सुदर्शन कट्टेलकाेडले त डाेठ्याङ ख्वायाे
"ओभरस्मार्ट बन्ने हाेइन !" पुलिसले कडाइ गर्याे,- "खुरुक्क कागजपत्र निकाल्नुस् ! आज "माइतीघर" वाला काेड चलिरा´छ !"
सुदर्शन कट्टेल :
अस्ति एउटा साथीकाे स्कुटी लिएर सञ्चयकोषकाे किस्ता बुझाएर फर्कंदै थिएँ, बाटामा हर्डल हालेर चेकिङ् हुँदै रहेछ !
हिँड्ने बेलामा साथीले पनि ब्लुबुक दिन बिर्सिएछ; मैले पनि माग्न भुलेंछु !
बाइक बेचेदेखि लाइसेन्स पनि रिन्यु गरेको थिइनँ !
म लुरुलुरु गएको पनि भए हुन्थ्यो हाेला ! तर, आफूसँग भ्यालिड कागजात नहुँदा फँसिने भइयो भन्ने पीरले दिमाग ओगटेको हुँदा चेकिङ् स्पटमा पुग्दा नपुग्दै गरुडकाे अगाडि सर्प अलल्लिए जस्तै स्कुटी लरबर गर्न थालिहाल्याे, अनि त पुलिसले साइड लगाउन इशारा गर्दै भन्याे,-
“खै, कागजपत्र हेराैं त, सर !”
लफडामा पर्नु भन्दा १ हजार दिएर मामला त्यहीँ रफादफा गर्न मैले पुलिससँग खुसुक्क बिन्ती गरें !
“यहाँ सिसिक्यामेरा छ !” पुलिस अलि पर अफसाइडमा राखिएको डस्टबीनलाई देखाउँदै फुसफुसायाे,-
“डल्लो पारेर ऊ त्यहाँ फालिदिनुस् !”
मैले गएर डस्टबीनमा हजारकाे डल्लो फालेर फर्कंदै थिएँ, एउटा केटाले टिपेर हिँड्याे !
म अकमक्क पर्दै आएर पुलिसलाई भनें,-
“सर, पैसा त एउटा फुच्चेले टिपेर लग्यो !”
“केही छैन,” उसले भन्यो,- “त्याे हाम्रै केटाे हाे !”
म ट्वाँ परेकाे देखेर फेरि ऊ बाेल्यो,-
“के ट्वाँ परिरा´! जानुस् !”
स्कुटी स्टार्ट गर्दै मैले साेधें,-
“सर, अगाडि फेरि लफडामा परिन्छ कि ?”
“मैतीदेवी हिँडेकाे भन्नुस्,” पुलिसले भन्यो,- “पर्नुहुन्न !”
पुलिसलाई धन्यवाद भनेर म अघि बढ्दै थिएँ; २ किमि जति अगाडि फेरि चेकिङ् रहेछ !
मैले स्कुटी स्लाे गरेर अघिकाे पुलिसले दिएकाे “मैतीदेवी”वाला काेड युज गरें ! पुलिसले चेक नगरी मलाई जान इशारा गर्याे !
हिजो चाहिँ साथीकाे स्कुटी पुर्याउन जाँदै थिएँ ! बाटामा फेरि चेकिङमा परें !
मैले पुलिसकाे इशाराअनुसार स्कुटी साइड लगाएर अस्तिकाे पुलिसले दिएकाे “मैतीदेवी”वाला काेड युज गरें !
“ओभरस्मार्ट बन्ने हाेइन !” पुलिसले कडाइ गर्याे,-
“खुरुक्क कागजपत्र निकाल्नुस् ! आज “माइतीघर” वाला काेड चलिरा´छ !”
यस काेडले नै डाेठ्याङ ख्वाउला भन्ने मैले कहाँ साेचेकाे थिएँ र बरिलै ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































