
दल र देश !
बोल्ने के हो ? मतलव कतै याद गर्दैन शीर्ष । हुक्के ढोके, अधम चिलिमे ! मान्दछन् मूल तीर्थ ॥ कैले होलान्, दल जनमुखी शुद्ध राम्रा विचार । लुट्रने चुस्ने, खतम रटना, देशकै हो विशाद ॥

बद्रीप्रसाद दाहाल :
जूडो-लाठी, खुकुरी र खुँडा, बोकी तर्बार-भाला ।
नाङ्गै नाच्ने, मुसल-डन नै, राख्छ चाबी र ताला ॥
कब्जा गर्छन्, दलबल यिनै, राज्यसंयन्त्र सारा ।
योध्दा जो छन्, अमिलिन गई, हेर्दछन् हा ! तमासा ॥ १॥
निर्दा दुब्ला गरिप लुखुरा, कार्यकर्ता पछाडि ।
नातागोता, धनपति -बली, चाकरै छन् अगाडि ॥
बाहूभित्रै, विधि-नियम छन्, तस्करै हुन्छ ठालू ।
धिक्कारै हो ! दलभरि भरे, बाघ ब्वाँसा र भालु ॥२॥
ट्यापे-मुन्द्रे-डन घनसरी, वज्रझैं छन् कठोर ।
झ्यापुल्टे, वा मुसलहरूकै, चल्न थाले अह्रोट ॥
भाले हुन्छन्, दमन पथका, कुण्डले शुण्ड-मुण्ड ।
चुल्ठे तिक्रे, मसल बलका, बन्दछन् वक्रतुण्ड ॥३॥
घोक्रे चोखा, दिनदिन कठै !, वाद-सिध्दान्त नीति ।
मौलाएछन्, डनगिरि यहॉ, फोर भो राजनीति ॥
त्यागी भन्ने, सुखसयलमा, बेच्न थाले इमान ।
रापीपापी, अतिसय बढी, तन्त्र नै भो बिकाम ॥ ४॥
चालामाला, विकृति पथमा भत्कने भो विधान ।
हुन्नन् कार्यान्वयन कहिल्यै, नव्य यो संविधान ॥
कुर्ची ताक्ने, फगत यिनको, छैन उम्दा विचार ।
मान्छन् सत्ता भुटन-मसला, च्वाट्ट मीठो अचार ॥ ५॥
बोल्ने के हो ? मतलव कतै याद गर्दैन शीर्ष ।
हुक्के ढोके, अधम चिलिमे ! मान्दछन् मूल तीर्थ ॥
कैले होलान्, दल जनमुखी शुद्ध राम्रा विचार ।
लुट्रने चुस्ने, खतम रटना, देशकै हो विशाद ॥ ६ ॥
०००
धादिङ