खगेन्द्र नेउपानेभ्यागुत्ते राजनीति
समय अनुसार मौलाएको अवसरको भेल आएर बौलाएको आआफ्नै सुरमा आआफ्नै लयमा मनमौजी हल्ला गर्ने यो बेलाको भ्यागुत्ते राजनीति ।

खगेन्द्र नेउपाने :
हत् !
कति कराएका यी भ्यागुत्ताहरू ?
भिन्न भिन्न आवाजमा
भिन्न भिन्न लयमा
भिन्न भिन्न तालमा
कति कराएका यी भ्यागुत्ताहरू !
कतै दुलोभित्र पसेर
कतै झ्याल (झाडी) भित्र बसेर
आली आँचिलामा
गनाउँने हिलामा
बेतमास हल्ला उरालेर
गलगाँड फुरालेर
गद्दामा ढल्केको सेठजी जस्तै
पर्लक्क भुँडी पल्टाएर
अवसरमा सल्किएको …. जी जस्तै
रुपैयाँमा व्यभिचार सल्टाएर
मस्त र आनन्दी भावमा
कति कराएका यी भ्यागुत्ताहरू !
आफू केहि नगर्ने
सधैँ अरुको भर पर्ने
अनुकुल मौसम र अवसर खोज्दै
आफ्ना सहज कुईंनेटाहरू रोज्दै
दह खोल्सी र सीमपानीमा
एक पल्ट वर्षा पाएको जिन्दगानीमा
कैले बाख्रा, भेडा र भैंसी बन्दै
प्रतिपक्षी मौसमको दिन गन्दै
कति कराएका यी भ्यागुत्ताहरू !
शायद भ्यागुत्तालाई हल्ला मनपर्छ
बिल्कुल आजको फेसबुके डन जस्तो
शायद उस्को हल्लाको कुनै उद्देश्य छ
टिन एजर बच्चाको उडन्ते मन जस्तो
नत्र किन ?
मध्यरातमा
बीच सडकमा
आफ्नु घर पत्ता लाउन नसकेर
नेपाल बेचिएको हल्ला गर्ने
मदिरालयबाट निस्किएको बुज्रुक जस्तो
कति कराएका यी भ्यागुत्ताहरू ।
ए ! हो र हजुर !
अँ होला होला
समय अनुसार मौलाएको
अवसरको भेल आएर बौलाएको
आआफ्नै सुरमा आआफ्नै लयमा
मनमौजी हल्ला गर्ने
यो बेलाको भ्यागुत्ते राजनीति ।
०००
गौरादह, झापा
Subscribe
Login
0 Comments
Oldest







































