि केको लाज केको शरम, शरम मान्नु पछौटे पन हो । ‘ङ्यार्र वा ह्वाङग्राङ्ङको स्वरलाई कागत र वक्तव्यसम्ममात्र सीमित राखेर व्यवहारमा ङिच्चलाई नै प्रयोग गरौँ । यहीँ नै आजको समाजवादी प्रजातन्त्रले हामीलाई दिएको सबैभन्दा अनमोल ज्ञान ब्रह्मज्ञान गीताज्ञान, आत्मज्ञान हो । चाहे सदनमा पसौँ चाहे सडकमा, सर्वहारा समूहमा दर्ता भए पनि धनिक वर्गमा भए, आफूलाई बौद्धिक प्राज्ञिक समुदायको ठानेर घिरौँले नाक तुल्याए पनि, अशिक्षित तल्लो वर्गको मानेर मन खुम्च्याएर पनि बाँच्नका लागि बाँच्ने सामल ङ माने ङ्यार्र होइन, विकल्परहित ‘ङिच्च’ हो । ङ माने ‘ङिच्च’ !

०००
गोरखापत्र, भदौ ३१, २०५७

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x